भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा नवीन आधारभूत विद्यालयको ४४ औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन

नगर प्रमुख प्रजापतिद्वारा नवीन आधारभूत विद्यालयको ४४ औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन

भक्तपुर, १३ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ७ गोल्मढीस्थित नवीन आधारभूत विद्यालयको ४४ औँ वार्षिकोत्सव पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको मङ्गलबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले समाजवादी देशमा बालबालिका पढ्ने विद्यालयहरूलाई ‘केटाकेटीको दरबार’ भनिने बताउँदै विद्यार्थीको शैक्षिक जग मजबुत र बलियो बनाउन गुणस्तरीय शिक्षा आजको आवश्यकता हो भन्नुभयो ।
भक्तपुरको सामुदायिक विद्यालयको स्तरोन्नति र विकासमा भक्तपुर नगरपालिकाबाट सम्भव हुने सबै किसिमको सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै उहाँले ४४ वर्षअघि स्थापना भएको नवीन आधारभूत विद्यालयले देश र समाजप्रति उत्तरदायी जनशक्ति उत्पादन गरिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले विद्यालयस्तरबाट सिकाइने अनुशासन विद्यार्थीहरूले जीवनभर अँगीकार गर्ने बताउँदै विद्यार्थीलाई शिक्षितसँगै अनुशासित बनाउने दायित्व शिक्षक र अभिभावकहरूको हो भन्नुभयो ।
विद्यार्थीहरूमा आफ्नो काम आफै गर्ने स्वयम्सेवी भावनाको विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भक्तपुर नपाले गरिब तथा जेहनदार विद्यार्थीहरूलाई प्रदान गर्दै आएको शैक्षिक ऋण र छात्रवृत्ति कार्यक्रमले धेरै विद्यार्थीहरू शिक्षित र दीक्षित हुने अवसर मिलेको बताउनुभयो ।
नवीन आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यालय समाज रूपान्तरण गर्ने प्रारम्भिक थलो भएको बताउँदै विद्यालयका शिक्षकहरू समाज निर्माता हुन् भन्नुभयो ।
देशको भविष्य बालबालिकामा निहित हुने बताउँदै उहाँले बालबालिकालाई योग्य र सक्षम बनाउन सके देशको विकासमा पनि सकारात्मक प्रभाव पार्नेछ भन्नुभयो ।
आधारभूत विद्यालय समितिका अध्यक्ष सूर्यबहादुर फोँजुले भक्तपुरका सामुदायिक विद्यालयहरूले सीमित स्रोतसाधनबिच विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निजी शिक्षकको व्यवस्था गरी पठनपाठन गर्दै आएको उल्लेख गर्दै विद्यालयको आयोजनामा हुने खेलकुद र सांस्कृतिक गतिविधिले उनीहरूको प्रतिभा उजागर गर्न मद्दत पु¥याइरहेको बताउनुभयो ।
नवीन आधारभूत विद्यालयका प्रअ प्रकाश गोसाईले विद्यालयको प्रगति प्रतिवेदन र भावी योजनाहरू प्रस्तुत गर्दै हाल नवीन स्कूलमा २१७ जना विद्यार्थीहरू अध्ययनरत रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षिका शोभा कवांले स्वागत मन्तव्य र शिक्षिका सरु दुवालले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने शिक्षिकाद्वय कृतिका श्रेष्ठ र करुणा सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले अवकाश प्राप्त शिक्षकलाई सम्मान तथा बिदाइ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण तथा विभिन्न क्रियाकलापमा विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *