जनताको समस्या समाधान गर्न नेमकिपा लागिरहने
- चैत्र २१, २०८२
(दोस्रो विश्व युद्ध अन्त्य भएको ६० औँ वर्षको अवसरमा नाजीविरूद्ध लडेका केही सोभियत वीरहरूका बारेमा North Star Compass मा प्रकाशित भयो । प्रस्तुत लेख फाँसीवादी आक्रमणलाई हराउन लडेकी एक निडर केटीको सङ्क्षिप्त परिचय हो–सं.)
सन् १९४१ अर्थात् दोस्रो विश्व युद्ध चर्किरहेको समय थियो । डिसेम्बरको प्रारम्भमा रुसको मस्को प्रान्तअन्तर्गत पेट्रिस्चेभो (Petrishchevo) गाउँमा जर्मनका नाजी सेनाले मस्कोकी १८ वर्षीया केटीलाई झुन्ड्याएर मारे । नाजी सेनालाई उनले आफ्नो नाम तान्या (Tanya) बताइन् । उनको साँचो नाम थियो–जोया कस्मोदिम्यान्स्काया (Zoya Kosmodemyanskaya) ।
युद्धका ती दिनहरू वास्तवमै कठिन थिए । पाइला–पाइलामा मृत्युको डर अत्यन्त चर्को थियो । युद्धको गञ्जागोलमा प्रत्येक निर्णय धैर्यतापूर्वक तथा साहसका साथ लिनुपथ्र्यो ।
मस्कोवासीहरू ग्रामीण क्षेत्रमा रहेका आफ्ना गर्मी याममा बस्ने घरहरू (Summer cottages) मा बसेर नाजीहरूविरूद्ध लडिरहेका थिए । जर्मनले कब्जा जमाइसकेका सोभियत भू–भागहरूमा पनि बहादुर स्वयम्सेवा सोभियत जनता नाजीहरूविरूद्ध सङ्घर्षरत थिए । सोभियत गुरिल्लाहरूलाई सहयोग गर्न मस्कोका साहसिला योद्धाहरू छानी–छानी शत्रु नियन्त्रित क्षेत्रमा पसेका थिए ।
एक बिहान जर्मेनियाली सिपाहीहरूले आफ्नो क्षेत्रभित्र एक गुरिल्ला वा एकाइका एक सदस्य पक्रे । ती सदस्यले पेट्रिस्चेभो Petrishchevo मा जर्मनहरूको सबै टेलिफोन संयन्त्र धुजा–धुजा पारिसकेका थिए ।
घटनाका प्रत्यक्षदर्शी स्थानीय गाउँलेहरूका अनुसार भुवादार टोपी, भुवादार ज्याकेट, भुवादार सुरूवाल र ऊनी जुत्ता लगाई काँधमा एक झोला बोकी एकजना अपरिचित मानिस संवेदनशील सैनिक इलाकाभित्र पस्यो । आफूले बोकेको झोलाबाट बेन्जेनी (प्लास्टिक बनाउन प्रयोग गरिने कोइला खानीबाट निकालिने बल्ने रङ्गविहीन पदार्थ) भरिएको सिसी निकाल्यो । पर्खालमाथि छक्र्यो र आगो लगाउन निहुरेको मात्र के थियो पछाडिबाट पहरा बसेका एक जर्मन सिपाहीबाट ऊ समातियो ।
त्यो मानिसले जर्मन सैनिकलाई घचेटेर हतार–हतार पिस्तोल निकाल्यो । उसले गर्न सक्ने त्यतिमात्र थियो । जर्मन सेनाले उसको हातबाट पिस्तोल फालिदियो र खतराको घण्टी बजाइहाल्यो ।
उसलाई सैनिक अधिकारीहरू अस्थाई बास बसिरहेको घरभित्र लगियो । जर्मन सैनिकहरू आफूले नियन्त्रणमा लिएको त्यो मान्छे एउटी केटी पाउँदा तीनछक्क परे । अग्लो, दुब्ली, कालो आँखा र कालो वर्णको छोटो कपाल भएकी भर्खरकी केटी थिइन् उनी । सोधपुछ गर्न घर मालिकका सबै मान्छेहरूलाई अर्को कोठामा पठाइयो । सबै भान्छा कोठातिर लागे । सैनिक अधिकारीहरूले केटीलाई थुप्रै प्रश्नहरू सोधे । तर, प्रश्न भुइँमा खस्न नपाउँदै केटीले निडर भएर जवाफ फर्काउँथिन्, “अहँ ¤ मलाई केही पनि थाहा छैन । म केही पनि भन्दिनँ ।” घरमा मानिसहरूले यस्तै निडर उत्तर नसुनून् भनेर नै उनीहरूलाई अर्को कोठामा पठाइएको थियो ।
अधिकारीले केटीको जीउमा छालाको कोर्दा बर्साएको डरलाग्दो आवाज भान्छा कोठासम्म सुनिन्थ्यो । केही क्षणपछि एक जवान जर्मन सैनिक अधिकारी फुङ्ग उडेको अनुहार लिएर हत्तनपत्त सोधपुछ कक्षबाट भान्छा कोठातिर पस्यो । बेस्सरी आँखा चिम्म गरी कान पनि थुनेर ऊ चुपचाप सोधपुछ नसकिउञ्जेल बसिरह्यो । मानौँ ऊ केही सुन्न र हेर्न चाहँदैन ।
सोधपुछको क्रम चलिरह्यो । जस्तै यातना दिँदा पनि केटीको एउटै जवाफ रहन्थ्यो –“अहँ ¤ म केही पनि भन्दिनँ ।” उही निडरताका साथ तर पछिल्लोपटक उनको स्वर थकित सुनिन्थ्यो ।
त्यसपछि केटीलाई कुलिक परिवारमा लगियो । उनीसँग मात्र केटीहरूले लगाउने एउटा पातलो लुगा बाँकी थियो । हिउँमा उनलाई नाङ्गो खुट्टा हिँड्न लगाइयो । उनको पिठ्यूँ, खुट्टा, हात र जिउभरि कोर्दाका निलडामै निलडाम थिए । अधिकारीहरूको पिटाइले आफ्नो मुखबाट याचनाको कुनै चिच्याहट ननिस्कोस् भनी बेस्सरी ओठ टोकेकाले उनको ओठ सुन्निएको थियो । कुनिक परिवारलाई पानीको एक थोपा पनि नदिन धम्क्याइएको थियो । उनीहरूलाई समेत पिटेर तर्साइएको थियो । जर्मन सैनिकहरू उनको वरपर बसेर उनको खिल्ली उडाउँथे । कोही उनलाई मुड्की हान्थे, कसैले उनको चिउँदो मुनि सलाइ कोरी राखिदिन्थे त कोही भने उनको पिठ्यूँमा करौँतीले रेट्थे ।
यातना दिन मन भरिएपछि अरु सैनिकहरू सुत्न गए । पहरा बसेको सैनिकले उनलाई सङ्गीन तेर्साएर बाहिर हिँड्न भन्यो । बाहिर कठ्याङ्ग्रिदो जाडो थियो । त्यो सैनिकले बाक्लो न्यानो लुगा लगाएको थियो । उसको सङ्गीनको टुप्पाले केटीको पिठ्यूँमा बरोबर घोचिरहन्थ्यो । पातलो लुगाबाहेक केही कपडा नलगाइएको उनलाई हिउँमा खाली खुट्टा त्यसै यता र उता हिँड्न लगाइरह्यो । अन्ततः सैनिक आफैले जाडो थाम्न नसकेपछि उनलाई भित्र लग्यो । अदम्य साहसका धनी तिनै केटीको नाम हो–जोया कस्मोदियान्स्काया ।
रातको प्रत्येक घण्टाको १५–२० मिनेट जोयालाई बाहिर खाली खुट्टा हिँडाइरहे । कठ्याङ्ग्रिदो चिसोमा रातभर यो क्रम चलिरह्यो । कुलिक परिवारलाई घरबाहिर पठाई बिहान पनि सोधपुछ गरियो ।
नाजी सैनिकहरूले गाउँको माझमा फाँसी दिने खम्बाहरू गाडे । कुलिकले जोयालाई ज्याकेट र सुरूवाल लगाइदिए । जर्मन सेनाहरूले उनको झोलामा भेटाएका बेन्जेनको सिसी उनको घाटीमा झुन्ड्याइदिए । सँगै ‘भूमिगत दलको सदस्य’ लेखिएको सङ्केत पनि झुन्ड्याइदिए । अनि, उनलाई फाँसी दिने ठाउँतिर लगियो ।
झुन्ड्याउन तयार पारिएको डोरीमुनि दुई ठुलठुला बाकसहरू एक–अर्कासँगै खप्ट्याइएका थिए । जोयालाई माथि चढ्न लगाइयो र पासो उनको घाँटीमा राखियो । एक जना जर्मन सैनिक हतार–हतार क्यामरा निकालेर उक्त दृश्यको फोटो खिच्न थाल्यो । नाजीहरू फाँसी र सजाय दिएको यस्ता फोटोहरू खिच्न खुब सोख राख्थे । कमान्डरले फाँसी दिने मान्छेलाई फाँसी दिएबापत्को पैसा पछि दिने सर्तमा हस्ताक्षर गराइरहेका थिए ।
यही मौकामा फाँसी दिएको हेर्न त्यहाँ भेला हुन बाध्य पारिएका गाउँले किसानहरूतिर फर्केर जोयाले ठुलो साहस र उत्साहका साथ भनिन्, “कामरेडहरू ¤ तपाईँहरू किन दुःखी हुनुहुन्छ ? मन सानो नपार्नुस् । हामीले जर्मनहरूसँग लड्नुपर्छ र तिनीहरूलाई सखाप पार्नुपर्छ ।
मर्नदेखि डराउन्नँ । मलाई हाम्रो मातृभूमि र तपार्इँहरूको रक्षाको लागि मर्न पाएकोमा गौरवको अनुभव हुँदै छ । जर्मन सिपाहीहरू हो ¤ चाँडो आत्मसमर्पण गर । नभए धेरै ढिला भएसक्नेछ । जसरी पनि अन्तिम विजय हाम्रै हुनेछ । मेरो फाँसीको बदला कुनै हालतमा लिइनेछ । तिमीहरू मलाई मार्दै छौ । तर, याद राख म एक्लै छैन । मेरा पछाडि २० करोड जनता छन् र तिनीहरू सबैलाई तिमीहरू मार्न सक्नेछैनौ ।
बिदा कामरेडहरू ¤ डराउनु पर्दैन । लड्दै जाऔँ ।”
फाँसी दिने मान्छेले जोया उभिएको तल्लो बाकसलाई खुट्टाले हिर्कायो । हिउँमा चिप्लिएर ऊ आफै तल्तिर हुत्तियो । डरले मान्छेहरू पछाडि हटे । सबै मान्छेहरू चिच्याए । त्यो चिच्याहट सारा जङ्गलभरि गुञ्जायमान भयो ।
जोया शत्रु शिविरमा मारिइन्, नाजीहरूले उनलाई फाँसी दिए । तर, उनले आफ्ना गुरिल्ला कामरेडहरू र भावनालाई कहिल्यै विश्वासघात गरिनन् । कठोर यातनाका बिच पनि आत्मसमर्पणको एक शब्द बोलिनन् । उनले शहादत प्राप्त गरिन् । उनले एक विभूतिको रूपमा मृत्युलाई बहादुरीपूर्वक अँगालिन् । शत्रुमाथि कहिल्यै शिर नझुकाउने महान् जनताकी बहादुर छोरीको रूपमा उनले मृत्युलाई स्वीकारिन् । उनी अर्थात् जोया कस्मोदिम्यान्स्काया ।
विश्वका क्रान्तिकारी महिलाहरू
Leave a Reply