भर्खरै :

कीर्तिपुर बाघभैरवमा चुनावी सभा/निर्वाचन पनि वर्गीय सङ्घर्षको माध्यम

कीर्तिपुर बाघभैरवमा चुनावी सभा/निर्वाचन पनि वर्गीय सङ्घर्षको माध्यम

काठमाडौँ, १० मङ्सिर । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगरपालिका उपनिर्वाचन परिचालन समितिको आयोजनामा सोमबार बाघभैरव स्थानमा चुनावी सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले निर्वाचनलाई नेमकिपाले वैचारिक सङ्घर्षको रूपमा उपयोग गर्दै जनताको सेवा गर्दै आइरहेको बताउनुभयो ।
भ्रष्टाचार काण्डका कारण देश बदनाम हुनुमा नेपाली काङ्ग्रेस, एमाले, राप्रपा र माओवादी जस्ता शासक पार्टीहरू जिम्मेवार रहेको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “देशमा बहुदलीय प्रजातन्त्र स्थापना र पुनःस्थापना मा नेमकिपाका नेता र कार्यकर्ताहरूको योगदान कम छैन । २०४६ सालको जनआन्दोलनमा पञ्चायतको पहिलो गोली थाप्नेहरू नेमकिपाकै कार्यकर्ता थिए ।
शासक दलहरूले सत्तारोहणलाई देशघाती सन्धि–सम्झौता गर्ने, जनविरोधी नीति निर्णय लागु गर्ने मौकाको रूपमा देश र जनविरोधी कार्य गर्दै आएको छ । तिनीहरूलाई देशभक्त नेपाली जनताले दुत्कार्ने समय आइसकेको छ, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले नेमकिपा निःस्वार्थी र इमानदारहरूको पार्टी भनी स्थापित भइसकेको अवस्थामा नेमकिपाका उम्मेदवारहरूलाई विजयी गराउनु हरेक सचेत जनताको दायित्व हो भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले प्रत्येक नेपाली जनताको थाप्लोमा एक लाख ऋण बोकाउने, देश विकासको नाममा भ्रष्टाचार गर्ने शासक दलका उम्मेदवारहरूलाई हराउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले देश र जनताको इमानदारीपूर्वक काम गर्ने पार्टी नेमकिपा हो भन्ने कुरा प्रस्ट भइरहेकोले यसपालिको निर्वाचनमा नेमकिपालाई भोट हाल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख पदका उम्मेदवार श्रीकृष्ण महर्जनले देशका शासक दलहरूले विगतमा गरेको कामबारे जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औँल्याउँदै आफू निर्वाचित भएमा देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष उम्मेदवार कृष्णप्रसाद महर्जन र वडा नं. ४ का उम्मेदवार महेश्वर सुवेदीले पनि वडाको विकासको लागि हरसमय जनताको सेवामा लाग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *