भर्खरै :

के एकचोटि एउटा मात्रै शत्रुको विरोध गर्ने हो ?

के एकचोटि एउटा मात्रै शत्रुको विरोध गर्ने हो ?

(नेमकिपाका अध्यक्ष रोहितद्वारा लिखित ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तकको पहिलो प्रकाशन वि.सं. २०३३ (१ सेप्टेम्बर, १९७६) मा भएको थियो । यो पुस्तक नेपाल मजदुर किसान पार्टीको स्थापनाका आधारभूत तत्वहरूमध्ये एक हो । यो सैद्धान्तिक सङ्घर्षको निचोड हो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन नगरी कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । यो पुस्तक अहिले पनि समय सान्दर्भिक छ । नेमकिपा स्थापना हुनाका सैद्धान्तिक आधार र ठम्याइबारे पुस्तकमा उल्लेख भएकोले पार्टी स्थापना दिवसको अवसरमा यो छापिएको हो । – सं.)

हाम्रा केही साथीहरू ‘एकचोटि एउटा मात्रै दुश्मन हुन सक्छ’ भनेर ‘मुख्य दुश्मन’ को सिद्धान्तलाई अगाडि सार्छन्† एक व्यक्ति वा एक गुटलाई मात्रै हान्ने नीति लिन्छन् । यस नीतिलाई तिनीहरू माक्र्सवादी–लनिनवादी सिद्धान्त सम्झन्छन् । के साँच्चै तिनीहरूको दावा सही हो त ? आउनुस् हामी यसबारे जाँचबुझ गरौँ ।
कम्युनिस्ट घोषणापत्रमा माक्र्स र एङ्गेल्सले जर्मनीको बारेमा भन्नुभएको थियो, “पुँजीपति वर्ग, निरङ्कुश राजतन्त्र, सामन्तशाही र स–साना पुँजीपतिवर्गको विरुद्ध क्रान्तिकारी ढङ्गबाट सङ्घर्ष गर्दा कम्युनिस्टहरू मिलेर लड्छन् ।”
“तर, कम्युनिस्टहरू मजदुरवर्गलाई पुँजीपतिवर्ग र सर्वहारावर्गको बिचको आपसी विरोधलाई प्रस्टसित बुझाउने कामलाई एकछिनको निम्ति पनि रोक्दैनन् …।”
प्रस्टै छ, यहाँ ‘मुख्य दुश्मन’ भनेर एक व्यक्ति, एक गुट वा एक वर्गलाई मात्रै हानिएको छैन ।
सन् १८६३–६५ तिर जर्मनीका मजदुर महासङ्घका नेता लासाल थिए । उनले पुँजीपतिवर्गलाई मात्रै हान्थे । उनी सामन्त र जमिनदारवर्गलाई विरोध गर्दैनथे । त्यस नीतिको विरोधमा माक्र्स र एङ्गेल्सले भन्नुभयो, “खेतीको धेरै ठुलो प्राधान्यता भएको देशमा, औद्योगिक सर्वहारावर्गको नाममा पुँजीपतिवर्ग एक्लैलाई मात्रै हमला गर्नु र सामन्ती खान्दानीवर्गको पञ्जाको तल गाउँले मजदुरहरूमाथिको सामन्ती शोषणबारे एकशब्द पनि नबोल्नु पूरै डरछेरुवापन हो ।” माक्र्सले भन्नुभएको थियो कि लासालको प्रवृत्ति वस्तुगत जमिनदार जङ्करहरू र प्रसियाली राष्ट्रवादको काम–कारबाहीमाथि आँखा चिम्लिेरहेका थिए ।
त्यसैबेला जर्मनीका अर्का मजदुर नेता लिब्नेख्त ‘अस्ट्रिया भक्ति’ र क्षेत्रीय सङ्कीर्ण दृष्टिकोण राख्ने विचारको समर्थन गर्दै थिए । त्यसैबेला माक्र्सले “बिस्मार्क र ‘अष्ट्रिया भक्ति’ दुवैसँग समान र निर्ममतापूर्वक सङ्घर्ष गर्ने क्रान्तिकारी कार्यनीतिमा पूरै जोड दिनुभयो ।”
सन् १९१४ भन्दा पहिले रुसको उद्योगधन्दाको सबभन्दा महत्वपूर्ण हाँगाबिँगाहरू फ्रान्स, बेलायत र बेल्जियम आदि विदेशी पुँजीपतिहरूको हातमा थियो । ७२ प्रतिशत धातु उद्योग, कोइला, देशको आधा तेलको स्रोत र उद्योगधन्दाको ठुलो नाफाको भाग बेलायत र फ्रान्सको बैङ्कमा पुग्थ्यो । यी सबै कारणले रुसी राजा जारले बेलायत र फ्रान्ससँग लाखौँ–करोडौँ रूपैँया ऋण लिएको थियो । यसकारण, रुसी जार बेलायत र फ्रान्सेली साम्राज्यवादसँग अनेक सम्झौताहरूमा बाँधिएको थियो । रुस ती देशहरूलार्ई थुप्रै ब्याजको रूपमा कोसेली र सलामी दिने अर्ध–उपनिवेश थियो ।
त्यसैबेला युरोपमा पछिल्लो विश्वयुद्धको आगो सल्कन लागेको थियो । रुसका पुँजीपति वर्ग नयाँ–नयाँ बजार कब्जा गरेर, लडाइँको ठेक्का लिएर धेरै नाफा कमाउन चाहन्थे । हुन त रुस अरु युरोपेली देशभन्दा पिछडिएको र युद्धको निम्ति लायक थिएन । तर पनि पुँजीपतिवर्गको आशा निरङ्कुश जारतन्त्रसँग बाँधिएको थियो । तर, जारको सामन्तवादको मुख्य खम्बा नै सामन्ती जमिनदार वर्ग थियो । तिनीहरू पुँजीपतिवर्गसँग मिलेको थियो र संसद् (ड्यूमा) र सरकारमा राम्रो प्रभाव राख्थ्यो । तिनीहरू जार सरकारको घरेलु र विदेश नीतिका समर्थक थिए । सामन्त र पुँजीपतिवर्ग दुवै युद्धको परिस्थितिबाट फाइदा उठाएर मजदुर र किसानहरूको क्रान्तिकारी आन्दोलनलाई दबाउने र आफ्नो आर्थिक अवस्था सुधार गर्न चाहन्थे । यस्तो अवस्थामा बोल्शेभिक पार्टीले ‘एकचोटि एउटै मात्र शत्रुको विरोध’ गरेनन् । बरु, बोल्शेभिक पार्टीले निरङ्कुश जारतन्त्रको विरोधमा, जमिनदार र पुँजीपतिहरूको विरोधमा, साम्राज्यवादी युद्धको विरोधमा कम्मर कसेर लड्ने माक्र्सवादी नीतिमा दृढतापूर्वक अगाडि बढिरह्यो ।
रुसी क्रान्तिको बेलामा अवसरवादी नेताहरूले पनि जारलाई मात्रै शत्रु सम्झन्थे । तिनीहरू पुँजीपतिवर्गसँग एक हुन चाहन्थे । तिनीहरू भन्थे, “रुस समाजवादी क्रान्तिको निम्ति तयार छैन र पुँजीवादी प्रजातन्त्र नै रुसमा सम्भव छ ।” तर, लेनिन र बोल्शेभिक पार्टीले जार सँगसँगै पुँजीवादी अस्थायी सरकारलाई पनि उल्टाइदिए ।
चिनियाँ क्रान्तिमा पनि एउटै शत्रुको सिद्धान्त लागू भएको देखिन्न । सामन्तवाद, जापानी आक्रमण र च्याङ काई शेकको कर्मचारी पुँजीवादको विरोधमा सँगसँगै सङ्घर्ष गरेका थिए । भियतनामी क्रान्तिमा भियतनामी जनताले फ्रान्सेली उपनिवेशवाद सँगसँगै जापानी साम्राज्यवादको पनि विरोध गरेका थिए । साम्राज्यवादविरोधी हरेक सङ्घर्ष सामन्तवादविरोधी सङ्घर्षसँगै गाँसिएको हुन्थ्यो ।
एकचोटि एउटा मात्रै दुश्मनको विरोध गर्ने नीति लिनेहरू आज अन्तर्राष्ट्रियरूपले संरा अमेरिकी साम्राज्यवादको आक्रमण र थिचोमिचोलाई लुकाउन चाहन्छन् । तिनीहरू माओ त्सेतुङका ‘मुख्य समस्यालाई’ पहिले हल गर्ने सिद्धान्तलाई मुख्य दुश्मनको सिद्धान्तमा बदलेर माओ त्सेतुङ विचारधारालाई नै बङ्ग्याउन चाहन्छन् । यसप्रकार एउटामात्र दुश्मनको सिद्धान्त वास्तवमा माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराविरोधी एक संशोधनवादी र सामाजिक–साम्राज्यवादी सिद्धान्त हो । रुसी सामाजिक–साम्राज्यवाद संरा अमेरिकी साम्राज्यवादभन्दा कम खतरनाक छैन । तर, त्यो पनि कागजी बाघ हो । त्यसलाई पनि हराउन सकिन्छ । आज रुसी सामाजिक–साम्राज्यवाद र संरा अमेरिकी साम्राज्यवाद दुवै संसारका सबै मजदुरवर्ग र थिचिएका देश र जनताका साझा शत्रु हुन् ।

स्रोत : नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन

Leave a Reply

Your email address will not be published. Required fields are marked *