भर्खरै :

राजनीतिलाई देश र जनताको सेवामा समर्पित गर्नु जरुरी

सामान्यतया राजनीति भनेको राज्यको नीति हो अर्थात् नीतिहरूको राजा नै राजनीति हो । निःस्वार्थरूपले इमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित सार्वभौम सिद्धान्तमा आधारित नीति नै राजनीति हो । कुनै पनि व्यक्तिले राजनीति, राजनीतिक दलमा आबद्ध भएरै गरिन्छ । मानिस सामाजिक प्राणी सँगैसँगै राजनीतिक प्राणी पनि हो । कुनै पनि व्यक्ति कुनै पनि राज्यभित्र अथवा देशभित्र बसोबास गरिसकेपछि वा जन्मिसकेपछि त्यो व्यक्तिको जीवनको हरेक पक्षमा राजनीतिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभाव पारिरहेको हुन्छ । कुनै एउटा निश्चित दर्शन, विचार र सिद्धान्तको आधारमा आदर्श एवम् सृजनशील समाज निर्माण गर्ने उद्देश्यले स्थापना भएको विविध व्यक्तिहरूको सङ्गठित समूह नै राजनीतिक दल हो ।
हरेक राजनीतिक दलले कुनै एउटा निश्चित वर्गको प्रतिनिधित्व गरेको हुन्छ । वास्तविक राजनीतिक दलभित्र आफ्नो दलको मार्गनिर्देशक सिद्धान्तको अध्ययन, अध्यापन, सामूहिक छलफल, बहस, अन्तरक्रिया, गोष्ठी र आवश्यकता अनुसार प्रशिक्षणात्मक कक्षासमेत सञ्चालन गरेर विचारविमर्श र मन्थन हुने भएकोले राजनीतिक दललाई चिन्तनको चौतारी वा खुला विश्वविद्यालय भनिएको हो । त्यसैले हरेक राजनीतिक दलको मुटु भनेकै त्यो दलको राजनीतिक दर्शन, विचार र सिद्धान्त हो । जसरी एउटा मान्छे मुटुबिना जीवित रहन सक्दैन, त्यसरी नै दर्शन, विचार र सिद्धान्तबिना राजनीतिक दलले जीवन्ता पाउन सक्दैन । अतः हरेक राजनीतिक दलको सिद्धान्त विचार र दर्शन हुनुपर्छ । दर्शन र सिद्धान्तबिनाको राजनीति र राजनीतिक दल देश र जनताको सेवामा समर्पित हुनसक्दैन । त्यस्तो राजनीति र राजनीतिक दल समाजको भन्दा व्यक्तिगत स्वार्थपूर्ति गर्ने समूहमा परिणत हुन्छ । त्यस्तो राजनीतिले समाज राजनीतिक अपराध र राजनीतिक विकृतिको सिकार बन्न पुग्छ ।
कुनै पनि दललाई चिन्ने र विश्वास गर्ने आधार त्यो दलको दर्शन, विचार र सिद्धान्त नै हो । कुन राजनीतिक दल असल र खराब भनी छुट्याउने आधार पनि सिद्धान्त र विचार नै हो । कुन दलले कुन वर्गको प्रतिनिधित्व गरेको छ ? त्यसैको आधारमा दललाई राम्रोसँग चिनेर मात्रै राजनीतिक दलमा लाग्नु उपयुक्त हुन्छ । जनतामा राजनीतिक चेतना र सांस्कृतिकस्तर नहुँदा देशको सबै दललाई चिन्न नसक्नु विडम्बनाको कुरा हो । जनताले दलको विचार र सिद्धान्त बुझ्न् नसक्दा र अरूको भनसुनको आधारमा निर्वाचनमा मतदान गर्दा कहिले को, कहिले को निर्वाचित भइरहेको हामीले देखिरहेका छौँ।
नेपालमा विभिन्न विचार र वर्गको प्रतिनिधित्व गर्ने अनेक राजनीतिक दलहरू छन् । प्रायः ठुला दलहरूले पालैपालो शासन गरिरहेका छन् । तर कुनै पनि शासक दलले बहुमत जनताको पक्षमा, उत्पीडित कामदार वर्गको हितमा ऐन कानुन बनाएर काम गर्न सकेका छैनन् । यसले सरकारको नेतृत्व गर्ने दलको सिद्धान्त, नीति र कार्यक्रम कामदारवर्गको पक्षमा नरहेको थाहा हुन्छ ।
नेपालमा राणा शासनको अन्त्यपछि ३० वर्षसम्म निरङ्कुश राजतन्त्र चल्यो । निरङ्कुश व्यवस्था ढालेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सोहीअनुरूप सोच र आचरणमा परिवर्तन भएन । राजतन्त्र ढले पनि सामन्ती सोच अझै बाँकी छ । राजनीतिलाई जीवनपद्धतिको रूपमा विकास गर्न नसक्दा नेपाली राजनीति विकृत बन्दै गएको हो । मन्त्री बन्न पनि पैसा तिर्नुपर्ने, उम्मेदवार बन्न र सांसदको टिकट पाउनको लागि पार्टीलाई करोडौँ करोड रुपैयाँघुस दिनुपर्ने, समानुपातिक सांसदको कोटा पाउनको लागि करोडौँ पैसा पार्टीलाई बुझाउनुपर्ने जस्ता भ्रष्टाचारयुक्त कार्यले गर्दा नेपाली राजनीति दिनानुदिन विकृत र भ्रष्ट बन्दै गइरहेको यथार्थ घामजतिकै छर्लङ्ग छ ।
केही समय अगाडि राज्यको संवेदनशील र कार्यान्वयन स्तरको महत्वपूर्ण मन्त्री पद खरिदबिक्रीको अभिव्यक्ति दिदै राजीव गुरूङ (दीपक मनाङे) ले मन्त्री बन्न पैसा तिर्नुपर्ने, तीतेपाती र वनमारा हेरेर बस्न मात्रै वनमन्त्री बन्नुपर्ने भए मन्त्री पदको करोड रुपैयाँ आए बेचेर आफू व्यवसायतिर लाग्ने जस्ता अभिव्यक्ति दिए । दीपक मनाङेको उक्त अभिव्यक्तिले नेपालको राजनीति कतिसम्म बिग्रेको रहेछ भन्ने दृष्टान्त पनि हामीमाझ छ । मन्त्री बन्न योग्यता, क्षमता होइन पैसा चाहिने रहेछ । आफूलाई मन नपरे पैसा लिएर पनि मन्त्री पद छोड्न मिल्ने रहेछ । त्यसको निम्ति कुनै वस्तुको झैँमोलमोलाइ हुँदोरहेछ । मन्त्री पद बिक्रीको लागि राखेको भन्ने अभिव्यक्तिको अडियो सामाजिक सञ्जालमा भाइरल भयो । के यो राजनीतिक अपराधीकरण र विकृत राजनीतिको नाङ्गो रूप होइन ?
जनआन्दोलन र जनसङ्घर्षको जगमा टेकेर नेपालमा राजनीतिक परिवर्तन आएको हो । राजनीतिकरूपमा प्राप्त यी अधिकार वा उपलब्धिलाई जनताको जीवनशैली र व्यवहारसँगै जोडेर सरकार या संसद्वादी शासक दलका नेताहरू अघि बढ्नुपर्ने हो । नेपाली राजनीतिलाई विकृत र भ्रष्टीकरणतर्फ डो¥याउने होइन बरू निःस्वार्थरूपले देश र जनताको सेवामा समर्पित गर्दै जानु आवश्यक छ । तर विडम्बना ! देश र जनताको इमानदारीपूर्वक सेवा गर्नुपर्ने राजनीतिलाई शासक दलका नेताहरूको व्यक्तिगत स्वार्थपूर्ति गर्ने पेसा र व्यवसाय बनाउँदै फोहोरी खेलको रूपमा रूपान्तरण गरिदियो । सत्ता राजनीतिको खेल विगत लामो समयदेखि चल्दै आइरहेको कुरा कहीँकतै लुकेको छैन । यसको असर सर्वसाधारण नागरिकदेखि उच्चपदस्थ कर्मचारी, नेता, मन्त्री, सांसदमा पनि प¥यो । राजनीति फोहोरी खेल होइन ।
यो त राज्यको नीति, निर्माण र कार्यान्वयनसँग जोडिएको नियमित प्रणाली र प्रक्रिया हो । राजनीतिलाई सीमितवर्गको पेसाको रूपमा अघि बढाउने प्रयत्न संसारको जुनसुकै पुँजीवादी र सामन्तवादी देशहरूमा हुने गर्छ । यो पुँजीपतिवर्गको चरित्र नै हो । यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थाले कामदार वर्गको हित गर्दैन । अन्ततःकामदार जनताको हित हुने व्यवस्था मिलाउन समाजवादी व्यवस्था आवश्यक छ । देशको हरेक कम्युनिस्ट पार्टीहरू समाजवादी व्यवस्थाको निम्ति लड्नुपर्छ, लडिरहेका हुन्छन्  ।
नेपालमा अराजक र वितण्डा मच्चाउने, विदेशी शक्ति केन्द्रको उठबसमा बस्ने राजनीतिक दलहरूको अकर्मण्यताले पनि देशको राजनीति बिग्रेकोमा शङ्का छैन । सत्ता पाएर पनि सत्ताको राम्रो उपयोग नगर्ने, इमानदार र जिम्मेवार भएर काम नगर्ने संसद्वादी शासकहरूको कारण न देश विकास भयो न त गणतन्त्रलाई संस्थागत गर्न सक्यो । सत्ताको निम्ति ढाट्ने, छल्ने, काम भएको हुँदा शासक दलहरूप्रति जनताको विश्वास गुम्दै गएको हो र सरकार अस्थिर रहेको हो । विस्तारवादी देश भारत र साम्राज्यवादी देश अमेरिकाले कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीको समर्थन गर्दैन बरू कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनको विरोधमात्र होइन कम्युनिस्ट पार्टी कमजोर बनाउन, कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको देशमा अराजक फैलाउन, अस्थिरता ल्याउन, आन्तरिक द्वन्द्व चर्काएर देशको अर्थव्यवस्थामा सङ्कट ल्याउन अनेक षड्यन्त्र बुन्छन्, चलखेल गर्छन्, पैसाको खोलो बगाउँछन्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रयोग गर्छन् र गुप्तचरहरू खेलाउँछन् । तर विडम्बना ! नेपालका ठुलो भनिने, सत्तामा जान मरिहत्ते गर्ने कम्युनिस्टहरू ती नै शक्तिको पछि लाग्छन्, तिनीहरूकै प्रशंसा गर्छन् ।
गणतन्त्र स्थापनाको अनुभूति जनताले अझै पाएका छैनन् । आफ्नो देशमा स्थापना भएका कलेजहरू बन्द हुन्छ, डुब्छ । विदेशीले खोलेको कलेज विस्तार हुन्छ र राम्ररी चल्छ । आफ्नो देशमा स्थापित उद्योग कलकारखानाहरू निजीकरण गर्दै बेचेर लाखौँ युवाहरू बेरोजगार भएर अरूको देशमा दास बन्न जानुपर्ने बाध्यात्मक स्थिति छ । निजी विद्यालय र कलेजमा विदेशीको इतिहास पढाइएको हुन्छ । तर पनि सरकार मौन रहन्छ । सरकार आफै परराष्ट्र नीति पालना गर्दैन या उल्लङ्घन गर्छ । नेपाली काङ्ग्रेस, एमाले, माओवादी र मधेसवादीहरू कहिले मित्र सम्झेर मिल्छन्, कहिले धोका दियो भनेर विरोध गर्छन् । एउटै दल एकै समयमा कहिले मित्र र कहिले शत्रु कसरी भयो ? यो त सिद्धान्त र विचारमा अडान नभएको सङ्केत हो, यो राजनीतिक अनैतिकता हो । त्यसैले यस्ता दलहरूबाट देश र जनताको सेवा नहुने भएकोले निर्वाचनमा जनताले पराजय गरेर दण्डित गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *