चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, ४ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्या भक्तपुरको आयोजनामा नेपाल संवत् ११४६ को अवसरमा न्हू दँ (नयाँ वर्ष) को शुभकामना ¥याली मङ्गलबार बिहान भक्तपुरमा सम्पन्न भयो ।
भक्तपुर नगरको माथिल्लो भेगकाहरू सूर्यमढीबाट र तल्लो भेगकाहरू टौमढीबाट ¥यालीसहित नगर परिक्रमा गरी खौमा टोलस्थित शिक्षासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा प्रमुख अतिथि, अतिथि र विभिन्न बाजा खलका अध्यक्ष तथा गुरुहरूले पुष्पार्पण दरबार क्षेत्रमा भएको सभामा सहभागी भएका थिए ।
¥यालीमा मजदुर, किसान, व्यवसायी, शिक्षक, प्राध्यापक, कर्मचारी, वकिल, इन्जिनियर, पत्रकारलगायत विभिन्न पेसा र क्षेत्रका हजारौँको सहभागिता थियो । त्यस्तै धाँ, धिमे, बाँसुरी, भजन, माक प्याखँ, लाखे प्याखँलगायत डेढसत्न्दा बढी बाजागाजाका समूहहरूको सहभागिता थियो ।
शुभकामना सभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले समाजको परम्परागत चाडपर्वलाई रचनात्मक ढङ्गले मनाउनुपर्ने र देश विदेशमा भइरहेका नयाँ घटनाहरूको जानकारी राख्नुपर्ने बताउनुभयो ।
देश नरहेमा देशको कला संस्कृति, सम्पदा र भाषा नरहने सम्भावना भएकोले देशभक्तिपूर्ण विचार लिएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
देशमा बहुसङ्ख्यक कामदारवर्गका जनताको हितमा राजनीतिक परिवर्तन आवश्यक भएको तर जनताको परिवर्तनका वास्तविक विषयलाई ओझेलमा पार्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले नक्कली आन्दोलन र विद्रोह जन्माउने गरेको सचिव सुवालले बताउनुभयो ।
उहाँले नेपालमा जस्तै हालै इन्डोनेसिया, मोरक्को, मडागास्करलगायत देशमा युवा पुस्ताको आन्दोलन भएको तर त्यसलाई अमेरिकी साम्राज्यवादले आफ्नो हितमा उपयोग गर्न खोजिरहेको देखिएको बताउनुभयो ।
तोडफोड र आगजनी गरेर परिवर्तन नहुने चर्चा गर्दै सचिव सुवालले राजनीतिक बन्दोबस्त र नीति निर्णयमा परिवर्तन ल्याउन सङ्घर्ष गर्नुपर्ने, भ्रष्टाचार हटाउन भ्रष्टाचारीहरूको सम्पत्ति जफतदेखि मृत्युदण्डसम्मको सजाय हुनुपर्ने, विदेशमा सम्पत्ति राख्न नपाइने बन्दोबस्त हुनुपर्ने, शिक्षा–स्वास्थ्यजस्तो क्षेत्रमा निजीकरण अन्त्य गर्नुपर्ने, उत्पादनका मुख्य मुख्य साधनहरू राष्ट्रियकरण गरिनुपर्ने बताउनुभयो ।
उहाँले पुँजीवादी व्यवस्थामा मन्त्रीहरू फेर्नु पुरानो बग्गीमा घोडा फेर्नुजस्तै हुने स्पष्ट पार्दै पुँजीवादले जनताको समस्या समाधान गर्न नसक्ने हुनाले समाजवादी व्यवस्था स्थापनातिर अघि बढ्नुपर्ने बताउनुभयो ।
समाजवादी व्यवस्थाले वैज्ञानिक सिद्धान्त र सोचका साथ समाजलाई वास्तविक प्रगतितिर लैजाने तथ्य पूर्वसोभियत सङ्घ, चीन, क्युवा, प्रजग कोरिया आदि देशको उदाहरणले प्रस्ट पार्ने उहाँले बताउनुभयो ।
सभामा ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखल (आयोजक समिति) का अध्यक्ष रवीन्द्र खर्बुजाले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै नेपालभाषा साहित्य तःमुंज्याले समसामयिक राजनीतिक, सामाजिक विषयमा जनताको न्यायपूर्ण आवाज साहित्य र मन्तव्यमार्फत उठाइरहेको चर्चा गर्नुभयो ।
सभाका सभापति एवं नेपालभाषा साहित्य तःमुंज्या भक्तपुरका अध्यक्ष आशाकुमार चिकंबन्जारले चाडपर्वको सामाजिक र आर्थिक अर्थबारे छलफल आवश्यक रहेको बताउनुभयो ।
उहाँले भाइटीकाको किंवदन्तीभित्र तत्कालीन समाजको वर्गभेद र अन्याय अत्याचार अनि सङ्घर्षको कथा लुकेको हुनसक्ने बताउनुभयो ।
सभामा नरेश खत्रीले पनि बोल्नुभएको थियो ।
Leave a Reply