भर्खरै :

पार्टी कार्यकर्ताहरूको सैद्धान्तिक स्तर उठाउनुका साथै सैद्धान्तिक बहसमा सक्षम हुनको लागि अध्ययन गोष्ठी आवश्यक

पार्टी कार्यकर्ताहरूको सैद्धान्तिक स्तर उठाउनुका साथै सैद्धान्तिक बहसमा सक्षम हुनको लागि अध्ययन गोष्ठी आवश्यक

भक्तपुर, २६ माघ । नेपाल मजदुर किसान पार्टी, भनपा ७ वडा समितिको आयोजनामा ५१ औँ पार्टी स्थापना दिवसको अवसरमा अध्ययन गोष्ठी कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले पार्टी कार्यकर्ताहरूको सैद्धान्तिक स्तर उठाउनुका साथै सैद्धान्तिक बहसमा सक्षम हुनको लागि अध्ययन गोष्ठी आवश्यक छ भन्नुभयो ।
अमेरिकाले भियतनाम युद्धमा लज्जास्पद हार व्यहोर्नु परेझैँ युक्रेन युद्धबाट विश्व समुदायमा अमेरिका उदाङ्गिदै गएको र हार स्वीकार्न बाध्य भएको बताउनुभयो ।
रुस–चीनबिचको ऐतिहासिक सम्बन्धको फाइदा उठाउने अमेरिकी कुप्रयास एकपछि असफल हुँदै गएको उल्लेख गर्दै उहाँले चीनले अमेरिकासँग आर्थिक, बौद्धिकलगायत हरेक क्षेत्रमा हाँक दिँदै आएको छ भन्नुभयो ।
अमेरिकाका प्राध्यापक, बुद्धिजीवीहरू, वैज्ञानिकहरूसमेत क्रमशः चीनमा काम गर्न थालेपछि पँुजीवादी देश अमेरिकाका नेतृत्वकर्ताहरू छटपटिन थालेको उहाँले बताउनुभयो ।
उहाँले आउँदो फागुन १६–१९ मा सम्पन्न हुने पार्टीको आठौँ महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न पार्टी कार्यकर्ताहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भनपा ७ वडाका वडाध्यक्ष उकेश कवांले नाम माक्र्सवादी लेनिनवादी र माओवादी राखे पनि त्यसबमोजिम काम नगर्ने तिनीहरू नक्कली कम्युनिस्ट हुन् भन्नुभयो ।
जनविरोधी कार्र्य जनतासमक्ष उदाङ्ग्याउँदै पँुजीवादको पतन गराई कामदार जनताको प्रजातन्त्र वैज्ञानिक समाजवाद ल्याउन मलजल गर्नु सबै कार्यकर्ताको दायित्व हो भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि नारायणप्रसाद त्वानाबासुले नेमकिपाको आठौँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नको लागि सबै जनवर्गीय सङ्गठनहरू परिचालन हुनुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बलराम गोसाई, पुरुषोत्तम ग्वाछा, हरिरत्न गोर्खाली, विष्णुराम दुमरु, एण्डिज ग्वाछा, सुरेश कवां, बद्रीराम छुस्याबागले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन र युक्रेनी जग्गा कब्जा विषयमा आ–आफ्नो विषयहरू प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *