भर्खरै :

सहकारी संस्था समाजको अभिन्न अङ्गको रूपमा विकास

सहकारी संस्था समाजको अभिन्न अङ्गको रूपमा विकास

भक्तपुर, १९ असोज । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सत्रौँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
सभामा सांसद गोसाईले सहकारी संस्था समाजको अभिन्न अङ्गको रूपमा विकास भइरहेकोले सहकारीबाट सुव्यवस्थित एवं समुन्नत समाज निर्माणमा भूमिका खेल्नुपर्ने आँैल्याउनुभयो । सहकारी देश विदेशका आर्थिक, राजनीतिक एवं सांस्कृतिक शिक्षा प्राप्त गर्ने ‘दबु’ भएकोले यसबाट सम्पूर्ण सदस्यहरूले लाभ लिनुपर्ने बताउनुभयो ।
उहाँले सहकारी र बैङ्कको भिन्नताबारे आँैल्याउँदै बैङ्क एक पुँजीपति तथा ठुला व्यापारीहरूको हितको लागि खोलिएको संस्था भएको र सहकारी समाजको व्यापक एवं चौतार्फी हितका लागि कार्य गर्ने संस्थाको रूपमा रहेको स्पष्ट पार्नुभयो । उहाँले हामी सर्वसाधारण जनताको घरमा चुलो बाल्नसमेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमले असर पार्ने हुँदा हामीले त्यस्ता विषयमा जानकारी राख्न र बुझ्न आवश्यक छ भन्नुभयो ।
पँुजीवादी देशहरूले गरेका अमानवीय युद्धले सिङ्गो विश्वका सर्वसाधारण जनताको जीवनयापनमा असर गरेको चर्चा गर्दै उहाँले प्यालेस्टिन, लेवनान, युक्रेनको युद्धमा मलजल गर्ने तथा समाजवादी देशहरूमा गरेको नाकाबन्दीको निन्दा गर्नुभयो ।
साबिक भनपा १५ वडाका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले सहकारीमा अहिले भइरहेको विद्यमान विकृति र विसङ्गगति बुझ्दै आगामी दिनहरूमा थप सजग रहनुपर्ने बताउनुभयो । सदस्यले संस्थामा निर्वाह गर्नुपर्ने काम कर्तव्यको भूमिकालाई बिर्सन नहुने तथा सञ्चालकहरूले पनि स्वमूल्याङ्कन गर्नुपर्ने उहाँले औँल्याउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष तथा भनपा वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले नगरमा सहकारी क्षेत्रको सुधारका लागि पालिकाबाट नियमित संस्थाहरूको अनुगमन गर्दै आएको जानकारी दिनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका प्रतिनिधि निर्मला सुवालले सङ्घको आवश्यकता र निर्वाह गरेका भूमिकामाथि प्रकाश पार्नुभयो । संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा मित्र साकोसहरूको तर्फबाट सिद्धि गणेश साकोसका प्रतिनिधि सपना कवां, संगम साकोसका प्रतिनिधि विजय लोहलाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवाल, सचिव राजु छुकां र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रनेश बाटी र प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथिहरूले संस्थाका ज्येष्ठ सदस्यहरू, माध्यमिक तह (+१२) उत्तीर्ण विद्यार्थीहरू, असल नियमित बचतकर्ता, असल ऋणी तथा असल बाल सदस्यहरूलाई पनि सम्मान गरियो  । संस्थाको लेखा समिति, बाह्य लेखा परीक्षणको प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन, आगामी वर्षको अनुमानित वार्षिक बजेट र भावी नीति तथा कार्यक्रमहरू पारित भएको उक्त कार्यक्रमको बिचबिचमा सांस्कृतिक कार्यक्रम देखाइएको थियो । साधारणसभामा संस्थाका कुल सदस्यहरूमध्ये ८८.७४ प्रतिशत सदस्यहरूको उपस्थितिमा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *