जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, १९ असोज । समाज सुधार बचत तथा ऋण सहकारी संस्था लि. १७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा पनेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले बाढी पीडितहरूलाई सहयोग गर्नुको सट्टा सत्तासीन नेताहरू भागबन्डामा केन्द्रित रहेको बताउनुभयो ।
सहकारीमा हुने गरेका बेतिथिहरूलाई सहकारीका सदस्यहरूले नै अन्त गर्न पहल गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सहकारी ठग नै देश सञ्चालक भएका कारण सोझासिधा जनताले दुःख पाएको हो भन्नुभयो ।
शिक्षा र स्वास्थ्यमा सरकारले ध्यान दिएको भए सर्वसाधारण जनताले दुःख नपाउने र यसका लागि शिक्षा, स्वास्थ्य निःशुल्क हुनु जरूरी रहेको उहाँले बताउनुभयो ।
सूर्यविनायक नगरपालिका सहकारी शाखाका प्रतिनिधि कल्पना श्रेष्ठले संस्थाका सञ्चालकहरू निःस्वार्थपूर्वक सेवा भावमा लाग्नुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधि चण्डिका छुकांले सहकारीलाई व्यवसायको रूपमा सञ्चालन गरेकै कारण कतिपय सहकारीमा समस्या आएको धारणा राख्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष महेन्द्र बखुन्छेले समुदायमा आधारित रहेर सञ्चालन भएकै कारण सदस्यहरूको सहकारीप्रति विश्वास जित्न सफल भएको बताउनुभयो ।
संस्थाका अध्यक्ष राम कृष्ण बखुन्छेको सभापतित्वमा भएको सो कार्यक्रममा श्याम बिसुंखे, संस्थाका सचिव राधेश्याम भुजु, कोषाध्यक्ष श्यामकृष्ण धुख्वा, लेखा सुपरिवेण समितिका संयोजक जितबहादुर खाइजु, सञ्चालकद्वय राजेन्द्र बखुन्छे र चनमती खुलिमुली बखुन्छेले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा असल बचतकर्ता, असल ऋणी, कक्षा १२ उत्तीर्ण विद्यार्थी, एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा प्रशंसा पत्र वितरण गरिएको थियो ।
Leave a Reply