भर्खरै :

मानसिक स्वास्थ्यले ल्याएको जटिलता

मानसिक स्वास्थ्यले ल्याएको जटिलता

मानसिक रोग लागेका व्यक्तिले समयमै उपचार पाउनेभन्दा पनि अपहेलनामा पर्ने सम्भावना छ नेपाली समाजमा । यो दुःखको विषय हो । शारीरिकरूपमा कुनै चोटपटक लाग्यो वा बिमारी भयो भने अवस्थाअनुसार अस्पताल लैजाने, मेडिकल जाने, नजिकको स्वास्थ्य संस्थामा पुग्ने र उपचार प्राप्त गर्ने गरिन्छ । कुनै कुनै अवस्थामा ग्रामीण क्षेत्रमा झारफुक गर्ने, लामा झाँक्रीको सहयोग लिने काम पनि हुन्छ । थाहा पाउने छिमेकीहरू पनि सहयोग गर्न तत्पर हुन्छन् । अस्पतालमा भर्ना भएको वा शल्यक्रिया भएको वा केही दिन अस्पताल बस्नुप¥यो वा केही औषधिसहित घर फर्केकै अवस्थामा पनि भेट्न आउनेहरूले सहानुभूति व्यक्त गर्दछन् । कतिपयले त बिमार हुँदा खान मिल्ने तागतिलो खानेकुरासमेत लिएर भेट्न आउने क्रम देखिन्छ । तर, मानसिक समस्या भएको व्यक्तिलाई यो पनि एक रोग हो उपचार गरेमा सञ्चो हुन्छ भन्ने बुझाइ किन हुन नसकेको होला ? विश्व स्वास्थ्य सङ्गठनले दिएको स्वास्थ्यको परिभाषामा मानसिकरूपमा स्वस्थ हुने विषय पनि परेको छ । मानसिक स्वास्थ्य बिग्रँदै जाँदा उपचार र चासो प्राप्त नगरेर कति मानिसहरूले ज्यान गुमाएका छन् । कतिले त लामो समयसम्म साँग्लामा बाँधिएर वा कोठामा थुनिएर निकै कठिन जीवन बिताएका छन् ।
नेपालमा पनि मानसिक तनाव र डिप्रेसनका कारण आफ्नो जीवनको अर्थ नरहेको अनुभूत गरेर आत्महत्या गर्ने क्रम बढेर गएको छ । आधुनिक जीवनशैली र विकसित समाजका विभिन्न उमेरका सदस्यहरूले राखेका असङ्ख्य चाहनाहरू पूरा नहुनेबित्तिकै निरास हुने र आशा जगाउने खालको परिवेश प्राप्त नगर्ने सम्भावना बढ्दै गएको छ । खासगरी बढ्दो उमेरका किशोरकिशोरी र ३० वर्षभित्रका युवाहरूमा धैर्यता कम र मानसिक अस्थिरता बढी देखिन्छ । सो समयमा आमाबाबु तथा घरपरिवारका अन्य सदस्यहरूबाट पाउने सरसल्लाह वा सहयोग तथा उसले लामो समय बिताउने विद्यालय, कार्यालय, कारखाना वा अरु कुनै पेसा व्यवसायको वातावरणमा उसको संवेग व्यवस्थापन गर्ने र मानसिक स्वास्थ्यको बारेमा चासो देखाउने केही न केही प्रबन्ध हुनुपर्दछ । तर, के हामीकहाँ त्यस्तो खालको वातावरण छ त ? मानसिक स्वास्थ्यको सवालले समाज र सरकारको ध्यान आकर्षण गर्न सकेको छ त ? यो नै अहिलेको अहम् प्रश्न हो ।
खप्तड स्वामीले भन्नुभएको छ कि शुद्ध, स्वस्थ, सुखी मन सुन्दर स्वास्थ्यको प्रथम रहस्य हो । मन नै मनुष्यको सुख दुःखको कारण हो, जसले मनलाई जित्न सक्छ उसले जगतलाई जित्न सक्छ । मनलाई सुखी राख्नका लागि पुराना विकारहरूको निराकरण गर्नुहुँदैन र मनमा नयाँ दोष बिल्कुलै आउन दिन हुँदैन । सावधानीपूर्वक जीवनलाई सधैँ नियमितरूपमा संयमित राख्न जरुरी छ । उदारचित्त भएर जनसेवाको भावना राखेमा चित्त प्रसन्न हुन्छ । प्रसन्न चित्तले व्यक्तिको शरीरमा शक्ति, स्फूर्ति, बल, ओज र स्वस्थता हुन्छ । चिन्ता गरेमा शरीर कमजोर बन्दछ । यसबाहेक मन, वचन र कर्ममा एकता हुनु र मोह त्याग गर्नु पनि मानसिक स्वास्थ्यको लागि आवश्यक छ । संयम क्षमता बढाउनका लागि व्रत बस्नु पनि उपयोगी हुन्छ । यसबाहेक पनि मानसिक स्वास्थ्य कायम राख्ने अरु विधिहरू पनि अपनाउन सकिन्छ ।
संस्थागत तथा सामूहिक तहमा मानसिक स्वास्थ्यका उपायहरू
समाजमा मानसिक असन्तुलन बढिरहेको, जटिल जीवनशैलीका बिचमा चिन्ता र नैराश्यता बढ्दै जाँदा मानिसले जुनसुकै माध्यमबाट पनि प्राण त्याग्ने जोखिम हुने हुँदा सम्भावित आत्महत्याको न्यूनीकरणका लागि समेत मानसिक स्वास्थ्य बढाउने खालका गतिविधिहरू अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । हाम्रो स्वास्थ्य प्रणालीमा शारीरिक खालका रोगहरूको उपचारमा ध्यान र जोड देखिएको छ । तर, मानसिक प्रकृतिका रोगहरूका सम्बन्धमा सर्वसाधारणले बुझ्ने र जान्ने मौका पाएका छैनन् र उपचारको उपलब्धता पनि कमै छ । तसर्थ, मानसिक रोगको उपचारलाई सबैको पहुँचमा पु¥याउन आवश्यक छ । हाल रहेका अस्पतालहरूमा पनि मनोचिकित्सकको व्यवस्था गरेर मानसिक रोगको उपचारको प्रबन्ध गर्न सकिन्छ ।
मानसिक रोग र मानसिक रोगीलाई परिवार तह र समुदायको तहमै स्वीकार नगर्ने चलन तथा मान्यता रहिआएको छ । यो सरासर गलत विषय हो । तसर्थ, मानसिक रोग भनेको अरु रोग जस्तै र त्योभन्दा सरलसमेत हुनसक्छ र उपचारपछि पूर्णरूपमा निको हुन्छ भन्ने जागरण ल्याउनु जरुरी छ । मानसिक रोग लागेको अनुमान हुनासाथ निज व्यक्तिलाई मनोचिकित्सक, मनोविद्, मनोसामाजिक परामर्शदातासँग सहयोग लिने खालको संस्थागत व्यवस्था तीन तहकै सरकारले प्राथमिकतापूर्वक गर्नुपर्ने देखिन्छ । यसरी हेर्दा कमसेकम एउटा जिल्लामा सरकारी तवरबाटै एकजना मनोचिकित्सक उपलब्ध हुने गरी प्रबन्ध गरिनुपर्दछ । जटिल मानसिक रोग लागेमा मानसिक रोगको विशेषज्ञ अस्पतालमा रिफर गर्ने प्रबन्ध हुनुपर्दछ । यसखाले विशेषज्ञ अस्पताल सबै प्रदेश तहमा हुनु उपयुक्त हुन्छ । सुरुसुरुमा मानसिक रोगको उपचार सम्भव छ भन्ने विश्वास जागृत गर्नकै लागि पनि मानसिक रोगीलाई अस्पताल लगेर उपचार गरी सञ्चो गराउने प्रबन्ध सम्बन्धित स्थानीय तहले जिम्मा लिनु उपयुक्त हुन्छ ।
समुदायमा जागरण ल्याउने मार्गमा शिक्षक, विद्यार्थी र स्वास्थ्यकर्मीको पनि विशेष भूमिका हुने गर्दछ । खासगरी स्वास्थ्यकर्मीहरूलाई मानसिक रोगको कारण र समाधानका उपाय सम्बन्धमा प्रशिक्षित गर्नुपर्दछ । प्रतिस्पर्धामात्र भन्दा पनि सन्तुलित रहने र मानवीयता प्रवद्र्धन एवं संस्कारसहितको शिक्षाको प्रबन्ध विद्यालयमा उपलब्ध हुनुपर्दछ । सबै शिक्षकहरूलाई आधारभूत अभिमुखीकरण गर्नुको साथै मानसिक स्वास्थ्यको विषय हेर्न एकजना शिक्षकलाई फोकल पर्सन तोकिनु उपयुक्त हुन्छ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम कार्यान्वयनमा रहेको विद्यालयमा ती नर्सहरूलाई पनि मानसिक स्वास्थ्यका लागि समेत प्रयोग गर्न सकिन्छ ।
स्थानीय अगुवाहरू, धार्मिक संस्था र समाजसेवीहरूको अग्रसरतामा मानसिक समस्याका विज्ञहरू तथा परामर्शकर्तासमेत संलग्न गरी समुदायमा आत्महत्या रोकथामसम्बन्धी सचेतना कार्यक्रम र शिविरहरू सञ्चालन गर्नु आवश्यक छ, ताकि समाजमा मानसिक स्वास्थ्य समस्या र आत्महत्याबारे खुलारूपमा छलफल गर्न सकियोस्, समस्या पहिचान गरी समाधानको पहल पनि समयमै गर्न सकियोस् ।
व्यक्तिगत तहमा मानसिक स्वास्थ्य कायम गर्ने तरिकाहरू
पूर्वीय सभ्यताका मूल आधारका रूपमा रहेका धर्मशास्त्रहरूमा वर्णित वा आध्यात्मिक साधक र गुरुहरूले भन्ने गरेका र खासगरी मानसिक स्वास्थ्य तथा स्वयम् व्यवस्थापनसम्बन्धी पुस्तकका लेखकहरूले अगाडि सारेका आधारभूत विषयहरूका आधारमा सारांशमा भन्नुपर्दा देहायका १२ वटा विधि, तरिका वा जीवनशैलीबाट मानसिकरूपमा सन्तुलित र स्वस्थ रहन सकिन्छ :
ब्रह्ममुहुर्तमा नै दिनको सुरुआत गर्नु धेरै किसिमले उपयुक्त छ । बिहान ५ बजे वा सोभन्दा अगावै उठ्नु र दिन शुभारम्भ गर्नु भनेको जीवनलाई सार्थक बनाउने महत्वपूर्ण आधार हो । यसो हुन सक्यो भने आफ्नो काम व्यवस्थित हुने र अरुलाई सहयोग गर्नका लागि समेत समय निस्कने हुन्छ ।
बिहानी समयमा शारीरिक अभ्यासका साथै योग, ध्यानसहितको साधना गर्नु श्रेयस्कर हुन्छ । आजकल त अनलाइन माध्यमबाट पनि साधना सम्भव छ । समय मिल्दा १० दिन अवधिको विपश्यना ध्यानमा सहभागी हुन सकियो भने आफ्नो क्षमता र विकारहरूको सूक्ष्म समीक्षा गर्ने अवसर प्राप्त हुन्छ ।
समय मिल्नासाथ केही न केही काम प्रकृतिको सानिध्यमा गर्नु राम्रो हुन्छ । खेतीपातीलगायतका घरायसी काम, करेसाबारीसँग सम्बन्धित काम भए झनै राम्रो, होइन भने आफू बसोबास गरेको स्थान वरपर उपलब्ध प्राकृतिक स्थलहरू पुग्ने, छतमा बसेर आकाश नियाल्ने, ताल, पोखरी, खोला नजिक पुगेर केही समय बिताउँदा आफू रिचार्ज भएको प्रतीत हुन्छ ।
उपभोग्य वस्तु र चिजहरू अर्थात् नभई नहुने र कममात्र प्रयोग गर्ने गर्दा जीवन सरल बनेर जान्छ । यो अवधारणालाई कम प्रयोगवाद वा मिनिमालिज्म पनि भनिन्छ । आफूले सकेको सहयोग त आश्रम र अनाथहरूलाई सहयोग गरेर पनि गर्न सकिन्छ ।
हाम्रो विचार चल्ने दिमागमा दुईवटा शाखा छन् । एउटा ज्ञानेन्द्रीयसँग सम्बन्धित चेतन र अर्को कहिल्यै नरोकिने तर बाहिर निष्क्रिय देखिने अवचेतन दिमाग । अवचेतन मनलाई जागृत राख्ने र प्रयोग गर्ने कला सम्बन्धमा सुसूचित भई राति निदाउने बेला र बिहान उठ्ने बखत आफूले गर्न खोजेका सकारात्मक प्रतिज्ञाका विषयहरू चिन्तनमनन गरियो भने अवचेतन मनले ती विषयहरू प्राप्तिमा हरतरहले सहयोग गर्ने मनोवैज्ञानिकहरूले बताएका छन् । अवचेतन मनमा चमत्कारिक क्षमता रहेको र प्रयोग गर्न जान्नुपर्ने विचार प्रसिद्ध मनोवैज्ञानिक एवं लेखक जोसेफ मर्फिले राखेका छन् ।
आफ्नो रुचिका अध्ययन, सङ्गीत, नाचगानलगायतका विषयमा समय दिनुपर्छ ।
नियमितरूपमा पढ््ने र पढेको तथा थाहा पाएको कुरा डायरीमा टिपोट गर्ने बानी बसाल्नुपर्छ ।
नयाँनयाँ स्थानको भ्रमण गर्ने र ती स्थानका विविध राम्रा पक्षको सम्बन्धमा डायरीमा लेखी राख्नु राम्रो हुन्छ ।
मन मिल्ने साथीसँग समय बिताउने, पारिवारिक हिसाबले पनि छलफल गर्ने र आफूमा आएको संवेग तथा मानसिक उतारचढाव सम्बन्धमा भरपर्दो व्यक्तिसँग सेयरिङ गर्नु राम्रो हुन्छ ।
दैनिकरूपमा गरिने सानातिना घरायसी कामका साथै आफू संलग्न भएको काम वा पेसा व्यवसायलाई पूरै मन दिएर काम गर्नु नै सफल हुने र खुसी हुने उचित मार्ग हो ।
खानपानमा सुधार नगरिकन स्वास्थ्य राम्रो हुँदैन । शारीरिक स्वास्थ्य तथा मानसिक स्वास्थ्य आपसमा अन्तरसम्बन्धित छन् र दुवैका लागि उचित खानपान आवश्यक छ ।
समयसमयमा मौन रहने कलाको विकास र अरुको कुरा सुनेर मात्र प्रतिक्रिया दिने बानी भयो भने मानसिक अस्थिरता र बेचैनी हुने सम्भावना घटेर जान्छ ।
अरुबाट प्राप्त भएको सहयोगका लागि कृतज्ञ हुनुपर्दछ । समय वा सहयोग प्राप्त गर्नु नै अवसरको विषय भएकोले अरूप्रति अहोभाव प्रकट गर्नु आवश्यक हुन्छ । यसबाट थप साथ, सहयोग र ऊर्जा प्राप्त हुने पनि सम्भावना बढेर जान्छ ।
एउटा व्यक्तिले जीवनमा पूर्णता पाउनका लागि मानवीयता र सामाजिक सद्भाव आवश्यक पर्दछ । यसका लागि घरपरिवार र विद्यालयमा समेत यस्तो खालको गुण विकासका लागि सबैजना जागरुक हुनुपर्दछ ।
सबैभन्दा महत्वपूर्ण कुरा त के हो भने हरेक व्यक्तिले आफ्नो मन र विचारलाई आफ्नो नियन्त्रणमा राख्न सक्नुपर्दछ । जुनसुकै घटनाक्रम जीवनभित्रको एक अनित्य पाटोको रूपमा देखापर्ने र दुःख वा सुख दुवैखाले क्षणहरू सधैँका लागि रहँदैनन् भन्ने भाव राख्नु आवश्यक छ ।
अन्त्यमा, जीवन जिउने क्रममा बेलाबखत तनाव हुनु अनि नैराश्यता आउनु अस्वाभाविक होइन । तर, कुनै संवेग हावी हुनासाथ विचलित हुनु भने समस्या हो । सकारात्मक भावका साथ अरुको सहयोगसमेत लिएर काम गर्दै गयो भने तनाव व्यवस्थापन हुन्छ । सेवा भाव र आध्यात्मिक साधनाले पनि मनलाई अस्थिर हुन दिँदैन र अन्तरहृदयको सन्देश पालना गरी काम गरेमा सबैको भलो हुने अवस्था आउँछ । सन्तुलित जीवन जिउने र अरुको समस्याप्रति समानुभूति राखी समाधानको पहल गर्नु नै मानसिक समस्या कम गर्ने सही बाटो हुनसक्छ । मानव स्वास्थ्यको महत्वपूर्ण आयामका रूपमा मानसिक स्वास्थ्यलाई लिइनु र सोहीअनुसारका अभियानरूपी कार्यक्रमहरू सबै सरोकारवालाको सहभागितामा सञ्चालन गर्न भने ढिलाइ गर्नु हुँदैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *