भर्खरै :

सहकारी संस्था र सामाजिक उत्तरदायित्वबारे सङ्क्षिप्त छलफल

सहकारी संस्था र सामाजिक उत्तरदायित्वबारे सङ्क्षिप्त छलफल

सहकारी संस्थाले सर्वसाधारण जनताको इमानदारीपूर्वक सेवा गर्दै उनीहरूको मन जित्ने ढङ्गमा काम गर्न सके गरीब नेपालीको पनि आशा–भरोसाको एउटा केन्द्र बाँकी छ भन्ने सन्देश प्रवाह हुनेछ । तल्लो वर्गको पनि सहारा बाँकी छ भनी समाजमा उत्साहको सञ्चार हुनेछ । सहकारी धनीमानीको हातमा नसुम्पी तल्लो वर्गको हातमा र उसैको हितमा सञ्चालन गर्नु नै सहकारीको धर्म हो ।
वर्तमान नेपाली समाजमा निराशा व्याप्त हँुदै जानुु पछाडिको एउटा कारण सहकारी संस्थाहरूमा विकृति मौलाउनु हो । सहकारीहरू नै ठगीधन्दाको केन्द्र बन्न पुग्दा यतिखेर समाज आर्थिक अन्तरध्वंसको अनुभव गर्दै छ । बैङ्कहरूको अत्याचारबाट तल्लो वर्गलाई जोगाउन सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सहकारी स्वयम् बैङ्क र फाइनान्स कम्पनीका रूपमा प्रस्तुत हुँदा जनता रनभुल्लमा परेका छन् । सहकारीलाई साँचो सहकारीको रूपमा सञ्चालन गर्नु नै वर्तमान अवस्थाको चुनौती हो ।
समुदायका अगुवाहरूको पहलमा सामाजिक परिवर्तनको उद्देश्यसहित सञ्चालित सहकारीले इमानदारीपूर्वक प्रभावकारी सेवा प्रवाह गरेको खण्डमा सहकारीहरूप्रति जनताको विश्वास फेरि बढ्नेछ । तर, हिजोआज सहकारीको नाममा आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको लागि हजारौँ जनताको विश्वासमाथि घात गरिनाले सहकारीप्रति नकारात्मक भावना चुलिँदो छ । ठग सहकारी सञ्चालकबाट धेरैधेरै सर्वसाधारणहरू पीडित भएका खबर दैनिक बाहिर आउँदै छन् । ठगीको अभियोग लागेकाहरू नै सार्वजनिक पदमा बसेर छाती फर्काएर हिँड्नु कानुनी राज्य र सहकारीप्रति ठुलो व्यङ्ग्य हो । त्यस्ता व्यक्तिहरूमा कुनै पनि प्रकारको हिनताबोध वा अपराधबोध समेत नहुनुले अपराधीहरूको ठुलो सञ्जालतर्पm सङ्केत गर्छ । सहकारीकर्मीको आवरणमा ठगी धन्दा चलाइरहेकाहरूलाई सरकार, प्रहरी–प्रशासन र शासक नेताहरूको संलग्नता, साथ र संरक्षणले तिनको मनोबल बढेको हो भन्ने धेरै आधार छन् । त्यस्ता आर्थिक अपराधीहरूलाई जनता स्वयम्ले एकदिन सजाय दिनेछन् ।
आज युवाहरू देशप्रति आशावादी हुन सकिरहेका छैनन् । दिनहुँ हजारौँको सङ्ख्यामा युवाहरू अध्ययन वा श्रमको लागि भन्दै देश छोडेर जाँदै छन् । रोजगारी नपाउँदा, चित्तबुझ्दो ज्याला या पारिश्रमिक नपाउँदा, सबैतिर भेदभाव तथा पक्षपात हुँदा र कमिसन एवम् घुसखोरी चल्दा युवा पुस्तामा वितृष्णा पलाएको हो । तिनले पलायनको बाटो रोज्नुको एउटा कारण यही नै हो । म्यानपावर कम्पनीका मालिक र दलालहरूको कब्जामा सिंहदरबार, राजनीति परेकै कारण आज देश विदेश जाँदै छ ! सहकारीहरूले बीउ पुँजी दिन सकेका भए या त्यस्तो बन्दोबस्त गर्न सकेको भए केही राहत जरुर मिल्ने थियो ! उपायबारे छलफल गरौँ !
देशभित्रै रहेका उद्यमी, व्यवसायीहरूसमेत अनेक व्यवधान, असफलता, टाटपल्टाइका कारण आत्महत्याको बाटोमा लागेका समाचारहरू आउनु निकै दुःखद छ । युवा उद्यमीहरूमा समेत विभिन्न मानसिक समस्या देखापर्नु चिन्ताको विषय हो । देशको आर्थिक अवस्था जर्जर बन्नुमा सत्ताको बागडोर सम्हाल्ने नेतृत्व तहमा देखिएको बिचलन, बेइमानी, अनैतिकता र इच्छाशक्तिको अभाव मूलरूपमा जिम्मेवार छ । विदेशी पुँजीको दलाली गर्ने मनोवृत्ति सबैभन्दा बढी घातक छ । सिंहदरबारमा मौलाइरहेको भ्रष्टाचारको कारण आज देश बर्बाद बन्दै छ । असल, सक्षम, नैतिकवान तथा देशभक्त नेतृत्व चयन गर्न नसकेसम्म देशले निकास पाउन गाह्रो हुने प्रस्ट छ । यसको लागि देशको नयाँ पुस्ता अध्ययनशील, नैतिकवान, इमानदार र देशलाई माया गर्ने हुनु आवश्यक छ । नेतृत्व भनेको हामी बिचबाट नै चयन हुने कुरा बिर्सनु हुँदैन । तसर्थ, विभिन्न रचनात्मक उपायमार्पmत नयाँ पुस्तालाई सामाजिक बनाउने, नागरिक भावना दिने, स्वयम्सेवी बनाउने, सेवाभाव दिने आदि कार्यमा सहकारीहरूले अगुवाइ गर्नुपर्ने देखिन्छ । सहकारीले सामाजिक स्कूलको जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आएको छ । नत्र, अनिकालमा बीउसमेत जोगिने छैन !
समाजलाई मितव्ययी बनाउनु अहिलेको आवश्यकता हो । फारोतिनोको महत्वबारे बरोबर समाजमा छलफल गर्न आवश्यक छ र व्यवहारमा अवलम्बन गर्नेबारे उदाहरणहरू प्रस्तुत गर्नुपर्छ । हामी हरेक चिज विदेशबाट आयात गर्छौँ । हाम्रो देश आर्थिकरूपमा माथि उठ्न नसक्नुको एउटा कारण यो पनि हो । विदेशबाट किनेर यदि हामी वस्तुको पूर्ण सदुपयोग गर्न पाउँदैनौँ भने त्यो जति ठुलो क्षति अरु के होला ? मर्मत–सम्भार, पुनःप्रयोग आदिबारे तालिम तथा कक्षा सञ्चालन गर्न सहकारीको पहलकदमी वाञ्छनीय छ ।
अनावश्यक खर्चबाट जोगाउनु पनि आम्दानी सरह नै हो । खर्चको मामलामा देखासिकी गर्ने, भड्किला तवरतरिका अपनाउने, ऋण लिईलिई भोजभतेर खुवाउने आदि विषयमा सामाजिक चेतना अभिवृद्धि गर्न सहकारीले आवश्यक भूमिका निर्वाह गर्न सक्छ । त्यसको सट्टा स्वास्थ्य जोगाउन र नयाँ पुस्तालाई शिक्षा–दीक्षा दिन पछि नहट्ने या कन्जुस्याइँ नगर्नेबारे निरन्तर अन्तरक्रिया गर्नुपर्ने देखिन्छ । स्वच्छ चिन्तन, स्वस्थ तथा गुणस्तरीय जीवनशैली अपनाउनेबारे उचित परामर्श दिने खालका गतिविधि सहकारीले गरेको खण्डमा समाजको राम्रो सेवा साबित हुने निश्चित छ ।
सहकारीलाई आर्थिक अभियानको अङ्गका रूपमा मात्र सीमित बनाउनु या बुझ्नु हुँदैन । बरु यसलाई सामाजिक तथा सांस्कृतिक अभियानको रूपमा सशक्तरूपमा अगाडि बढाइनु पर्दछ । भक्तपुरमा सञ्चालनमा रहेका सहकारी संस्थाहरू देशका अन्य क्षेत्रका भन्दा भिन्न छन् । तसर्थ, यहाँका सहकारीहरूबाट जनताले बढी अपेक्षा राख्नु पनि स्वाभाविक नै छ । जनताको आशा र भरोसालाई कायम राख्दै अझ थप क्षेत्रहरूमा सहकारी संस्थाहरूले आफ्ना गतिविधिहरू सञ्चालन गर्नु आवश्यक छ । परम्परागत बाजागाजा संरक्षण एवम् प्रशिक्षण, स्वास्थ्यचेतना अभिवृद्धि, सरसफाइ गतिविधि, सीपमूलक तालिम, क्षमता अभिवृद्धि तालिम, भाषा प्रशिक्षण, खेलकुद तथा सांस्कृतिक गतिविधि, पुस्तक प्रकाशनलगायत विभिन्न क्षेत्रमा सहकारी संस्थाहरूले योगदान दिन थालेका छन् । यो सकारात्मक पक्ष हो । अबका दिनमा यी र यस्ता असल अभ्यासलाई निरन्तरता दिँदै साहित्य तथा सांस्कृतिक उत्थानमा समेत सहकारी संस्थाहरूले उल्लेख्य योगदान गर्नु जरुरी छ । किनकि, साहित्य र संस्कृतिको स्तरवृद्धिबाट समाजको स्तरोन्नतिमा टेवा पु¥याउन सकिन्छ । हाम्रो समाज तथा संस्थाको बाह्य परिचय पनि यसैले निर्धारण गर्नेछ ।
एउटा संस्थामा किसान–मजदुर, महिला, युवा, विद्यार्थी, स–साना उद्यमीलगायत सामाजिक जीवनका विभिन्न क्षेत्रका सदस्यहरूको आबद्धता रहने गर्दछ । आफूसँग आबद्ध सबै तह र तप्काका सदस्यहरूको आवश्यकता र विकासका लागि उपयुक्त गतिविधिहरू सञ्चालन गर्न सकेमा सहकारी संस्थाहरूको भविष्य उज्ज्वल हुनुका साथै सदस्य र संस्थाबिच हार्दिक सम्बन्ध विकास हुनेछ ।
सहकारीलाई बिचौलियाहरूको चङ्गुलबाट र नवधनाढ्यहरूको शोषणबाट जोगाउनु आजको चुनौती हो । केही नवधनाढ्यहरूका निम्ति पुँजी सङ्कलन केन्द्रको रूपमा सहकारीहरू खुम्चिँदै जानु नै आजको मूल समस्या हो । शून्यबाट उदाएका सहकारीका सञ्चालकहरू स्वयम् पनि एकाएक धनीमानी कसरी बने र जीवनस्तरमा आमूल परिवर्तन कसरी सम्भव भयो ? व्यापार गरेको छैन, उद्योग चलाएको छैन, कुनै व्यवसाय पनि छैन, पुख्र्यौली सम्पत्ति छैन, तर अकुत सम्पत्ति कसरी जोड्यो ? छानबिन गर्नुपर्ने विषय होइन भन्न सकिन्न । हिजोसम्म सामान्य र सरल स्वभावको मानिस सहकारी सञ्चालक भएपश्चात् उसमा एकाएक कसरी मालिक प्रवृत्ति पलायो ? अत्यन्त सोचनीय विषय हो । सहकारी र समाजलाई यदि जोगाउने हो भने अब शल्यक्रिया आवश्यक छ न कि ‘कस्मेटिक’ उपचार !
हरेक समाजको नयाँ पुस्ता नै उक्त समाजको भविष्य हो । तसर्थ, नयाँ पुस्तालाई सक्षम तथा योग्य बनाउनु नै भविष्य उज्ज्वल बनाउनु हो । कुनै पनि परिवार, समुदायले जतिसुकै बचत रकम बढाए तापनि, आर्थिक आर्जन गरे तापनि नयाँ पुस्तालाई सक्षम बनाउन चुकेमा त्यसको कुनै अर्थ हुनेछैन । तसर्थ, नयाँ पुस्तालाई सक्षम र योग्य बनाई हुर्काउनु आजको मुख्य जिम्मेवारी हो । डिजिटल कुलत, लागुऔषध दुव्र्यसनी, जाँडरक्सी, जुवातास, चुरोट आदिले हाम्रा बालबालिका, नवजवानलाई बौद्धिकरूपमा र हरेक हिसाबले कमजोर बनाइरहेको तथ्याङ्क प्रकाशित भइरहेका छन् । बेलैमा यतातर्फ सचेतता अपनाउन सकेमा हामी आफ्नो भविष्यको पुस्तालाई जोगाउन सक्नेछौँ । यो काम समुदायप्रति जिम्मेवार संस्थाहरूको पहलमा बढी प्रभावकारी हुनसक्दछ । किनकि, नाफा नै धर्म हो भन्ने पुँजीवादी बन्दोबस्तले सामाजिक जिम्मेवारीबारे सतही कार्यबाहेक गर्ने छैन । त्यसकारण, सहकारीका सञ्चालक मित्रहरू र सहकारीका सदस्यहरूमा विशेष अनुरोध छ, ‘रकम बचत’ भन्दा पनि ‘पुस्ता बचत’ तर्पm लागौँ !
सहकारी संस्थाहरू र हाम्रो समाज भौतिकरूपमा केही सबल भइरहँदा व्यावहारिक पक्षमा कमीकमजोरीहरू प्रशस्तै बाँकी रहेको कुरा अस्वीकार गर्न सकिन्न । युगसँगै अगाडि बढ्नको लागि परम्परागतरूपमा चल्दै आएका गतिविधिबाहेक युग सुहाउँदा थप क्रियाकलापहरू पनि गर्नुपर्ने देखिन्छ । संसारसँगै अगाडि बढ्न आधुनिक औजार मर्मत तालिम, सत्कार तालिम, पाककलाको विकास तालिम, शारीरिक व्यायामसँग सम्बन्धित तालिम, शिशु स्याहार तथा व्यवस्थित हुर्काइसँग सम्बन्धित विभिन्न तालिमहरू सञ्चालन गर्नु आवश्यक छ । आधुनिक जीवनसँग जोडिएका तथा आवश्यक विषयमा हामीले ध्यान केन्द्रित ग¥यौँ भने दुःख र असुविधा तुलनात्मकरूपमा कम हुनेछ । दक्ष जनशक्ति निर्माणमा जोड दिनु पनि आत्मनिर्भरतातर्पmको पाइला हो । प्रचारात्मक तथा सतहीभन्दा पनि समाजको सेवा हुने सानातिना नै सही तर अर्थपूर्ण काम गर्दै जानु श्रेयस्कर हुनेछ ।
आजको हाम्रो सामाजिक आवश्यकता आदर निकेतन हो । यसमा विवाद आवश्यक छैन । सक्षम सहकारी संस्थाले एक्लैले या कम क्षमताकाले कसैसँग मिलेर आफ्नो क्षेत्रका ७५–८० वर्ष नाघेका ज्येष्ठ नागरिकहरू बस्ने–रम्ने उचित ठाउँको बन्दोबस्त गर्न ढिलो भइसकेको छ । उमेर भएका नागरिकहरूलाई सम्मानका साथ जीवन यापन गर्ने अवसर दिनु भनेको सभ्य समाजको परिचय हो । जीवनको उत्तराद्र्धमा चाहिने भनेको अकुत सम्पत्ति होइन आराम, आनन्द र आत्मसन्तुष्टिसहितको जीवन हो । त्यसका लागि परिवार, समाज र सहकारीजस्ता सामाजिक संस्थाहरू उतिकै जिम्मेवार ढङ्गमा प्रस्तुत हुन आवश्यक छ ।
जनताको सक्रिय सहभागितामा इमानदारीका साथ गरिएका कार्यहरू परिणाममुखी एवम् सफल बन्नेछन् भन्ने दृष्टान्त आजको भक्तपुर नै हो । असल कार्यको थालनी गर्दा अनेक बाधा–व्यवधानहरू पनि उत्तिकै आउनेछन् । त्यस्ता बाधा अड्चन फुकाउँदै अगाडि बढ्नको लागि समुदायमा आधारित सहकारी संस्थाहरू एउटा उपयुक्त औजारको रूपमा विकास गर्नुपर्दछ । आर्थिक एवम् सामाजिक विकास तथा प्रगति तब थोरै भए पनि सम्भव हुनेछ । अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *