शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
कविता, गीत र एकाङ्की नाटक लेखनमा कलम चलाउने प्रगतिशील साहित्यकार चन्द्रबहादुर उलक जनतामाझ ‘जनकवि’ को रूपमा परिचित छन् । परम्परागत या आधुनिक नाचगानका निम्ति सयौँ गीत रचना गरिसकेका कवि उलकका तीनवटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । त्यसमध्ये एउटा काव्यकृतिको नाउँ हो ‘चन्द्रबहादुर उलकका कविताहरू’ (कवितासङ्ग्रह) । वि.सं. २०३९ सालदेखि ०८१ सालसम्म रचिएका, छुटेका, जुटेका कविताहरू सङ्कलन गरी उनको यो कवितासङ्ग्रह प्रकाशित भएको हो । यसअघि उनका ‘वर्गं जक थः केनि’ (कवितासङ्ग्रह) र ‘भाय् व साहित्य’ (एकाङ्कीसङ्ग्रह) प्रकाशित भएको थियो ।
गद्य कविताका स्रष्टा उलकका गीत र एकाङ्की नाटक पनि जनतालाई बिउँझाउने खालका थिए । साहित्यिक आन्दोलनका एक अग्रज कवि उलक शोषणरहित समाज स्थापनाको लागि क्रियाशील छन् । हँसिला, मिजासिला, सरल स्वभावका उनी सरल ढङ्गले अरुको मन जित्ने र विस्तारै मनको कथा बुनेर हँसाउने हास्यव्यङ्ग्यका स्रष्टा पनि हुन् । उनको यस कवितासङ्ग्रहमा देशको जल्दोबल्दो समस्यालाई उजागर गरेको पाइन्छ । समाजमा कायम रहेको अन्धविश्वास, कुरीति र समाजमा व्याप्त विकृति अन्त्य गर्न लागिपर्ने स्वर उनको कवितामा पाइन्छ । सामन्त र पुँजीपतिवर्गले गर्ने शोषण, दमन र जनतालाई ठग्ने, झूट बोलेर भ्रम जाल फाल्ने गलत कार्यको निन्दा र भत्र्सना गरिएको पाइन्छ । देशी र विदेशी पुँजीवादी व्यवस्थालाई चकनाचुर नपारी बहुमत जनताले सन्तोषको सास फेर्न नपाउने वर्तमान राजनीतिक अवस्थाको चित्रण गरिएको छ । निर्वाचनमा पैसा बाँडेर जनताको राजनीतिक चेतना जगाउने र बिउँझाउने उनी राजनीतिक चेतना जगाउने काव्यका सर्जक हुन् ।
हरेक साहित्य वर्गीय हुन्छ । कामदारवर्गको पक्षमा लेखिएका साहित्य नै जनताको साहित्य हो भन्ने भावनाबाट प्रेरित जनकवि उलक बहुमत जनताको साहित्य लेख्नुपर्छ भन्ने मान्यता राख्छन् । जनतालाई शोषण गर्ने, शोषण गर्न प्रोत्साहित गरेर मान्छेको बुद्धि र विचारलाई दूषित पार्ने काम प्रतिक्रियावादी साहित्यले गर्छ भन्ने मान्यता उनको हो ।
शासकहरू दलगत र व्यक्तिगत स्वार्थमा लागेको र विदेशीको इसारामा चलिरहेको कारण देश विकास गर्ने र जोगाउने भावनामा चोट पुगेको उनी बताउँछन् । शासकहरूमा सैद्धान्तिक सङ्घर्ष र साम्राज्यवादविरोधी स्वर हराएकोमा उनी चिन्ता व्यक्त गर्छन् ।
पच्छिमेली संस्कृतिको अन्धानुकरण गरेर नेपाली संस्कृति जोग्दैन भन्नेमा उनी ढुक्क छन् । प्रतिक्रियावादी, सामन्त र पुँजीवादीहरूको वर्गीय चरित्र नफेर्ने हुँदा सङ्घर्ष नगरी नहुने मान्यता राख्ने उनी प्रजातन्त्रको नाउँमा प्रजातन्त्रलाई हत्या गर्ने अप्रजातान्त्रिक क्रियाकलापको भत्र्सना गर्छन् ।
आफूमात्र खाने, आफूमात्र लाउने स्वार्थी र सामन्तहरूको चरित्रको निन्दा पनि कवितामा पाइन्छ । उनी कवितामार्फत गण्डकी, कोसी, कर्णाली र महाकाली अरुको हातमा दिने कार्यको निन्दा गर्छन् । पद र पैसाको निम्ति मरिमेट्ने शासकहरू कसरी जनताका प्रिय हुन्छन् भनी उनले भोकानाङ्गाको समस्या हल गर्ने आश्वासनको पोको बाँडेर झूटको खेती गर्ने फटाहाहरूलाई कवितामा उदाङ्गो पारेका छन् । उनी काव्यमार्फत आफ्नो विचार पोख्छन्, परिश्रम लुट््ने लुटाहा र अरुको इसारामा चल्ने कठपुतलीहरू सच्चा नागरिक हुने छैनन् । मानिसमा राजनीतिक संस्कारको कमीले सर्वसाधारण जनता पैसा र लोभलालचमा फसिरहेको हुँदा जनतालाई राजनीतिक र वैचारिकरूपले अझै सचेत र सङ्गठित गर्नुपर्ने आवश्यकता उनी देख्छन् । कवि उलक कवितामार्फत यसरी भाव व्यक्त गर्छन् – जनताको आँखा दूरविन सरह हुन्छ । जनताका सच्चा कार्यकर्ता आँखाका नानी हुन् । राजनीति गुलाबको फूल होइन, वर्गविहीन समाज स्थापना गर्ने बाटो हो ।
दलको सिद्धान्त र विचारलाई थन्काएर क्रान्तिको गीत गाउनेहरू नै शत्रुको इसारामा नाच्ने अवसरवादी देखेर उनी आक्रोश पोख्छन् । निर्वाचनमा आश्वासनको पोको बाँड्ने, नोटसँग भोट साट्नेहरूलाई जहिल्यै खबरदारी गरिरहनुपर्ने उद्घोष गर्छन् कवि उलक ।
देश बनाउन र जोगाउन जनता सङ्गठित र सचेत भएर जाग्नुपर्ने प्रसङ्ग उल्लेख गर्दै कवितामा उनी भोलिको उज्यालोको लागि सङ्घर्ष गर्नुपर्ने दृढता व्यक्त गर्छन् ।
कवितासङ्ग्रहमा पार्टीलाई कमाउने साधन बनाउने, राजनीतिलाई फोहोरको खेल बनाउने स्वाँठहरू कहिल्यै सज्जन नहुने उजागर गरिएको सो कवितासङ्ग्रहमा पद र कुर्सीको लागि जे पनि गर्न पछि नपर्ने शासक दलका नेताहरू देश प्रेमको गीत गाएर आफ्नो रङ्ग बदल्ने† इमानको राजनीति छोडेर बेइमानको राजनीति गर्नेहरूदेखि सावधान रहन खबरदारी गरिएको छ ।
रगत चुस्ने जुकाहरू राजनीतिक एकताको पाठ सिकाउँदै झूटको खेती गरेर पदक पाउने विस्तारवादी देशका ठेकेदारहरू र राजनीतिलाई आम्दानीको स्रोत बनाउन पल्केका स्वार्थीहरूलाई नेपाली समाजले सजाय दिनुपर्ने कुरा पनि काव्यमार्फत स्पष्ट पारिएको छ । आश्वासनको पोको बाँडेर धनी र गरिबको भेद नहट्ने स्पष्ट पारिएको कवितासङ्ग्रहमा समाजवादी धोको पूरा गर्न क्रान्तिको विकल्प नभएको उनी विश्वास व्यक्त गर्छन् ।
देश र जनताको समस्या समाधान नगर्ने प्रजातान्त्रिक भनिने सरकार कानमा तेल हालेर बसेकोमा कस्तो प्रजातान्त्रिक सरकार भनी उनी अचम्मित हुन्छन् ।
विश्व सम्पदा स्थललाई खतराको सूचीबाट बचाउन मौलिक शैलीकै घर र सम्पदालाई जीवन्तता दिनुपर्ने कवि उलकको विचार रहेको छ । शासक दलका नेताहरूले सिद्धान्त र विचारअनुसार काम नगरेको कारण जनतामाझ राजनीतिप्रति अविश्वासको दूरी बढाएकोमा दुखेसो पोखिएको कवितामा आफूमात्र जिउन चाहने सामन्ती विचारका नेताहरूलाई उनी काव्यमार्फत खबरदारी गर्छन् ।
उनी विचारलाई काव्यमा उल्लेख गरे, विचारलाई शक्तिले दबाउन सक्दैन† दबाउन खोजे एक दिन त्यो पतन हुन्छ । अस्पताल किसानको निम्ति कन्टेनर र मजदुरको निम्ति पर्खने घाट नहोस् । कौडीको मूल्यमा देशका कलकारखाना बेच्ने र नेपालको स्रोत र साधन विदेशीको हातमा दिने कार्यको सख्त विरोध छ कवितामा । उनले कवितामा पापमोचनको लागि चार धाम जानेहरू, सहिदको रगतमा रजाइँ गर्नेहरूलाई घोचपेच गरेका छन् । निरङ्कुशताको सिक्री चुँडाल्न लाग्नेहरू पद र पैसा फलाउने धुनमा व्यस्त भएको देखेर उनी भन्छन्, कम्युनिस्ट शासकहरू सत्ता स्वार्थमा भुल्ने होइन; शोषणरहित समाज स्थापना गर्न वर्गसङ्घर्षमा जिउनुपर्छ ।
सैद्धान्तिक र वैचारिक सङ्घर्ष गर्ने या विचारको लडाइँ हुने थलो संसद्लाई उनी सत्यलाई असत्य र असत्यलाई सत्य ठान्नेहरूको क्रिडास्थल नबनाउन खबरदारी गर्छन् । संसद्मा गयल नहुने तर गण नपुग्ने स्थितिले संसद्को गरिमा नै घटेको प्रसङ्ग उल्लेख गर्दै कवि उलकले कवितामा देश सिङ्गार्ने मन्त्र जपेर देश भत्काउनेहरू कहिल्यै देशभक्त नहुने विचार उल्लेख छ ।
देशको अनुदान निचोरेर दम्फु बजाउनेहरू, शान्ति भूमिमा युद्ध निम्त्याउन पूर्वाधार तयार गर्नेहरूदेखि सावधान रहन आग्रह गरिएको कवितामा छिमेकीको भरमा शासन चलाउँदा देश सङ्कटमा पर्ने चिन्ता पनि व्यक्त भएको छ । बाँडीचुँडी खाने राजनीति सद्दे नहुने, चुनावको खर्च असुल्ने राजनीति गरेर देश नबन्ने औँल्याइएको उक्त कवितासङ्ग्रहमा इमानको देश बनाउन कम्मर कस्नुपर्नेमा जोड दिइएको छ । देश डुवाउन लागेकोमा चिन्ता व्यक्त गरिएको कवितामा कवि उलकले स्वदेशीलाई शोषण गरी विदेशीलाई पोस्ने कार्यको निन्दा गरेका छन् । गणतन्त्रवादी भन्नेहरूमा राजाको गन्ध आएको र षड्यन्त्रको जाल बुनेर राजनीति गर्ने कुलाङ्गारहरूदेखि सावधान रहन सचेत तुल्याइएको छ ।
५४ वटा कविता रहेको सो कवितासङ्ग्रहमा २०३९ देखि ०८१ सालसम्म रचिएका कविता रहेका छन् । कविता सरल शैलीमा छ । भाषा शुद्धाशुद्धीमा त्रुटि देखिएको छ । ह्रस्वदीर्घ नमिल्दा र शब्दको अक्षर नमिल्दा अर्थको अनर्थ हुनु स्वाभाविक हो । ‘जनकवि’ उलकलाई साधुवाद छ । फेरि बाँकी कविता सङ्कलन गरी अर्काे कवितासङ्ग्रह निकाल्ने एक साहित्यप्रेमीले आशा गर्नु स्वाभाविक हो ।
Leave a Reply