भर्खरै :

किंंवदन्तीमा आधारित भक्तपुरको जुजुलाखे – २

किंंवदन्तीमा आधारित भक्तपुरको जुजुलाखे – २

काठमाडौँको मजिपा लाखे
काठमाडौँको बहुचर्चित ‘मजिपाः लाखे’ हो । काठमाडौँ उपत्यका बसाउने मञ्जुश्रीका नाममा बसेको मञ्जुपत्तन समयकालसँगै अप्रभंश भएर मजिपाट नामकरण भइसकेको थियो । मजिपाः टोलमा आज पनि लाखेको घर छ जसलाई ‘लाखेघर’ भनिन्छ र त्यो ठाउँलाई ‘लाखेननी’ भनिन्छ । लाखे मजिपाटमा रहेको लाखेघरमा नै सिद्ध भएको हुँदा अहिले पनि मजिपाटमा रहेको लाखेघरमा लाखेको ख्वापा राख्ने गरिन्छ । लाखेलाई लाखे आजुको रूपमा पुज्ने गरिन्छ । पुरानो मान्यताअनुसार लाखेलाई हल्चोकको शान्त भैरवको रूप पनि मान्ने परम्परा छ । भैरव शिवकै एक डरलाग्दो रूप हो जुन सृष्टिको संहारसँग जोडिएको छ । भैरवलाई पुज्नुको अर्थ आफूलाई संहारको प्रक्रियाबाट जोगाउनु र रक्षा गर्नु हो । कथाअनुसार लाखेले हाम्रा साना नानीहरूको रक्षाको दायित्व लिएको हुनाले नेवाः समुदायमा लाखेलाई एक शक्तिशाली देवताको रूपमा पनि पुज्ने प्रचलन छ ।
इन्द्रजात्रामा मजिपा लाखेको मकुन्डोमा पूजा गरिसकेपछि लाखे आजु आफ्नो घरबाट बाहिर आउनुहुन्छ । न्हुघः र चिकं मुगःको दोबाटोमा तीन पटक उफ्रिनुहुन्छ, नृत्यको शुभारम्भ गर्नुहुन्छ । अनि बाजाको तालमा नाच्दै नाच्दै गएर सबैभन्दा पहिला यंगाल टोलको प्रधानको क्लव घरमा पूजा थाप्नुहुन्छ । यसो गर्नुको कारण धेरै वर्षअगाडि भारतमा यहाँका प्रधानहरू हिरामोतीको खेप गर्न जाँदा रहेछन् । त्यसरी जाँदा समुद्र तरेर जहाजबाट जानुपर्दो रहेछ । एकपटक हिरामोतीको खेप गरेर फर्केर आउँदा समुद्रको बिचमा जहाज पल्टेर डुब्ला डुब्ला जस्तै भएछ । त्यसैबेला एउटा मानिसले सबैभन्दा बलवान तिम्रो भगवान्लाई पुकार गर भने । अनि प्रधानहरूले आफनो घर नजिकै रहेका लाखेलाई पुकार गरेछन् । तत्काल लाखेले घङ्घलाको आवाज दिंँदै जहाजलाई बचाइदिए । अनि प्रधानहरूले घर फर्केपछि लाखेलाई भव्य पूजा गरेर मकुन्डोमा ठुलो हिराको टीका चढाइदिएछन् । त्यसैबेलादेखि लाखेले सबैभन्दा पहिला यङ्गाल टोलका प्रधानहरूको घरमा गई पूजा थाप्न जाने चलन चलेको हो भनिन्छ ।
त्यस्तै, जात्राहरूमा लाखे बन्नेहरूको अनुभव छ कि लाखेको वस्त्र लगाउँदै गर्दा नै झुम्म भई कुनै शक्तिले छोपेको महसुस भइसक्छ । पूरै वस्त्र लगाएर मुखौटा लगाइसकेपछि मान्छे आफ्नो होसले सञ्चालित हुँदैन । यी मुखौटाहरू वर्षैभरि विधिपूर्वक राखिन्छ र नित्य पूजा गरिन्छ । लाखे बन्नेले पनि शुद्धीकरण गर्नुपर्ने हुन्छ । बजारमा मुखौटा किनेर लगाएर लाखे नाच नाच्दा त्यस्तो कुनै अनुभव हुँदैन । लाखे जुन खालले काम्ने गर्छ, अभिनय गरेर त्यस्तो खालको कम्पन पनि ल्याउन सकिँदैन ।
यसरी लाखे आजुका रूपमा पुज्दै आएको लाखेको प्रसङ्ग जङ्गबहादुर राणासँग पनि गाँसिएको कथा छ । बेलायत यात्राबाट फर्केका जङ्गबहादुर एक दिन लाखे आजुलाई पूजा गर्न मजिपाट पुग्दा अनौठो घटना घटेछ । जङ्गबहादुर आउँदा सबै झुकेर सलाम गर्ने वा केही टाढा उभिने गर्थे । तर, त्यस दिन लाखे आजुलाई पूजा गर्न आएका जङ्गबहादुरलाई एक झ्यालिँचा नाम गरेका जँड्याहाले बाटोमा बसेर थर्काउन थालेछ । ए जङ्गे, तेरो घोडाको मोल कति हो भन् । म तेरो घोडा किन्न चाहन्छु भन्दै कराउन थालेछ । लाखे आजुको पूजामा मग्न जङ्गबहादुरले झ्यालिँचालाई केही पनि जवाफ दिएनन् । गाली पनि गरेनन् । चुपचाप जङ्गबहादुर त्यहाँबाट हिँडेछन् । (उलक, सुनिल, लाखेःभैरव कि राक्षस)
लाखेको इतिहास र संस्कृति त छँदै छ, यसको अलावा एक रोचक किंवदन्ती पनि जोडिएका छन् । ती हुन् :–
१) पहिलो किंवदन्ती
कतिपय जात्रापर्वहरूमा कुनै न कुनै किंवदन्ती जोडिएका हुन्छन् । किंवदन्तीका आधारमै सांस्कृतिक गतिविधि हुने गरेको पाइन्छ । यस्ता किंवदन्ती जोडिएका जात्रापर्व र संस्कृतिमा भक्तपुरको जुजुलाखे पर्छ । राजा हरिसिंह देव सिम्रौनगढका अन्तिम कर्णाटकवंशी राजा थिए । विक्रम संवत् १३८१ मा तत्कालीन बंगाली मुस्लिम शासक गयासुद्दिन तुगलकको सिम्रौनगढ (बारा) मा आक्रमणपछि सत्ताच्युत भएका राजा हरिसिंहदेवले तलेजुलाई मुसलमानहरूको अधीनबाट बचाउन नेपालको पूर्व बाटो गरी भक्तपुर राज्यमा ल्याइयो । त्यसबेला भक्तपुरमा रुद्र मल्लको नेतृत्वमा शासन चलिरहेको थियो । (कायस्थ, डा. वीरेन्द्र्रप्रसाद, मल्लकालीन संस्कृति र चडपर्व) राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई भक्तपुरमा ल्याउँदा सुरक्षाका लागि देवीसँगै डरलाग्दो अङ्गरक्षक राक्षस र राक्षसनी पनि आएका थिए । राजासँगै आएका डरलाग्दो अङ्गरक्षक ला र खँेंंय खाने भएकोले, यहाँका स्थानीयवासीले जुजुलाखेँय भनी नामकरण गरे । नेवारी भाषामा मासुलाई ला र अण्डालाई खेँय भनिन्छ । ला र खँेंंय खाने भएर त्यसको नाम जुजुलाखेय रहन गयो ।
भक्तपुरमा कुनै कालमा लोपोन्मुख अवस्थामा पुगेकोे तान्त्रिक जुजुलाखे नाच, मञ्जुश्री वंशज भनिने रञ्जितकार समूहले २०८१ साल असोज ०२ गते मङ्गलबार अन्नत चतुर्दशीको रातिदेखि भदौशुक्ल चतुर्दशी (ञँलाथ्व चतुर्दशी) आश्विनकृष्ण चौथीसम्म पुनः सञ्चालन गरियो । भदौशुक्ल चतुर्दशी अर्थात् अन्नत चतुर्दशी दिन अर्थात् इन्द्रजात्राको बेलामा भक्तपुरको खौमास्थित इन्द्रायणीलाई खटमा राखेर बाजागाजासहित जात्रा गरेर सिद्धपोखरीमा पु¥याउँदा देवीलाई बाटो देखाउने भन्दै, उसका सुरक्षाका लागि जुजुलाखे पनि सँगै अघि अघि नचाइने गरिएको किंवदन्ती रहिआएको छ । इन्द्रायणी खत सँगसँगै सिद्धपोखरी परिक्रमा गरिन्थ्यो । (मल्लकालीन संस्कृति र चाडपर्व २०७९ असार, पृष्ठ ८१) यो लाखे नाच तान्त्रिक विधि–विधानमा आधारित सांस्कृतिक अनुष्ठान भएकोले निश्चित विधिअनुसार गरिन्छ । नेवाः संस्कृतिसँग जोडिएको लाखेनाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । लाखेनाचसँगै चुम्पाकचालाई पनि नचाइन्छ । नाचमा विभिन्न तालमा विभिन्न हाउभाउ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ । नाचको क्रममा लाखे बेलाबेलामा क्रोधित भएर नाच्ने गर्दछन् । जुजुलाखे नाच भने इन्द्रजात्राको अवधिमा मात्र देखाइन्छ । अरु बेला यो जुजुलाखे निकालिँंदैन । (मल्लकालीन संस्कृति र चाडपर्व, असार)
इतिहासमा उल्लेखित तथ्यअनुसार मिथिलाको कर्नाटवंशी राजा हरिसिंहदेवको पूर्वज नान्यदेबको कुल कर्ण कायस्थ रहेको र कर्ण कायस्थबाट नै कर्नाट वंश नामकरण भएको हो । नान्यदेवको गोत्र मान र कुलदेवी कंकाली (सिमरौनगढमा मन्दिर) रहेको पाइयो । नान्यदेव दक्षिण भारतका चालुक्य वंशी राजाको सेनापति रहेको र राज्य विस्तारको क्रममा कालान्तरमा उत्तर भारतमा आई नानपुरामा राजधानी राखी राज्य स्थापना गरेको र राज्य विस्तारको क्रममा नेपालको दक्षिण भागसमेत गाभी गण्डकी नदी पूर्व, कोसी नदी पश्चिम रहने गरी विशाल मिथिला राज्य बनाई सिमरौनगढलाई राजधानी बनाए । (शिवराज श्रेष्ठ, फेसबुक पेजबाट)
किंवदन्तीअनुसार वि.सं.अनुसार ११५४ तिर राजा नान्यदेवले सिमरौनगढ निर्माण गरेको प्रसङ्ग भाषावंशावलीहरूमा छ । नान्यदेवको पालादेखि कर्णाट वंशीहरूको भक्तपुरसँग गहिरो सम्बन्ध रहेको कुरा आजसम्म विजया दशमीको साँझमा हुने ‘पायो न्हयाकेगु’ जात्रामा हुने छोटो संवादबाट अनुमान गर्न सकिन्छ । रावणको राज्य लङ्काबाट सिमरौनगढ पुगेकी एक राक्षसनी त्यहाँका कुनै एक भारदारसँग प्रेममा परी नान्यदेवको दरबारमा परिचारिका भई काम गर्दै थिई । एक दिन ती दुई प्रेमीको कुराकानी भयो, “मलाई लङ्कादेखि यहाँको दरबारसम्म तान्नु तिम्रो मायाले गर्दा हो । म राक्षसनी हुँ, तर खराबी गर्ने चाहिँ होइन ।” भारदार प्रेमीले भन्छन्, “उसो भए हाम्रो महाराजको यस वनलाई एउटा सुन्दर नगर बनाउने योजना छ । त्यसमा हामीले सहयोग गर्नसक्छौँ । कुरा त ठीक हो तर मान्छेहरूले हामी लाखेहरूलाई विश्वास गर्दैनन् नि । हामीलाई यो नगर बनाउने जिम्मा दिए एकै रातमा तयार गर्न सक्छौँ ।” “त्यसका लागि के गर्नुपर्ला त ?” भारदारले राक्षसनीलाई जिज्ञासा राखे । राक्षसनीले भनिन्, “रातको समयमा मात्र काम गर्छौँ, त्यस समयमा हामीलाई कसैले हेर्नु हुँदैन” भारदारले यो कुरा राजामा बिन्ती चढाए । राजाले कुतूहलताका साथ नगर बनाउन अनुमति दिए । सोहीअनुसार, भारदारका प्रेमिका राक्षसनीले लङ्काबाट लाखे बोलाई एकै रातमा ‘सिमरौनगढ’ नगर बनाइदिई । सिमरौनगढमा तलेजु भवानी पनि रहेकाले लाखेहरू नगर सुरक्षाका लागि त्यहीँ बसे । समय र परिस्थितिवश तलेजुलाई नेपाल भित्याएपछि त्यसको सुरक्षाको लाखे पनि नेपाल आएका थिए । (कायस्थ, डा. वीरेन्द्र्रप्रसाद, मल्लकालीन संस्कृति र चाडपर्व) अर्को कुरा भक्तपुर राज्यमा तलेजु ल्याउँदा ती लाखेहरू पनि सँगै आएका थिए । भक्तपुरमा त्यसबेला बलि प्रथा थिएन । बौद्ध धर्म र संस्कृति थियो । तलेजु विराजमान भएपछि राय मल्ल राजाको पालामा भारतमा बौद्ध धर्म पतन भएर भिक्षुहरू नेपालमा शरण लिन आए । त्यसबेलादेखि तलेजुमा राँगा, बोका, हाँसको बलि दिने चलन गरेर तलेजुमा कोटीहोम गरियो । त्यसकारण, ती लाखेहरूलाई भक्तपुरमा छिर्न दिइएन । भक्तपुरका इशान दिशामा भक्तपुर नगरबाट टाढा लाखेहरू राखिए । त्यसबेलाको समयमा भक्तपुरको इशान दिशामा रञ्जितकार (छिपा) हरूको खेत थियो । खेतमा जाँदा ती लाखेहरूसँग छिपाहरूका छोराछोरी खेल्थे र जिस्किन्थे । यसरी जिस्किँदै खेल्दा मानिसहरूलाई केही नगरेको र मानवीय भावना देखाएको कुरा भक्तपुरका राजासामु पुग्यो । राजाले ती लाखेहरूको भक्तपुरमा भित्याए । भक्तपुरमा भित्याएको दिन अनन्त चतुर्दशीको दिन थियो । त्यसबेला भक्तपुरमा इन्द्रको छोरा जयन्तलाई दानवराजले बन्दी बनाइएको सम्झनामा इन्द्रायणीको जात्रा चलेको थियो । इन्द्रायणी चतुर्दशीको दिन साकोठाबाट टौमढी हुँदै तःपुखु (सिद्धपोखरी) मा लगिन्थ्यो र पूर्णिमाको दिन तःपुखुबाट लाय्कु हुँदै नगर परिक्रमा गरी साकोठाबाट फेरि खौमा लगिन्थ्यो । इन्द्रायणी इन्द्रका आमा (राजमाता) थिए । यसरी राजमाताको जात्रा गरेको देखी लाखे खुसी हुँदै नाचेका थिए । लाखेहरूलाई देखेर इन्द्रायणीले ती देवगण र सैनिकहरू भएको थाहा पाई पुनः स्वर्गमा नै पठाए । भक्तपुरमा नै बस्न चाहने लाखेहरूलाई मानवरूपमा भक्तपुरमै बस्ने व्यवस्था गरियो । यसरी लाखे इन्द्रायणीसँग नाचेको सम्झनामा भक्तपुरका राजाले लाखेको असल बानी ल्याउने छिपाहरूलाई नै लाखे बनाई र छिपाको बच्चालाई चुम्पाक (झ्यालिंचा) बनाई लाखे नाच चलाइयो । (रञ्जितकार, इन्द्रबहादुर, छलफलको लागि – लाखे नाचबारे सङ्क्षिप्त चर्चा अनलाइन मजदुर)
२) दोस्रो किंवदन्ती
राजा गुणकामदेवले इन्द्रजात्रा सुरु गरे । त्यसैबेलादेखि विभिन्न जात्रा, नाचलगायत लाखेनाच पनि चलाए । उनैका पालामा नेपाल उपत्यकामा पानी नपरी हाहाकार भयो । राजाले देशका तान्त्रिकहरूसँग पानी नपर्नाको कारण सोधे । तान्त्रिकहरूले राजालाई तलेजु देवीलाई नेपालमा ल्याई कुनै प्राणीको भोग दिएमा पानी पर्ने सल्लाह दिए । तर राजाले सुनेका थिए, “तलेजुलाई लाखेलसीं (राक्षसीहरू) ले सुरक्षा गरी राखेका छन् । ल्याउन सजिलो छैन । मानिस त जानै सकिँदैन । जाने जति त्यहीँ मारिन्छ ।” त्यसैले राजाले कुनै जुक्ति लगाएर तलेजुलाई नेपाल ल्याउन तान्त्रिकहरूलाई अ¥हाए । नेपाली तान्त्रिकहरू तलेजु देवीलाई नेपाल ल्याउन लाखेहरूको डरलाग्दो बस्तीमा पुगे । लाखेलसींहरू मस्त निदाएको मौका पारी आ–आफ्ना जिउमा तोरण राखी तन्त्र शक्ति धारण गरी तलेजु भवानी भएतिर पुगे । तान्त्रिकहरूले नेपालमा प्राकृतिक प्रकोप परेको र तलेजुको उपस्थिति भएमा यो समस्या तुरुन्तै हट्ने भनी बिन्ती गरी विधिवत पूजा गरे । त्यहाँबाट तलेजुको कलश बोकेर नेपाल फर्के । यो कुरा थाहा पाई लाखेहरू पनि पछिपछि नेपालको सिमानासम्म आइपुगे । तान्त्रिकहरूले उनीहरूलाई अलमलाउन विभिन्न जनावरहरू बाटोमा देखापारिदिए । लाखेहरू खानाको बन्दोबस्त भएकाले नेपालको सिमानामा नै बस्न थाले । तलेजु नेपालमा पुग्नासाथ पानीको समस्या सहजै हट्यो । राजा–प्रजा धेरै खुसी भए र तलेजुलाई खुब मान्न थाले । एक दिन तलेजुले सपनामा राजालाई भने, “मेरो काम सकियो, अब म फर्कन्छु । तर, मेरा सहयोगी लाखेहरू नेपालको सिमानामा अलपत्र भइबसेका छन् । उनीहरूलाई नेपालमै राखे नेपालको सहयोग गर्नेछन् । सपनामा भनेअनुसार नै तलेजुले लाखेलाई पनि नेपालमा जनमानिसबिच घुलमिल गराउन दिए । लाखेहरू पनि नेवाःबिच मिलेर आवश्यक अनुसार सहयोग गर्न थाले । आफ्नो नाचगान पनि देखाई नेवाःहरूको मन जित्न सफल भए ।” यसै किंवदन्तीको आधारमा नेपालमा लाखेनाच नचाइदै आइरह्यो ।
३) तेस्रो किंवदन्ती
काठमाडौँमा एक ज्यापु युवती थिइन् । उनी आमाबुबाका साथ खेत जाने गर्थिन् । बाटामा एक लाखे उक्त ज्यापु युवतीको सौन्दर्यबाट मोहित भए । उनीलाई हेर्न सहरभित्रै लुकिछिपी आउन थाले । लाखे ज्यापुको रूपमा खेतमा आई सहयोग गर्ने र उक्त ज्यापु युवतीसित नजिकिन थाले । उनीहरूबिच माया बढ्न थाल्यो । त्यसपछि त लाखे लुकिछिपी ज्यापु युवतीको घरमा सुत्न आउन थाल्यो । छिमेकीले चाल पाई चियो गर्दा मानिसभन्दा फरकको रूप देखे । छिमेकीहरूले राजाकहाँ सुटुक्क खबर गरे । राजाले सैनिक लगाएर लाखेलाई समाते । राजाकहाँ पुगेका लाखेले आफू एक ज्यापु युवतीसितको अघात प्रेममा रहेकाले उसलाई उसैको नजिक राखिदिए, मानवहरूको सहयोगी बनी बस्ने बिन्ती चढाए । राजाले पनि उनको कुरामा विश्वास गरी उनको इच्छाअनुरूप काम गर्न छुट दिए । यसरी त्यो बेला बास पाएका लाखे नाच्न थालेदेखि उपत्यकामा भूतप्रेतको डर हट्न थाल्यो । त्यसैले उनी लाखे भए पनि दैविक शक्ति भएको मानेर पूजा गर्न थाले । उसको नाचको आकर्षणले उपत्यकाका नेवारहरू मोहित भए । (लाछी, गणेशराम, किंवदन्तीमा आधारित लाखेनाच)
४) चौँथो किंवदन्ती
हालको आसामको नाम लिच्छविकालमा काम रूप थियो । काम रूप निकै ठुलाठुला गुरुहरूको थलो थियो । रातो मच्छिन्द्रनाथ राक्षस कुलका राजकुमार थिए । आसामको कामरूकामाख्या पीठमा राक्षस राजा शशिको छोराका रूपमा उनको जन्म भएको थियो । यहीँ कामरूपबाट त्यहाँका राजकुमारका रूपमा रहेका गुरु मच्छिन्द्रनाथलाई उपत्यकाका राजा नरेन्द्रदेवले आचाजु बन्धुदत्तको सहयोगमा वि.सं. ७१६ तिर गोप्यरूपमा कलशमा लुकाइछिपाइ ल्याएको थियो । यसरी लुकाइछिपाइ ल्याएपछि काम रूपबाट उनको खोजीमा आएका राक्षसहरूलाई उपत्यका प्रवेश गर्न दिइएन । जसरी पनि मच्छिन्द्रनाथलाई फिर्ता लिएर जान भनेर आएकाहरू उपत्यका प्रवेश गर्न नपाएपछि उपत्यकाबाहिर बसेर जनताका सहयोगी बन्दै खेतहरूमा खेती गर्ने, अन्य समयमा राज्य र खेतको सुरक्षा गर्ने, पानीको प्रबन्ध गर्ने नियमित कार्य गरिरह्यो । उसले खेतको सुरक्षा गरिरहेको हुँदा काठमाडौँ उपत्यकामा खेतहरूलाई बाढीले बगाउने भन्ने खासै सुनिँदैन । लाखेको शक्तिले वाग्मती तथा विष्णुमतीमा ठुलाठुला खेत नै बगाउने बाढी नआउने विश्वास अझै पनि पुराना उपत्यकावासी नेवाः हरूमा छ । यसरी खेती किसानीमा सहयोग गर्दै जनताका प्रिय बन्नुको साथै लोकप्रिय हुन थाले । लामो समय बितेपछि जनता न त उनीहरूको सहयोगबिना खेती गर्न सक्ने भए, न उनीहरू फर्कन नै माने । पछि तान्त्रिकहरूले उनीहरूका मुखियालाई समाएर वाचा गराए । वाचाअनुसार वर्षको एक महिना उपत्यका प्रवेश गरेर नाचगान गर्दै रमाइलो गर्न पाउने तथा जुन दिन उपत्यकाको खेतमा सुन फल्न थाल्छ, त्यही दिन मच्छिन्द्रनाथलाई कामरूप फिर्ता लिएर जान पाइन्छ । यही सर्तअनसार नै अहिलेसम्म मच्छिन्द्रनाथलाई फिर्ता लाने दिन अर्थात् उपत्यकाका खेतमा सुन फल्ने दिन कुर्दै कामरूपका ती बासिन्दाले वाचा पूरा गरिरहेको मान्यतास्वरूप लाखेरूपी मच्छिन्द्रनाथको देश कामरूपका बासिन्दा उपत्यकामा गथामुगे च¥हेदेखि इन्द्रजात्रासम्म नाचगान गर्दै गल्ली घुम्न छुट पाएका छन् । श्री मच्छिन्द्रनाथको नेपाल आगमन बारेको वंशावलीमा उल्लेखअनुसार लाखे अर्थात् यक्षहरू कलिगत संवत् ३६०० देखि बुङमतीमा रहँदै आएको देखिन्छ । (उलक, सुनिल, लाखेःभैरव कि राक्षस)
अन्तमा, लाखेको व्युत्पत्तिबारे आएका व्याख्याहरूमा पृथकता पाइए तापनि मूल कुरामा समानता पाइन्छ । नेवार समाजमा लाखेको आफ्नै विशिष्ट सांस्कृतिक महत्व छ । लाखे कुनै दुष्ट प्राणी नभई मानवमात्रको सहयोग प्राणी भएको कुरा उजागर गर्दछ । मैत्री र करुणाबाट जस्तोसुकै दुष्टात्मालाई पनि सुधार्न सकिन्छ भन्ने कुरा लाखेको प्रसङ्गले पुष्टि गर्दछ ।
आजभोलि लाखेनाच परम्परागत समय र सीमाभित्र सीमित छैन । यो सांस्कृतिक नाच आज देशका विभिन्न भागमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव तथा दिवसमा समेत प्रदर्शन गरिने सांस्कृतिक उत्सव बन्दै आएको छ । विभिन्न पर्यटकीय उत्सव तथा महोत्सवमा प्रमुख आकर्षणको रूपमा समेत लाखेनाच प्रस्तुत गरिन थालिएको छ । खिं, पछिमा, नायखिं, धिमे बजाएर पनि लाखेनाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखेनाच नचाइन्छ । नेवारी लोकगीतको धुनमा बाँसुरी बजाएर लाखे नचाउँदा नाच हेर्ने दर्शकहरूमात्र होइन पर्यटकहरू पनि रमाइलो मान्छन् ।

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *