जिम्न्यास्टिक खेलाडी विष्णुनारायण ग्वाछासँग एकछिन
- बैशाख २, २०८२
भक्तपुर, ९ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता – २०८१ को छनोट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विजयी खेलाडीहरूलाई बधाई तथा हौसला दिनुभयो ।
खेलकुदमा सरकारले पर्याप्त बजेट विनियोजन नगरेको अवस्थामा भक्तपुर नगरपालिकाले आफ्नै स्रोतमा प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता र विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गर्दै आइरहेको बताउनुभयो ।
खेलकुदमा प्रशिक्षक र पूर्वाधारको विकास भएमा खेलाडीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम हुने चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र पर्यटन तथा सम्पदा संरक्षणमा नमुना कार्य गरेजस्तै खेलकुदलाई पनि प्राथमिकता दिँदै यसको विकासमा जोड दिँदै आइरहेको बताउनुभयो । उहाँले खेलकुदमा अनुशासनको महत्व रहेकोले व्यवस्थित भएर खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाले भक्तपुर नगरपालिकाले विकास निर्माणमा मात्र नभई खेलकुद क्षेत्रमा पनि विशेष योगदान पु¥याएको काम प्रशंसनीय रहेको बताउनुभयो । भक्तपुरलाई खेलकुदमय बनाउन भक्तपुर नपाको खेलकुद समिति क्रियाशील रहेको उहाँले बताउनुभयो ।
खेलकुद समितिका संयोजक एवं भनपा १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले भनपाले विद्यार्थीहरूलाई खेलमा आकर्षित गर्न विभिन्न खेलकुद गतिविधि र तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
भनपा खेलकुद समितिका सदस्य तथा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने भनपा वडा नं. ८ का वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता – २०८१ को छनोट प्रतियोगिताका ४२० जना विजयी खेलाडीहरूलाई मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।
फागुन ९ गतेका दिन छात्र/छात्रा भलिबलका फाइनल र सेमिफाइनलका खेलहरू भएका थिए । छात्रतर्फको खेलमा पद्म मावि प्रथम, सैनिक मावि द्वितीय र ख्वप मावि र वागीश्वरी मावि संयुक्तरूपमा तृतीय भए । त्यसैगरी, छात्रा भलिबल प्रतियोगितामा सैनिक आवासीय मावि प्रथम, ख्वप मावि द्वितीय र वागीश्वरी मावि र अक्सफोर्ड इन्टरनेसनल प्राक्टिकल स्कूल तृतीय हुन सफल भए ।
फागुन ८ गते भएको भलिबल प्रतियोगितामा छात्रातर्फको लिग खेलमा वागीश्वरी माविले पद्म माविलाई, अक्सफोर्ड प्राक्टिकल ई. स्कूलले ग्लिटर फ्युचर से. स्कूललाई र ख्वप माविले बासु माविलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएका थिए । सैनिक मावि र वागीश्वरी माविबिच भएको सेमिफाइनल खेलमा सैनिक आवासीय माविले जित हासिल गर्दै फाइनल प्रवेश गर्न सफल भएको थियो । त्यसैगरी, ख्वप मावि र अक्सफोर्ड प्राक्टिकल स्कूलबिच भएको अर्को सेमिफाइनलको खेलमा भने ख्वप मावि विजय हुँदै फाइनल प्रवेश गरेको थियो ।
छात्र भलिबल प्रतियोगितामा ख्वप माविले शारदा माविलाई र वागीश्वरी माविले बासु माविलाई पराजित गर्दै ख्वप र वागीश्वरी मावि सेमिफाइनल पुग्न सफल भएका थिए ।
भक्तपुर नगरपालिका वडा नं. ८ को लिबाली कभर्ड हलमा भएको छात्र÷छात्रा कबड्डी प्रतियोगिताका फाइनल खेलहरू पनि सम्पन्न भएका छन् । छात्रा कबड्डीमा पारागन एकेडेमी स्कूल प्रथम, मोर्डन ई. स्कूल द्वितीय र रोम्वस स्कूल र मिनर्वा ई. स्कूल संयुक्तरूपमा तृतीय भए । त्यसैगरी, छात्रतर्फको खेलमा भने मिनर्वा ई. स्कूल प्रथम, मोर्डन ई. स्कूल द्धितीय र ख्वप मावि र वागीश्वरी मावि संयुक्तरूपमा तृतीय हुन सफल भएका छन् ।
आयोजक समिति एवम् भक्तपुर नगरपालिका युवा खेलकुद समितिका सदस्य रामसुन्दर वासीका अनुसार एथलेटिक्स, उसु, सितेरियो कराते र तेक्वान्डो खेलका सम्पूर्ण विधाका प्रतियोगिता फागुन ८ गतेसम्म सम्पन्न भएका थिए । प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्न सफल खेलाडीहरू फागुनको अन्तमा जिल्ला खेलकुद विकास समितिले आयोजना गर्ने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिकाको प्रतिनिधित्व गर्दै सहभागी हुनेछन् ।
Leave a Reply