भर्खरै :

टोखामा आजदेखि नवदुर्गाको जात्रा सुरु

टोखामा आजदेखि नवदुर्गाको जात्रा सुरु

मानव समाजमा आधारित जीवित देवताको रूपमा पुजिने नवदुर्गा देवगणको जात्रा आठ महिना मकुन्डोसहित र चार महिना मकुन्डोबिना हरेक वर्ष हुने परम्परा छ । यो जात्रा भक्तपुरमा मात्र सीमित नभई जिल्लाबाहिर पनि हुन्छ । नवदुर्गा गणको टोली दुई तीन दिनअगाडि भक्तपुरबाट सम्पूर्ण देवगणहरूको मकुन्डो र गरगहनासहित खर्पनमा राखेर हिँडेरै काठमाडौँको टोखा नगरमा पुग्छ । पहिलो दिन नगर परिक्रमा र पूजा ग्रहण गरी जात्रा सम्पन्न गरिन्छ । दोस्रो दिन चारजना देवगणहरू गणेश, कुमारी, सिम्म र दुम्म बाजा गणसहित साङ्गला स्थानमा पुगी पेमा द्यो जात्रा सम्पन्न गरिन्छ । त्यसपश्चात् खाजा ग्रहण गरी साँझतिर सम्पूर्ण देवगण टोखाका केही टोलमा परिक्रमा गर्दै पुनः लाछी टोलमा पुगेर खःप्याखं सुरु हुन्छ । राति नाच र मु बाहाँ जात्रा सम्पन्न हुन्छ । २०४६ सालसम्म निरन्तर चलिरहेको सो जात्रा एक वर्ष मु बाहाँ लिकेगु जात्रा गर्दा केही उच्छृङ्खल युवाहरूको कारण विवाद भई २०४७ सालदेखि बन्द भएको थियो । जात्रा रोकिएपछि टोखावासीहरूको एक टोलीले नवदुर्गा जात्रा सञ्चालन गर्नुप¥यो भनी माग गरेपछि देवगण टोलीका चार जना साथीहरूले टोखामा गई छलफल गरे । तर, सो छलफल निष्कर्षमा पुग्न सकिएन । नवदुर्गा जात्राको तीन दिनपश्चात् एक दिन चपलीग्राम, तुप्या हँुदै दुई दिन गोकर्ण नगरपालिकामा पनि जात्रा हुने परम्परा छ । जात्रालाई निरन्तरता दिन टोखा नगरका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधिहरूका साथै स्थानीय नगरवासीहरूको भेला गरी पुनः नवदुर्गा देवगण जात्रा सञ्चालन गर्ने सहमति भयो । सोहीअनुसार २०७९ सालमा १ वर्ष जात्रा सञ्चालन भएको थियो ।
सम्झौतामा पैदल जाने व्यवस्थामा सहयोग गर्ने, व्यवस्थित बास, शौचालयको व्यवस्था खाना र जलपानको व्यवस्था गर्ने, हरेक वर्षमा जात्रालाई निरन्तरता गर्ने र दीर्घकालीन अक्षयकोषको व्यवस्था गर्ने आदि कुरा उल्लेख गरिएको छ ।
२०८० सालमा १२ वर्षमा एकचोटि प्रदर्शन हुने काठमाडौँको पचली भैरव नाच प्रदर्शन हुने सूचना टोखा नगरवासीबाट प्राप्त भयो । सोहीअनुसार २०८० सालमा टोखामा नवदुर्गाको जात्रा बन्द भयो । एकै समय (वर्षमा) टोखा नगरमा काठमाडौँको पचली भैरव नाच वा ठेचोको नवदुर्गा गण नाच प्रदर्शन हुने भएमा भक्तपुरको नवदुर्गा नाच प्रदर्शन नहुने ऐतिहासिक मान्यता भएकोले सो वर्ष टोखा नगर, चपली, तुप्या (चुनिखेल) मा समेत नवदुर्गा नाच प्रदर्शन भएन ।
टोखामा हरेक वर्ष निरन्तररूपमा नवदुर्गा जात्रा सञ्चालन गर्न २०८१ पुस ८ गते टोखा नपाका नगर प्रमुख प्रकाश अधिकारी, टोखा नपा वडा नं. २ का वडाध्यक्ष रमेश डंगोल, टोखा नपा वडा नं. ४ का वडाध्यक्ष धमेन्द्र श्रेष्ठ, नेवाः गुठी नायो रमेश नापित, नेवाः गुठीका सल्लाहकार देवराज डंगोल, टोखा नपाका वडा सदस्यहरू, टोखा नपाका सांस्कृतिक सङ्कायका संयोजक, नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका अध्यक्ष बालगोपाल बनमाला, संस्थाका सल्लाहकार नारायणमान बनमाला, संस्थाका सचिव लक्ष्मीप्रसाद बनमाला, देवगण लक्ष्मीकुमार बनमाला र टोखा नगरका बुद्धिजीवी तथा वडावासीहरूबीच छलफल गरी नवदुर्गा जात्रा निरन्तर सञ्चालन गर्ने र जात्रामा आवश्यक आर्थिक, भौतिक तथा नैतिक सहयोगसमेत व्यवस्था गर्ने भनी नगर प्रमुखबाट वचन तथा निर्णय भएको थियो ।
चपलीका वडाध्यक्ष, तुप्या (चुनिखेल) का वडाध्यक्ष, गोकर्ण नपाका नवदुर्गा देवगण जात्रा संयोजक विजय श्रेष्ठ र रामदास श्रेष्ठसमेतलाई यो वर्ष नवदुर्गाको जात्रा हुने निम्तो दिएको थियो ।
यस वर्ष २०८१ पुस १२ गतेदेखि पुस १७ गतेसम्म टोखा नगर, चपली, तुप्या (चुनिखेल) र गोकर्णमा देहायबमोजिम नवदुर्गाको जात्रा तथा नाच प्रदर्शन हुने भएको छ ।
पहिलो दिन (२०८१ पुस १२ गते, शुक्रबार)
– भक्तपुर नगरपालिकाबाट बिहान १०ः३० बजे प्रस्थान गर्ने ।
– ४ बजे टोखा नगरमा पुगेर जात्रा शुभारम्भ गर्ने ।
दोस्रो दिन (२०८१ पुस १३ गते, शनिबार) टोखामा
– बिहान ८ बजे चारजना देवगण (गणेश, कुमारी, सिम्म र दुम्म देवगण बाजा गणसहित) साङ्गला प्रस्थान गर्ने
– दिउँसो १ बजे साङ्गलामा जात्रा सम्पन्न गर्ने
– ३ बजे टोखा लाछिमा देवगण जात्रा सुरु हुने र गंछि नाचः, खः प्याखँ, मु बाहाँ जात्रा आदि सम्पन्न गर्ने
तेस्रो दिन (२०८१ पुस १४ गते, आइतबार) टोखामा
– बिहान १० बजे बाराही नाच
– १२ बजे सिम्ह दुम्ह ङालाकेगु जात्रा ।
– २ बजे महाकाली नाच
– ४ बजे श्वेत भैरव ङालाकेगु जात्रा शुभारम्भ
– ६ बजे जात्रा सम्पन्न गरी चपलीग्राम प्रस्थान गर्ने ।
चौथो दिन (२०८१ पुस १५ गते, सोमबार) टोखाबाट चपलीगाउँ, तुप्या (चुनिखेल) हुँदै गोकर्णमा
– बिहान ८ बजे गाँछी नाच प्रदर्शनी
– १० बजे सम्पन्न पुनः तुप्या प्रस्थान
– चार जना देवगण जात्रा २ बजे हुने
– ४ बजे गोकर्णमा जात्रा सुरु गरिने
– ६ बजे गाँछि नाच, रात्रि नाच सम्पन्न गर्ने
पाँचौँ दिन (२०८१ पुस १६ गते, मङ्गलबार) गोकर्णमा
– बाराही नाच, बिहान ८ बजे ।
– १० बजे सिम्हदुम्ह ङालाकेगु जात्रा
– १ बजे महाकाली नाच
– ३ बजे श्वेत भैरव ङालाकेगु जात्रा
– ६ बजे जात्रा सम्पन्न गर्ने
छैटौँ दिन (२०८१ पुस १७ गते, सोमबार) गोकर्णमा
– बिहान – चियापान
– खाना ग्रहण गरी २ बजे भक्तपुर प्रस्थान गरिने ।
यस नवदुर्गा देवगण जात्रालाई भक्तपुरको एतिहासिक महत्वको साथै मानव समाजमा दिशानिर्देश गर्ने संस्कृतिको रूपमा बुझिन्छ । यो ङालाकेगु जात्रा काठमाडौँको पशुपति–जय बागेश्वरी मन्दिर, मध्यपुर ठिमीको बालकुमारी, सिद्धिकाली, नीलबाराही मन्दिर, टोखा नगरपालिकाको सपन तीर्थ गणेश मन्दिर, चपली गाउँको बुढानीलकण्ठ नारायण मन्दिर, तुप्या (चुनिखेल), गोकर्णको गोकर्णेश्वर महादेव मन्दिर, साँखुको बज्रयोगिणी र माघ माधवनारायण मन्दिर, चाँगुनारायण मन्दिर, साँगाको नासिका भगवती मन्दिर, नालाको उग्रचण्डी भगवती तथा दमरेश्वर महादेव मन्दिर, धुलिखेलको नानी भगवती मन्दिरमा हुन्छ । नवदुर्गा भवानीलाई कुल देवताको रूपमा पुजिने चलन छ । श्री खण्डपुरको श्वेत भैरव मन्दिर, बनेपाको जसीगाल र चण्डेश्वरी मन्दिर र पनौतीको मकर मेला हुने त्रिवेणी घाट, इन्द्रेश्वर महादेव तथा ब्रह्मायणी मन्दिर आदि स्थानसँग नवदुर्गा भवानीको सम्बन्ध रहेको इतिहास छ । ऐतिहासिक नगर भक्तपुर नगरपालिकामा २१ स्थानमा ङालाकेगु जात्रा निरन्तर चलिरहेको छ । २०८१ पुस २९ गतेदेखि भक्तपुरको सूर्यमढीमा वापि पाछ्राकेगु जात्रा सुरु भएसँगै २ महिनासम्म ङा लाकेगु जात्रा चल्ने परम्परा छ ।
(लेखक नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *