भर्खरै :

जुनसुकै क्षेत्रमा पुगे पनि निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्नुपर्ने

काठमाडौँ, १३ पुस । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा पश्चिम नेपालका विभिन्न ठाउँबाट काठमाडौँ आई अध्ययन गरिरहेका विद्यार्थी र अभिभावकबिच भेटघाट कार्र्यक्रम नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
“सङ्घर्ष नै जीवन हो, जीवन सङ्घर्ष हो; सङ्घर्ष गर्न सकेनौँ भने हामी अगाडि बढ्न सक्दैनौँ,” केन्द्रीय सदस्य शाहीले भन्नुभयो ।
“हिजोको अति विकट कर्णालीमा भक्तपुरका एक किसान कार्यकर्ताले हामीलाई चेतनाको ज्योति दिनुभयो । असङ्गठित कामदार वर्गलाई सङ्गठित हुन सिकाउनुभयो । आज कुल्ली, दरबान, खेतीपाती, अनेक दुःख–कष्ट सहेर अभिभावकले तपार्इंहरूलाई पढाइरहेको हँुदा मेहनत गरेर पढ्नुपर्छ । भोलि जुनसुकै क्षेत्रमा गएर काम गरे पनि निःस्वार्थपूर्वक जनताको सेवा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले नेमकिपा र नेक्राविसङ्घले राजनीतिकरूपमा इमानदार बन्न प्रेरित गरेको उल्लेख गर्र्दै जनताको सेवा गर्ने उद्देश्यले पढ्दै सङ्गठनमा लाग्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “लोभी र स्वार्थीहरूलाई पराजित गर्न हाम्रा विद्यार्थीहरू सक्रिय हुनुपर्छ । नियमित पुस्तकालयमा गएर अध्ययन गर्ने बानी बसाल्नुपर्छ ।”
निश्चित उद्देश्य राखेर हामी अगाडि बढ्नुपर्ने र विद्यार्थी सङ्घका कार्यक्रम तथा कक्षाहरू विषयकेन्द्रित हुनुपर्ने केन्द्रीय सदस्य गोसाईंले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक नवराज कोइरालाले सिक्ने मान्छे आफै सक्रिय हुनुपर्ने र नियमित पत्रपत्रिका अध्ययन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रा विद्यार्थी साथीहरू असल र योग्य बन्नु आवश्यक छ । विद्यार्थीहरू पढाइ, सङ्गठन र सिकाइमा केन्द्रित हुनुपर्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले देशमा गुणस्तरीय शिक्षा नपाउँदा युवाहरू विदेशिन बाध्य भएको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा जुम्लाका पूर्वजिल्ला अध्यक्ष शिवलाल डाँगी, नेमकिपा दैलेखका अध्यक्ष जगतबहादुर ओली, नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावल, अछाम अध्यक्ष झङ्करबहादुर शाही, जुम्ला अध्यक्ष पूर्णलाल खत्री तथा नेक्राविसङ्घका निरू विक, सुरेन्द्र बुढा, नविन काफ्ले, राजन भण्डारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *