भर्खरै :

बचत तथा ऋण सहकारी संस्थाले कृषिलाई जोड दिनु जरूरी

भक्तपुर, २४ कार्तिक । बेखाल बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले भन्नुभयो, “बचत था ऋण सहकारी संस्थाको प्रमुख काम कृषि, घरेलु तथा साना उद्योग र कुटीर उद्योगमा प्राथमिकता दिनु हो । सरकारहरूले कृषिमा जोड नदिँदा नेपालको लागि आवश्यक दाल, चामल, तरकारी, फलफूल भारतबाट खरिद गर्नुपर्ने अवस्था भयो । सरकारहरूले कृषिलाई बेवास्ता गरे पनि बचत तथा ऋण सहकारी संस्थाले कृषिलाई जोड दिनु जरूरी छ ।”
ब्याजको लोभमा समुदायमा आधारित नभएको बचत था ऋण सहकारी संस्थामा पैसा राख्न नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “भक्तपुरका जनताको अर्बौँ रूपैयाँ ठगी गरेको ओरियन्टल कोअपरेटिभले ब्याजको लोभ देखाएको थियो । कमलविनायकमा पसल समेत खोजेको शिवशिखर बचत तथा ऋण सहकारी संस्थाले पनि यहाँको जनताको बचत ठगी ग¥यो । केही बचत ठगहरूलाई जेलमा राखिएको छ तर जनताको बचत फिर्ता भएको छैन । काठमाडौँ उपत्यकाका जनताको ८७ अर्ब रूपैयाँ बढी बचत केही सहकारी संस्थाका सञ्चालकहरूले ठगी गरेको र देशभरिका त्यस्ता केही सहकारी संस्थाका सञ्चालकहरूले कूल ५ खर्ब बढी ठगी गरेको सार्वजनिक भयो ।”
सांसद सुवालले भन्नुभयो, “भक्तपुर नगरपालिकाले नयाँ पुस्तालाई सुसंस्कृत बनाउन ख्वप कलेजहरू सञ्चालन गरेको हो । सरकारहरूले नयाँ पुस्तालाई जाँड–रक्सी, जुवा–तास, लागू पदार्थ सेवनलगायत कूलतबाट जोगाउनु जरूरी छ । त्यसो नहुँदा युवाहरूमा विकृति बढेको छ । सहकारी संस्थाहरूले युवाहरूलाई विकृतिको बाटोमा जान नदिने कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ ।”
“विद्यालयको एसईई र १२ कक्षाको नतिजामा अङ्ग्रेजी, विज्ञान, गणित विषयमा धेरै अनुत्तीर्ण भए । सहकारी संस्थाहरूले सदस्यका छोराछोरीहरूलाई योग्य शिक्षकहरू व्यवस्था गरी अङ्ग्रेजी, विज्ञान, गणित विषयमा धेरै अनुत्तीर्ण भए । सहकारी संस्थाहरूले सदस्यका छोराछोरीहरूलाई योग्य शिक्षकहरू व्यवस्था नगर्दा अङ्ग्रेजी, विज्ञान, गणित विषयमा थप कक्षा सञ्चालन गर्नु जरूरी छ । घर बलियो बनाउन जग बलियो बनाउनुपर्ने जस्तै विश्वविद्यालय शिक्षा राम्रो बनाउन विद्यालय राम्रो हुनु आवश्यक छ । पाँच तल्लाको मन्दिरको जग बलियो भएकैले विसं १९९० साल, २०४५ साल र २०७२ सालको भूकम्पमा क्षति नभएको हो”, सांसद सुवालले भन्नुभयो ।
“सहकारी संस्थाका सदस्यका छोराछोरीहरूको गीत, सङ्गीत, चित्रकला, खेलकूद, साहित्यिक कार्यक्रमहरूमार्फत सांस्कृतिकस्तर माथि उठाउन सकिन्छ । संस्थाका सदस्य र छोराछोरीहरूलाई मादल बाँसुरीलगायत वाद्यवादनको प्रशिक्षण दिनु उपयुक्त हुनेछ । संस्थाका छोराछोरीहरू योग्य भए जुनसुकै देशमा गए पनि प्रतिस्पर्धी हुनेछन्, हीनताबोध हुनेछैन । नयाँ पुस्ताको बोली–व्यवहार, लवाइहवाई भेषभूषा आदि सांस्कृतिक विषय उच्चस्तरको हुनु जरूरी छ”, सांसद सुवालले भन्नुभयो ।
भनपा वडा नं. १० का वडाअध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा, राष्ट्रिय सहकारी बैङ्कका सुरेश लागे, भक्तपुर जिल्ला बचत सङ्घका सचिव जगनाथ प्रजापति, भक्तपुर साकोसका अध्यक्ष निर्मल प्रजापति, थालाछेँ साकोसका सञ्चालक राजेन्द्र मूलगुठीलगायतले कार्यक्रममा बोल्नुभएको थियो ।
सभामा संस्थाको आ.व. २०८०/८१ को यथार्थ कारोबार र आ.व. २०८१/८२ को अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सचिव सुरेन्द्र राजचल, उपाध्यक्ष देवकुमार अवाल र भरत अवालले पनि बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष कृष्णगोपाल अवालले संस्थाका अध्यक्ष निवर्तमान व्यवस्थापक रामभक्त अवाललाई समान गर्नुभएको थियो ।
सभामा अतिथि सुवालले ज्येष्ठ नागरिकहरू पञ्चलक्ष्मी अवाल, ज्ञानलक्ष्मी अवाल, रत्नमाया जरेजु, श्याम नकर्मी, शिवहरी जरेजु र रत्नबहादुर मानन्धरलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *