भदौ २३ मा निहत्था जनताको हत्या र भदौ २४ मा देशभरि आगजनीबारे
- असार २२, २०८३
भक्तपुर, ११ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा स्तालिन र माओ त्सेतुङको जन्म दिवसको अवसरमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले माओको योगदानको चर्चा गर्दै संसारका शोषितपीडित जनताको मुक्तिको लागि माओले महत्वपूर्ण योगदान गर्नुभएको बताउनुभयो ।
चिनियाँ जनक्रान्तिको चर्चा गर्दै उहाँले चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूलाई माओ त्सेतुङले सापत्ति लिएको सामान जनतालाई फिर्ता गर्न, महिलाहरूलाई राम्रो व्यवहार गर्न, जनताको निःस्वार्थ सेवा गर्न सिकाउनुभएको चर्चा गर्नुभयो । उहाँले स्तालिन एक त्यागी र निडर नेता भएको उल्लेख गर्दै स्तालिन जनतासँग नङ र मासुजस्तै सम्बन्ध गाँस्न सक्ने अध्ययनशील र जुझारु नेता भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति गोविन्द दुवालले किसान सङ्घले किसानहरूको मोहीयानी हक कायम गर्न अथक सङ्घर्ष गरेको चर्चा गर्दै त्यस आन्दोलनमा किसान कार्यकर्ताहरूले धेरै सङ्घर्ष गर्नुपरेको बताउनुभयो । माओले चिनियाँ क्रान्ति गर्न अथक मेहनत र सङ्घर्ष गरेको विचार व्यक्त गर्दै उहाँले स्तालिनले सोभियत सङ्घलाई शक्तिशाली र विकसित देश बनाउन राम्रो नेतृत्व गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका सचिव तथा भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले अमेरिकाले ३ सय वर्षमा गरेको विकास लेनिन र स्तालिनको नेतृत्वमा ३० वर्षमा सोभियत सङ्घमा विकास गरेको बताउनुभयो ।
उहाँले माओले चिनियाँ क्रान्ति गरेपश्चात् राम्रो नेतृत्व गरेर पिछडिएको चीनलाई विकसित देश बनाउन सही नेतृत्व गरेको चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य महेन्द्र बखुन्छेँले स्तालिन र माओको योगदानले सोभियत सङ्घ र चीन आधुनिकीकरण भएको चर्चा गर्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुर जिल्ला समिति सदस्य राजेन्द्र बखुन्छेँले स्तालिन र माओको जीवनी वाचन गर्नुभएको थियो भने उपाध्यक्ष केशव तिमिल्सिनाले स्वागत मन्तव्य दिनुभएको थियो ।
Leave a Reply