भर्खरै :

जनआन्दोलनको सफलतापछिका सरकारहरूद्वारा सहिदको भावनाको अपमान

जनआन्दोलनको सफलतापछिका सरकारहरूद्वारा सहिदको भावनाको अपमान

भक्तपुर, ९ फागुन । सहिद राजकुमार स्मृति पुस्तकालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा सहिद स्मृति सभा, सांस्कृतिक गुरु सम्मान, पुस्तकालय बुलेटिन विमोचन तथा सांस्कृतिक कार्यक्रम बिहीबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले हरेक पुँजीवादी र सामन्तवादीहरू आफ्नो अस्तित्व कायम राख्नको लागि आफू थाकेपछि घोडा फेरेजस्तै फेर्नेउल्लेख गर्दै २०४६ सालको जनआन्दोलनमा निरङ्कुश पञ्चायती शासकविरुद्ध आवाज उठाउँदा पञ्चायती शासकको पहिलो गोली विद्यार्थी राजकुमार सुवाललाई लागेको जानकारी गराउनुभयो । जनआन्दोलनपछिको सरकारले देशमा उज्यालोको लागि ढोका उघ्रेको चर्चा चलाए पनि लाखौँ युवाहरू आज बिदेसिन बाध्य पारिरहेको उल्लेख गर्दै उहाँले जनताको सरकार भन्ने तर जनताको दैनिक उपभोग्य सामग्रीहरूको उत्पादन गर्न नसक्ने आजको सरकार अर्थहीन रहेको स्पष्ट पार्नुभयो ।
देशको तेल खानी कब्जा गर्न अमेरिकी साम्राज्यवादले प्यालेस्टिन र इजरायलको युद्ध गराइरहेको वास्तविकताबारे स्पष्ट पार्दै उहाँले जुनसुकै देशमा नेतृत्व गलत भएपछि देशका जनताले धेरै दुःख पाउने बताउनुभयो ।
उहाँले सोभियत रुसमा समाजवाद लागु भएपछि विज्ञान र प्रविधिको पनि राम्रो बस्दोबस्त भएको वास्तविकताबारे चर्चा गर्दै समाजवादी व्यवस्थामा देशका मुख्य मुख्य साधन सामाजिकीकरण हुने र जनताले दुःख नपाउने बताउनुभयो ।
भक्तपुर नपाले सस्तोमा ख्वप विश्वविद्यालय स्थापना गरी चिकित्सकहरू उत्पादन गर्ने उद्देश्य राखेको उल्लेख गर्दै उहाँले भारतीय खाद्य पदार्थहरू निर्वाध रूपमा नेपालमा भित्रिरहँदा सँगसँगै विष पनि भित्रिरहेको बिर्सन नहुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका भक्तपुर नगर समितिका उपाध्यक्ष एवं पुस्तकालयका सल्लाहकार लक्ष्मीभक्त लासिवाले बहुदलको एक चम्चा पानीले जनताको प्यास मेट्न सक्दैन भन्ने रोहितको कथन आज पनि सान्दर्भिक भएको उल्लेख गर्दै समाजलाई परिवर्तन गर्न धेरै सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सहिदहरू कुनै पार्टी विशेषको नभई समग्र समाज र जनताको प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने आवश्यकता औँल्याउँदै सहिदको सपना पूरा गर्न अहिलेसम्म सरकारहरूले बेवास्ता गरिरहेकोमा चिन्ता व्यक्त गर्नुभयोे ।
वागीश्वरी मा.वि.का पूर्वसहायक प्रअ ज्ञानसागर प्रजापतिले फागुन ८ गते देशको राजनीतिक इतिहासमा जनआन्दोलनको महत्वपूर्ण दिनको रूपमा रहेको उल्लेख गर्दै यही आन्दोलनले पञ्चायती व्यवस्था ढलेको थियो भन्नुभयो । उहाँले नेपालको संविधानमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्न देशको शिक्षा बजेट २४ प्रतिशत पु¥याउनुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले गरिरहेको शिक्षा, स्वास्थ्य र संस्कृति संरक्षणका कार्यहरूबारे जानकारी गराउनुभयो ।
पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले २०४६ सालको फागुन ८ गतेको अविस्मरणीय घटनाबारे स्पष्ट पार्दै नेपाल मजदुर किसान पार्टीको फागुन १६–१९ गते हुने आठौँ महाधिवेशनमा जनताको सहभागिताको लागि अपिल गर्नुुभयो ।
कार्यक्रममा अतिथि प्रेम सुवालले बालाखु गणेश दाफा भजन गुठीका नाइके एवं लालाखिं गुरु हरिभक्त सुवाल तथा प्रगतिशील गाईंचा म्येका लेखक तथा गायक रत्नकाजी नायोभारीलाई दोसल्ला तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो । पुस्तकालयका अध्यक्ष कृष्णप्रसाद सुवालले पुस्तकालयको वार्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा मीरा दुगुजुले पनि बोल्नुभएको थियो । कार्यक्रमको दोस्रो सेसनमा विभिन्न सांस्कृतिक विधाहरू प्रस्तुत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *