संस्कृतिको खोजमूलक पुस्तक ‘होचो ढोका’ नियाल्दा
- चैत्र ३०, २०८२
‘श्वेता’ एक धनी परिवारकी केटी वा छात्रा थिइन् भने ‘सुस्ति’ उही कक्षाका सहपाठी थिए, नाउँ केटीजस्तो तर केटा । पञ्चायतकालको समय थियो । निर्दलीय व्यवस्था भएकोले सरकारको आलोचना गर्नु एक प्रकारले निषेध थियो । त्यसको कारण कलेजका विद्यार्थीहरू खाली कक्षामा कलेज वरपरका रेस्टुराँ र चिया पसलमा गफिन्थे । उनीहरू कलेजकै अमुक केटा र केटी, प्राध्यापक वा नेता एवं लेखक, कवि र कलाकारहरूबारे कुराकानी गर्थे । भारतीय सिनेमादेखि संयुक्त राज्य अमेरिका, सोभियत सङ्घ र दक्षिण एसियाली देशहरू, हङकङ र जापानको समेत उनीहरू बयान गर्थे ।
‘सुस्ति’ बी.ए. पढ्ने केटालाई साथीहरूले दिएको नाम हो । घरमा भने उनी सानोमा अति चुलबुले थिए । कलेज अध्ययनको समयमा उनी टेबुलटेनिस, भलिबल र ब्याडमिन्टन खेल्थे । वादविवाद, स्वतन्त्र भाषण वा साहित्य गोष्ठीमा पनि उनी सक्रिय थिए तर नाम भने ‘सुस्ति’ किन दियो होला ? त्यसमा पनि एक कथा लुकेको थियो ।
एकचोटि ‘नौसाद’ भन्ने एक मुसलमान रेस्टुराँमा कलेजका ५–७ जना केटाहरू पसे । रेस्टुराँमा काम गर्ने सहयोगीले भने, “यो मुसलमानको रेस्टुराँ हो । एकजना केटाले उत्तर दियो, “हो थाहा छ–हामीलाई यो मुसलमानको रेस्टुराँ हो । हामी चिया खान आएका हौँ, धर्म र जात सोध्न आएका होइनौँ ।” सहयोगीले लाचार भएर केटाहरूको मागअनुसार चिया र अरू खानेकुरो पस्काउँदै गए ।
चियाको चुस्की लिँदै विद्यार्थीहरूले ‘श्वेता’ र ‘सुस्ति’ को बारेमा एक छात्र भन्दै गयो, “हेर केटाहरू ! कुरा के हो भने ‘श्वेता’ र ‘सुस्ति’ दुवै एउटै विद्यालयबाट प्रवेशिका पास गरेका हुन् । उनीहरू आई.ए. र बी.ए. एउटै कलेजमा पढ्थे । ‘श्वेता’ धनी परिवारकी छोरी हुँदा अलि फतरफतर बोल्थिन्, हरेक कुरामा घमण्डी देखिन्थिन् । ‘सुस्ति’ भने कम बोल्ने, केटीहरूप्रति अलि नरम बोल्ने उनको स्वभाव थियो वा उनमा शिष्टता थियो । उनी कुनै एक पञ्चायतविरोधी संस्थाका कार्यकर्ता हुँदा सबैसँग नरम बोल्थे तर कामले भने उनी ‘सुस्ति’ नभई गतिविधिमा सा¥है सक्रिय नै थिए ।”
“तर केटाहरूलाई के आश्चर्यको विषय थियो भने ‘श्वेता’ र ‘सुस्ति’ को राजनैतिक विचार भने पटक्कै मिल्दैनथ्यो । ‘सुस्ता काण्ड’ देखि अर्थात् नेपालको दक्षिणको सुस्तामा भारत सरकारको थिचोमिचोपछि नेपालका साराजसो विद्यार्थीहरूसँगै सुस्ति पनि भारतीय विस्तारवाद भन्दै विरोधमा उत्रे । त्यसमा ‘सुस्ति’ सक्रिय थिए भने ‘श्वेता’ मौन देखिएकी थिइन् । वादविवाद, स्वतन्त्र भाषण र साहित्य गोष्ठीमा ‘सुस्ति’ ले लिएको विषयको ठिकविपरीत अडान र विचारमा ‘श्वेता’ मत राख्थिन् । उदाहरणको निम्ति ‘सुस्ति’ ले भारत ठुलो र बलियो हुँदा पाकिस्तानमाथि हमला गरेकोमा विरोध गर्दा ‘श्वेता’ले भारतको पक्ष लिन्थिन् । ‘सुस्ति’ ले अमेरिकाको भियतनाम र हिन्द–चीनमा हमलाको विरोधमा बोल्दा ‘श्वेता’ अमेरिकाको पक्षमा बोल्थिन् । तर, चिया खाँदा र डुल्दा भने दुवै सँगै हुन्थे र रेस्टुराँमा पैसा पालैपालो तिनीहरू तिर्थे ।”
“तर पञ्चायतविरोधी गतिविधि चर्केपछि ‘सुस्ति’ को पछाडि प्रहरी र गुप्तीहरू खुब लागे, तर उनी पक्राउ परेनन् । प्रहरी र गुप्तीलाई के थाहा थियो भने ‘सुस्ति’ सधैँजसो कलेजपछि ‘श्वेता’ को घर जान्थे । पक्राउको आदेश आउनासाथै प्रहरीले काठमाडौँको त्यस चोकका ३–४ वटा गेटमा निगरानी बढायो तर प्रहरीको हातमा ‘सुस्ति’ परेनन् । घर– घरमा खानतलासी लिए तर गुप्ती हैरान भए ।”
“हल्ला फैलियो ‘सुस्ति’ हङकङमा एक पुस्तक पसल चलाउँदै छन्, कहिले कुन ठाउँमा शिक्षक छन् आदि । तर, केही वर्षपछि उनी एक ‘आमूल परिवर्तनवादी’ राजनैतिक समूहका कार्यकर्ता हुन् भन्ने थाहा भयो । प्रजातन्त्रको पुनः स्थापनाको आन्दोलनमा भुट्टोको हत्यापछिको विद्यार्थी आन्दोलनपछि देशमा पञ्चायतको तुजुक घटेपछि थाहा भयो – ‘सुस्ति’ नेपालको पूर्व र पश्चिममा एक पत्रकारको रूपमा र मध्य नेपालमा एक किसान कार्यकर्ताको रूपमा काम गर्थे । सादा जीवन र उच्च विचारकै कारण उनीसम्म प्रहरी पुग्न पाएनन् । तर, अर्को रहस्य पनि खुल्दै गयो – ‘श्वेता’ एक पुँजीवादी प्रजातन्त्रवादी राजनैतिक दलमा आस्था राख्थिन् र पछि तिनका साथीहरू धेरै कर्मचारी, वकिल, न्यायाधीश र व्यापारीको रूपमा देखिए । ‘श्वेता’ र ‘सुस्ति’ विचारमा फरक भन्ने कुरा तत्कालीन सबै छात्र–छात्राहरूलाई थाहा थियो तर आखिर तिनीहरूको राजनीतिक दर्शन र सङ्गतबारे थाहा थिएन । तिनीहरूको विचारमा प्रस्ट भिन्नता हुनुको कारण सुस्तिले जनवादी गणतन्त्र चीनको समर्थन गर्थे भने श्वेता थाइवान (फार्मोसा) र हङकङको समर्थन गर्थिन् ।”
XXX
गणतन्त्रको स्थापनापछि देशमा अनेक विषयका पर्दाहरू खुल्दै गए । क्रान्तिले आफ्ना विचार नमिल्ने साथीहरूसँग पनि मिलेर काम नगरेको वा आवतजावत नबढाएको भए उनी काठमाडौँ उपत्यकाजस्तो ठाउँमा पहिले नै पक्राउ पर्ने थिए । सुरुमा त प्रहरीले ‘श्वेता’ र ‘सुस्ति’को सैद्धान्तिक र राजनीतिक पहिचानलाई ठम्याउनै सकेनन् । पर्दा खुलेपछि प्रस्ट भयो, वर्गीयरूपले ‘श्वेता’ पुँजीवादी विचारकी थिइन् र ‘सुस्ति’ समानतावादी वा समतावादी थिए । व्यक्तिगतरूपले ती दुईको वर्ग आधार र वैचारिक आधारमा मेलको कुनै बिन्दु नै थिएन ।
‘सुस्ति’ अहिले लेखकको रूपमा एक पत्रिकामा काम गर्दै छन् । जनकपुरको एक चिया पसलमा ‘सुस्ति’ र कानुन व्यवसायी प्राध्यापकहरूको कुराकानीमा एक पूर्व महान्यायाधिवक्ताले सिद्धिचरण श्रेष्ठको विषयमा भन्दै थिए, “कविजी (सिद्धिचरण) सँगै कोही सुत्नै मान्दैनथे किनभने उहाँ रातको १२–१ बजे पनि ‘फु¥यो फु¥यो’ भन्दै सँगै सुतेको साथीलाई उठाउनुहुन्थ्यो र लेखाउनुहुन्थ्यो किनभने कविजी आफैले लेख्नुहुन्न रे उहाँ सायद कहिलेदेखि मनमा गुनगुनाउनुहुन्थ्यो र पछि लेखाउनुहुन्थ्यो ।”
अचानक केही ग्राहकहरू चिया पसलमा भित्रिएर ‘सुस्ति’ लाई देखेर आश्चर्य मान्दै भने, “अहो ¤ सुस्तिजी तपाईं कसरी तराईमा पुग्नुभयो ?”
‘सुस्ति’ ले हाँस्दै नमस्ते फर्काउँदै भन्न थाले, “म सानैदेखि तराईमै त छु । मलाई सदा तराईको किसान आन्दोलनले प्रभाव पार्ने गर्छ । मौसम परिवर्तन हुँदा रुखमा पुराना पातहरू झर्छन् र नयाँ पालुवा पलाएजस्तै राजनीतिक र सामाजिक परिवेश परिवर्तन हुँदा नयाँ नयाँ साथीहरूसँग परिचयको साथसाथै मित्रता पनि बढ्दै जानु मानिसको जीवनको भोगाइ हो नि ।”
नयाँ आगन्तुकहरू नजिकका मेचहरू तान्दै सबै गोल आकारमा बसे । एक जना नयाँ आगन्तुकले सुस्तिसँग नयाँ जिज्ञासा राखे, “तपाईँका पुराना श्वेता, रवि, भानु, आदित्यहरू कताकता छन् नि ?”
सुस्तिले प्रश्नकर्ताको परिचय सबैलाई दिँदै भने, “उहाँसँग हाम्रो राम्रै उठबस थियो – त्रिचन्द्र कलेजमा उहाँ राम्रो भलिबल खेलाडी हुनुहुन्थ्यो – विषय भने अर्थशास्त्र र पेसा प्राध्यापक ।” ‘सुस्ति’ को भनाइमा एउटा व्यङ्ग्य मिसिएको थियो ।” सबै गल्ल हाँसे ।
अर्थशास्त्रका प्राध्यापकले पुरानै विद्यार्थी शैलीले उत्तर दिए, “हामीजस्ता राम्रा अर्थशास्त्रीहरूका नेता नै अर्थमन्त्रीहरू हँुदै आएका छन् । तर, के गर्नु देशलाई खर्बौँ विदेश ऋणमा हाम्रै पश्चिमी अर्थशास्त्रले डुबायो । दक्षिणी एसियाका श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान अरू पनि एसियाली र अफ्रिकी देशहरूको यही दुर्दशा छ ! डलरको राज समाप्त नभएसम्म विकासशील देशहरूले आफ्नो खस्किँदो अर्थतन्त्रसँग सङ्घर्ष गर्नै पर्नेछ ।”
रेष्टुराँमा नयाँ ग्राहकहरूले प्रवेश गरे – पुराना ग्राहकहरू उठ्दै काउन्टरमा पैसा दिँदै बाहिर निस्के ।
Leave a Reply