भर्खरै :

जेठाबा र छोरी चन्द्रमाया

जेठाबा र छोरी चन्द्रमाया

रोसी खोला उर्लेर बीपी राजमार्ग बगेको समाचारले काठमाडौँ हल्लिँदै गर्दा म भकुण्डोबेँसीको बजारमा चिया पिउँदै थिएँ । चिया खान आउनेहरू खुर्काेट बगेको गाइँगुइँ गर्दै थिए । उनीहरूको गाइँगुइँ सुनेपछि इच्छा पूरा नहुने स्पष्ट भयो । पसलको पल्लो कुनाको दराजमाथिको टीभीमा सेप्टेम्बर २८ मा आएको अविरल वर्षाले सुनकोसीको बेली बिज बगाएको भिडियो प्रसारण भइरहेको थियो । रामेछाप, ओखलढुङ्गा, दोलखा र सोलुखुम्बुलगायतका जिल्लाहरू तराईबाट अलग भएको ताजा खबर समाचारको प्रमुख आकर्षण थियो । खुर्कोटको पुल बगेसँगै ती जिल्लाका मानिसहरूलाई दसैँ महँगो र खल्लो हुने भएछ । तापनि, नेपाली सेनाबाट हप्ता दिनमा पुल बन्ने समाचारले केही राहत दिएको महसुस भयो । त्यसो त देशैभरि बाढी र पहिरोको खबरले सबैतिर त्राहिमाम भएको कुरा चिया खान आउने मानिसहरू चर्चा गर्दै थिए । मैले साथीलाई भनेँ, “अब नेपालथोक जान सकिन्नँ, यहीँबाट फर्कनुपर्ला ।”
सेप्टेम्बर २९, २०२४ आइतबार दिउँसो एघार बजेको हुनुपर्छ, म र साथी सञ्जय भकुण्डोबेँसी बजारको चिया पसलमा बसेर गफ गर्दै थियौँ । पसलमा चियाको चुस्की लिदै गर्दा पसलको एक कुनामा एक वृद्ध झोकाएर बसिरहेका थिए । उनको मुहार मलिन थियो । हातका नसाहरू पनि फुलेर सर्पजस्ता देखिन्थे । निधारका धर्साहरूले उनको ढल्कँदो उमेर स्पष्ट बताउँथ्यो । फुलिसकेको कपालमा कालो रङ्ग लगाइएकाले होला, ढल्कँदो उमेरमा पनि जवानीपन झल्किरहेको देखिन्थ्यो । शरीर कुप्रो परे पनि उनको हाउभाउ कम देखिन्नथ्यो । चिटिक्क परेको ढाका टोपी र कालो चस्मामा उनको व्यक्तित्व निखारिएको भान हुन्थ्यो । उनले लगाएको सर्ट, पाइन्ट, इस्टकोट र जुत्ता पनि नयाँ नै देखिन्थे तथापि उनको ओठमा हाँसो थिएन । एउटा हातमा टाउको थापेर झोकाएको देखेर पसलेले जिस्काइहाले जेठाबा सञ्चै त हुनुहुन्छ नि, होइन ?
जेठाबाले जवाफ दिएनन् । पसलेले फेरि भने, हिजोसम्म तन्नेरी युवती जिस्काएर हिँड्ने जेठाबालाई आज के भएछ ? नुन खाएको कुखुराजस्तो किन झोकाएर बस्नुभएको ?
जेठाबाले बलिन्द्र आँसु झर्न थाले । तर, कुनै शब्द फुट्दै फुटेन । सञ्जयले थपे, परिवारमा केही समस्या भएर होला । जेठाबाले आफ्नो निहुरिएको टाउको माथि उठाएर सञ्जयलाई पुलुक्क हेरे ।
टेबलको चिया सेलाइसकेको थियो । हामीले जेठाबालाई चिनेका त थिएनौँ, तापनि कुराकानी चल्दै गयो ।
मैले पनि सोधिहालेँ, बा, त्यस्तो केही आपत् पो आइप¥यो कि ?
मसिनो स्वरमा जेठाबाले मुख खोले, पाप धुरीबाट करायो ।
पसलेले बपिहाले, कस्तो पाप, जेठाबा तपाईँजस्तो मान्छेले पाप गर्लाजस्तो त लाग्दैन । छोराछोरी त ठीक छन् नि ?
“जेठो छोरो अमेरिका गएको पाँच वर्ष भयो । फर्कने कुरै गर्दैन । अनलाइनमा दसँैको टीका थाप्ने कुरा गर्छ । कान्छो अस्ट्रेलियामा गएको दुई वर्ष भयो । अत्तोपत्तो छैन । घरमा बुढी बिरामी छिन् । पानी तताउने पनि कोही छैनन् । म मर्दा पनि आउने हुन् कि होइनन् ? खुर्कोटमा चलाउँदै आएको होटल पनि रोसीले बगाई हाल्यो । बाढी पहिरोले देशभरि वितण्डा मच्चाएको सबैले देखे, मेरो मनको पहिरो कसले देख्ने ? यो बुढेसकालमा म एक्लै के गर्नु ?” निन्याउरो मुख बनाएर जेठाबाले भने ।
“छोराछोरी फर्कलान् नि, कि उतै घरजम गरिसके ?” सञ्जयले भने ।
जेठाबाले भने, “थाहा भएन । बचेराले गुँड छाडेपछि फर्कँदै भन्ने सुनेको छु । अर्को साल गाउँको सम्पत्ति बेच्नको लागि आउनुपर्ला भनेर जेठोले भनेको छ । मलाई पनि उतै बोलाएका छन् । अर्काको देशमा बुढी जान्न भन्छिन् ।”
तपाईँको बैङ्कमा मनग्गे पैसा छ नि होइन र ? जेठाबा पनि मजाक गर्नुहुन्छ, पसलेले थपिहाले ।
एक हातले गोजीबाट रुमाल निकालेर आँसु पुछ्दै जेठाबाले भने, छोराहरूलाई विदेश पठाउँदा सकिहाल्यो नि । जेठाबाले एक सर्को चुरोट तानी धुवाँ आकाशतिर हुत्याए । धुवाँ गोलो गोलो हुँदै पसलबाहिर निस्कियो ।
कठैबरा ¤ हजुरको मङ्गलटारको जग्गा नि । बालकोटमा हजुरको घर छ नि, होइन ? पसलेले सोधे ।
हो । तर के गर्नु ? गाउँको मान्छे सहरमा रम्न नसक्ने रहेछ । भाडामा लगाएको छु, जेठाबाले भने ।
मैले भनेँ, “ए, त्यसो पो । त्यस्तो पापचाहिँ के गर्नुभयो नि ?”
जेठाबा टोलाउन थाले । अनि सुकेको स्वरमा उनले भन्दै गए ।
घरमा दुःख भन्ने थाहा थिएन । गाउँमा हाम्रो परिवार जति सम्पन्न त को होला र ? रोसीको बगरमा फाँटका फाँट जग्गा, अनि घरमा अन्नको भकारी । हातमा खासै पैसा नभए पनि जमिनदारभन्दा कम थिएनौँ ।
उमेरले सो¥ह वर्ष पुगेपनि एस.एल.सी. परीक्षा सकेको थिएन । परीक्षा नसक्दै बुबाले मेरो बिहे गाउँकै केटीसँग गर्दिए । स्वास्नी पनि भर्खर पन्ध्र टेकेकी, मुन्धुमको सुम्निमा जस्ती । नामचाहिँ फूलमाया थियो । म मख्ख थिएँ । नाइँ भन्न सकिन्नँ । समय रमाइलै थियो ।
मैले बिचमै सोधेँ, अनि हजुरको नाम नि ?
राजकुमार, पसलेले भनिहाले । जेठाबाले होमा हो मिलाए । फेरि उनी भन्न थाले, नभन्दै अर्को वर्ष फूलमाया दुई जिउकी भइन् । घरमा सबैको छोरो जन्मने आशा थियो । कम उमेरले हो कि उसको शरीर आमा बन्न परिपक्व थिएन । व्यथाले च्याप्दै गर्दा सुत्केरीलाई समयमै स्वास्थ्य चौकी पु¥याउनुपर्ने थियो तर सकिएन । घरमै बुढीको गर्भबाट लक्ष्मीको जन्म भयो । भित्र सुत्केरी कोठामा गएर छोरीलाई बेस्सरी अँगालो हालेँ । घरमा अझैसम्म सबैजना खुसी नै थिए । बिस्तारै मैले चाल पाएँ, छोरी त रुँदै रोइनन् । कुरेर बसेँ । पाइतला मुसारँे । ढाडमा बिस्तारै थपथपाएँ । अहँ आवाजै आएन । हातहरू त चल्थे, गोडा भने चलेको महसुस भएन । सुँडेनी आमाले पनि सक्दो गर्नुभयो । तोरीको तेल लगाएर मालिस गरिदिनुभयो । टाउकामा तेल राखिदिनुभयो । नानीले कुनै परिवर्तन देखाएन । नानीको आमा त्यसै त व्यथाले गलेकी, छोरीको स्वास्थ्य देखेर मुर्छित भइन् । घरको हर्षोल्लास धेरै समय टिकेन । छोरीको न्वारन भयो, चन्द्रमाया तामाङ । तर, चन्द्रमायाको अनुहार हँसिलो र उसको आमासँग मिलेको थियो ।
मेरो बुबाले गाउँको जान्ने झाँक्री बोलाउनुभयो । फुक्ने र चामलको अक्षताले देवीदेवता मन्साउने काम भयो । रातभरि झाँक्री लगाउँदा पनि केही सीप लागेन । कसैले कुल देवता रिसाएको भने त कसैले परदोष । झाँक्रीले भनेअनुसार सबै गरियो । तर, हुँदै भएन । भाग्यको लिखान्त नै त्यस्तो रहेछ भनेर चित्त बुझाउनुप¥यो ।
तर, कक्षा १० पढेर पनि स्वास्थ्य चौकी जानुपर्छ भनेर भन्न सकिन्नँ । समयसँगै छोरीको स्वास्थ्यमा क्रमिक सुधार आयो । तर, गोडा चल्दै चलेनन् । अनि रुँदा पनि रोएनन् । आमाले सधैँ स्याहार गर्नुपथ्र्यो ।
मैले बुबालाई भनेँ, बा, छोरीलाई काठमाडौँ पो लैजाने कि ? काठमाडौँमा छोरीको उपचार गर्न पाए रोग पो पत्ता लाग्थ्यो कि ?
रुढिवादी बुबाले मान्दै मान्नुभएन । बुबाले भन्नुभयो, “हामीले त्यत्रो दुःख कष्ट गरेर तिमीहरूलाई हुर्कायौँ, बिरामी हुँदा धामी झाँक्रीले सधैँ ठीक गथ्र्यो । अस्पताल कहिल्यै गएनौँ । नचाहिने कुरा नगर जेठा ।”
म घरको जेठो छोरो बुबाको विरुद्ध कसरी उभिन सक्थेँ ? अनेक धामी झाँक्री देखाइयो । कालो भाले, कालो बोका कति बलि दिइयो, दिइयो । भाकलहरू पनि कति गरियो, गरियो, लेखाजोखा छैन । केही सीप नलागेपछि अन्तमा सबैले हरेस खाए । मैले बुबाविरुद्ध जान सकिनँ । त्यो नै मेरो महाभूल थियो । अनि नानीले अस्पताल देख्नै पाएन । बुढी जहिल्यै रुन्थिन् । बुबाको मनसँगै मेरो मन पनि ढुङ्गा भएछ । रोसी खोला बगेर समुद्रमा मिसिन्छ होला, म काठमाडौँसम्म आउन सकिनँ । पैसा नभएर होइन, रुढिवादमा अल्झेर ।
नानी एक वर्ष पुग्दै गर्दा जेठो छोरोको जन्म भयो । परिवारमा हाँसो फर्कियो । परिवारले नानीलाई दिने समय कम हुन थाल्यो । नानी हाउभाउ गरेर खाना माग्थी । बुझेर खाना दिइन्थ्यो । पछि एक दुई शब्द बोल्न सक्ने भइन् । शब्दहरू दोहो¥याउँथे । म खुसी भएँ । अब त छोरी बिसेक हुनेजस्तो लाग्यो । केही दिनहरू खुसीले बिते ।
छोरीको उमेर बढ्दै गयो, शरीर पनि बढ्न थाल्यो तर शब्दहरू बढेनन् । दुई शब्दमा बोल्थे । के बोल्थे, उनैलाई थाहा हुन्थेन । पाँच वर्ष पुग्दा पनि कुनै वाक्य उच्चारण गर्न सक्दिनथी । उसको आँखा उसकै नियन्त्रणमा थिएन । हामीसँग आँखा जुधाएर हेर्न सक्दैनथी ।
मुहार त अति राम्रो, चन्द्रमाजस्तो हिस्सी परेको । त्यसैले, उसको नाम नै चन्द्रमाया थियो । तर, उसलाई आफ्नो नाम पनि थाहा थिएन । बोलाउँदा पनि हेर्दैनथी । सायद कानमा समस्याजस्तो लाग्यो । तर, गीतका टुक्राहरू गुनगुनाउने गर्थी । गीत गुनगाउँदा लामा वाक्य पनि गाउने गर्थी । तर, गीतको अर्थ थाहा थिएन । हात हल्लाएर नाच्ची । कहिलेकाहीँ रिस उठ्दा आमालाई चिमोट्थी, टोकी दिन्थी । अरु बच्चाहरू उनको सामु जान डराउँथे । जेठो छोरो दिदीसँग खेल्न खोज्थ्यो । हजुरबुबाले अलग राखी दिनुहुन्थ्यो । त्यतिखेर किन किन मैले छोरीको आवश्यकता बुझ्नै सकिनँ । सानोमा त दिसापिसाब पुछनमा समस्या थिएन । जब पाँच वर्ष नाघ्यो, दिसापिसाबमा समस्या हुन थाल्यो । एकातिर भन्न नजान्ने, अर्काेतिर हिँड्न नसक्ने । किसान जातैले घरमा बस्न नभ्याउने भएपछि छोरीलाई ध्यान कसले दिने ?
म काममा जाँदा बुढी घाँस काट्न जान्थी । जाँदा कोठामा थुनेरै जाने गर्न थालिन् । छोरा भएपछि उपचारमा पनि चासो भएन । छोरी ६ वर्ष पुग्दा अर्को छोरो थपियो । अनि त के चाहियो र ? छोरीको स्याहार त एकादेशको कथा बन्यो । म कामबाट आउँदा थाकेको हुन्थेँ । उसकी आमा छोरालाई हेर्नै ठिक्क । छोरीलाई हेर्न जाँदा सुरुवालमा दिसापिसाब मात्रै हुन्थ्यो । म कराएपछि बुढीले लुगा फेरि दिन्थिन् ।
अनि छोरीलाई स्कूल पठाउने विचार आएन त, जेठाबा ? पसलेले प्रश्न थपे ।
स्कूलमा भर्ना लिनुप¥यो नि पहिले । दिसापिसाबको समस्या थाहा पाएपछि भर्ना लिनै मानेनन् गाउँको कुनै स्कूलले ।
समय बित्दै गयो । छोराहरू स्कूल जान थाले, चन्द्रमाया गोठमा । घरमा पनि दिसापिसाबको समस्या भएपछि गोठमा सारियो । कहिलेकाहीँ म आफैँ गोठमा सुत्न जान्थेँ । कहिले उसकी आमा जान्थिन् । दिउँसो छोरी एक्ली हुन्थी । एक्लै रोएर बस्थी । केही खानेकुरा उसको अगाडि हुन्थ्यो । अनि दिनभरि एक्लै । उसको मनमा के बित्थ्यो, भगवानले जानून् । उसले परिवार नै चिन्न पाएन । अनि परिवारले उनलाई चिन्न । नानी गाईको गोबरसँगै खेलिरहन्थी । गाईको आवाजबाहेक अरु सुन्ने मौका न पाइनन् । न दसैँ, न तिहार, न ल्होसार चन्द्रमायाको लागि सधैँ उस्तै । पाहुना आउँदा पनि चन्द्रमाया गोठमै हुन्थी । घरमा भोज चल्दा उसको रुवाबासी चल्थ्यो । चन्द्रमायाले मेरो परिवारमा जन्म लिनु नै उसको भूल थियो । नियतीको खेल तारेर टर्दैनथ्यो ।
गोठ नै बासस्थान भएपछि गाईको बाँ बाँ बाहेक अरु उसले सुन्न र सिक्नै पाएन । गाईभैँसीको गोबरसँगै उसको दिसापिसाब सोहोरिन्थ्यो । सोहोरिन जाँदा छोरी बाँ बाँ गर्थी । बाबा भनेकी हुन् या बाँ बाँ भनेकी हुन् छुट्याउन सकिन्नथ्यो । आँसुले भिजेका उसका आँखाहरूले यताउति हेरिरहन्थी । के खोजिरहेकी भन्ने उसैलाई थाहा थिएन । म त उसको बुबा हो नि । मैले त बुझ्नुपथ्र्यो तर न मैले बुझेँ न उसकी आमाले । आज म ग्लानिले जलिरहेछु । छोराहरू विदेशमा छन्, हामी एक्लिएका छौँ छोरीजस्तै । हिजो मैले छोरीलाई बुझिनँ, आज छोराहरू मलाई बुझ्दैनन् । पालोको पैँचो भनेको साँचो रहेछ ।
जेठाबा क्वाँ क्वाँ रुन थाले । पसलेले बिचमै रोकेर सोधे, अनि छोरीलाई पशुसँगै राख्न हुन्थ्यो त, जेठाबा ? तपाईँ त पढेलेखेको हो नि, बुझ्नुपर्दैन ?
जेठाबाले भने, हुन्थेन नि । मैले त्यस्तो व्यवहार रोक्नुपथ्र्यो । छोरीको उपचार गर्नुपथ्र्यो तर सकिनँ । म त छोरो पाएपछि अन्धो न थिएँ ।
जब छोरीको पहिलो रजस्वला भयो । समस्या झन् बढ्न थाल्यो । अब त छोरीलाई गोठबाट घरमा ल्याउने पनि कम हुन थाल्यो । बिचरी छोरी केही भन्न सक्दिनथी । रगत र दिसापिसाबमै बसिरहेकी हुन्थी । उसकी आमाले लुगा फेरेर भुइँमा गुन्द्री ओछ्याइदिन्थिन् । गुन्द्री पनि दुर्गन्धले सहन नसक्ने हुन्थ्यो । हरेक दिन गोबर र रातोमाटोले दैलो लिपपोट हुन्थ्यो । तर, मनको दैलो छोरीको गुन्द्रीजस्तै दुर्गन्धित थियो । आज महसुस गर्दै छु ।
मैले भनेँ, जेठाबा, त्यस्तो पाप किन गर्नुभएको त ?
जेठाबा भन्दै गए, पढेरमात्र के गर्नु ? अन्धविश्वासको जालोमा परेको मान्छे न परेँ ।
त्यसपछि के भयो नि ? सन्जयले सोधे ।
एक दिन म खेतको कामबाट फर्कँदा चन्द्रमायालाई हनहनी ज्वरो आएको थियो । रुमाल भिजाएर निधारमा राखिदिएँ । अनि एक चक्की सितामोल खान दिएँ । ज्वरो रोक्दै रोकेन । शरीर कहिले चिसिन्थ्यो, कहिले तातिन्थ्यो । छोरी बर्बराउँथी । सिरकले बेस्सरी बेर्दा पनि कामिरहन्थी । होसमा आउँदा बाबा बाबा भन्थी । सायद धेरै दिनदेखि ज्वरो आएको हुनुपर्छ । हामीले याद नै गरेनौँ । पछि गाउँको औषधिमूलोले छोएन । धामी देखाउँदा पनि भएन । अन्तमा, चन्द्रमायाले मेरै काखमा अन्तिम श्वास फेरी । त्यतिबेला चन्द्रमाया बा¥ह वर्षकी मात्र थिई । म अझै उसलाई सम्झन्छु । बेला बेलामा सपनामा आउँछे । सपनामा पनि रोइरहेकी हुन्छे । कहिले यता हेर्छे, कहिले उता हेर्छे । म आफैलाई सम्हाल्न नसक्ने हुन्छु ।
म त आखिर पापी पो रहेछ । जिउँदै छोरीलाई मार्ने मजस्तो बुबालाई नरकमा पनि ठाउँ हुँदैन होला । यति भनेर जेठाबा छाती पिट्दै रुन थाले ।
मैले भनेँ, त्यतिबेला कसैले हजुरलाई सम्झाएनन् त ?
पल्लाघरे काकाले सम्झाएको त हो नि तर परिवारले नमानेपछि मैले केही गर्न सकिनँ । बुढीले पनि भनेकी त हो, तर गाउँमा पोथी बाँसेको कसैले मन पराउँदैनथ्यो । आज बल्ल बुझ्दै छु । त्यसैले त म आज पश्चातापको आगोमा जलिरहेको छु ।
जेठाबाको कथा सुनेर अनायासमै आँखाबाट आँसु झर्यो । जेठाबाले सही भनेका रहेछन्, पाप धुरीबाट कराउँछ । करोडौँ सम्पत्तिको मालिक भएर पनि छोरीको उपचार नगर्ने जेठाबासँग सा¥है रिस उठ्यो । दोष जेठाबाको मात्र थिएन, त्यतिखेरको समाजको थियो । छोरीलाई हेर्ने दृष्टिकोणको थियो ।
मोबाइलको घडी हेर्दा बा¥ह बज्न लागेछ । सञ्जय र म मोटरसाइकलमा काठमाडौँ फर्कियौँ । अहिले पनि सञ्जय यहीँ कथा सम्झिरहन्छन् र भन्छन्, जेठाबा त पापी रहेछन् । सायद चन्द्रमायालाई भएको हुनुपर्छ, मैले मनमनै भनेँ । अझै अटिजमलाई धेरैले बुझेको छैन होला, मनमनै गुनगुनाएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *