यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
केही मानिसहरू नेपाल मजदुर किसान पार्टीको स्थापना भएको चार दशक पुग्दा समेत नेपालमा क्रान्ति नभएको गुनासो गर्छन् । यसप्रश्नको उत्तर निम्न छन् –
एक, कुनै राजनैतिक दलको स्थापनाको चार दशक हुँदैमा देशमा क्रान्ति हुने भए पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापनाले ६ दशक नाघ्यो तर त्यसबेलाको घोषणा गरेअनुसारको क्रान्ति र परिवर्तन भएन ।
दुई, विदेशीको इसारामा वा (पैसा बाँडेर, उपहार दिएर वा जात–जाति, धर्म, भाषाभाषी र क्षेत्रको साम्प्रदायिकता फैलाएर निर्वाचन जित्ने) पुँजीवादी निर्वाचनबाट सरकारमा पुग्नु नै कुनै राजनैतिक दलको सफलता मान्ने हो भने नेपाली कांग्रेस र एमालेको बहुमत भएको संसदमा पूर्वपञ्चहरू वा राप्रपाका नेताहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए । के त्यसलाई नेपाली कांग्रेस ७० वर्ष पुरानो र परिपक्व राजनैतिक दल र ६ दशक नाघेको एमालेको सफलता वा क्रान्ति हो ?
विषयवस्तुको भित्रै गएर चिन्तन गर्ने हो भने नेपाल प्रजा परिषद्ले निरंकुश राणा शासनलाई समाप्त गर्न राजनैतिक दलको स्थापना गरेको अर्थमा लिने हो भने टंकप्रसाद आचार्य एक सफल नेता हुन् किनभने राणा शासनको विरोधमा उनको राजनैतिक पाइलाको परिणाम आफ्नै जीवनकालमा देख्न पाए । त्यतिमात्रै होइन आफ्नो जीवनकालमा सयौं वर्षदेखि अवरुद्ध भएको छिमेकी मित्र राष्ट्र चीनसँगको सम्बन्धलाई पुनः सुचारु गर्ने ऐतिहासिक काम गरे, त्यसबाट आज नेपाल र नेपाली जनता लाभान्वित हुँदैछन् ।
यही कसीमा नेपाली कँंग्रेसलाई घोटेर हेर्ने हो भने जब जब नेपाली कांग्रेस सरकारमा पुग्यो, तब तब भारतले नेपालसँग असमान सन्धी गर्दै जाने अवसर पायो । कोशी योजना, गण्डक सम्झौता, टनकपुर र महाकाली सम्झौता, अनेक व्यापार सम्झौता, नेपाल–भारतको सीमाङ्कन आदिमा नेपाल हारेको र भारतको ठूलो हित भएको नेपाली जनताले अनुभव गर्दैछन् । त्यतिमात्रै होइन भारतले नेपाललाई आर्थिक नाकाबन्दी गर्दँ शासक दल नेपाली कांग्रेसले एक वक्तव्यबाट नेपाली जनताको हितमा वक्तव्य समेत नदिनु आफूलाई नेपाली होइन भारतीय पक्षमा उभ्याउनु हो । यस अर्थमा नेपाली कांग्रेसले बारम्बार सरकारको नेतृत्व गर्नु र सरकारमा रहेको भए तापनि नेपाल र नेपाली जनताको यथोचित सेवा गर्न नसक्नु प्रस्ट छ ।
जहाँसम्म बीपी कोइरालाको ‘प्रजातान्त्रिक समाजवाद’ को प्रश्न हो – हरेक स्वस्थ राजनैतिक दलले आफ्नो दल सत्तामा पुग्दा आफूले बोकेको सिद्धान्तलाई प्रयोगमा ल्याउनु हरेक प्रजातन्त्रवादी भन्ने पार्टीको प्रतिज्ञा हुने गर्छ । तर आज नेपाली कांग्रेसको घोषणापत्रमा त्यो वाक्यांश गायब छ, साथै जुन नेपाली कांग्रेसले त्यसको वकालत गर्छ, उसले त्यसबारे केही काम नगरेको प्रस्ट छ । यस अर्थमा नेपाली कांग्रेसको सरकारहरूको व्यवहारले नेपाली कांग्रेस विदेशी पुँजीको एजेन्ट, भ्रष्ट कर्मचारीतन्त्रको मालिक, नेपालको अर्थतन्त्र र सामाजिक जीवनलाई रसातलमा पु¥याउने माफियाहरूको बाहुल्यता भएको दल हो भनेमा फरक पर्दैन ।
चारपटक सरकारको नेतृत्व गर्ने एमाले र तीन–तीनपटक सरकारको नेतृत्व गर्ने ‘माओवादी’ दल पनि भाइ कांग्रेस नै सावित भएको छ । महाकाली सन्धी, माथिल्लो कर्णाली, नेपालको हवाई अड्डामा भारतीय एयरमार्शल राख्ने सम्झौता, उपत्यकामा खानेपानी संस्थालाई निजीकरण गर्नु, अन्तर्राष्ट्रिय र आन्तरिक मामलामा सल्लाह गरी काम गर्ने सहमति जनाएर नेपाललाई भुटानको ठाउँमा झार्नुमा यी दुवै शासक दल जिम्मेवार छन् ।
तर नेमकिपाले नेपाली कांग्रेस र भाइ कांग्रेसहरूका हरेक देश र जनताको अहित गर्ने सन्धी–सम्झौताको विरोध गर्दै जनतालाई सचेत गर्दै आएको छ, मजदुर र किसान जनताको हक र हितबारे सडक र सदनमा आवाज उठाउँदै आएको छ, पुँजीवाद र साम्राज्यवादको विरोधमा समाजवाद र साम्यवादको प्रचारमा निरन्तर दुर्गमदेखि सुगम क्षेत्रमा अथक प्रचार गर्दै आएको छ । नेपाली कांग्रेस र भाइ कांग्रेसहरूले ६०–७० वर्षदेखि गर्न नसकेका कामहरू नेमकिपाले चार दशकमा गरेको छ । यस अर्थमा नेमकिपाले सदनमा होस् वा सडकमा सैद्धान्तिक र राजनैतिक बत्तिको रुपमा काम गर्दै आएको प्रस्ट छ ।
श्रमिक साप्ताहिक माघ ८ को सम्पादकीय
Leave a Reply