यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
दलाल आयो… दलाल आयो…। आफ्नै आफन्त मास्ने मामा आयो । आशामरु निन्द्रामै बर्बराउँछन् । मध्यान्हको १२ बजे भक्तपुर दत्तात्रय मन्दिरअगाडिको स्तम्भमा अडेस लगाएर सुतिरहेका आशामरु अचानक भुइँमै पछारिन पुग्छन् । वरिपरिका मान्छेहरू तमासे भई हेरिरहेका हुन्छन् । फेरि उनी उठेर त्यहीँ कछुवालाई सिरानी बनाई सुत्छन् ।
आशामरुको अब कुनै आशा छैन । सियो भाँच्दा भाँच्दा हैरान भएका उनी स्तम्भमा अडेस लगाएर सुतिरहेका छन् । हुन त स्तम्भको माथिल्लो भागमा रहेको गरुडको सालिकले नमस्कार गरेझैँ साहूको अगाडि हात जोडेरै आशामरुले जीवन कटाए । न त दत्तात्रय मन्दिर फर्केर बसेका गरुडले कहिल्यै नमस्कार गर्न छोड्यो, न आशामरुले नमस्कार गर्ने जिन्दगीबाट उन्मुक्ति पायो । अब त आशामरुको अन्तिम सियो पनि भाँचिसक्यो । त्यसैले त उनी गरुडको स्तम्भमुनि सुतिरहेका छन् ।
दसैँ सकाएर कार्तिक महिनामा छिमेकीहरू आ–आफ्ना घरअगाडि रहेको बाटो, चोक र गल्लीमा धान सुकाइरहँदा आशामरुले मात्र जीउ सुकाइरहनु परेको छ । कारण उनले खेतीपाती नगरेकै तीसौँ वर्ष भइसक्यो । अब त उनलाई खेतले पनि चिन्दैन होला । अरु बेला पनि उनी झोक्राइरहेका हुन्छन् ।
तीसौँ वर्ष अगाडिसम्म आशामरु दुई चार रोपनी जग्गाका मालिक थिए । उनी स्वयम् खर्पन बोकेर खेत जान्थे । अनि त्यही खर्पनमा आफ्नो छोराछोरीलाई राखेर खरिपाटीसम्म ओहोरदोहोर गर्थे । खेतीपाती नहुँदा कहिले ज्यामी त कहिले टोपी सिलाउने काम गर्थे । तर, उनले कहिल्यै सोचेका थिएनन् कि उनी दत्तात्रय मन्दिर अगाडिको गरुडझैँ साहुको अगाडि हात जोडेर बस्नुपर्छ भन्ने ।
वि.सं. २०४५ साल भदौ ५ गते बिहान आएको भूकम्पले उनको घर ढल्यो । घर ढल्दा उनको कान्छो छोरो जन्मेर एक महिना पनि पुगेको थिएन । ढलेको घर उठाउन पच्चीस हजार ऋण लिए । घर पनि बन्यो तर ऋण गलपासो बन्यो ।
मेहनती आशामरुले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा भए पनि पढाउन बिर्सेनन् । एक दिन आशामरुकी श्रीमती बच्चाहरूलाई स्कूल पठाएर घरमा लुगा धुँदै थिइन् । उनका मामा राजाबाबु सेतो कारमा आई उनकै घर अगाडि रोके । आशामरु त्यो दिन घर बनाउने ठेकेदारसँग काममा गएका थिए । आफ्ना मामा घरमा आएपछि नेवारी चलनअनुसार उनकी श्रीमतीले ढोगिन् । राजाबाबुले आशामरुको खेत चिन्न चाहे । कारमा राखेर मामाले भान्जीलाई सबै खेतमा डुलाए ।
त्यसपछि आशामरुको घरमा कहिल्यै शान्ति भएन । जग्गा बेच्न सधैँ कचकच सुरु भयो । ऋण तिर्नको लागि आशामरु जग्गा बेच्ने मनसायमा थिएनन् । छोराछोरी सानै थिए । श्रीमतीको ढिपी र आफ्नै श्रीमतीको मामा पर्ने राजाबाबुले उनलाई भएको जग्गा बेच्न बाध्य पारे । ताकि ऋण तिर्न सकियोस् ।
उनका मामाले घरमै आई भने, “सरकारी ऋण नतिरे घर पनि लिलाम हुन्छ । जग्गा बेचेरै भए पनि तिर्नुपर्छ । नत्र छोराछोरीको बिचल्ली हुन्छ ।”
आशामरुले राजाबाबुको कुरामा विश्वास गरे । सस्तो मूल्यमा जग्गा बेचियो । जग्गा त राजाबाबुले आफ्नै मान्छेलाई किन्न लगाएका रहेछन् । प्रतिरोपनी पचास हजारमा किन्न लगाएर तत्कालै प्रति रोपनी एक लाखमा बेचेको कुरा आशामरुलाई थाहा नै भएन । त्यसमाथि जग्गा बेच्दाको पैसा उनले छुन पनि पाएनन् ।
उनका मामाले फेरि भने, कसैले ऋण तिरेको छैन, तपाईँले मात्र किन तिर्ने ? बरु अरुलाई ऋण दिए ब्याज पाइन्छ । आशामरुले नमान्दा पनि ऋण सापटी भनेर राजाबाबुले आफ्नै साथीलाई ऋण दिए । उनै मामाले ब्याजको प्रलोभन देखाई पैसा हात पर्न दिएनन् । उनी दिनहुँ मामाको घरमा पैसा फिर्ता माग्न जान्थेँ । उनका मामाले पैसा फर्काउने पहल नै गरेनन् ।
आशामरुलाई त्यतिबेला पैसा फिर्ताका लागि सघाउने कोही पनि थिएनन् । मुद्दा मामिलामा फस्न डराउने आशामरुलाई साथ दिने पनि कोही भएनन् । न उनका साथीहरूले साथ दिए, न छिमेकीले न त कुनै आफन्तले । चुनावमा भोट माग्ने जनप्रतिनिधिले आशामरुलाई त चिन्ने कुरो पनि भएन । ‘ज्युँदाका जन्ती मर्दाका मलामी’ भनिने छिमेकीले पनि बलेको आगोमात्र टाप्ने रहेछ । आशामरुको खराब दिन सुरु भयो । तापनि हरेस नखाई छोराछोरीलाई हुर्काइरहे ।
उता थाहा नपाइकन आशामरुकै पैसाबाट राजाबाबुको नयाँ घर बन्यो, आशामरुको ऋण बाँकी नै रह्यो । उनले न त ब्याज पाए, न त साँवा । आफ्नै मामासँग आफ्नो पैसा माग्नु पनि भिख मागेजस्तै भयो । उनका राजाबाबुले आफ्नै भान्जीको घर तहसनहस पारे । अनि एउटा किसान भूमिहीन भयो । किसानबाट ज्यालामा निर्भर मजदुर बन्यो । साहुको अगाडि गरुडले झँै हात जोड्नुपर्ने भयो । ज्यामी आशामरुले आफ्नो स्वाभिमान बेचेन ।
धार्मिक स्वभावका आशामरुको विश्वास मान्छेबाट अब देवीदेवताका ढुङ्गाका मूर्तिमा स¥यो । जहिल्यै स्तु्त गान चाहने देवीदेवताले पनि आशामरुको स्तुति कहिल्यै बुझेनन् । तर, आशामरुले धार्मिक क्रियाकलाप कहिल्यै छोडेनन् ।
फेरि ऋण तिर्नुपर्ने बाध्यता त छँदै थियो । बैङ्कले ऋण तिर्न ताकेता गर्न थाल्यो । आशामरु ओछ्यानमा थलिए । केही सीप नलागेपछि ऋण तिर्न घर बेचियो । बचेको पैसाले अर्को सानो घर किनियो । आशामरु त्यहीँ सानो घरमा बस्थे । उराठलाग्दो त यो भयो कि ऋण तिरेको केही समयमा नै सरकारले भूकम्पपीडितको ऋण मिनाहा गरिदियो । तापनि उनको जीवनमा सुखको आशा जुनकिरीको प्रकाशझैँ पिलपिल बलिरहेको थियो ।
त्यो घर पनि वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले ढलिहाल्यो । उनका मामा आज पनि खरिद बिक्रीको काम गर्छन् । उनलाई लिन घरसम्म कार आउँछ र उनको कार दत्तात्रय भएरै जान्छ, जतिबेला आशामरु निन्द्रामा पनि आफ्नो मामासँग जग्गा बेचेको पैसा मागिरहेका हुन्छन् । कोट पाइन्टमा सज्जिएका उनका मामाले सपनामा लात हान्छन्, आशामरु स्तम्भमुनि रहेको कछुवाबाट भुइँमा बजारिन्छन् । परबाट कारको हर्न बज्छ, आशामरु झस्किन्छन् । आज दिनमै सपना देखेको आशामरुले पर एउटा सेतो कार हुइँकिएको देख्छन् । अनायासमै आशामरु ठुलो स्वरमा चिच्याउँछन्, आफ्नै भान्जीको सम्पत्ति हडप्ने दलाल आयो .. दलाल आयो…। सेतो कारमा राजाबाबु थिएनन् । कार चलाउने व्यक्तिले आशामरुलाई हेर्दै हेरेनन् । दत्तात्रयमा घुम्न आउने मानिसहरूले रक्सीको सुरमा कराएको ठाने । सबै कुराका जानकार दत्तात्रयले कुनै शब्द बोलेनन् । गरुडले पनि आफ्नो आसन परिवर्तन गरेर आशामरुको आशा जगाउन उचित ठानेनन् ।
Leave a Reply