भर्खरै :

विषयगत सङ्घहरूको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

विषयगत सङ्घहरूको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

भक्तपुर, २६ फागुन । आइतबार वाग्मती प्रदेश बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडले सुशासन र दिगोपनका लागि वाग्मती प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित स्तरीकरण कार्यक्रम कोसिस कार्यक्रमको विषयगत सङ्घ समूह (जिल्ला बचत तथा ऋण सहकारी सङ्घहरूको) पहिलो सार्थक एवम् नविनतम व्यवस्थापन कार्यशाला (Worth & Effective Cooperation And Novelty management Workshop – 1st We Can Workshop) भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को आयोजना तथा वाग्मती प्रोस्कुनको प्राविधिक सहयोगमा भक्तपुरमा सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सङ्घमा आबद्ध रहेका सहकारी संस्थाहरूमा समस्या नरहेको बताउँदै अरुलाई सिकाउन पहिले आफू दक्ष हुनुपर्ने र त्यसैका लागि संयुक्त सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषयगत सङ्घहरूको लागि स्तरीकरण कार्यक्रम विकास गरिएको बताउनुभयो । यस कार्यक्रमले सङ्घको स्तरीकरण भई सदस्य सेवामा प्रभावकारी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला बचत तथा ऋण सहकारी सङ्घमा आबद्ध रहेका संस्थाहरूलाई माथिल्लो सङ्घहरूले आफ्नै सदस्यको रूपमा गणना गर्न सक्ने कानुनी व्यवस्था गर्न सके प्रारम्भिक संस्था बहुसङ्घमा सदस्यता लिने परिपाटीको अन्त्य हुने भनाइ राख्नुभयो । उहाँले सहकारीको कारोबारका कारण राज्य ‘ग्रे’ लिस्टमा परेको गलत भाष्य निर्माण भएको बताउनुभयो ।
उहाँले सिक्ने सिकाउने कार्यलाई निरन्तरता दिन र विषयगत सङ्घहरूबिच एकता कायम गरी सहकारी अभियानलाई शुद्धीकरण गर्न स्तरीकरण कार्यक्रमले टेवा पु¥याउने विचार राख्नुभयो ।
वाग्मती प्रोस्कुनका उपाध्यक्ष कल्पना श्रेष्ठले लामो प्रयासपछि सङ्घहरू स्तरीकरण कार्यक्रममा समावेश हुन सकेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सङ्घहरू संस्थागत सुशासनमा सक्रिय भई मातहतका संस्थाहरूलाई आफै उदाहरण दिन सकिने बन्न कार्यक्रमले सहयोग गर्ने विचार राख्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरका उपाध्यक्ष हरिकृष्ण बल्लले सङ्घहरूलाई स्तरीकरण कार्यक्रममा समावेश गराएर सुशासनको अभ्यास सहकार्य गर्ने उद्देश्यका साथ सञ्चालित विषयगत सङ्घहरूको पहिलो कार्यशाला नेपालको सहकारी इतिहासकै पहिलो रहेको बताउनुभयो ।
वाग्मती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले प्रत्येक कार्यशालामा एक नवीनतम विषयमा अनुशिक्षण गर्ने सन्दर्भमा व्यक्तिगत क्षमता विकासका लागि धारणा निर्माण विषयमा अनुशिक्षण गर्नुभयो । उहाँले प्रतिस्थापन विधेयक र प्रदेश सरकारसँगको साझेदारीमा सम्पन्न हुन गइरहेको गोष्ठीको बारेमा बताउनुभयो ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले भक्तपुर जिल्लाको परिचयसहित भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घले समग्र सहकारी अभियानमा खेलेको भूमिका र उपलब्धिबारेमा प्रस्तुतीकरण गर्नुभयो । कार्यक्रममा १० वटै जिल्ला सङ्घसहित वाग्मती प्रोस्कुनको प्रस्तुतीकरणमार्फत सङ्घहरूको वित्तीय तथा गैरवित्तीय गतिविधिहरूको प्रस्तुतीकरण गरियो । स्तरीकरण कार्यक्रमका चार दृष्टिकोण वित्तीय दृष्टिकोण, आन्तरिक व्यवसायीकरणको दृष्टिकोण, सिकाइ र वृद्धिको दृष्टिकोण र सदस्य दृष्टिकोणमा आधारित भई प्रस्तुतीकरण गरिएको थियो ।
प्रदेशको साझा सम्पत्ति स्वरूप व्यक्तिगत क्षमता विकासका लागि धारणा निर्माण, दबाब परीक्षण र प्रभावकारी कार्य मूल्य गरी तीन वटा विषयको पाठ्यक्रम तयार गर्ने छलफल गरियो । दोस्रो कार्यशाला काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. (कास्कुन) को आयोजनामा २०८२ असारको पहिलो सातामा आयोजना गर्ने निर्णय गर्दै कार्यशाला गोष्ठी सम्पन्न भयो । कार्यक्रममा ११ वटा सङ्घका अध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिहरूसमेत गरी ३३ जनाको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *