भर्खरै :

केदारनाथ साकोसको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

केदारनाथ साकोसको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, २४ कार्तिक । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.का. १२ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यमा सूर्यविनायक थापा पार्टी प्यालेसमा शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा अतिथि जनगायक रामेश श्रेष्ठलाई दोसल्ला ओढाई ताम्रपत्र, नगदसहित प्रमुख अतिथि कवांले सम्मान गर्नुभयो ।
कार्यक्रममा अतिथि उकेश कवांले कम्युनिस्ट पार्टीहरू सरकारमा गएर निजीकरण गर्दा नेपालको उद्योगधन्दा धरासायी भएको बताउनुभयो ।
उहाँले नयाँ पुस्ताका युवाहरूलाई देश र जनताप्रति जिम्मेवार हुने गीतसङ्गीत आवश्यक भएको बताउँदै यो पुँजीवादी शिक्षाले कामदार जनताको हित गर्दैन बरु सबै युवाहरूलाई पैसाको लागि विदेसिन बाध्य बनाइरहेको बताउनुभयो ।
उहाँले काङ्ग्रेसको सरकारले युवाहरूलाई विदेश पठाउने नीति र शिक्षामा नवउदारवादले देश खोक्रो बनाएको स्पष्ट पार्दै वर्ग रहेसम्म वर्गसङ्घर्ष चलिरहने बताउनुभयो । उहाँले नेपालमा कृषिमा आत्मनिर्भर बनाउन सहकारीले काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले सहकारी सञ्चालकहरूले निःस्वार्थरूपमा सेवा नगरे सहकारी बिग्रने भएकोले लोभ लालचमा नफसी काम गर्नुपर्ने बताउनुभयो ।
पँुजीवादी व्यवस्थामा कामदार जनताको हित नहुने बताउँदै उहाँले सहकारीले सामूहिक भावना र सहकारी मूल्यमान्यता मर्मअनुसार काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि एवम् सम्मानित व्यक्तित्व रामेश (रामेश्वर) श्रेष्ठले ज्येष्ठ सम्मानबाट प्रभावित भई समाज र देश बनाउन सन्तानलाई राम्रो भविष्य प्रदान गर्न विगत ५१ वर्षदेखि सांस्कृतिक जागरणको अभियानमा सरिक भएर देश र जनताको निम्ति काम गरेको बताउनुभयो ।
उहाँले देशको अर्थतन्त्र डामाडोल भएको चर्चा गर्दै देश विदेशी र मारवादीहरूले कब्जा गरिरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष राजभाइ तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार रामकृष्ण प्रजापति, प्रबन्धक दयाराम तजले, कोषाध्यक्ष साजन कसपाल, जिल्ला सहकारी सङ्घका सुलोचना दुवाल, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका इन्द्रप्रसाद व्याञ्जु, ख्वप साकोसका राजकुमार लघुले पनि बोल्नुभएको थियो ।
कार्यक्रम सञ्चालन ऋषि श्रेष्ठले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिले ज्येष्ठ सम्मान विष्णुमाया कार्की, तुल्सीभक्त नला, पुण्यश्वरी सिजख्व, हर्केबहादुर कामी, कृष्णलक्ष्मी सुवाल, दिलबहादुर त्यात, १० वर्ष सेवा गरेका कर्मचारीहरू सबिना तजले, कविता आगन्जा, असल ऋणी प्रवीण सुवाल, उत्कृष्ट बचतकर्ता राजेन्द्र शिल्पकार, उत्कृष्ट बालबचतकर्ता वर्षा फैजू, उत्कृष्ट सदस्य रामकृष्ण छुस्याबागलाई मायाको चिनो प्रमाणपत्र र नगद प्रदान गर्नुभएको थियो । बिचबिचमा जनगायक रामेश, उदयमान गायक सर्वश्री कसपाल, अधिश्री कसपाल र सम्यक बस्नेतले गीत गाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *