भर्खरै :

गलत कार्यलाई मौका होइन रोक्ने हो

गलत कार्यलाई मौका होइन रोक्ने हो

प्रजातन्त्रलाई जीवन पद्धतिको रूपमा विकास गर्नुको अर्थ जे पनि बोल्नु र स्वतन्त्रताको अर्थ जसले जे पनि गर्न पाउनु होइन । रोजगारी या आयआर्जनको नाउँमा जसले जे पनि आपराधिक काम गर्नु उचित होइन । कसैले मानव बेचबिखन गर्न पाउनुपर्छ; महिला वेश्यालयमा पु¥याउन पाउनुपर्छ, बालबालिका बेपत्ता पार्न पाउनु पर्छ भनी माग गरे के हामीले ठीक छ भनेर समर्थन गर्ने ? जीवनको जोहो गर्न भ्रष्टाचार र अनियमितता गर्न पाउनुपर्छ भनी कसैले माग गरे के हामीले समर्थन गर्ने ? अपराधै अपराध हुने ठाउँ बन्यो भने, बेथितै बेथितिको समाज बन्यो भने भोलि यो देशको स्थिति के होला ? भोलि समाजको संरचना के होला ? यस्ता आपराधिक कार्य अन्त्य गरेर शोषणरहित समाज, आदर्शोन्मुख समाज स्थापना गरेर उदाहरणीय काम गर्नुपर्ने समयमा अपराधै अपराधको काम हुन थाल्यो भने समाज बर्बादी, अपराधी, अराजक र उच्छृङ्खल निम्त्याउनेहरूको समाज बन्ने छ । त्यो समाजमा नैतिकता, चरित्र, इज्जत, प्रतिष्ठा भन्ने नै हुनेछैन । के हामीले बेथिति, अपराधी र उच्छृङ्खलहरूको समाज स्थापना गर्न लागेको हो ?
शोषणरहित र आदर्शोन्मुख समाज स्थापना गर्नुपर्ने बेला नेकाका प्रमुख सचेतक श्याम घिमिरेले चैत ३ गते बसेको प्रतिनिधिसभाको बैठकमा पर्यटकको सङ्ख्या बढाउनको निम्ति यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने कुरा उठाए । उनले भने, “मैले त बारम्बार भन्ने गरेको छु; यौन व्यवसायको लागि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ ।” यसको अर्थ यौन व्यवसाय गर्न सरकारले छुट दिनुपर्छ भन्नु हो । यौन व्यवसाय गर्न दिएर रोजगारको अवसर दिने सचेतकको बुद्धि कतै नेपालमा एड्स रोगीहरूको सङ्ख्या बढाउने कुबुद्धि त होइन ? हामी सुन्छौँ र पढ्छौँ– संसारमा सबभन्दा बढी एड्स रोगीहरूको सङ्ख्या स्वाजिल्यान्डमा छ । कतिले स्वाजिल्यान्डलाई भिरिङ्गीहरूको देश पनि भनिन्छ । त्यहाँ राजाको दर्जनौँ पत्नी हुन्छ । राजाले प्रत्येक वर्ष नयाँ रानी भित्याउनुपर्ने चलन रहेछ । राजाले एउटा खुला महोत्सवमा अर्धनग्न महिलाहरूको भेला गरेर नाचगान गराइन्छ । नाचगानमा राजाको मन जित्ने केटीसँगै राजाको बिहे हुन्छ र दरबारमा भित्याइन्छ । राजाले नै दर्जनौँ पत्नी राख्ने त्यो देशमा ठुलठुला उद्योगपति, व्यापारी, उच्चपदस्थ व्यक्तिहरूको कति पत्नी होला ? जतिसुकै पत्नी ल्याए पनि मतलब नहुने त्यो देशमा सबभन्दा बढी एड्स रोगी भएकोमा के आश्चर्य ! के नेपाललाई पनि एड्स रोगीहरूको देश बनाउने बाटो खन्न लागेको हो ?
हामीले आदर्शाेन्मुख समाज बनाउन लाग्ने हो कि छाडा समाज ! भोलि छाडा, अराजक, उच्छृङ्खल र उत्ताउलो आदि समाजले ठाउँ पायो भने यहाँ सत्य, धर्म, आस्था, इज्जत, प्रतिष्ठा, विश्वासको समाज कहाँ खोज्न जाने ? मानव बेचबिखन तथा ओसारपसार, वेश्यावृत्ति, अपहरण, बेपत्ता पार्ने काम सबै आपराधिक क्रियाकलापमा पर्छ । यौन व्यवसाय गर्न दिनु भनेको यौन शोषण गर्न दिनु हो । देशमा यौन व्यवसायीहरू छन् भने त्यसलाई नियन्त्रण गर्नुपर्छ; तिनीहरूको निम्ति अर्को रोजगारीको व्यवस्था गर्नुपर्छ । रोजगारीको नाउँमा गलत कार्यलाई मौका दिने होइन, रोक्ने हो । देशमा पर्यटकको सङ्ख्या बढाउने उपाय यौन व्यवसाय होइन । पर्यटकको सङ्ख्या बढाउने हो भने देशमा रहेका सबै सांस्कृतिक र प्राकृतिक सम्पदास्थलहरूको मर्मत, जीर्णोद्धार, निर्माण र पुनः निर्माण गर्ने हो । सम्पदास्थल स्वच्छ, रमणीय बनाउने हो; बाटो घाटो, खानपिनको व्यवस्था गर्ने हो । यहाँका ऐतिहासिक, धार्मिक, सामाजिक स्थलहरूको राम्रो व्यवस्थापन गर्ने हो; उचित वातावरण तयार गर्ने हो; सुरक्षाको व्यवस्था गर्ने हो ।
देशमा यौन व्यवसायीहरू अहिले पनि हजारौँ छन् भनेर मान्यता दिने होइन† नियन्त्रण गर्ने हो । यौन व्यवसायलाई कानुनी छुट दियो भने समाज बिग्रिन्छ; समाजमा गलत सन्देश जानेछ । यसले असल समाज बन्दैन, बनाउँदैन । के हामीले कुरुप समाज बनाउन लागेको हो ? यौन व्यवसायलाई कानुनी मान्यता दिने कुरा संसद्मा खोकेपछि कति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरे । कतिले व्यङ्ग्य गर्दै त्यो व्यवसाय आफ्नै परिवारबाट सञ्चालन गरेर देखाउन चुनौती दिए । कति सांसदले जङ्गली युगमा लैजाने सांसदको कस्तो बुद्धि भनी छेड गरे । यौन बेचेर जिउ पाल्नेहरूको स्वास्थ्य स्थिति भोलि के होला ? लागूपदार्थ सेवन गर्ने यौन श्रमिकले आफू एचआईभी सङ्क्रमित हुँदा लाज मानेर स्वास्थ्य सेवा गर्न नआएर मृत्यु भएको खबर बेलाबखत प्रकाशमा आएको पाइन्छ । एचआईभीका रोगी, एड्सका रोगी भनी त्यस्ता व्यक्तिलाई समाजले छिः छिः र दूरदूर गर्नेछ । त्यसबेला उनीहरू एक्लिने छन्; कहाँ गएर कसरी जीवन बिताउने भनी छटपटिने छन् । उनीहरूमा मानसिक रोग लाग्नेछ । उनीहरूको बदनाम हुनेछ । त्यो समाजको निम्ति कलङ्कै हुनेछ ।
गलत काम, गलत विचार, गलत संस्कार, गलत निर्णय र नीतिको विरोध गरेर खबरदारी गर्नुपर्ने नेकाका सचेतकले नै यौन व्यवसाय गर्न पाउनुपर्ने प्रस्ताव राखेबाट नेका देशमा के चाहन्छ ? कस्तो समाज चाहन्छ भन्ने कुरा प्रस्ट छ । उद्योग, कारखाना बेचेर, राष्ट्रघाती, जनघाती सन्धि गरेर नपुगेर समाज बिथोल्ने, मन भड्काउने, मानिसको चरित्र बिगार्ने, काममा लाग्ने नेका र नेकाका नेता र सांसदहरू कसरी प्रजातान्त्रिक हुन्छन् ? त्यो प्रस्ताव सचेतकको व्यक्तिगत हो कि नेकाकै प्रस्ताव हो ? सार्वजनिक हुनुपर्छ । नेकाको प्रस्ताव होइन भने नेकाले स्पष्टीकरण लिनुपर्छ र प्रस्ताव ल्याउने सचेतक घिमिरेलाई आवश्यक कारबाही गर्नुपर्छ । मानव अधिकार भनेर यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ भन्नु समाज बिथोल्नु हो† समाजका नागरिकहरूको चरित्र बिगार्नु हो; स्वस्थ, सभ्य समाजलाई भड्काउनु हो । बरु त्यस्तो काममा लागेकाहरूलाई कुनै सिर्जनात्मक काम गर्न अवसर दिनुपर्छ र उनीहरूको जीवन सुनिश्चित बनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *