संस्कृतिको खोजमूलक पुस्तक ‘होचो ढोका’ नियाल्दा
- चैत्र ३०, २०८२
‘भारतीय कम्युनिस्ट नेताहरू’ को समालोचनात्मक सङ्क्षिप्त जीवनी वर्कर्स पब्लिकेसन्स नेपालको अर्को नयाँ प्रकाशन हो । विश्वमा राजतन्त्रको अन्त्य र पुँजीवादको हावा फैलिरहेको सन्दर्भमा कम्युनिस्ट नेताहरूको जीवनी प्रकाशनमा ल्याउनु कम्युनिस्टहरूको कर्तव्य हो । विश्वका कति कम्युनिस्ट नेताहरूले आफ्नो देश र जनताको निम्ति जीवन अर्पण गरे । शोषित पीडित जनताको पक्ष र सेवामा लाग्दालाग्दै कति नेताहरूले विश्वासघात गरे, गद्दारी गरे, पद र पैसामा विके र सिद्धान्त र विचार नै छोडेर अर्कै बाटो लागे । कम्युनिस्ट पार्टी फुटाउन, कम्युनिस्ट नेताहरू किन्न, बिगार्न, भड्काउन र फसाउन विश्वका साम्राज्यवादी, पुँजीवादी र विस्तारवादी शक्तिहरू लागे, लाग्दै छन्, लागिरहनेछन् । कम्युनिस्ट नेताहरूको योगदान, सफलता, असफलता, कमीकमजोरी, कम्युनिस्ट आन्दोलनको विकास र विस्तारको सन्दर्भमा देखिएका बाधा अड्चन, उतार–चढावबारे औँल्याइरहनुपर्छ । यो समयको आवश्यकता हो ।
सर्वहारावर्गका नेता लेनिनले सन् १९०५ मा ‘दलको सङ्गठन र साहित्य’ द्वारा साहित्यकार र साहित्यलाई सर्वहारा सङ्घर्षको एक अस्त्र स्वीकार्दै समाजवादी साहित्यको आह्वान गरेका थिए । रुसमा समाजवादी क्रान्तिकारी आन्दोलनको प्रारम्भ भएपछि १९०५ तिर माक्र्सवादी समालोचनाको आधार बसेको थियो । चीनमा सन् १९४२ मा माओ त्सेतुङद्वारा येनान गोष्ठीमा गरिएको भाषणबाटै कला र साहित्यका सम्बन्धमा चिनियाँ माक्र्सवादीको ठोस आरम्भ भएको थियो । माक्र्सवादी समालोचना वस्तुतः समाजपरक समालोचनाको सबभन्दा व्यापक, सशक्त र सूक्ष्मतम प्रणाली हो । सामाजिक पक्षलाई केन्द्रबिन्दु बनाई समाजको वर्ग विश्लेषण गर्ने समालोचना परिपाटी समाजपरक समालोचना हो ।
नेपालमा २००८–१७ सालबिच माक्र्सवादी समाजपरक साहित्यको समीक्षा भएको पाइन्छ । हृदयचन्द्र सिंह प्रधान, डीपी अधिकारी, श्यामप्रसाद शर्मा, कृष्णचन्द्र सिंह प्रधान, सरिता ढकाल, गणेशलाल सुब्बा, आनन्ददेव भट्ट यस समाजका अग्रणी व्यक्ति हुन् ।
का. रोहितको ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको खोटा विचारको खण्डन’ पनि माक्र्सवादी दृष्टिले समालोचनात्मक कृति हो । यसै सन्दर्भमा वर्कर्स पब्लिकेसन्स नेपालले ‘भारतीय कम्युनिस्ट नेताहरू’ को समालोचनात्मक जीवनी प्रकाशमा ल्यायो । भारतमा कम्युनिस्ट पार्टीको स्थापना, आन्दोलन र विकास तथा योगदान पु¥याउने नेताहरूको यो सङ्क्षिप्त जीवनी नेपालका कम्युनिस्ट नेताहरूको निम्ति पठनीय र शिक्षामूलक हुनेछ ।
पुस्तकमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा चिनिने मानवेन्द्रनाथ रायदेखि भाकपा (माले) का चर्चित एवं सशस्त्र आन्दोलनका अग्रदूत नागभूषण पटनायकसमेत गरी २२ जना भारतीय कम्युनिस्ट नेताहरूको सङ्क्षिप्त जीवनी दिइएको छ ।
मानवेन्द्रनाथ राय (१८८७ – १९५४)
उनी बङ्गाली क्रान्तिकारी संस्थाका अनुशिलन समितिका सदस्य थिए । सर्वहारावर्गको सेवा गर्छ भन्ने भावनाबाट प्रेरित रायले मेक्सिकोमा स्थापना गरेको समाजवादी पार्टीलाई कम्युनिस्ट पार्टीमा परिणत गरे । सन् १९१७ पछि रूसभन्दा बाहिर स्थापना भएको त्यो नै पहिलो कम्युनिस्ट पार्टी थियो । उनले सन् १९२२ मा भारतीय कम्युनिस्ट पार्टीको मुखपत्र ‘अग्रदूत’ पत्रिका प्रकाशित गरे ।
मुजफ्फर अहमद (१८८९–१९७३)
उनी भारतीय भूमिमा कम्युनिस्ट पार्टी स्थापना गर्ने संस्थापक नेता थिए । साहित्यबाट जनताको सेवा गर्न राजनीतिमा लागेका अहमदले १९२० मा ‘नयाँ युग’ दैनिक पत्रिका निकाले । त्यो पत्रिका कम्युनिस्टको भनी बन्द गराइयो । पछि ‘मजदुर किसानको पत्र’ छापियो । ६ जनवरी १९३३ मा उनलाई आजीवन कालापानीको सजाय भयो । दबाबपछि रिहाइ भयो र उनले बङ्गालमा कम्युनिस्ट पार्टी स्थापना गरे । ‘काकाबाबु’ नामले परिचित उनलाई भारतीय कम्युनिस्ट पार्टी, भारतीय जनता र तल्लोवर्गका जनताको दुःखकष्ट बुझ्ने लोकप्रिय व्यक्तिको रूपमा लिए ।
रजनीपाम दत्त (१८९६–१९७४)
उनी बेलायती कम्युनिस्ट पार्टीका नेता थिए । अरुलाई कम्युनिस्ट बनाउन सघाउने दत्त श्रम अनुसन्धान विभागको अन्तर्राष्ट्रिय सचिवसमेत भए । बेलायती कम्युनिस्ट पार्टीको मुख्य सिद्धान्तकार मानिने उनले बेलायती कम्युनिस्ट पार्टीको मुखपत्र ‘श्रम’ मासिक प्रकाशन गरे । साम्राज्यवादविरोधी भएकैले उनी अक्सफोर्डको सेवाबाट निलम्बित भए । उनले भारतमा सङ्कीर्णवाद, जातिवाद र साम्प्रदायिकताविरूद्ध लडे ।
श्रीपाद अमृत दांगे (१८९९–१९९१)
कुली प्रथाको विरोधमा लाग्ने समाजवादी साहित्य अध्ययन गर्ने उनी माक्र्स, एङ्गेल्स र लेनिनका विचारसित परिचित व्यक्ति हुन् । उनले बम्बईमा ‘इन्दु प्रकाशन’ दैनिक पत्रिका प्रकाशित गरे । कम्युनिस्ट विचार प्रचार गरेकै अभियोगमा षड्यन्त्रको मुद्दा चलाई उनलाई जेल सजाय दिइयो । जेलको अनुभवबाट उनले ‘नर्क पाइयो’ पुस्तक लेखे । उनले साप्ताहिक ‘क्रान्ति’ मा समाजवादी लेख लेखे र बम्बईमा स्थापित मजदुर किसान पार्टीमा सामेल भए । उनले ‘लोकयुद्ध’ पत्रिका निकाले । सन् १९६२ मा भारत–चीन सीमाबारे पार्टीभित्र विवाद भयो । रूस र चीनको पार्टीबिच पनि सैद्धान्तिक मतभेद भयो । १९६४ मा भारतीय कम्युनिस्ट पार्टी फुट्यो र भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) बन्यो । परिवारको सम्पन्नता, बौद्धिक अहङ्कार र अभिमानीले गर्दा उनको पतन भयो ।
दादा अमिर हैदर खान (१९००–१९८९)
उनी भारत र पाकिस्तानका कम्युनिस्ट कार्यकर्ता र भारतीय स्वतन्त्रता आन्दोलनका सेनानी हुन् । उनी साम्राज्यवादविरोधी लीग र संयुक्त राज्य अमेरिकाको मजदुर कम्युनिस्ट पार्टीमा सामेल भए । सोभियत सङ्घको कम्युनिस्ट मजदुर सङ्घमा संलग्न उनी भगत सिंहको प्रशंसामा पुस्तिका लेखेको हुँदा बेलायती सरकारबाट पक्राउमा परे । जेलबाट छुटेपछि उनले फेरि बम्बईको मजदुर सङ्घमा बसेर काम गरे ।
शौकत उस्मानि (१९०१–१९७८)
प्रवासी भारतीय कम्युनिस्ट पार्टीका एक संस्थापक शौकत १६ वर्ष जेल सजाय भोगेका बेलायतको निर्वाचनमा लडेका एक अन्तर्राष्ट्रवादी हुन् । हडतालमा संलग्न भएको अभियोगमा उनी पक्राउमा परे र चार वर्षको जेल सजाय पाए । ‘भारतीय दैनिक समाचार’ का पत्रकार भनी उनी पछि छुटे ।
बालचन्द्र त्रिम्वाक रणदिवे (१९०४–१९९०)
भारतको माओ त्सेतुङ सम्झिने बालचन्द्र मजदुर हडतालमा लागेको कारण पक्राउमा परे । उनलाई राजद्रोहको मुद्दा लाग्यो र २ वर्ष जेलमा राख्यो । उनले मराठी पत्रिका ‘क्रान्ति’ र अङ्ग्रेजी पत्रिका ‘स्पार्क’ मा लेख लेखे । भारतीय कम्युनिस्ट पार्टी फूट भएपछि भाकपा (माक्र्सवादी) का उनी प्रमुख नेता बने । माक्र्सवादी पार्टीका सबभन्दा ज्येष्ठ, सर्वहारावर्गको लामो सङ्घर्षमा खारिएका उनी माक्र्सवादी कम्युनिस्ट पार्टीका राजनैतिक समितिका सदस्य थिए ।
नृपेन चक्रवर्ती (१९०५–२००४)
भारतका अर्का माक्र्सवादी नेता नृपेन नेपालको कम्युनिस्ट पार्टीको घोषणापत्र लेख्न सहयोग गर्ने भारतीय कम्युनिस्ट नेता हुन् । उनी भारतकै नाउँ चलेको ‘आनन्द बजार’ पत्रिका र कम्युनिस्ट पार्टीको ‘बङ्गाली’ मुखपत्र ‘स्वाधीनता’ का सहसम्पादक थिए ।
सज्जाद जहीर (१९०५–१९७३)
पाकिस्तानी कम्युनिस्ट पार्टीका संस्थापक सज्जाद भारतीय कम्युनिस्ट पार्टीका अर्का संस्थापक नेता हुन् । साम्राज्यवादविरोधी उनी ‘भारत’ पत्रिकाको सम्पादक, ‘नयाँ भारत’ हिन्दी साप्ताहिकका सम्पादक थिए ।
पी. कृष्णा पिल्लाई (१९०६–१९४८)
केराला राज्यमा कम्युनिस्ट आन्दोलनका अग्रणी पी. कृष्णा कम्युनिस्ट नेता हुन् । उनले काङ्ग्रेसभित्रका समाजवादी कार्यकर्ताहरूसँग मिलेर बम्बईमा काङ्ग्रेस समाजवादी पार्टी खोले । उनी त्यस पार्टीका सचिव भए । केरालाका शोषित पीडित जनताको सामाजिक, आर्थिक र राजनीतिक अधिकारका निम्ति लड्ने उनी केराला कम्युनिस्ट आन्दोलनका पहिला व्यक्ति र जनतालाई सचेत र सङ्गठित पार्ने अग्रदूत थिए ।
पुरनचन्द जोशी (१९०७–१९८०)
भारतीय कम्युनिस्ट पार्टीमा लामो समयसम्म महासचिव भएका पुरनचन्द जोशी सन् १९२८ मा भएको ‘मजदुर किसान पार्टी’ को सम्मेलनमा सहभागी भएका थिए । उनलाई बेलायती उपनिवेशवादीहरूले शासन उल्टाउने कम्युनिस्ट षड्यन्त्र गरेको आरोपमा पक्राउ गरे । उनले ६ वर्षको कालापानी निर्वासनको सजाय पाए । उनी १९३५ देखि १९४७ सम्म पार्टीको महासचिव भए । उनले ‘द हिन्दुस्तान टाइम्स’ पत्रिकामा काम गरेका थिए ।
अजय घोष (१९०८–१९६२)
हिन्दुस्तान समाजवादी गणतान्त्रिक सेना स्थापनामा क्रियाशील अजय घोषले ‘निर्मल’ भन्ने हस्तलिखित पत्रिका निकाले, ‘रातो बङ्गाल’ नामको पर्चा बाँडे । भारतको स्वतन्त्रता आन्दोलन र बेलायती उपनिवेशवादी अत्याचारको विरोध गर्दा उनी पक्राउमा परे । उनी कम्युनिस्ट पार्टीको राजनैतिक समितिका सदस्य बने र कम्युनिस्टको प्रचारप्रसारमा लागे । पार्टीको मुखपत्र ‘कम्युनिस्ट’ निकाल्न उनको विशेष देन थियो ।
पी. रामामूर्ति (१९०८–१९८७)
माक्र्सवादी कम्युनिस्ट पार्टीका संस्थापक पी. रामामूर्ति तामिलनाडूको काङ्ग्रेस समाजवादी पार्टीमा पनि सामेल भए । कम्युनिस्ट पार्टीको विभाजनपछि भाकपा (माक्र्सवादी) भएका उनी भारतीय मजदुर महासङ्घको केन्द्रका पहिलो महासचिव थिए । उनी एक जननेता, मजदुर आन्दोलनका संस्थापक, प्रभावशाली पत्रकार र सैद्धान्तिक दस्ताबेजहरूका लेखक हुन् । माक्र्सवादी कम्युनिस्ट पार्टीका नेतृत्वकारी उनी देश र कामदार जनताको हितमा जीवनभर लागे ।
ई. एमएस नम्बूदिरिपाद (१९०९–१९९८)
भारतीय सङ्घ (केराला) का पहिलो कम्युनिस्ट र गैरकाङ्ग्रेसी मुख्यमन्त्री नम्बूदिरिपाद कामदार जनता मजदुर र किसानहरूको दुःखबाट मुक्ति समाजवादमा मात्र सम्भव छ भन्ने मान्यता राख्ने नेता थिए । भारतीय राष्ट्रिय काङ्ग्रेस समाजवादीका उनी सहसचिव थिए । मजदुरहरूको कामको घण्टा घटाउन र किसानहरूको कुत कम गर्न उनी सक्रिय थिए । उनले नयाँ पाठ्यक्रममा माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङको जीवनी राखे ।
पुचलापाल्लि सुन्दरैया (१९१३–१९८५)
उनी आफ्नै सम्पत्ति खर्च गरेर समाजमा आमूल परिवर्तन चाहने भारतीय कम्युनिस्ट नेता थिए । खेती मजदुरको ज्याला बढाउन र कमैयाहरूको मुक्तिको निम्ति उनी लडे । छुवाछूतको प्रथा अन्त्य गर्न र निरक्षरता उन्मूलनमा उनको महत्वपूर्ण देन थियो । ‘स्वतन्त्र भारत’ साप्ताहिक पत्रिका निकाल्ने उनी १९६७ मा पार्टीका महासचिव भए ।
ज्योति वसु (१९१४–२०१०)
बङ्गाली विधानसभामा भाकपा (माक्र्सवादी) को तर्फबाट लामो समयसम्म मुख्यमन्त्री बनेका ज्योति बसुले पूर्णकालीन सदस्य भई काम गरे र भूमिगत र खुला गतिविधिमा सक्रिय भए । चर्चित नेता बसु १९६४ मा कलकत्तामा भएको भारतीय वामपन्थी कम्युनिस्टहरूको सातौँ महाधिवेशनले भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) गठन गर्यो ।
माकिनेनी वासुपुनैया (१९१४–१९९२)
समाजवादी काङ्ग्रेसले वास्तविक समाजवाद नल्याउने थाहा भएपछि उनी भारतीय कम्युनिस्ट पार्टीमा सामेल भए । कलकत्तामा भएको दोस्रो अधिवेशनले सामन्त र पुँजीपतिवर्गको विरोधमा सशस्त्र सङ्घर्ष गर्ने प्रस्ताव पारित गर्यो । संवैधानिक उपायबाटै समाजवाद ल्याउने संशोधनवादी पक्ष अर्थात् भारतीय बाटोमा अजय घोष र डाँगे थिए भने क्रान्तिकारी बाटो अर्थात् चीनको बाटोमा बासु पुनैया र राजेश्वर राव थिए । ‘जनताको प्रजातन्त्र’ भन्ने अङ्ग्रेजी साप्ताहिकका उनी सम्पादक थिए ।
हरकिसन सिंह सुरजित (१९१६–२००८)
सन् १९९२ मा उनी भाकपा (माक्र्सवादी) का महासचिव थिए । देश हिन्दुस्तान र पाकिस्तान दुई टुक्रा हुँदा उनी पञ्जावको भारतीय कम्युनिस्ट पार्टीका सचिव थिए । भारत–चीन सीमा विवादमा कम्युनिस्ट पार्टीमा विभाजन हुँदा उनी माक्र्सवादीमा लागे । उनले भियतनाम मुक्ति सङ्घर्ष, प्यालेस्टिनी आन्दोलन र क्युवासँगको ऐक्यबद्धतामा योगदान गरे ।
टी. नागि रेड्डी (१९१७–१९७६)
विद्यार्थी जीवनमै माक्र्सवादसँग परिचित नागि आन्ध्र प्रदेशको तामिलनाडुका कम्युनिस्ट नेता थिए । भाकपा (माक्र्सवादी) मा सैद्धान्तिक मतभेदपछि उनले कम्युनिस्ट क्रान्तिकारीहरूको समन्वय समिति स्थापना गरे । बेलायती उपनिवेशवादको विरोधमा स्वतन्त्रता आन्दोलनमा सक्रिय उनी वामपन्थी दुःसाहसवादी नीति मान्थे । चार मजुमदारको मृत्युपछि उनी समन्वय समितिबाट निष्काशित भए । १९७५ मा समन्वय समिति र अरू मिलेर भाकपाको एकता केन्द्र (माक्र्सवादी–लेनिनवादी) स्थापना भयो ।
चारू मजुमदार (१९१८–१९७२)
भारतको सशस्त्र कम्युनिस्ट विद्रोह नक्सलवादी आन्दोलनका प्रणेता र भारतीय वामपन्थी आन्दोलनका नेता चारू मजुमदार कम्युनिस्टहरूकै प्रभावमा मजदुर सङ्गठनमा लागे । चारु ‘अन्न कब्जा गर’ भन्ने आन्दोलनमा लागे । नक्सलवादी आन्दोलनमा अराजकता छाएको हुँदा व्यापक विरोध भयो । सन् १९८९ मा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) ले संसदीय निर्वाचनलाई उपयोग गर्ने निर्णय गर्यो । चारूको पार्टीले बङ्गाली भाषामा ‘देशव्रत’ साप्ताहिक र अङ्ग्रेजी मासिक ‘मुक्ति’ र हिन्दीमा ‘लोकयुद्ध’ मुखपत्र प्रकाशित गरे ।
कानु सन्याल (१९३२–२०१०)
नक्सलवादी आन्दोलनका सिद्धान्तकार कृष्णचन्द्र सन्याल (कानु सन्याल) भारतीय कम्युनिस्ट पार्टीका पूर्णकालीन कार्यकर्ता थिए । क्रान्ति गाउँबाट सुरू हुन्छ भन्ने मान्यतालाई अघि सार्दै उनले जमिनदारहरूलाई हत्या गर्ने वा ज्यानको बदला ज्यानै लिने अराजकतावादी नीति अघि सारे । उनी भाकपा (माक्र्सवादी–लेनिनवादी) का महासचिव थिए ।
नागभूषण पटनायक (१९३५–१९९८)
उनी पनि भाकपा (माले) का नेता र नक्सलवादी आन्दोलनका अग्रदूत हुन् । उनले भूमिहीन किसानहरूलाई सङ्गठित गरेर जमिनदारविरोधी सङ्घर्षको नेतृत्व गरे । पार्टीको नेतृत्वमा सामन्ती हिंसा र आतङ्कवादविरोधी सङ्घर्ष हुँदा एक सामन्त मारियो र उनी पक्राउमा परे । उनलाई आजीवन कारागारको सजाय दिइएको थियो ।
सङ्क्षिप्त जीवनी पढेपछि निम्न अनुभवहरू गर्न सकिन्छ –
– कम्युनिस्टहरू बहुमत जनताको पक्षमा लड्छन्, उनीहरू जेलभित्र पनि सङ्गठन गर्छन्, पुस्तक लेख्छन् ।
– कम्युनिस्टहरू जातिवादी राजनीति गर्दैनन् ।
– कम्युनिस्ट नेताहरूमा देखिने व्यक्तिगत प्रवृत्ति, अभिमानी, आफू नै सबथोक हो भन्ने मनोगतवादी प्रवृत्ति र बौद्धिक अराजकताको कारण पतन हुनसक्छ ।
– कम्युनिस्टहरू अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समर्थन र ऐक्यबद्धतामात्र प्रकट गर्दैनन् बाहिरी मुलुकमा पनि सङ्गठन गर्छन् । पार्टीको साङ्गठनिक गतिविधिको प्रचार, विस्तार र जनचेतना जगाउन कम्युनिस्ट नेताहरू पत्रिका निकाल्न्छन् ।
– कम्युनिस्ट आन्दोलनकै क्रममा उनीहरू खुला र गुप्त तरिकाले सङ्गठन गर्छन् र उनीहरूलाई अनेकानेक षड्यन्त्र रची देशद्रोहको मुद्दा लगाइएको हुन्छ र जेलमा कोचिएको हुन्छ ।
– कम्युनिस्टहरू रक्षात्मक स्थितिमा मात्र होइन सङ्गठन विस्तार गर्न जीवन पर्यन्त लाग्छन् ।
– जेलमा नपरेका र पत्रिका प्रकाशन नगर्ने सायद कुनै पनि नेता छैनन् ।
– कम्युनिस्टभित्र वैचारिक मतभेद हुनसक्छ, मतभेदकै कारण पार्टी विभाजन हुनसक्छ ।
– पार्टीभित्र आन्तरिक मतभेदमात्र होइन अन्तर्राष्ट्रिय मतभेदले पनि पार्टी फुट्ने रहेछ । सिद्धान्त र विचारमा देखिएको खोटपूर्ण विवाद स्वाभाविक छ ।
– कम्युनिस्ट पार्टी र आन्दोलनलाई शिथिल पार्न, एक आपसमा भिडाउन साम्राज्यवादी र पुँजीवादीहरू अनेक पड्यन्त्र गर्छन्, त्यसबारे सचेत हुनुपर्छ ।
– पार्टी र नेताहरू देश र जनताप्रति समर्पित हुनुपर्छ, आर्थिक अनुशासनमा बस्नुपर्छ, अनुशासनमा बसेर इमानदारीपूर्वक काम गर्नुपर्छ, त्यस्ता नेताहरू जनताका प्रिय बन्छन् ।
– कम्युनिस्टहरू संवैधानिक उपायबाट समाजवाद ल्याउनेमा विश्वास गर्दैनन्, कसैले विश्वास गरे त्यो सपनामात्र हुनेछ ।
– सिद्धान्त र विचार छोडेर क्रान्ति, पार्टी र अनुशासनभन्दा आफ्नो व्यक्तिगत अडानमा बसे नेताहरू पतन हुनसक्छन् ।
– कम्युनिस्ट सङ्गठन विस्तारमा बाधा हाल्न पुँजीवादी र प्रतिक्रियावादी सरकारले गुप्तचर घुसाउने र छलछाम गरेका हुन्छन् ।
– कम्युनिस्टहरू माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा स्वीकार्छन् र बहुमत जनताको नाउँमा पार्टी खोल्छन् ।
– कम्युनिस्टहरू जनतालाई परेको मर्का, पिर र समस्यालाई लिएर आन्दोलन र सङ्घर्ष गर्छन् ।
– साम्राज्यवादी देशहरू सीमा विवाद तन्काउन अनेक प्रयत्न गर्छन् र सीमा विवादले पार्टीभित्र अन्तरकलह भई पार्टी नै विभाजन गर्छन् ।
– पुँजीवादी, प्रतिक्रियावादी र विदेशी शक्तिहरू कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउन पनि पछि पर्दैनन् ।
भारतको कम्युनिस्ट आन्दोलन, विकास र सङ्घर्षबारे शोधपत्र गर्ने विद्यार्थीहरूको निम्ति यो पुस्तक काम लाग्नेछ ।
नेपालका कति कम्युनिस्ट पार्टीहरू पुँजीवादतर्फ उन्मुख भइरहेको बेला यस पुस्तकले सतर्कता अपनाउन टेवा पु¥याउनेछ ।
Leave a Reply