भर्खरै :

डोरबहादुरको ‘भाग्यवाद’

-नीरज
डोरबहादुर विष्टले ‘फेटालिज्म एण्ड डेभेलपमेन्ट, नेपाल्ज स्ट्रगल फर मोर्डनाइजेसन’ (भाग्यवाद र विकास, आधुनिकीकरणको लागि नेपालको सङ्घर्ष) पुस्तक लेख्दाको समय र आजको समयबीच धेरै अन्तर भइसकेको छ । सबभन्दा ठूलो भिन्नता त आज यो पुस्तकका लेखक विष्ट स्वंय बेपत्ता छन् । २०५१ माघबाट बेपत्ता मानिएका विष्ट जीउँदै छन् वा मरिसके, कसैसँग यकिन छैन । जीउँदै छन् भन्न उनी कहाँ के गरिरहेका छन्, कसैलाई थाहा छैन । मरिसके भन्न उनको पार्थिव शरीर कसैले देखेको छैन ।
हो, समय परिवर्तन भइसक्यो । नेपाली समाज राजनीतिक, आर्थिक, सामाजिक, मनोवैज्ञानिक, प्राविधिक लगायत धेरै कोणबाट बद्लिसकेको छ । तर ‘फेटालिज्म एण्ड डेभेलपमेन्ट’ पहिलो पटक प्रकाशित भएको २७ वर्ष भइसक्दा पनि त्यो पुस्तकमा विष्टले अघि सारेको शोधनतिजामा भने ठूलो बद्लाव आएको छैन । यो कृतिको अमरत्व यसैमा छ । विष्टले पुस्तकमा अघि सारेका धेरै तथ्याङ्क आजको तथ्याङ्कसँग तुलना गर्दा कहीं मेल नखाने भइसकेका छन् । आजको गणित धेरै गुणाले माथि भइसकेको छ । तर विष्टले पुस्तकमा अघि सारेको मुलकथन आजको नेपाली समाजको निम्ति पनि उत्तिकै सही र सान्दर्भिक छ ।

फेटालिज्म अर्थात भाग्यवाद । भाग्यवाद अर्थात कर्ममा नभई भाग्यमा र भाग्यको भरमा बाँच्ने र सोच्ने चिन्तन । इतिहासको गहिराईमा जरा गाडेको यो चिन्तनकै कारण नेपाली समाज उत्पादनशील बन्न नसकेको विष्टको धारणा हो । कुनै समाज जब भाग्यवादको भासमा फस्छ भने त्यो समाजले आफू स्वंय र आफ्नो क्षमतालाई विश्वास गर्दैन । अरुको भरमा र आशामा बाँच्नु उसको बानी र संस्कार बन्दै जान्छ । जब यही संस्कार समाजको जरासम्म संक्रमण हुन पुग्छ भने त्यो रोगबाट राजनीति, अर्थतन्त्र, सरकारी प्रशासन, शिक्षा, व्यवहार, संस्कृतिलगायत सबै क्षेत्र संक्रमित हुने गर्दछन् । अनि आफ्नो उत्पादनशीलता र पौरखमा विश्वास गर्न नसकेको समाज भाग्यवादी बन्ने गर्दछ । राज्यको चिन्तन नै भाग्यवादी र राज्य चलाउनेको चिन्तन नै भाग्यवादी बनेको अवस्थामा सिङ्गो समाज, समाजका हरेक सदस्य र सुदूर भविष्यसम्म पनि भाग्यवादी बन्दै जाने गर्दछ । अनि त्यो समाज आफै उत्पादनशील नभई भाग्यवादी बन्दा उसलाई अरुको भर नपरी सुखै हुने गर्दैन । अरुले गरेको उत्पादनमा भर पर्ने समाज सधैं चाकडी र बठ्याईँमा टिकेको हुन्छ । विष्टको विश्लेषणमा नेपाली समाजको अग्रगतिको मूलबाधक नै त्यही अरुको भरमा बाँच्ने र चाकडी, बठ्याईँ र ठगीका भरमा चल्ने चिन्तन र प्रवृत्ति राज्यशासनमा पुगेका वा प्रभाव भएकाहरुको मूलचिन्तन र प्रवृत्ति हुनु हो ।

अश्वथामाले पहाडको टाकुरामा बसेर सम्पूर्ण महाभारत युद्ध हेरेजस्तै विगत दुई दशकको नेपाली समाजको महाभारतलाई कुनै टाकुरमा बसेर नियाल्दै गरेका विष्टले कति वटा पाण्डुलिपि बोकेर आउने होलान्, सबैले कल्पना त गर्न पाउँछन् नि ।

विष्ट इतिहास केलाउँदै निष्कर्षमा पुग्छन्–वास्तवमा यस्तो चाकडी र अरुको भरमा बाँच्ने चिन्तन नेपालको आदिम वा आदिबासी चिन्तन थिएन । तर विशेषतः मुसलमान हमलाकारीको आक्रमणबाट उत्तरतिर भाग्दै नेपाल पसेका भारतीय हिन्दु ब्राम्हणहरु नै यो रोग नेपालतिर संक्रमण हुनुका मुल कारण हुन् । उनीहरु आफै केही उत्पादन गर्ने गर्दैनन् तर अरु उत्पादनशील समुदायलाई भाग्यवादको चिन्तनमा ढालेर आफ्नो विशिष्टताको स्वघोषणा गर्दै शासनमा प्रभाव बनाउने गरेका छन् ।
विष्टले आफ्नो पुस्तकमा धेरै ठाउँमा प्रयोग गर्ने गरेका दुई शब्द–‘चाकडी’ र ‘आफ्नो मान्छे’ आजको नेपाली समाजमा पनि त्यही व्यापकताका साथ प्रचलित छन् । विष्टले तात्कालीन समाजमा जुन म्याग्निच्युडमा चाकडी र आफ्नो मान्छेको प्रभाव उत्तिबेला देखेका थिए, आज त्योभन्दा ठूलो म्याग्निच्युडमा यो प्रवृत्ति प्रभावशाली बन्दै गइरहेको हामी देख्न सक्छौं । आज राजनीति, राजनीतिक पार्टी, राजनीतिक संस्कार र शासनप्रणालीमा हामी कुनै न कुनै नयाँ आवरणमा त्यही चाकडी र आफ्नो मान्छेको चिन्तनले काम भइरहेको देख्छौं । न्यायालय, विश्वविद्यालयदेखि कर्मचारी भर्ती र योजना ठेक्का दिने काममा समेत चाकडी र आफ्नो मान्छेको सोचले मूलरुपमा काम भइरहेको देख्छौं ।
कुनै पनि उत्पादनशीलता नभएको र पौरखहीन व्यक्ति, समाज र देश आफ्नो भरमा टिक्न सक्दैन, अनि उसले कोही ‘माथि’ कै आशा गर्ने गर्दछ । अनि उसले चाकडी र आफ्नो मान्छे चिन्तनको हतियार प्रयोग गर्ने गर्दछ । त्यस्तो समाज जसको आफ्नो उत्पादनशीलता हुँदैन, त्यो समाज भाग्यवादी बन्नुको विकल्प हुने गर्दैन । आजको समाज प्रविधि र ज्ञानको सन्दर्भमा जतिसुकै प्रगतिउन्मुख भएको देखिए तापनि यो समाजको जरमा रहेको भाग्यवादको भाइरस आज पनि कुनै न कुनै रुपमा संक्रामक र प्रभावशाली छ । तसर्थ विष्टले आफ्नो पुस्तकमा जुन निष्कर्ष निकालेका छन्, त्यो पुस्तक आज पनि कोही विष्टकै स्तरको मानिसले लेखेको भए पनि त्यसमा कुनै ठूलो बद्लाव हुनेछैन ।
विष्ट प्रष्टतः भाग्यवादको स्रोत नेपाली समाजलाई दिने पक्षमा छैनन् । नेपाली समाजमा व्याप्त जातीय भेदभावसँग जोडिएको भाग्यवाद नेपालको मौलिक आविस्कार नभएको उनको खोजनिष्कर्ष हो । उनले नेपालका विभिन्न आदिबासीहरुको संस्कृति र संस्कार प्रमाणको रुपमा पेश गर्दै त्यो भाग्यवाद नेपालका आदिबासीहरुको मूल संस्कृति नभएको तर्क पेश गरेका छन् । ती आदिबासी समुदायको मूल संस्कार आफ्नो भाग्य आफै बनाउने सिद्धान्त वा दर्शन हो । आफ्नो पौरखमा उभिएर बाँच्ने स्वाबलम्बी दर्शनमा ती समुदाय अघि बढेका थिए र आज पनि तिनका कतिपय संस्कार–संस्कृति त्यही जीवन दर्शनमा टिकेको छ । यद्यपि आज शासन–प्रशासनले अंगीकार गरेको चाकडीबाजी, आफ्नो मान्छे अर्थात समग्रमा भाग्यवादको विषाक्त रोगले ती आदिबासीहरु पनि त्यो भाइरसबाट अछुतो भने छैनन् ।
भाग्यवादको पाठेघर भनेको जातीय उँचनिचको बन्दोबस्त हो । कोही पनि मानिस जन्मने बित्तिकै उँचो हुने, कोही निच हुने, कोही छुन हुन हुने र कोहीलाई छुँदा पाप लाग्ने–यो सामाजिक बन्दोबस्त नै भाग्यवादको जरा हो र त्यो बन्दोबस्त नेपाली समाजमा स्थापित गर्न भारतबाट आएको ब्रम्हाणवादी चिन्तन कारक भएको विष्टको तर्क हो ।

यद्यपि विष्ट नेपाली समाजको जातीय बन्दोबस्त भारतीय स्रोतबाट आएको भए तापनि भारतीय जातीय बन्दोबस्तभन्दा फरक र लचिलो भएका कारण नेपाली समाज अघि बढ्न र नेपाली समाजलाई उत्पादनशील बनाउने सम्भावना भने यथेष्ट रहेको तर्क प्रस्तुत गर्छन् । तर त्यसको निम्ति भाग्यवादको चण्डाललाई मन्छाउनुपर्ने उनको भनाई हो ।
विष्टका यस्ता विचार र धारणाका कारण नेपाली समाजको धेरै तप्कामा भूकम्प नगएको होइन । आफूलाई भारतीय राजशाही कुलका पवित्र वंशज मान्दै आएका नेपाली राजपरिवारलाई मगरको सन्तति भनेर भन्दा स्वंय राजपरिवार विष्टप्रति रुष्ट थियो । यो पुस्तकको प्रकाशनपश्चात आफू विवादमा तानिने कुरा विष्टले अमेरिकी मानवशास्त्री जिम फिसरसँगको अन्तर्वार्तामा भनेका छन् । तर विष्ट राज्यको बुद्धिजीवी थिएनन्, बौद्धिक अध्येता थिए । फलतः विवाद, राज्यको कोपभाजनमा पर्न सक्ने, राज्यको कृपा नपर्ने सबै सम्भावनालाई लत्याएर उनले लेखे । नेपाली समाजको एउटा लुकेको पाटोलाई उजागर गरे ।
केही वर्षअघि त्रिभुवन विश्वविद्यालय नेपाल तथा एसिया अध्ययन केन्द्र सिनासले संस्थाका पूर्वनिर्देशक विष्टका मानवशास्त्रीय र समाजशास्त्रीय निबन्धहरुको सङ्कलन प्रकाशित गरेको थियो । त्यो कृतिका कतिपय निबन्ध समाजशास्त्र र मानवशास्त्रका विद्यार्थीहरुका लागि पढ्नै पर्ने पाठ हुन् नै । सँगै त्यो कृति अरु कुनै पनि नेपाली समाजलाई जान्न र नियाल्न चाहने अध्येताले पढ्नै पर्ने निबन्धहरुको सङ्ग्रह हो । बिडम्बना नेपालको पुस्तक बजारमा त्यस्ता कृतिहरु भने गुफामा लुकाइएका छन् ।
विष्टका अरु धेरै आयामहरु छन् । उनी साहित्यकार हुन् । उनका कथाहरु, उपन्यास र संस्मरण प्रकाशित छन् । विष्टकृत ‘रिपोर्ट फ्रम ल्हासा’ चीन–नेपाल कुटनीतिक इतिहासको पठनीय निधि हो । ‘सयौं जातका फुलबारी’(पिपुल्स अफ नेपाल) नेपाली समाजको अनुपम र मिहीन चित्र हो ।
ती सबै कृतिले आज बेपत्ता भएको झण्डै तीन दशक पुग्न लाग्दा समेत नेपाल बुझ्न चाहने जोकोही अध्येतालाई पनि विष्ट कुनै नयाँ र भव्य कृतिहरु बोकेर कुनै बिहान फेरि झुल्कनेछन् भन्ने कुरामा आशावादी बनाएको छ । अश्वथामाले पहाडको टाकुरामा बसेर सम्पूर्ण महाभारत युद्ध हेरेजस्तै विगत दुई दशकको नेपाली समाजको महाभारतलाई कुनै टाकुरमा बसेर नियाल्दै गरेका विष्टले कति वटा पाण्डुलिपि बोकेर आउने होलान्, सबैले कल्पना त गर्न पाउँछन् नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *