भर्खरै :

एसईई परीक्षार्थीहरूको सफलताको कामना

एसईई परीक्षार्थीहरूको सफलताको कामना

यही चैत ७ गतेदेखि एसईई परीक्षा सुरु हुँदै छ । यो परीक्षा उच्च शिक्षा हासिल गर्ने खुड्किलो हो । परीक्षा सञ्चालनको लागि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र, परीक्षा निरीक्षक, प्रश्नपत्र आदि सबै तयारी गरिसकेको छ । सुरक्षा व्यवस्था पनि मिलाइसकेको छ । विद्यालयका परीक्षार्थीहरू परीक्षा दिने अन्तिम तयारीमा छन् । विद्यालयमा परीक्षार्थीहरूलाई मार्ग निर्देशन गर्ने काम पनि भइसकेको छ । परीक्षाको लागि आवश्यक शैक्षिक सामग्री पनि तयारी गरिसकेको स्थिति छ । परीक्षा दिन परीक्षार्थीहरू समयमै आ–आफनो केन्द्रमा पुग्नुपर्नेछ । सम्भवतः त्यो व्यवस्था हरेक स्कूलले गरिसकेको छ ।
एसईई परीक्षा शान्तिपूर्ण हुनुपर्छ । सुरक्षा व्यवस्था व्यवस्थित हुनुपर्छ । परीक्षा केन्द्र पनि उपयुक्त हुनुपर्छ । परीक्षा व्यवस्थित, शान्तिपूर्ण र सहज वातावरणमा हुनुपर्छ । केन्द्रका केन्द्राध्यक्ष र परीक्षा गार्डहरू संयमित हुनुपर्छ । परीक्षार्थीहरूलाई चिटिङ गराउने, प्रश्न आउट गरेर जिम्मेवारी भुल्ने र परीक्षा हलमा चिटिङको नियोजित व्यवस्था गर्ने काम कहीँ कतै गर्न मनाही गर्नुपर्छ । परीक्षार्थीले पनि चोरेर पास गर्ने प्रवृत्ति रोक्नुपर्छ । अध्ययन नगरी परीक्षामा जसरी भए पनि पास गर्नको निम्ति चिटिङ गर्ने, साथीहरूको हेरेर लेख्ने र परीक्षा गार्डहरूको सहयोगमा उत्तर लेख्ने र लेखाउने काम आचारसंहिताभित्र पर्दैन । यस्ता गलत कार्यमा कुनै पनि गार्ड, केन्द्राध्यक्ष र शिक्षकहरू लाग्नु हुँदैन । सबैले आ–आफ्नो स्थानबाट आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्नुपर्छ ।
चोरी चकारी गरेर पास हुने विद्यार्थीहरूको शैक्षिक स्तर राम्रो हुँदैन । चोरेर एसईईमा राम्रो अङ्क ल्याए पनि कलेजमा पढ्दा अनुत्तीर्ण भयो भने एसईई उत्तीर्ण हुनुको अर्थ हुँदैन । चोरेर उत्तीर्ण भएका विद्यार्थीहरू कमजोर नै हुन्छन् । उनीहरूले आफूले चाहेअनुसारको कहीँकतै सेवा पाउँदैनन्; सेवा पाए पनि भरपर्दाे हुँदैन या टिक्दैन या सफल हुँदैन । विगतको परीक्षामा परीक्षा केन्द्रका कति केन्द्राध्यक्ष र गार्डहरू कारबाहीमा परेका थिए । परीक्षार्थीलाई चिटिङ गर्ने, प्रश्नको उत्तर लेखेर सघाएकाले उनीहरू कारबाहीमा परेका हुन् । एक समय त परीक्षा केन्द्रको परीक्षा कोठाबाट बोराका बोरा चिट र पुस्तक फेला परेको थियो । परीक्षा केन्द्रको झ्यालझ्यालमा चिट फालेर शिक्षक, अभिभावक र विद्यार्थीहरूले सघाएका थिए । यो गलत काम हो । चोरेर पास गराउने काममा शिक्षक, अभिभावक र अन्य विद्यार्थीहरूले परीक्षार्थीलाई उत्साहित गर्ने काम गर्नु हुँदैन । कति विद्यालयमा नक्कली विद्यार्थीले जाँच दिएको थियो । जाँच दिँदा नक्कली विद्यार्थी फेला परेको खबर पनि प्रकाशमा आएको थियो । एक समय त माओवादीका सांसदको समेत नक्कली विद्यार्थी प्रयोग गरेर जाँच दिइएको थियो । कति शिक्षक र अभिभावकहरू जाँचमा सहयोग गर्न परीक्षा गार्डलाई दबाब दिन्छन् ।
गएको वर्ष एसईईको परीक्षा चित्तबुझ्दो थिएन । ५२ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका थिए । शून्य प्रतिशत ल्याउने विद्यालयको सङ्ख्या सयौँ छ । देशभरिका विद्यालयमा विषयगत शिक्षक नहुँदा, पर्याप्त शिक्षक नपुग्दा, विद्यालयले विद्यार्थीको लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन नसक्दा र स्वयम् विद्यार्थीहरू पढाइमा ध्यान नदिँदा उत्तीर्ण प्रतिशत घटेको त्यसबेला नै चर्चाको विषय बनेको थियो । धेरै प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको कारण कलेजमा पढ्ने विद्यार्थी नभएर कति कलेज बन्दको स्थितिमा पुगेको थियो । कलेज बन्द हुने स्थिति देखिएपछि सरकारले पुनः मौका परीक्षा लिएको थियो । विद्यालयमा समयमा पाठ्यपुस्तक नपुग्ने, पुगेर पनि विद्यार्थीको झोलामा किताब नहुने, कक्षामा नियमित नबस्ने, कक्षाकोठामा बसे पनि पढाइप्रति चासो नराख्ने भएकोले पनि विद्यार्थीहरूको पढाइ खस्केको देखिन्छ । विद्यार्थीहरूको शैक्षिक स्तर उठाउन योग्य शिक्षकको खाँचो हुन्छ । अभिभावकले घरमा पनि पढाइमा ध्यान दिन उत्प्रेरित गर्नुपर्छ र विद्यार्थी पनि अध्ययनशील, जिज्ञासु र मेहनती हुनुपर्छ । परीक्षा अगाडि दुई चार दिन पढेर या अरु बेला पढाइमा चासो नराख्ने विद्यार्थीहरू कमैमात्र उत्तीर्ण हुन्छन् ।
गएको वर्ष अनुत्तीर्ण हुने धेरै विषय विज्ञान र गणितको हो । यसबाहेक सामाजिक र नेपालीमा पनि धेरै विद्यार्थी अनुत्तीर्ण भएका थिए । गत वर्षको यो अनुभवबाट शिक्षक, अभिभावक र विद्यार्थीहरूले शिक्षा लिएको हुनुपर्छ । परीक्षा नियन्त्रण कार्यालयले गएको वर्ष देखिएको त्रुटिबाट शिक्षा लिनुपर्छ । कमी कमजोरी हटाएर अघि बढेमा शैक्षिक स्तर पनि उठ्छ र उत्तीर्ण प्रतिशत पनि बढ्छ । हरेक परीक्षार्थीहरूको परीक्षा राम्रो होस् । परीक्षामा राम्रो सफलता हासिल गरोस् । परीक्षामा सामेल सबै विद्यार्थीले राम्रो अङ्क हासिल गरेर उच्च शिक्षा हासिल गरी देश र जनताको सेवा गर्ने अवसर पाऊन् । देशको लागि आवश्यक जनशक्ति तयार होस् । देश विकासमा विद्यार्थीहरूको साथ र सहयोग मिलोस् । सफलताको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *