भर्खरै :

“उद्योग र व्यापार पनि सेवा नै हो, सिन्डिकेट होइन”

“उद्योग र व्यापार पनि सेवा नै हो, सिन्डिकेट होइन”

भक्तपुर, २१ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुर ट्रक व्यवसायी सङ्घको रजत जयन्ती तथा २५ औँ वार्षिक साधारणसभाको शुक्रबार एक विशेष समारोहबिच बाँसुरीको धुनसँगै उद्घाटन गर्नुभयो ।
उक्त समारोहमा सचिव सुवालले भन्नुभयो, “उद्योग र व्यापार पनि सेवा नै हो, सिन्डिकेट होइन । भर्खरै सिमेन्ट उद्योगीहरू मिलेर प्रतिबोरा १२० रुपैयाँ मूल्य बढाइयो । जनताबाट यसको विरोध भइरहेको छ ।”
सरकारले मजदुर, किसान, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, डाक्टर, इन्जिनियर, उद्योगी, व्यापारीको समस्या सम्बोधन गर्नु जरुरी रहेको उल्लेख गर्दै सांसद सुवालले प्रधानमन्त्री संसद्बाट निर्वाचित हुन्छ तर सरकारले संसद्मा जनताका प्रतिनिधिहरूको आवाजलाई सम्बोधन गर्दैन; सरकारमा गएका दलहरूले न्यायालयमा समेत आफ्नो कार्यकर्ताहरूलाई न्यायाधीश बनाउँदै छन् भन्नुभयो ।
“यातायात क्षेत्रमा १० खर्ब रुपैयाँ बढी लगानी भएको उल्लेख भयो । गाडी खरिदको मूल्य बढी छ । बेच्नुपरे कवाडीको मूल्य छ । सवारी साधनको आयु लम्ब्याउन समय समयमा मर्मत गर्ने र सडक राम्रो हुनु जरुरी छ । गाडी मर्मतको लागि यातायात सङ्घले नै मेकानिकल र अटोमोबाइल इन्जिनियर पढाउन छात्रवृत्तिको व्यवस्था गर्नु उपयुक्त हुनेछ ।”, उहाँले भन्नुभयो ।
वस्ती विकाससँगै गाडीको सङ्ख्या पनि बढ्ने बताउँदै उहाँले काठमाडौँ उपत्यकामा सडक चौडा गर्ने नाममा घर भत्काउनु उपयुक्त होइन; प्रधानमन्त्री बाबुराम भट्टराईले घर भत्काएर सडक चौडा गर्दा जनताको ठुलो विरोध भएको थियो भन्नुभयो ।
संविधानसभामा संविधान निर्माणको काम भइरहेको बेला नेपाल मजदुर किसान पार्टीले सङ्घीय राजधानी काठमाडौँलाई पश्चिम नेपालको दाङमा सार्ने प्रस्ताव राखेको उल्लेख गर्दै उहाँले छिमेकी देश चीनको राजधानी शियानबाट पेचिङ र भारतको राजधानी कोलकताबाट नयाँ दिल्लीमा सारिएको थियो भन्नुभयो ।
उहाँले भन्नुभयो, “मानव बस्तीको वरिपरि खुला जग्गा हुनुपर्छ र खाद्यान्न उत्पादन गर्न जरुरी हुन्छ । अहिले नेपाललाई आवश्यक दाल, चामल, तरकारी, फलफूल भारतबाट आयात भइरहेको छ । भारतसँग सिमाना र जलस्रोतबारे विवाद छ । यही विवादको कारण भारतले नेपालमा खाद्यान्न नपठाए नेपाली भोकै मर्नुपर्ने हुन्छ ।”
भारतबाट आयातित विषादी दाल, चामल, तरकारीले नेपाली क्यान्सर, किड्नी, मुटुको बिरामी हुने उल्लेख गर्दै उहाँले काठमाडौँ उपत्यकाका नयाँ बस्तीमा समेत घाम र हावा नपुग्ने घरहरू बनिरहेका छन्; भौतिक शास्त्रीहरूले सिमेन्टको घरमा क्यान्सर रोग लाग्ने रोडोन ग्यास निस्कन्छ; पहिले नेपालको तराईमा वनजङ्गलले ढाकेको थियो । ‘हरियो वन नेपालको धन’ भन्ने भनाइ नै थियो; अहिले हरियो वन तस्करको धन भयो; काठ भारतमा तस्करी रोकिएको छैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “भूगर्भशास्त्रीहरूले काठमाडौँ उपत्यकाको माटो अन्यत्रबाट ल्याएर थुपारिएको जस्तो कमजोर छ, खँदिलो छैन । यहाँको भूमिले कङ्क्रिटका भवन, सडक, पुललगायत ग¥हौँ भार ठेग्न सक्दैन । भाँसिने खतरा छ ।”
जलवायु परिवर्तनसँगै विश्वव्यापी तापक्रम बढिरहेको चर्चा गर्दै उहाँले कहिले खडेरी, कहिले अधिक वर्षा भइरहेको छ; गएको वर्षामा नेपालको धेरै ठाउँमा पहिरो र डुबान भयो; हजारौँ ठाउँमा सडक बगाइयो; पुल भत्कियो; निर्माणको गुणस्तर नहुँदा विनाश बढ्छ; यसकारण पूर्वाधार निर्माण र विनासबारे सम्बन्धित कर्मचारी र प्राधिकरणलाई पनि जवाफदेही बनाउनु जरुरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा युरेनियम खानी फेला परेको र यसको उत्खनन् गर्न अन्तर्राष्ट्रिय आणविक ऊर्जा आयोगको मद्दत लिने कानुन पनि पारित गरियो । यो आयोग अमेरिकी साम्राज्यवादको प्रभावमा रहेको छ ।”
उहाँले भन्नुभयो, “अमेरिकी नीति र कानुन पालन गर्नुपर्ने एमसीसी सम्झौता गरियो । एमसीसीलाई अमेरिकी स्वार्थको लगानी भनी लेखिएको छ ।”
“सरकारले विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्कलगायत साम्राज्यवादको हतियारको रूपमा रहेको संस्थाहरूसँग नेपालको ऋण २६ खर्ब रुपैयाँ पुग्यो । तर, बीआरआई मानव जातिको साझा हितसँग सम्बन्धित कुनै सर्त नभएको ऋण नलिने अनुदान मात्र लिने सरकारको नीति सार्वजनिक भयो । चीनले कुनै देशको आन्तरिक मामिला हस्तक्षेप नगर्ने, सेना र हतियार तैनाथ नगर्ने नीति लिएको छ ।” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सिरिया, सुडान, दक्षिण कोरिया, फ्रान्सलगायतमा अशान्ति भइरहेको छ । इजरायलले प्यालेस्टिनमा आक्रमण, इरान, लिबियालगायत देशमा अमेरिकी साम्राज्यवादको नेतृत्वमा आक्रमण इन्धनकै लागि भएको सार्वजनिक भइरहेको छ ।”
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले विभिन्न पेसामा लागेका व्यवसायीहरूको सेवामा राज्य जहिल्यै गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउँदै व्यवसायलाई मर्का र झन्झट तथा जनतालाई निरास हुन दिनुहुँदैन भन्नुभयो ।
गाडी दुर्घटना हुनेबित्तिकै व्यवसायबाट पलायन हुने या डुब्ने समस्या ल्याउन नहुनेतर्फ जोड दिँदै उहाँले ऐन कानुन निजी क्षेत्रले मात्र होइन सरकारले पनि पालन गर्नुपर्छ भन्नुभयो ।
आइपर्ने समस्या समाधान गर्न राष्ट्रिय नीति तयार गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सरकार निर्देशनमात्र दिने मालिक होइन; सम्बन्धित तहसँग सहकार्य गरेर अघि नबढे भविष्य अन्धकार हुन्छ ।”
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अ¥यालले निजी क्षेत्रको लगानीले देशको अर्थतन्त्रलाई गति दिने काम गरिरहेको स्पष्ट पार्दै आइपर्ने समस्या समाधानमा सहकार्य गरेर समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सवारी साधन या यातायात क्षेत्र संवेदनशील कार्य क्षेत्र भएको उल्लेख गर्दै उहाँले खुला वातावरणमा यातायातका साधन सञ्चालन गर्ने कुरा व्यवसायीको तर्फबाट हेर्दा सही भए पनि वातावरण प्रदूषण, बस्ती आदिबारे उपयुक्त उपाय अवलम्बन गर्नुपर्ने हुन्छ भन्नुभयो ।
यातायात व्यवस्था विभागका प्रतिनिधि नरहरि तिवारीले यातायात क्षेत्रमा निजी क्षेत्रको ठुलो लगानी भएको स्पष्ट पार्दै राज्यले व्यवसायीहरूलाई गरिखाने वातावरण मिलाउनुपर्ने बताउनुभयो । उहाँले सङ्घीयतासँगै समयअनुकूलको नीति नियम नआउँदा अन्योल भइरहेको बताउनुभयो ।
भक्तपुर ट्रक व्यवसायी सङ्घका संस्थापक अध्यक्ष विश्वराम कवांले यातायात व्यवसायीहरू आयआर्जन गर्नमात्र होइन नागरिक भावना र सांस्कृतिक स्तर उठाई समुदायको हितको निम्ति कार्य गरिरहेको बताउनुभयो ।
आफ्नै खुट्टामा उभेर काम गर्ने अवधारणाअनुसार यातायात व्यवसाय सुरु गरेको चर्चा गर्दै उहाँले विदेशीको भरमा बस्दा कुनै दिन सङ्कट र हाहाकार मच्चिने सम्भावना भएकोले यहाँका उद्योगधन्दा नियमितरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले व्यवसायमा उतारचढाव आए पनि निरन्तरता दिनुपर्नेमा जोड दिँदै यातायात क्षेत्रमा लगाएको पुँजी लगानीले देशको अर्थतन्त्रमा टेवा पु¥याइरहेको बताउनुभयो ।
रोजगारी दिन र देशको अर्थतन्त्र चलायमान बनाउन यातायात व्यवसायीले सघाइरहेको उल्लेख गर्दै विशुद्ध नेपालीको लगानीमा यातायात सञ्चालन गर्नु गौरव गर्नलायक छ भन्नुभयो ।
भक्तपुर उद्योग महासङ्घका सचिव नवीन प्रजापतिले निजी क्षेत्रको शुद्ध लगानीमा सञ्चालन भइरहेको यातायात व्यवसायीहरू गाडी दुर्घटना हुँदा चित्त बुझाउनै नसक्ने गरी पीडितले माग गर्दा व्यवसाय नै डुब्ने स्थितिमा आएको बताउनुभयो ।
भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद गोराले सभापतिको आसनबाट बोल्दै नेपालको शुद्ध लगानीमा सञ्चालन भइरहेको ट्रक व्यवसायी सङ्घले देशको विकास निर्माण कार्यको लागि आवश्यक जनशक्ति, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री गन्तव्य स्थलमा पु¥याउने काम गरिरहेको बताउनुभयो ।
सरकारले तोकिएको राजस्व असुल उपर गरिसकेपछि २४ सै घण्टा सवारी साधन सञ्चालन गर्न पाउने अधिकार कुण्ठित गर्न नहुने चर्चा गर्दै उहाँले सरकारको विभेदकारी नीति नियमले गर्दा हाल ट्रक र टिपर व्यवसायीहरू अस्तव्यस्त व्यवस्थामा पुगेको बताउनुभयो ।
कार्यक्रमका अतिथि सांसद सुवालबाट भक्तपुर ट्रक व्यवसायी सङ्घको स्मारिका विमोचन गरिएको सो कार्यक्रममा सङ्घका जिल्ला सचिव जितेन्द्र खायमलीले साधारणसभाको आवश्यकताबारे प्रकाश पार्नुभयो भने उपाध्यक्ष नातिभाइ ह्योम्बाले धन्यवाद ज्ञापन गर्नुभयो ।
स्मरणीय छ, उक्त ट्रक व्यवसायी सङ्घ २०५६ सालमा २५ जना अगुवा व्यवसायीहरूले सञ्चालन गर्नुभएको थियो ।
सङ्घबाट प्राप्त जानकारीअनुसार हाल उक्त सङ्घमा ५६२ जना सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *