यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
साहित्य समाजको ऐनामात्र होइन । यो वर्गसङ्घर्ष र जनताको प्रजातन्त्र ल्याउने सङ्घर्षको एक सक्रिय र सशक्त हतियार पनि हो । साहित्य जीवन सङ्घर्षको आधारमा रचना गरिएको हुन्छ । साहित्य राजनीतिको हतियार हो । कुनै पनि साहित्य कुनै न कुनै वर्गको पक्ष या विपक्षमा लेखिएको हुन्छ । साहित्य र कलाले कुनै न कुनै राजनीतिको सेवा गरेको हुन्छ । कामदारवर्गको साहित्य कामदारवर्गलाई निद्राबाट बिउँझाउने एक भरपर्दाे माध्यम हो । यो वर्गीय चेतना बढाउने र सङ्घर्षलाई अगाडि बढाउने बाटो हो । कामदारवर्गको साहित्य पुँजीवादी साहित्यलाई चकनाचुर पार्ने हतियार हो ।
प्रगतिशील साहित्य यथार्थवादी हुन्छ तर सबै यथार्थवादी साहित्य प्रगतिशील हुँदैनन् । सबै माक्र्सवादी साहित्य प्रगतिशील हुन्छन् तर प्रगतिशील साहित्य सबै माक्र्सवादी हुँदैनन् । दास युगमा सामन्तवादी विचार साहित्य प्रगतिशील हुन्छ भने सामन्तवादी युगमा पुँजीवादी विचार र साहित्य प्रगतिशील हुन्छ । समाजवादको युगमा पुँजीवादी विचार प्रतिक्रियावादी र समाजवादी विचार प्रगतिशील हुन्छ । सामन्तवाद, साम्राज्यवाद, पुरानो र नयाँ उपनिवेशवादको विरोध गर्ने सबै साहित्य प्रगतिशील हुन्छ । सामन्तवाद र साम्राज्यवादविरोधी कति लेखक, कवि, कलाकार तथा तिनीहरूले रचना गरेको साहित्य माक्र्सवादी नहुन सक्छ । तर, कम्युनिस्ट र माक्र्सवादीहरूको दर्शन तथा अरु सबै वर्ग र दर्शनभन्दा अगाडि बढ्ने हुनाले तिनीहरूको साहित्य प्रगतिशील हुन्छ । यस्तै एक प्रगतिशील साहित्य आज मध्यपुर थिमिको बोडेमा हुन गइरहेको २६ औँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रममा प्रस्तुत हुनेछ ।
भाषाको सम्पन्नतामा साहित्यको भूमिका महत्वपूर्ण हुन्छ । साहित्यले देशमा परिवर्तनको बिगुल बजाउँछ । कुनै भाषाको साहित्यले देशको समसामयिक चिन्तनको अगुवाइ गरेको हुन्छ । त्यसले देशमा युगान्तकारी परिवर्तनको अगुवाइ गरेको हुन्छ । फ्रान्सेली राज्य क्रान्ति, सोभियत रुसमा भएको समाजवादी क्रान्ति र चीनको मुक्ति युद्धमा तत्तत् देशको साहित्यले महत्वपूर्ण योगदान गरेको थियो । किनभने, जनताको साहित्य जनताका प्रचारका साधन हुन् । जनताको साहित्यले मजदुर र किसान या श्रमजीवीवर्गको एक साँचो क्रान्तिकारी पार्टीको प्रचार गर्छ† त्यस्तो साहित्यले जनताको सेवा गर्छ । शोषितपीडित जनताको सेवा नगर्ने साहित्य जनताको साहित्य हुँदैन ।
क्रान्तिकारी साहित्य बहुसङ्ख्यक जनताको निम्ति शक्तिशाली हतियार हो । त्यस्तो साहित्यले क्रान्ति हुनुभन्दा अघि विचारधारात्मकरूपले भूमिका या आधार तयार गर्छ । साहित्य र कलासम्बन्धी येनान गोष्ठीमा नेता माओ त्सेतुङले भनेका थिए, “लेनिनले भन्नुभएझैँ ती सम्पूर्ण क्रान्तिकारी मेसिनका ‘दाँती र पेच–किला’ हुन् ।” साहित्य र कला जनसमुदायको निम्ति हुनुपर्छ । साहित्य र कलाले जनतालाई सचेत पार्ने, शत्रुलाई कमजोर पार्ने र नष्ट पार्ने शक्तिशाली हतियारको रूपमा उपयोग गर्नुपर्छ । यसले जनतालाई शत्रुसित जुध्न मद्दत पु¥याएको हुनुपर्छ । माओ त्सेतुङले भनेका थिए, “क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टीबिना साम्राज्यवाद तथा यसका दलालहरूलाई पराजित गर्न मजदुरवर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्नु असम्भव छ ।”
विविध भाषा साहित्य सम्मेलन पनि श्रमजीवी जनताको पक्षमा साहित्य वाचन गर्ने, जनतालाई शिक्षित बनाउने प्रगतिशील मञ्च हो । विविध साहित्यिक समाजको आयोजनामा हुने यो सम्मेलन प्रत्येक वर्ष यस्तै तिहारको बेला हुन्छ । साहित्यिक समाजले ‘भाषा, कला र संस्कृति बचाऔँ, राष्ट्रिय भावना जगाऔँ’ भन्ने मूल नारा तयार गरेको छ । यहाँको भाषा, संस्कृति र कला नै हाम्रो सम्पत्ति हो । अतः सबै भाषा, संस्कृतिको संरक्षण गर्नुपर्छ । भाषा, संस्कृति र साहित्य मानव सभ्यताको विकासको सिलसिला हो । सरकारले सबै जातिको भाषा, संस्कृति र साहित्यको संरक्षण नगरेको हुँदा देशमा रहेका कुश बाडिया, कुसुन्दा, बनकरिया, मेचे, राउते, राझी, सुरेल, हायुजस्ता जाति र भाषा लोप हुँदै छन् । अतः सबै भाषा र जातिलाई जीवन्तता दिन र विकास गर्न आवश्यक छ । यसरी देशका विभिन्न भाषा, साहित्य, संस्कृतिको विस्तार गर्न सरकार लाग्नुपर्छ । सरकारको कमजोरीको कारण नेपालमा रहेका कुनै पनि जनजाति, भाषा, संस्कृति, साहित्य र इतिहास लोप नहोस् ।
Leave a Reply