भर्खरै :

चेतनामा “सहारा”

चेतनामा “सहारा”

“हाम्रो एभरेस्टमा त कुकुरले पनि नमस्ते गर्दोरहेछ मामु !”
बाइकबाट ओर्लन नपाउँदै सानी लुनिभाले हतारहतार आफ्नो मनको अचम्मको पोको खोलिन् । त्यस दिन विद्यालयमा कुकुर तिहार मनाइएको रहेछ । कुकुरले देखाएको सर्कस मेरा नानीलाई सा¥है मन परेछ । निहारिका र लुनिभा दुवैलाई दिनभरिका क्रियाकलापहरू वर्णन गर्नमा चतारो थियो । “कसरी रे नमस्ते गरेको ? खै हेरौँ त के भनेकी थिएँ, “यसरी के यसरी” भन्दै दुई हात अलि नजोडी कुकुर उभिए जस्तै उभिएर नक्कल गर्नसमेत भ्याए । विद्यालयमा आयोजित कार्यक्रमको रौनकता मनमनै कल्पिरहेँ ।
हुन त मेरा छोरीहरू लामो समयदेखि सहारा, सहारा शब्द रटिरहेका थिए । त्यो दिन निहारिकाले कसेरै भनिन्, “मामु ! सहाराको किताब किन्नुपर्छ है, भोलि नै । एउटा कुकुरको कथा छ त्यसमा । छ नि मामु, त्यो कुकुरको एउटा आँखा त बाटोमै खसेको रे । आज उसले पनि माला लगायो नि मामु !” मलाई सन्दर्भ बुझ्न समय लागेन । सहारा नामको कुकुरलाई सडकबाट उद्धार गरी संरक्षण गरिएको कुरा विद्यालय आउँदा जाँदा पढ्न भ्याएकी थिएँ । भोलिपल्ट विद्यालय जाँदा निहारिकाले तानेरै एउटा स्टलमा लगिन् जहाँ सहारा नामको किताब राखिएको रहेछ र फरमाइसका साथ भनिन्, “मामु ! यसको कथा पढेर सुनाउनुपर्छ अब मलाई ।” केही दिनपछि सदाझैँ दुवै नानीहरूले मन खोलेर एकै स्वरमा सुनाए, “मामु ! आज हामी प्रिन्सिपल म्याम र प्रिन्सिपल सरको घर गएको नि ! थाहा छ मामु, उहाँहरूको कौसीमा त सहारा बसेको थियो । कत्ति क्यूट थियो सहारा । तर, उसको एउटा आँखा थिएन विचरा ! छ नि मामु, हामीलाई त प्रिन्सिपल म्यामले बदाम पनि खुवाउनुभयो । क्या राम्रो थियो उहाँको घर त ………… तारिफ र खुसीका लाइनहरू लाग्दै गए । त्यसपछि भने बुक ¥याकमा रहेको ‘सहारा’ पल्टाउन थालेँ । चित्र कथा र शब्द संयोजनको सुन्दरताले मनलाई तानिहाल्यो । हरेक पक्षबाट भावना र अनुशीलनले भरिएको विद्यालयप्रति मनैदेखि हार्दिकता थपिँदै गए ।
समाजसित अभिन्न भइकन पनि छेकिएर रहेको विषयलाई यसले मन्थनको विषय बनाएको छ । गल्ली–गल्ली र चोक–चोकमा भुसिया कुकुरहरू रहनु, कसैले सौखले कुकुर पाल्नु, कुकुरलाई लखेट्नु हान्नु, मन परे उब्रेको खाना खुवाउनु यी सबै कुरा सामान्य छन् । तर, हरेक विषयलाई फरक कोणबाट पनि हेर्न सक्नुपर्छ, ‘सहारा’ यस अर्थमा विशिष्ट छ ।
पुस्तक पल्टाउँदै गर्दा मैले धेरैपल्ट मेरा पिङ्की, युडी र जुनेलीलाई सम्झेँ । ती अतीतका किस्साहरू बने । सहाराले सामान्य देखिने विशिष्ट विषयको उठान गरेको छ । कति मानिसहरू कुकुरप्रतिको प्रेम र लगाबमा हाँसो गर्छन् । कतिले त मूर्खको उपाधि पनि दिन भ्याउँछन् तर मानवता र सहभावको मर्मलाई उनीहरू चिन्न सक्दैनन् ।
‘सहारा’ मा यथार्थ घटना आख्यानको विषय बनेको छ । सानो बालक अमृतले भेटाएको या भनूँ उनको चिन्तन पुगेको अशक्त कुकुरको उदार कार्य, अमृतको बालसुर्लभ भावनाको वर्णनले हरेक साना बालबालिकाहरूमा सजिलै छाप पार्न सक्ने सामथ्र्य राख्दछ । विषयवस्तुअनुरूपको चित्रकारिता यसको अर्को महत्वपूर्ण पक्ष हो । सबल चित्र कथाको आस्वादन यसमा पाइन्छ ।
समाजमा बढ्दो भुस्याहा कुकुरहरूको सङ्ख्या पक्कै पनि समस्याको विषय हो । तर, समस्याको समाधान कुनै पक्षको विनाश र बेवास्तामात्रै कदापि हुन सक्दैन । जसरी मानव जाति संसारमा जिउन पाउँछ त्यत्तिकै अधिकार अन्य हरेक जाति प्रजातिको पनि छ बस हामी विवेकी भएका हुँदा अन्य सजीवहरूलाई व्यवस्थित बनाउन सक्नुपर्दछ । यही कुरा समाजसित नजिक रहेर मान्छेकै मित्र बन्दै आएका कुकुरहरूको रहेको छ । कुकुरका नालीबेली खोतल्दै जाने हो भने हामी वैगुणभन्दा गुण बढी पाउँछौँ । हामी मानिसहरू यति स्वार्थी छौँ कि गुण जति चाहन्छौँ तर आफ्ना कर्तव्यको सवालमा बेहिसाब मतलबी बनिदिन्छौँ । सहारा पुस्तकले साना साना नानीहरूमा यस्तै प्रेम र सहभावको ज्ञान दिन खोजेको छ, प्रकृतिसँगै मानव आचरण सिकाउन खोजेको छ ।
कथाको मुख्य पात्र सहारामा मानवीकरण गरिएको मनोभावना ‘उताउति घुमेर सहाराले आफ्नो वरिपरिको अवस्था बुझ्न खोज्यो । हलचल गर्दा केही चिजले घोचेको जस्तो अनुभूति ग¥यो । यस घोचाइले उसलाई खेतबारीमा भएको बेला आफ्नो पञ्जामुनि हुने परालको याद गरायो । खेतबारीको बसाइँ त निकै लामो समयअघि भएको झैँ आभास भयो ।’ जस्ता कथन प्रस्तुतिले कथामा जीवन्तता थपेको छ । एउटा असहाय रोगी भुस्याहा कुकुरमाथि एक बालकको नजर परेदेखि त्यसको उदार कार्यसम्मको घटनाक्रममा कथा हिँडेको छ । यथार्थ घटनालाई कलात्मकता दिँदै विषय प्रसङ्ग मिलाउन सक्नु यस पुस्तकका लेखकहरूको खुबी हो । पुस्तकले जनावरप्रतिको भावुक प्रेमभावलाई मात्र देखाएको छैन बरु आफू सुरक्षित रहेर कसरी तिनको संरक्षण गर्ने, सामाजिक मूल्यमान्यता र स्वास्थ्य सुरक्षाका विषयमा कसरी सचेत बन्नेजस्ता विषयहरूको समेत गहन प्रस्तुति यसमा रहेको छ । एउटा प्रतिनिधि पात्र सहाराको कथा त छँदै छ । त्यसबाहेक पशुकल्याण क्लवको अवधारणा, पशुचिकित्सासँग सम्बन्धित सेवा केन्द्रहरूको जानकारी, बिरामी वा घाइते कुकुर भेटिएमा गर्न सकिने उपाय, कुकुरको टोकाइबाट बच्ने उपाय, कुकुरले टोक्यो, चाट्यो वा कोत¥यो भने गर्ने उपाय तथा कुकुर पालन गर्दा अपनाउनै पर्ने जिम्मेवारी र कर्तव्यका बारेमा पुस्तकमा उल्लेख रहेको छ । यस अर्थमा पनि यो निकै व्यावहारिक सङ्ग्रह ठहरिन्छ ।
विदेशी लेखिका जुलीसँगै विद्यालयका शिक्षक एवम् विद्यार्थीहरूको सामूहिक प्रयासमा तयार गरिएको यस कृतिलाई पशु कल्याणसँग सम्बन्धित कृतिहरूको शृङ्खला मान्न सकिन्छ । सांस्कृतिक नगरी भक्तपुर जहाँ कला र संस्कृतिले जीवन पाएको छ यस्तो सहरमा कुनै पनि प्राणीले असहाय जीवन बाँच्न नपरोस्, समाजका अभिन्न मित्र कुकुर जातिको जीर्ण स्वरूप सांस्कृतिक नगरीले झेल्न नपरोस् भन्ने भाव पुस्तकभित्रका छापाचित्रहरूले प्रत्येक पानामा बोलेको छ । चिसा रात र बिहानहरूमा सडकका पेटीभरि कुकुरसँगै गुडुल्किएर सुतिरहने सडकछाप बालबालिकाहरू संरक्षित हुन थाले जस्तै बाँकिरहेका अलपत्र कुकुरका कथाहरू पनि अबका दिनहरूमा टुङ्गिनुपर्छ । फरक दृष्टिकोण र फरक चिन्तनसँगै असल समाज निर्माणमा गतिशील विद्यालय परिवारप्रति मुरीमुरी धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *