के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
पत्रकार : उमेरको हैसियतले म तपाईँलाई छोरी भन्छु, तपाईँको आपत्ति त छैन होला होइन ?
छोरी : तपाईँ बुबाकै साथी हुनुभएको हुँदा ‘नानी’ मात्र भन्नुभए पनि खुसी हुन्छ ।
पत्रकार : नानी अहिले के गर्दै हुनुहुन्छ ?
छोरी : अहिले एमएसी सकाउँदै छु । म विज्ञान मन पराउँछु ।
पत्रकार : मैले सुनेको गल्ती होइन भने, नानी साहित्यमा पनि सक्रिय हुनुहुन्छ, नाटक, नाचगानजस्तो जनताले मन पराउने विधामा पनि सक्रिय हुनुहुन्छ, यो कसरी ?
छोरी : विज्ञान बौद्धिक विषय हो भने साहित्य र त्यसका विविध विधा मनले वा हृदयले पढ्ने विषय हो । अन्तमा, साहित्यलाई मन र मस्तिष्क दुवै चाहिन्छ भन्ने ठान्दछु ।
पत्रकार : नानीले नेपाली साहित्यकारका कुन कुन पुस्तकहरू अध्ययन गर्नुभएको छ ?
छोरी : मैले नेपालका बाबुराम आचार्यका पुराना कवि र कविता, हृदयचन्द्र सिंह प्रधानका भानुभक्त एक समीक्षा, नेपाली कवि र कविता आदि पढेको छु ।
पत्रकार : नानीले बालकृष्ण समका नाटकहरू पढ्नुभएको छ ?
छोरी : अँ, पढेकी छु । अन्धबेगदेखि अमरसिंह थापासम्म र हृदयचन्द्र सिंहका ‘केही नेपाली नाटक’ (आलोचना) पनि पढेकी छु ।
पत्रकार : त्यसपछि ?
छोरी : लेखनाथ पौड्याल र अन्य कवि तथा कविताहरू पनि अध्ययन गरेकी छु, बीएससी पास गरेपछि । पुराना प्रवेशिका परीक्षासँग सम्बन्धित बीएसम्मका कवि र लेखकहरूका कथा, निबन्ध र रूपमतीजस्ता नेपाली महिलाहरूका दुःख र पीडा पनि बुझेकी छु । अहिले मैले पहिलेका नेपाली साहित्य खोजीखोजी पढ्ने गरेकी छु ।
पत्रकार : विदेशी भाषाका साहित्य पनि पढ्नुभएको छ नानी ?
छोरी : अँ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट छापिएका विदेशी साहित्यको संस्कृतको बाहेक सबै भाषाका साहित्य पढेकी छु ।
पत्रकार : एमएससीको परीक्षाफल निस्केपछि नानी के विदेशमै पढ्ने र विदेशमै बस्ने होला होइन ?
छोरी : अहँ, होइन । विदेशमा पढ्न गए पनि म अध्ययनपछि देश र जनताकै सेवा गर्न फर्कने छु । यो मेरो आफ्नो इच्छामात्र होइन, बुबाआमा, देशको परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिले धेरै निर्णय गर्छ, हाम्रै देशका जनता र व्यक्तिका लागि पनि ।
पत्रकार : नानी, अप्ठेरो नमान्नु होला, एउटा व्यक्तिगत प्रश्न सोध्छु, हुन्छ ?
छोरी : हुन्छ ।
पत्रकार : विवाह कहिले गर्ने ? अहिले नेपाली छोरी–बहिनीहरू अलि छिटो विवाह गर्ने गर्छन् त्यसैले … ।
छोरी : जुन केटीले भविष्यमा देश र जनताको ठुलो सेवा गर्ने इच्छा राख्ने छैनन् तिनीहरू सुरुदेखि आफ्नो जीवनलाई कम उमेरमै टुङ्ग्याउने सोचमा विवाह गर्छन् – जीवनको टाढाको उद्देश्य नराख्नेहरूले !
पत्रकार : विदेशी केटीहरू पनि त कम उमेरमै विवाह गर्छन् होइन र ?
छोरी : विदेशीले के गर्छन् हामीले हेर्ने त्यो होइन । हामीले हाम्रो देश र जनताको परिस्थितिलाई मूल्याङ्कन गरेर आफूलाई त्यसमा समर्पित राख्नु आवश्यक सम्झन्छु । म व्यक्तिगत जीवनलाई गौण सम्झन्छु† मेरो प्राथमिकता देश र जनताकै हितलाई दिनेछु ।
पत्रकार : के आज सबै छोरीहरू त्यहीँ सम्झन्छन् भनी नानीले अनुमान गर्नुहुन्छ ?
छोरी : म मेरो बारेमा भन्दै छु । अरुले पनि मेरै उदाहरणलाई ध्यान दिएमा नयाँ पुस्ताको देशप्रतिको योगदानले धेरै काम गर्ने अनुमान गर्छु ।
पत्रकार : नानीको यो उच्च विचारमा क–कसको योगदान सम्झनुहुन्छ ?
छोरी : नयाँ पुस्तालाई अगाडि बढाउनलाई समाजका अगुवा बा–आमाहरूले दुःख नगर्नुभएको भए हामीले आज आ–आफ्नै ठाउँ र जिल्लामा अध्ययन गर्न पाउने थिएनौँ । उहाँहरूकै योगदानलाई सम्झेर नयाँ पुस्ताले पनि योगदान गर्नुपर्ने भावना हामीमा पलाएको हो ।
पत्रकार : नानी र यस्तै छोरीको लालनपालन शिक्षित गर्ने अभिभावकहरूलाई मेरो सलाम !
Leave a Reply