भर्खरै :

उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्ताहरूमा हुनुपर्ने

उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्ताहरूमा हुनुपर्ने

भक्तपुर, १४ मङ्सिर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि १५१ जना नगरवासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउन स्वीकृत गरेको छ । सोही सन्दर्भमा भक्तपुर नगरपालिकाको आयोजनामा शैक्षिक ऋण वितरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले कुनै पनि नगरवासी विद्यार्थीहरू आर्थिक कारणबाट उच्च शिक्षाबाट वञ्चित हुन नपरून् भन्ने उद्देश्यका साथ भक्तपुर नपाले सहुलियत दरमा शैक्षिक ऋण प्रदान गर्दै आइरहेको बताउनुभयो ।
शिक्षामा गरेको लगानीले संसारलाई परिवर्तन गर्ने दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने उल्लेख गर्दै उहाँले विदेशमा उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्तामा हुनुपर्ने बताउनुभयो ।
उहाँले उच्च शिक्षा हासिल गर्ने सिलसिलामा बर्सेनि लाखौँको सङ्ख्यामा विद्यार्थीहरू बिदेसिँदा नेपालका कलेज तथा विद्यालयहरूमा विद्यार्थी सङ्ख्या घट्दा ती संस्थाहरूमा सङ्कट निम्तिएको चर्चा गर्दै विद्यार्थीको भविष्य उनीहरूको मेहनतमा भरपर्ने विषय भएको बताउनुभयो ।
भक्तपुर नपाले भक्तपुर प्रवेश गर्ने विदेशी पर्यटकबाट उठाएको पर्यटन शुल्कबाट भक्तपुरको सम्पदा पुनःनिर्माण र विकास निर्माण कार्यमा धेरै सहयोग मिलेको उल्लेख गर्दै उहाँले यसबाट भक्तपुरको शैक्षिक, सांस्कृतिक र सफाइमा परिवर्तन ल्याएको बताउनुभयो ।
भक्तपुर नपाले भक्तपुर महोत्सवको आयोजना गरी भक्तपुरको कला, संस्कृति, मौलिक आदिबारे प्रचारप्रसार गर्ने उद्देश्य राखेको स्पष्ट पार्दै उहाँले चिकित्सा शिक्षा पढ्ने अवसर प्रदान गर्न ख्वप विश्वविद्यालय स्थापनाको अवधारणा अगाडि सारेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले शैक्षिक ऋणबाहेक भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटा इन्जिनियरिङ कलेज सहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूमा वर्षको रु. ४ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको प्रस्ट पार्नुभयो । उहाँले सबै विषयको समान महत्व हुने बताउँदै विद्यार्थीहरूले आफूले अध्ययन गरेको विषयमा दक्षता हासिल गर्ने ढङ्गले आफ्नो पढाइलाई निरन्तरता दिन प्रेरित गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाको शैक्षिक ऋण वितरण कार्यक्रम नेपालकै लागि उदाहरणीय कार्य भएको बताउँदै विद्यार्थीको उज्ज्वल भविष्यको लागि शुभकामना दिनुभयो । शैक्षिक ऋण प्राप्त विद्यार्थीहरूले विदेश जाने सोचबाट टाढा रहन आग्रह गर्दै उहाँले शैक्षिक ऋण कार्यक्रमबाट धेरै विद्यार्थीहरू लाभान्वित हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले शैक्षिक ऋणको औचित्य र महत्वमाथि प्रस्ट पार्दै विद्यार्थीहरूलाई नगरपालिका र नगरवासीहरूप्रति उत्तरदायी बन्न प्रेरित गर्नुभयो ।
भक्तपुर नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीको लागि उच्च शिक्षा अध्ययनलाई सघाउ पु¥याउन शैक्षिक ऋणको व्यवस्था गर्दै आएको छ । उच्च शिक्षा भन्नाले विद्यालय तह (कक्षा १२) भन्दा माथिको शिक्षा हो र विद्यार्थीले शैक्षिक प्रमाण पत्र धितो राखी उच्च शिक्षाका लागि नगरपालिकाबाट सहुलियत ऋण प्राप्त गर्छन् । यस्तो ऋण विद्यार्थीले पढाइ पूरा नहुँदासम्म तिर्नुपर्दैन तर पढाइ पूरा भएको ४ वर्षभित्र वार्षिक २५ प्रतिशतका दरले ऋण चुक्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि ६०० जना विद्यार्थीहरूलाई नगरपालिकाबाट रु. ५ लाखसम्म ऋण दिएर उच्च शिक्षा अध्ययन गरिरहेकोमा यस आ.व. २०८१/८२ मा १५१ जनालाई शैक्षिक ऋण स्वीकृति गरेको गरी कुल ७५१ जनाले रु. ५ लाखको शैक्षिक ऋण सुविधा लिएर उच्च शिक्षा अध्ययन गरिरहेका छन् । शैक्षिक ऋण स्वीकृत भएकामध्ये जम्मा ४५४ जना विद्यार्थीहरूले शैक्षिक ऋण लिएर अध्ययन गरिरहेका छन् भने ५१ जनाले ऋण चुक्ता गरिसकेका छन् । शैक्षिक ऋणमा रु. १३ करोड ६९ लाख ५० हजार ऋण लगानी भएको छ भने रु. १ करोड ६४ लाख ९४ बराबरको साँवा ब्याज फिर्ता भइसकेको छ ।
त्यसबाहेक भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूमा वर्षको रु. ४ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले खोलेका २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थामा हाल ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *