भर्खरै :

“पुरानो पुस्ताले संस्कृति संरक्षणबारे नयाँ पुस्तालाई सजग गराउनुपर्छ”

“पुरानो पुस्ताले संस्कृति संरक्षणबारे नयाँ पुस्तालाई सजग गराउनुपर्छ”

भक्तपुर, २० पुस । “विश्व सम्पदाका बारेमा नेपालमा सरकार चलाउने नेताहरूको अल्पज्ञान र बेवास्ताले उपत्यकाको मल्लकालीन सभ्यताको संरक्षणमा धेरै ढिलाइ भइसकेको छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिका वडा नं ५ को आयोजनामा भक्तपुर महोत्सवमा सहयोग गर्ने सांस्कृतिक टोली, विद्यालय, विभिन्न सङ्घ सस्था तथा व्यक्तिहरूलाई शनिबार भएको धन्यवाद तथा प्रशंसापत्र वितरण कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “हाम्रो सम्पदा विश्वकै भएको कारण यसको अवलोकन गर्न संसारभरका मानिसहरू भ्रमण गर्न आउने गर्छन् । परम्परागत नृत्य, गायन मात्र होइन, वास्तुकला र इन्जिनियरिङलगायत सहरी सभ्यताका विषयमा समेत हाम्रा पुर्खाहरूको ज्ञान अब्बल देखिएकोले यसबारे हामीले नयाँ पुस्तालाई सजग गराउनु आवश्यक छ ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सङ्घ–संस्थाका प्रतिनिधिहरूलाई प्रशंसापत्र वितरण गर्दै महोत्सवमा सबै भक्तपुरवासीको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा भइरहेको छ भन्नुभयो ।
महोत्सव व्यापार व्यवसायमा मात्र सीमित नभई भक्तपुरको कला संस्कृति र परम्परा प्रतिबिम्बित भएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
वडाध्यक्ष योगन्द्रमान बिजुक्छेँले परम्परागत गीत, सङ्गीत, नृत्यजस्ता अमूर्त कलाहरू मनोरञ्जनको लागि मात्र नभएको र यसमा इतिहाससमेत अन्तरनिहित हुने भएकोले यसको संरक्षणमा नयाँ पुस्तालाई सजग तुल्याउन महोत्सवको आयोजना गरेको बताउनुभयो ।
पूर्ववडाध्यक्ष हिमालयश्वरलाल मूलले भक्तपुर नगरपालिकाले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र सम्पत्ति’ को नारालाई आत्मसात गर्दै त्यसलाई अझ सार्थक बनाउन नयाँ पुस्तालाई कलेज र विश्वविद्यालयमार्फत शिक्षित गर्न भक्तपुर नगरपालिका अग्रसर भएको बताउनुभयो ।
राजनीतिकर्मी एवं समाजसेवी पूर्णगोपाल राजचल, विद्यार्थी निकेतन माविका प्रधानाध्यापक न्हुछेबहादुर खाताखोले महोत्सवका विभिन्न आयामहरूको बारेमा प्रकाश पार्दैै सहयोगीहरूलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै कार्यपालिका सदस्य कृष्णप्यारी जधारीले करिब आठ लाखले अवलोकन गरेको महोत्सव ऐतिहासिक भएको बताउनुभयो ।
नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभएको उक्त कार्यक्रममा वडा नं ५ का एकान्तकुमारी बाँसुरी खल, लैको बाँसुरी बाजा समूह, खिछेँ दाफा भजन तथा विद्यार्थी निकेतन माविबाट सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *