भर्खरै :

परिस्थिति तयार नभइकन क्रान्ति नहुने

पुँजीवादी व्यवस्थाले शोषितपीडित जनताको सेवा गर्दैन । शोषितपीडित जनताको सेवा गर्न र गराउन पुँजीवादी व्यवस्था फालेर समाजवादी व्यवस्था ल्याउनुपर्छ । तर, समाजवादी व्यवस्था भन्ने बित्तिकै तुरुन्त आउने होइन । समाजवादी व्यवस्थाको लागि बाह्य र आन्तरिक पक्ष तयार भइसकेको हुनुपर्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा क्रान्तिको आवश्यकता औँल्याउँदै आफ्नो खुट्टामा उभिएर लड्ने उद्घोष गरे । क्रान्ति गर्नुपर्छ; क्रान्तिबिना यहाँ परिवर्तन असम्भव छ । तर, क्रान्तिको निम्ति वातावरण तयार गर्नुपर्छ । जनता सचेत र सङ्गठित नहुँदै छेडेको ‘जनयुद्ध’ के असफल भएको होइन ? क्रान्तिकारी बाटो छोडेर संसदीय बाटोमा के माओवादी केन्द्र फसेको होइन ? सत्तामा रहुञ्जेल माओवादीलाई नयाँ क्रान्तिको आवश्यकता पनि छैन; माओवादी कसैको बैसाखी टेक्दैन पनि भन्नुपरेन । अब सत्तामा नरहेपछि या सत्ताबाट फालेपछि नयाँ आन्दोलन सुरु गर्ने र नयाँ क्रान्तिको आवश्यकता देख्ने माओवादी केन्द्रका अध्यक्ष दाहालले भावनामा डुबेर जनतालाई तताउन खोजेका होइनन् ?
माओवादी अध्यक्ष दाहालले नयाँ क्रान्तिको आवश्यकता भएको खोकेपछि उनको भनाइप्रति सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आए । नयाँ क्रान्तिको कुरा फेरि सत्तामा जाने चाल त होइन ? ‘पेट क्रान्ति कि परिवार क्रान्ति’ भनी छेड हान्न थाले । सत्ताबाट ओर्लेपछि मात्रै किन क्रान्तिको कुरा ! क्रान्तिको लागि माओवादीले के तयारी गरेको छ ? सत्ता नपाएकोमा आक्रोश पोखेर, भावनामा डुबेर यहाँ क्रान्ति हुँदैन । क्रान्तिको लागि जनतालाई सुसूचित पारेको खोइ ? सरकारमा नगइकन पहिलेदेखि नै जनतालाई सिद्धान्त र विचारबाट सुसूचित पार्दै आएको भए कमसेकम जनता सचेत हुन्थे र कम्युनिस्ट विचारबाट प्रभावित हुन्थे । सत्तामा रहँदा एकथरीको विचार र नहुँदा अर्काे थरीको विचार के द्वैधचरित्र होइन ? माओवादी अध्यक्ष दाहालको भनाइप्रति एक व्यक्तिले टिप्पणी गरे, “अझै जनतालाई भेँडा बनाउने वाहियात गफ !”
सत्तामा बस्न नपाउँदाको रिसमा चर्काचर्की कुरा फलाकेर जनतालाई फेरि भुलभुलैयामा पार्ने काम कुनै दलका नेताले नगर्दा हुन्छ । क्रान्ति कसैको आवेगमा हुने होइन; कुनै नेताले आह्वान गर्दैमा हुने होइन । क्रान्तिको लागि आह्वान गर्ने माओवादी केन्द्रका अध्यक्ष दाहालले के अब यो पुँजीवादी सरकारमा नजाने निर्णय गर्नसक्छन् ? सरकारको पटक–पटक नेतृत्व गरेर हसुर्नसम्म हसुरेपछि, राजस्वमा दाइँ गरेपछि के अब दाहालले सत्ताको माया छोडेका हुन् ? सत्ताको माया छाडेको अभिनय गर्ने माओवादी केन्द्रले हिजो नेका र एमालेसँग घाँटी जोडेर गठबन्धन सरकार किन गठन गरेको ? त्यसबेला ‘नयाँ क्रान्ति’ र ‘नयाँ आन्दोलन’ को कुरा कहाँ गयो ? ‘नयाँ क्रान्ति’ र ‘नयाँ आन्दोलन’ भावावेगमा बोलेर नेताहरूले चर्काे कुरा गर्ने होइन । देशको वस्तुस्थिति बुझेर बोल्नुपर्छ† जनतालाई भन्नुपर्छ ।
कम्युनिस्ट पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय वर्गशत्रु चिन्नुपर्छ । वर्गशत्रुको विरोधमा बोल्नुपर्छ† जनतालाई बताउनुपर्छ । जनतालाई कम्युनिस्ट पार्टीको उद्देश्यबारे सुसूचित पार्नुपर्छ । व्यापक जनता सुसूचित र सङ्गठित नभइकन यहाँ कसरी क्रान्ति हुन्छ ? हो, देशमा आमूल परिवर्तनको निम्ति क्रान्ति आवश्यक छ । तर, त्यो क्रान्ति अहिले तुरुन्तै हुने स्थिति छैन । कामदारवर्गको सचेत र सङ्गठित पार्टीबिना केही सशस्त्र समूहको बलमा क्रान्तिको आह्वान गर्नु अराजकतावाद हो । माक्र्सवाद–लेनिनवाद र कम्युनिस्ट सिद्धान्तबारे पटक्कै शिक्षा नपाएका मानिस पार्टीमा भित्याएर, निर्वाचनमा बढी मत पाएको आधारमा अभिमानी गरेर क्रान्तिको आधार तयार हुने होइन । नेपालको कम्युनिस्ट आन्दोलनमा संशोधनवाद र अराजकतावाद भित्रिएकै हो । संशोधनवाद कम्युनिस्ट आन्दोलनभित्रको पुँजीवादी विचार हो । पुँजीवादी चिन्तन र कामदारवर्गको सिद्धान्त र नीतिमा फरक छ ।
सरकारको नेतृत्वमा रहँदा माओवादी केन्द्रले ‘नयाँ आन्दोलन’, ‘नयाँ क्रान्ति’ र ‘समाजवादी क्रान्ति’ को आवश्यकता किन देखेन ? त्यसबेला मिल्ने शक्तिसँग अहिले शत्रुको व्यवहार गर्नु के द्वैधचरित्र होइन ? त्यसबेला किन कम्युनिस्ट पार्टीको मूल्य र मान्यतामा कुल्चेर सिंहासनमा बसेर रजाइँ ¤ पुँजीवादी व्यवस्था बदल्न आ–आफ्नो स्थानबाट प्रचारप्रसारमा लाग्नुपर्छ । पुँजीवादी व्यवस्थामा सरकारको नेतृत्व फेरेर देशमा परिवर्तन हुने होइन । माओवादी केन्द्र विगतको सबै कमी कमजोरी औँल्याएर, पुँजीवादी बाटो छोडेर समाजवादी क्रान्तिको बाटोमा लाग्नुपर्छ । सरकारको नेतृत्व गरेर एमसीसी पारित गर्ने, नागरिकता विधेयक पारित गर्ने दल के माओवादी केन्द्र पनि होइन ? सत्ताको लोभ र मोहमा फसेर देशलाई दूरगामी असर पर्ने, देशको अस्मितामा दाग लाग्ने असमान सन्धि सम्झौता गर्न माओवादी केन्द्र किन हौसिएको ? कम्युनिस्टविरोधी दल नेकासँग मिलेर माओवादी किन सरकारमा गएको ? के नेकासँग मिलेर देशमा कम्युनिस्ट पार्टी बलियो हुन्छ ? नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्छ ? कम्युनिस्ट पार्टीको बदनाम गर्ने, कम्युनिस्ट पार्टीलाई कमजोर बनाउने एक दल माओवादी केन्द्र पनि हो । नेमकिपाले कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन त्यसै गरेको होइन । कम्युनिस्ट पार्टी कमसेकम सही बाटोमा आओस् र कम्युनिस्ट आन्दोलनमा टेवा पुगोस् भन्ने ध्येयले गलत विचारको नेमकिपाले विरोध गरेको हो । ढिलो भए पनि सही ठाउँमा आयो, सही बाटो लियो भने त्यसले कम्युनिस्ट आन्दोलनलाई सघाउँछ र परिवर्तनको निम्ति बाटो तयार हुँदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *