भर्खरै :

शान्ति बिथोल्ने अमेरिका प्रजातन्त्रको ‘पहरेदार’ नहुने

अरू देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने संयुक्त राज्य अमेरिकाको नानीदेखि लागेको बानी हो । ऊ संसारका अरू देशमा आफू पक्षधर सरकार स्थापना गर्न सत्ता परिवर्तनको षड्यन्त्रमा लागिरहेको हुन्छ । अमेरिकाले आफ्ना पक्षधर गैरसरकारी संस्थालाई विश्वभर फैलाउने प्रयास गरिरहेको हुन्छ । संसारका अरू देशलाई आफ्नै आकारमा ढाल्न उसले हतियार, सेना र आर्थिक सहयोग गर्छ; आन्तरिक कलह बढाउँछ; देश देश जुधाएर हतियार बिक्री गर्छ र नाफा कमाउँछ । रुस र युक्रेनको युद्ध र इजरायलले प्यालेस्टिनमा गरेको बम वर्षा र आक्रमण यसको पछिल्लो उदाहरण हो । अमेरिका शक्तिसम्पन्न र प्रभावशाली भए पनि संसारबाट एक्लिँदै छ । अमेरिकाले क्युवामाथि दशकौँदेखि लगाएको नाकाबन्दी हटाउन राखेको प्रस्तावमा अमेरिका र इजरायलबाहेक अरू १८७ देश नाकाबन्दी अन्त्य गर्ने पक्षमा गरेको मतदानले अमेरिका एकातिर संसारका अरू देश अर्काेतिर भएको स्पष्ट देखाउँछ । अमेरिकाले संसारका अन्य देशमाथि प्रजातन्त्रको आफ्नो ब्रान्ड निर्यात गर्न खोज्ने, संसारमा विभाजन निम्त्याउन आफ्नो मूल्य र मान्यतालाई हतियारको रुपमा प्रयोग गर्ने बहानामा अरू देशमाथि हस्तक्षेप, हमला र दमन गर्ने देश कसरी प्रजातन्त्रवादी हुन्छ ? राजनीतिक विशेषता र विचारधाराको आधारमा अमेरिकी प्रजातन्त्र एक प्रकारको पुँजीवादी प्रजातन्त्र हो ।
अमेरिकी राजनीति लामो समयदेखि मुट्ठीभर शासक वर्गको नियन्त्रणमा छ । त्यहाँको राजनीति पैसामुखी रहेको छ । पैसामुखी राजनीतिले जनतालाई प्रजातान्त्रिक हक अधिकारबाट वञ्चित गर्छ । जसले बढी पैसाको खोलो बगाउँछ, त्यसका उम्मेदवारको जित हुन्छ । हुन पनि पुँजीपतिवर्गले पैसालाई निर्वाचनमा नियन्त्रण गर्ने सबभन्दा महत्वपूर्ण औजार बनायो । पुँजीवादी पार्टीको राजनीतिमा पैसा नै आरम्भ बिन्दु र अन्तिम बिन्दु हुन्छ । अहिले निर्वाचनमा उठेका उम्मेदवारहरू पनि पुँजीपतिवर्ग या चरित्रकै पात्रहरू हुन् । पैसाको राजनीति गर्ने सामन्त र पुँजीपतिवर्गको राज संसारकै सम्पूर्णजसो देशमा फैलिसकेको छ । नेपालमा पञ्चायतकालमा मात्र होइन बहदलीय हुँदै यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि पुँजीवादी दलहरूले निर्वाचनमा पैसाको छेलोखेलो गर्छन् । आफूलाई कम्युनिस्ट भनिने ठुला दलले पैसाकै राजनीति गरे; मत पाउन पैसा बाँडे । निर्वाचनमा पैसा बाँडेकै कारण कति सर्वसाधारण जनता पैसा दिएपछि या पैसा दिने दललाई मतदान गर्छन्; किसानको अहितमा काम गर्ने, श्रमजीवीवर्गमाथि शोषण र दमन गर्ने दलका उम्मेदवारलाई जिताउँछन् । सर्वसाधारण जनतामा राजनीतिक चेतना, राजनीति सुझबुझ र सांस्कृतिक स्तर नहुँदा आफ्नै वर्गलाई दबाउने दलका उम्मेदवारलाई जिताउँछन् । पैसामुखी राजनीतिले प्रस्टतः धनी वर्गकै सेवा गर्छ । पैसाको भरमा जितेको सरकारले सर्वसाधारण जनताको हित हेर्दैन; बहुमत जनताको पक्षमा ऐन कानुन बनाउँदैन ।
संयुक्त राज्य अमेरिका आक्रामक देश हो; संसारमा शान्ति बिथोल्ने देश हो; अरू देशको विकास नचाहने देश हो । यस अर्थमा अमेरिका प्रजातन्त्रको ‘पहरेदार’ होइन । आज संसारका स्वाधीन र सार्वभौम देशहरू अमेरिकाकै कारण असुरक्षित छन् । सयौँ देशमा अमेरिकी सेना तैनाथ गरिएको छ । प्रजातन्त्रको नाउँमा विश्वमा शान्ति बिथोल्ने, अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, स्थायित्व र सामाजिक सद्भाव बिथोल्ने काम अमेरिकाले गरिरहेको छ । के यो अमेरिकी दादागिरी होइन ? संसारका मुलुकलाई अमेरिकी प्रशासनको छत्रछायामा राख्ने र नबसे आक्रमण गर्ने, आर्थिक नाकाबन्दी गर्ने काम के शान्तिकामी जनताको दुश्मन होइन ? दुष्ट व्यवहार गर्ने, शक्तिको आडमा अरूलाई निल्ने देश कसरी प्रजातन्त्रवादी हुन्छ ? अमेरिकाको यस्तै दमन, आक्रमण, दबाब, हस्तक्षेप र नाकाबन्दीको कारण अमेरिका एक्लिँदै गएको हो । देश र जनताको सेवा नचाहने, शक्तिशाली देश भनेपछि थरथर काँप्ने, देश र जनताको अहित भए पनि शक्ति राष्ट्रकै पछि लाग्छन्; उनीहरूकै गुणगान गर्छन् । अरू देशको लहै लहैमा लागेसम्म, अन्ध समर्थन गरेर उनीहरूको पछि लागेसम्म न देश विकास हुन्छ न त आत्मनिर्भर नै हुन्छ । नेपालका शासकहरू दूरदर्शी, देश र जनताप्रति जिम्मेवार नभएको हुँदा देशको विकास उचाइमा नपुगेको हो; देशमा बेथिति बढेको हो । तर, ठुला दलका शासकहरू मौन छन्, यो नै देशको दुर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *