भर्खरै :

जताततै पटाका पड्काइयो : प्रशासन मौन पटाका बिक्रेताहरूलाई कारबाही गर्नु आवश्यक

काठमाडौँ, १७ कार्तिक । गृह मन्त्रालयले तिहार पर्व सुरू हुनुभन्दा केही दिन पहिले नै नेपालमा कुनै पनि पटाका, आतसबाजी र पड्काउने बार भारतबाट नभित्याउने सूचना जारी गरेको थियो । सरकारले बार, पटाका, आतसबाजी खरिद नगर्न पनि आग्रह गरेको थियो । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पनि सूचना जारी गरेर पटाका, आतसबाजी बिक्री वितरण नगर्न, नगराउन र गरे कारबाही गर्न जोड दिएको थियो । पटाका र आतसबाजीबाट हुनसक्ने दुर्घटनाबाट जोगाउन उक्त सूचना जारी भएको थियो । तर, यो कुरा सूचनामा मात्र सीमित रह्यो । चाड सुरू हुनु अघिदेखि नै जिल्ला जिल्लामा पटाका र आतसबाजी पड्काउने काम सुरू भयो । तिहार अवधिभर नै सडक, टोल, चोक–चोक र बस्ती बस्तीमा विशेषगरी स–साना भाइ र भर्खरका युवाहरूले बार, पटाका र आतसबाजी पड्काए । पटाका र आतसबाजी पड्काएको आवाजले बाटामा हिँड्ने यात्रु, बालबालिका, वृद्धवृद्धाहरू डराएर बेहोस भएको, बाटोमा लडेको खबर पनि टोल–टोलमा नसुनेको होइन ।
पटाका र आतसबाजी पड्काउनु सरकारको निर्णयविपरीत छ; यो गैरकानुनी काम हो; यो सामाजिक मूल्य र मान्यताविपरीत छ । जहाँसुकै जहिलेसुकै पटाका पड्काउन थालेपछि जिल्ला प्रशासन कार्यालयको ध्यान जानुपर्ने हो; गैरकानुनी कदम रोक्न प्रहरी परिचालन गर्नुपर्ने हो; माइकिङ गरेर खबरदारी गर्नुपर्ने हो । तर, त्यो भएको देखिँदैन । जिल्ला प्रशासन कार्यालयले पसल पसलमा अनुगमन गरेर पटाका, आतसबाजीका सामग्रीहरू छ छैन हेर्नुपर्ने हो । कहीँ कतै पाइएमा आगजन्य ती पदार्थहरू जफत गरेर सम्बन्धित व्यवसायीहरूलाई कारबाही गर्नुपर्ने हो । यसरी पटाका र आतसबाजी पड्काएर हैरान पार्ने, थर्कमान बनाउने र वातावरण दुर्गन्धित र दूषित बनाउने काम भइरहँदा पनि प्रशासन मौन रह्यो । पटाका र आतसबाजी पड्काउन प्रतिबन्ध भएको थाहा हुँदा हुँदै बिक्री गर्ने पसलेहरू यसका जिम्मेवार छन् ।
बिगतमा यस्तै पटाका र आतसबाजीजस्ता आगजन्य वस्तु पड्काएर आँखा गुमेको र तराईमा धेरै घरहरू जलेर क्षति भएको थियो । विशेषगरी सहर बजार, सडक, चोकजस्ता ठाउँ ठाउँमा पटाका पड्काएको पाइन्छ । अभिभावक, टोलका मान्यजन, शिक्षक, समाजसेवीहरूले पनि पटाका र आतसबाजी नपड्काउन सम्झाइबुझाइ गर्नुपर्ने देखिन्छ । पटाका र आतसबाजी पड्काउने तिहारको चलन पनि होइन । मनोरञ्जनको नाउँमा अनावश्यक पैसा खर्च गरी पटाका पड्काउने कार्य असामाजिक गतिविधि हो† यसको सबैले विरोध गर्नुपर्छ । पटाका बेच्ने व्यापारी र सो सामग्री नेपालमा भित्याइने सम्बन्धित सबैलाई अनुगमन गरेर कारबाही गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *