मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भर्खरै दोहोरिएर संरा अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले हाल डेनमार्कको अधीनमा रहेको ग्रीनल्यान्डलाई अमेरिका मातहत ल्याउने, क्यानडालाई संरा अमेरिकाको ५१ औँ राज्य बनाउने र पनामामा रहेको पनामा नहर पुनः अमेरिकाले नै कब्जा गर्ने कुरा उठाउँदा धेरैले आश्चर्य माने । तर, इतिहासको अध्ययन गरेका हरेक व्यक्तिलाई जानकारी छ, साम्राज्यवादी देशले छिमेकी वा कुनै देशमाथि हमला गर्नका लागि कुनै न कुनै बहाना सिर्जना गर्छ । त्यस्ता बहाना प्रायः साम्राज्यवादी देश र तिनका कठपुतलीहरूले जानाजानी सिर्जना गरेका हुन्छन् । विगतमा बेलायती, फ्रान्सेली, स्पेनियाली, पोर्चुगेली, बेल्जिमेली, इटालियाली, जर्मन, रुसी, बैजान्टिन सबै साम्राज्यवादी देशहरूले कुनै न कुनै बहाना बनाएर विश्वका धेरैभन्दा धेरै देशहरूलाई आफ्नो उपनिवेश बनाएका थिए । उनीहरूले कतै समान भाषी र जातिको एकीकरण त कतै सभ्यताको प्रसार गर्ने नाउँमा, कतै पूर्वाधार विकासको नाउँमा त कतै शान्ति सुव्यवस्था कायम गर्ने बहानामा अन्य देशहरू कब्जा गरेका थिए । साम्राज्यवादीहरूको झूटो बहाना बनाउने परम्परालाई आज अमेरिकी साम्राज्यवादले राम्ररी निर्वाह गरिरहेको छ ।
अमेरिकी प्रशासनले आफूले गर्ने हरेक अत्याचारको एउटा न एउटा झूटो बहाना बनाउने गरेको छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर जब एक्सिस पावरमा रहेका जर्मनी, इटाली र जापान आत्मसमर्पणको अवस्थामा पुगिसकेको थियो, अमेरिकाले एकाएक जापानको हिरोशिमा र नागासाकी सहरमा दुइटा परमाणु बम खसालेर अनाहकमा लाखौँ निहत्था मानिसहरूको ज्यान लियो । त्यतिबेला सोभियत लालसेना, चिनियाँ जनमुक्ति सेना, चिनियाँ सेना, कोरियाली जनसेना र भियतनामी लालसेनाले जापानी सेनालाई निर्णायक रूपमा पराजित गर्ने स्थिति बनिसकेको थियो । ट्रुम्यान प्रशासनले यदि अमेरिकाले परमाणु बम हमला नगरेको भए जापानले युद्ध अरू ५ वर्ष लम्ब्याउन सक्ने थियो भन्ने झूटो बहाना अघि सारेको थियो ।
कोरिया युद्ध थाल्न र अमेरिका–भियतनाम युद्ध थाल्न पनि त्यस्तै झूटा बहाना सिर्जना गरिएका थिए । दक्षिण कोरियाली कठपुतली सेनाले पहिले अघोषित हमला गर्न लगाएर पछि प्रजग (उत्तर) कोरियाली सेनाले पहिले दक्षिण कोरियामाथि हमला ग¥यो भनी दुष्प्रचार गरिएको थियो । भियतनाम युद्धमा संरा अमेरिका प्रत्यक्ष सामेल हुन वा भियतनाममाथि अमेरिकी आक्रमणको बहाना बनाउन अमेरिकाले आफ्नै एउटा युद्धपोतलाई बमले उडाएको थियो । टोन्किन खाडीको घटना नामले कुख्यात उक्त घटनामा यूएसएस म्याडोक्स नामको अमेरिकी युद्धपोतलाई अमेरिकी टोर्पेडो डुङ्गाले नै बम हानेको थियो तर उक्त टोर्पेडो डुङ्गा उत्तर भियतनामी जलसेनाको भनी प्रचार गरियो, अमेरिकी जनता र संसदलाई भ्रममा राखियो र भियतनाममाथि अमेरिकी सेनाले सपात बमबारी गरेर लाखौँ भियतनामीहरूको ज्यान लियो । पछि अमेरिकी प्रशासनले नै टोन्किनको घटना काल्पनिक मात्र थियो भन्यो ।
२००३ मा सद्दाम हुस्सेन नेतृत्वको इराकमाथि हमला गर्न पनि इराकले आमविनासकारी परमाणु बम राखेको बहाना बनाइएको थियो । इराक ध्वस्त भएर नाटो सेनाले पूरै इराक कब्जा गरिसकेर पनि बहानामा भनिएको हतियार कतै फेला परेन र त्यसलाई झूटो बहाना मात्रै बनाइएको पछि अमेरिकी अधिकारीहरूले नै स्वीकार गरे । त्यस्तै अहिले पनि अमेरिकी प्रशासनले प्रजग कोरिया, इरान, सुडान र क्युवालाई आतङ्कवादलाई प्रायोजन गर्ने देशहरूको सूचीमा राखेको छ । पहिले सिरिया पनि थियो र अहिले त्यसलाई हटाइएको छ । यो सूची अमेरिकी प्रशासनको ती देशहरूमाथि आर्थिक नाकाबन्दी कायम राख्ने र हमला गरेर आफू अनुकूलको सरकार निर्माण गर्नको लागि बहानाबाहेक केही होइन । अहिले ग्रीनल्यान्ड र पनामा नहर कब्जालाई पनि विश्व र संरा अमेरिकाको सुरक्षाका लागि भनिरहेको छ र क्यानडाको आर्थिक टाटपल्टाइबाट जोगाउन अमेरिकामा मिलाउनुको विकल्प नभएको कथित अमेरिकी थिङ्क टयाङ्कहरू दाबी गरिरहेका छन् । अमेरिकी साम्राज्यवादी शासकहरूले सकेमा विश्वका प्रजग कोरिया, इरान, क्युवालगायत देशहरूलाई मात्र होइन, चीन र रुससमेतलाई पनि कुनै न कुनै बहानामा सिध्याउन खोज्ने छन् । चलिरहेको रुस–युक्रेन युद्ध र सम्भावित चीन–थाइवान युद्ध पनि साम्राज्यवादीहरूले सिर्जना गरेको युद्धको बहानाबाहेक केही होइन ।
Leave a Reply