भर्खरै :

देशको छवि र राजनीति धमिल्याउने काम नहोस्

शासक दलका नेता, मन्त्री र सांसदहरू राम्रा कुरा फलाकेर खराब काम गर्छन् । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने कुरा नराम्रो होइन । यो देश र जनताको आवश्यकता हो । विधि र सुशासनको कुरा पनि नराम्रो होइन । तर, देश कहिले समृद्ध हुने ? जनता कहिले सुखी हुने ? विधि र सुशासनको कुरा त कुन चराको नाउँझैँ छ । देशमै रोजगारी व्यवस्था गर्ने नारा पनि नघन्केको होइन । तर, रोजगारीकै निम्ति देशका युवा युवतीहरू बिदेसिरहेका छन् । पढेलेखेका युवा युवती अमेरिका, क्यानाडा, अस्ट्रेलिया पसिरहेका छन् त कति कामको खोजीमा खाडी मुलुकमा छिरिरहेका छन् । प्रश्न उठ्छ, देशमा रोजगारीको बन्दोबस्त कहिले हुने हो ? के नेपाली जनताले जहिल्यै शासकहरूको आश्वासन सुनेर अघाइराख्ने ? सत्ताको लुछाचुँडीमा पल्केका सत्तासीन दलका नेताहरू देश र जनताप्रति जिम्मेवार रहेर कहिले काममा लाग्ने ? आशा र आश्वासन कहिलेसम्म बाँडिरहने ?
सिद्धान्ततः एमालेको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद हो । तर, एमालेले व्यवहारतः माक्र्सवादी सिद्धान्त मानेको छैन; वर्गसङ्घर्षको बाटो रोजेको छैन । माक्र्सवादी सिद्धान्तअनुसार अँगीकार गर्ने दल एमोलेको नेतृत्वमा कम्युनिस्टविरोधी पार्टी नेका संलग्न छ । कम्युनिस्टको कुनै सिद्धान्त र विचारसित नमिल्ने नेका सम्मिलित एमालेको सरकारले देशमा कम्युनिस्ट पार्टी बलियो बनाउने र कम्युनिस्ट आन्दोलन अघि बढाउने कुरा गर्ला भनेर कसरी विश्वास गर्ने ? आफूलाई प्रजातान्त्रिक भनिने नेका पुँजीवादी पार्टी हो; कम्युनिस्टविरोधी पार्टी हो । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोडेर पुँजीवादी पार्टीसँग मिल्ने एमालेलाई राजनीतिक विश्लेषकहरूले नक्कली कम्युनिस्ट पार्टी या भाइकाङ्ग्रेस भनेकोमा के आश्चर्य ?
सरकार गतिशील र उत्तरदायी बन्नुपर्छ । सरकारले तद्नुसारको मार्गनिर्देश तयार गर्नुपर्छ । सुशासनको प्रत्याभूति र भ्रष्टाचारको अन्त्यको बखान गरेर होइन व्यवहारमा लागु गरेर देखाउनुपर्छ । देशको स्वाधीनता र सार्वभौम देशमा आँच आउने कुनै नीति र निर्णय सरकारले गर्नुहुँदैन । सत्तासीन दलका नेताहरूले न विकासको पूर्वाधार तयार गरे न त दिशानिर्देश नै गर्नसके । देशको छवि र राजनीति धमिल्याउने शासकहरूकै कारण देश विकासको उचाइमा नपुगेको हो; देश आत्मनिर्भर बन्न नसकेको हो । सरकारले त देशको नाम चम्काउने काम गर्नुपर्ने हो† देशको इज्जत र प्रतिष्ठा बढाउने काम गर्नुपर्ने हो । तर, विडम्बना ! सत्तासीन दलका नेताहरूको कारण नेपाल विश्वसामु बदनाम हुँदै छ; भ्रष्टाचार बढी हुने देशको सूचीमा परेको छ ।
देशको बदनाम हुनुको कारण सरकार अस्थिर हुनु हो; सिद्धान्त र विचारको राजनीति नगरी भागबन्डाको राजनीति गर्नु हो । भागबन्डाको राजनीतिले मार्गनिर्देश गर्न सक्दैन† सिद्धान्त र विचारको आधारमा सरकारी नीति तथा कार्यक्रम बनाउन सक्दैन । यही कारण देश पछि परेको हो; देश अस्थिर बनेको हो । यहाँ अन्योल छाएको हो । काण्डै काण्डको देश बनेको हो । बेथिति बढेको हो । यसमा ठुला दलका नेताहरू नै दोषी छन् । राजनीतिलाई कमाइ खाने भाँडो बनाएर पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउन पल्केपछि देश कसरी बन्छ ? जनता कसरी सुखी हुन्छन् ? देशलाई कसरी जोगाउन र बनाउन सकिन्छ ?
हरेक राजनीति दलका नेता, मन्त्री र सांसदहरूले पदअनुसारको इमानदारीपूर्वक राजनीति गर्नुपर्छ । राजनीति देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने भावनाले काम गर्नुपर्छ । शासक नेताहरू इमानदार, जिम्मेवार र निःस्वार्थी नहुँदा देशमा समस्या देखिएको हो; राजनीतिलाई गलत ढङ्गले उपयोग गरिरहेको हो । शासकहरू जति जोगी आए पनि कानै चिरेका परे । उनीहरूले समुन्नत देश बनाउने, सुसंस्कृत समाज बनाउने, देश र जनताप्रति जवाफदेही भएर काम गरेनन् । यसको कारण देश दिशाहीन बनेको हो† शासकहरू किकर्तव्यविमूढ भए; भ्रष्टाचार, अनियमितताको आहालमा डुबे । अतः शासकहरूप्रति नेपाली जनताको विश्वास गुम्यो र अन्तर्राष्ट्रिय समुदायमा पनि नराम्रो छवि पुग्यो । तर पनि शासकहरूले बुद्धि पु¥याएर काम गरेनन्; गर्न चाहेनन् । यो नै देशको दुर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *