भर्खरै :

विदेश जाने लोभमा कागजी विवाह ठीक हो त ?

विदेश जाने लोभमा कागजी विवाह ठीक हो त ?

कार्यालय समयको पहिलो प्रहरमा कोठामा धेरैजना सेवाग्राहीहरू बसिरहेका थिए । उहाँहरूका काम एक–एक गर्दै सकाउँदै थिएँ । एकजना अधबैँसे आइमाई कार्यालय कोठामा रहेको छेउको मेचमा थचक्क बसिन् । मैले सुरुमा नमस्कार गरेँ । उनले पनि नमस्ते फर्काइन् । उनलाई म चिन्दिनँ, टाढाबाट आउनुभएको जनजाति जस्तो लाग्यो । गुरुङ वा मगर हुनसक्ने अनुमान गरेँ । सामान्य कपडा लगाएकी थिइन्, मुख उज्यालो थिएन । कार्यालयमा धेरैजना सेवाग्राही रहेकोले उनले थप केही बोलिनन् । म पनि आफ्नै काममा व्यस्त भएँ । करिब आधा घण्टाजति पछि ‘म जान्छु है बाबु’ भन्दै उनी मेचबाट उठ्न खोजिन् । उनी निकै असजिलो मानी उठ्न खोजेको भान भयो । सायद मसँग एक्लै कुरा गर्न खोजेकी तर मेसो नपाएकी जस्तो लाग्यो ।
“केही भन्नु थियो कि दिदी ?” मेरो प्रश्न पूरा नहुँदै उनले “हो, हो …” भनिन् । तर, थप भन्न सकिनन् । व्यक्तिगतरूपमा कुरा गर्न खोजेको जस्तो लागेर मैले उनलाई माथि कोठामा बस्न आग्रह गरेँ र कार्यालयमा रहेका अन्य सेवाग्राहीहरूसँग अनुमति लिएर म उनीसँगै माथिल्लो तलाको बैठक कक्षमा गएँ ।
उनी आरामसँग बस्न सकिरहेकी थिइनन् । उनको दायाँ हात कहिले टाउको कन्याउन त कहिले पैतला मुसार्न लागिरहेको देखेर सोधेँ, “के भयो दिदी ? तपाईँ को हुनुहुन्छ ? किन मलाई भेट्न खोज्नुभयो ?”
मैले उनलाई आरामसँग आफ्नो कुरा राख्न अनुरोध गरेँ । केही समय त चुपचाप बसिन्, केही बोलिनन् । उनले लुकाउन खोज्दा खोज्दै पनि आँखाबाट आँसु झर्न थालेको देखेँ । बायाँ हातले आफ्नो सानो हातेझोलामा रहेको रुमाल झिक्दै आँखाको आँसु पुछ्न थालिन् । मलाई असजिलो महसुस भयो । मैले तातोपानी एक गिलास दिएँ । तल कार्यालयमा मसँगै बसिरहनुभएका कार्यपालिका सदस्य दिदीलाई माथि बोलाएँ । उहाँलाई पनि अप्ठेरो भयो । उहाँ विस्तारै ती महिला दिदीनजिक बस्नुभयो र मायाले अँगालो मार्नुभयो । ती महिला एकछिन आवाज निकालेरै रुनुभयो । हामीले केही भनेनौँ ।
“तपाईँको मनको बह विस्तारै पोख्नुस् दिदी ।” कार्यपालिका सदस्यले ती महिलालाई सान्त्वना दिँदै आत्मीयता प्रदर्शन गर्नुभयो, “हामीलाई पराइ नसम्झिनुहोला दिदी, के भयो तपाईँलाई ?”
आँसु पुछ्दै ती महिलाले बोल्न थालिन्, “मेरो नाम सुन्तली मगर हो, पूर्वको दुर्गम गाउँबाट आएकी । मनमा चलिरहेको आँधीहुरी कहाँ बिसाऊँ भन्ने लागेर तपाईँहरूलाई भेट्न आएकी ।”
‘नहडबडाइकन विस्तारै आफ्नो कुरा बताउनुस् हामीलाई । हामीले केही सहयोग पो गर्न सक्छौँ कि ?”
“तपाईँहरूबाट केही उपाय निस्कने विश्वासले म यहाँ आएकी हुँ,” उनले हिक्कहिक्क गर्दै भनिन्, “मेरो जेठो छोरो हाल बेलायतमा छ । २०६० सालदेखि नै कामको खोजीमा बेलायत गएको हो । त्यसअघि हामीले गाउँको आफ्नै जात मिल्ने केटीसँग उनको विवाह गरायौँ र तिनीहरूको एउटी छोरी पनि छिन् । परिवार पाल्नुपर्छ भन्दै छोरो विदेश गयो । ठिक्कै त होला भन्ने लाग्यो ।”
“अब के भयो त ?” कार्यपालिका सदस्य दिदीले सोध्नुभयो ।
“अहिले बल्ल थाहा भयो, छोरो बेलायत जान एउटा केटीसँग कागजी विवाह गरेर गएको रहेछ । त्यो कागजी विवाह रद्द गरिएको छैन । यहाँ नातिनी ११ कक्षामा पढ्ने भइसकिन् । उनको नागरिकता बनाउन खोजेको, जन्मदर्ता नै रहेनछ । जन्मदर्ताको लागि छोरा बुहारीको विवाह दर्ता गर्नुपर्छ रे । हाम्रो गाउँपालिकामा सोधेको त छोरोको विवाह दर्ता हुन सक्दैन रे, विवाह दर्ता गरिए बहुविवाह हुने भयो र यसको कसुरमा कसैले मुद्दा हालेमा छोरालाई प्रहरीले समात्न सक्छ रे । अब नातिनीलाई कसरी नागरिकता दिलाउने ?”
उनले आँसु रोक्न सकिनन् । सुँक्कसुँक्क गर्दै भनिन्, “छोरोले कागजी विवाह गरेकी केटी यही तपाईँकै वडावासी हुन् भनी छोरोले भनेकोले तपाईँको सहयोग माग्न आएकी म ।”
छक्क पर्दै मैले कार्यपालिका सदस्यको अनुहार हेरेँ । उहाँले थाहा नपाएको इसारा गर्नुभयो ।
“को हुन् त ती केटी ?” मैले ती दिदीलाई सोधेँ ।
उनले पासपोर्ट साइजको फोटो देखाउँदै भनिन्, “छोरोले बेलायतबाटै ह्वाट्स एपमा पठाएको हो ।”
फोटो हेर्नासाथ मैले केटीलाई चिनिहालेँ । “उनको त अर्कै ठाउँमा बिहे भएर पनि छोराको व्रतबन्ध भइसक्यो त दिदी,” अनायास मेरो मुखबाट कुरा फुत्किहाल्यो ।
“तपाईँले चिन्नुहुन्छ भन्ने थाहा पाएर नै म यहाँ आएकी बाबु,” दिदीले भनिन्, “मेरी नातिनीलाई अनागरिक हुनबाट जोगाउनुस् बाबु । उनलाई जसरी भए पनि नागरिकता दिलाउनुप¥यो । नागरिकता नपाएकीले क्याम्पसको छात्रवृत्ति फारम भर्न पाइनन्, जनजातिको सिफारिस नभएकोले लोकसेवामा पनि जाँच दिन नपाउने भइन् । नातिनीको भविष्य बर्बाद हुनबाट जोगाउनुस् बाबु,” ती दिदीले बिन्तीभाव गर्न थालिन् ।
मलाई भने फसाद प¥यो । दिदीको छोरोले कागजी विवाह दर्ता गरेकी केटीलाई म राम्ररी चिन्छु । उनी मेरो टाढाको नाता पर्ने बहिनी हुन् । केटा र केटीको कसरी भेट भयो ? गाउँमा गएर कहिले कागजी विवाह गरे ? मेरो मनमा अनेक प्रश्नहरू उठ्न थाले । ती केटी बेलायत जाने बेलामा परिवारले नातागोता बोलाएर ठुलै भोज खुवाएको मलाई याद छ । तर, ती केटीसँग बेलायतमा सँगै जाने केटाको बारेमा कसैलाई पनि थाहा दिइएको थिएन ।
“कागजी विवाह गर्नलाई त केटा र केटी आपसमा परिचित हुनुप¥यो नि, होइन दिदी ? दुवैको माया प्रेम थियो कि ?” मैले दिदीलाई प्रश्न तेर्साएँ ।
“के थाहा ? छोरासँग सोध्दा बेलायत जाने चक्करमा एउटा कन्सल्टेन्सीमा जाँदा भेट भएको र दुवैजना बेलायत जानको लागि मात्र कागजी विवाह गरेको भन्थे । उनीहरू विदेशी भूमिमा पाइला टेक्ने बित्तिकै आपसमा छुट्टिएर आ–आफ्नो काममा व्यस्त भएको भनियो बाबु । ती नानी त ४ वर्ष बेलायतमा बसेर नेपाल फर्किन् रे, त्यसपछि आफ्नो नेपाली केटा साथीसँग यहीँ भक्तपुरमा विवाह गरेकी रे बाबु ।”
“अनि नचिनेका केटा र केटीबिच कसरी कागजी विवाह भयो त दिदी ?”
“खै, सङ्कटकालको समयमा त्यतिबेलाका सचिव गाउँमा बस्न नसकेर सदरमुकाममा रहँदा केटा र केटी दुवैको फोटो र नागरिकता लिएर त्यहीँबाट विवाह दर्ता गराएको भन्थ्यो छोराले । मेरो छोरो नै बुद्धिभ्रष्ट निस्कियो, के गर्ने ?”
“विवाह दर्ता गरेको कागज कोसँग छ त दिदी ?”
“त्यही त भन्या । छोरालाई त्यो कागज यता पठाउ भनेको, कागज त तिनै केटीसँग भन्छ । के गर्ने बाबु ?”
“छोरोले नेपालमै कक्षा १२ सम्म पढेको भन्नुभएको होइन र दिदी ? विदेश जाने लोभमा यसरी बदमासी गर्नु त अपराध पो भयो त ।”
“मेरो कुराले दिदी झन् तर्सिइन् । अब के हुन्छ बाबु ? साँच्चिकै मेरो छोरो नेपाल आयो भने प्रहरीले समात्छ त ?”
“तपाईँको छोरो बेलायतमा के काम गर्छ ?” मैले छोराको हालको अवस्थाबारे बुझ्न खोजेँ । जवाफमा “खोइ, केही भन्दैन । चिन्ता नगरमात्र भन्छ ।”
“फोनमा कसरी छोरासँग कुराकानी हुन्छ दिदी ?”
“ह्वाट्स एपमा बाबु । कहिले कुन नम्बर आउँछ, कहिले कुन ? छोरोलाई हामीले फोन गर्न खोज्दा लाग्दै लाग्दैन । उसैले गर्नुपर्छ ।”
पछिल्लो पटक दिदीलाई फोन गरेको ह्वाट्स एप नम्बर मैले टिपेँ । दिदीलाई चिया खान आग्रह गर्दै बाहिर गएर मैले त्यस नम्बरमा फोन गरेँ ह्वाट्स एपमार्फत । ५ रिङ गएपछि उताबाट ‘हेलो’ भन्ने आवाज आयो । मैले आफ्नो परिचय खुलाएँ । कुराकानी गर्दै गर्दा उनले कसैको ढोकाको घण्टी बजाएर पिज्जा होम डेलिभरि गरिरहेको अनुभव गरेँ । हामीबिच लामै कुराकानी भयो ।
त्यसपछि कागजी विवाह गरेकी केटीलाई फोन गरेर वडा कार्यालयमा जरुरी काम परेको भन्दै बोलाएँ । उनी हत्त न पत्त आइन् । मैले उनलाई अर्कै कोठामा लिएर गएँ र सबै कुरा बताएँ । उनले विदेश जाने लोभमा कागजी विवाह गरेको स्वीकारिन् तर बेलायत पुगेपछि कहिल्यै पनि केटासँग नभेटेको र उनीहरूबिच कुनै खालको सम्बन्ध नरहेको विश्वास दिलाउन खोजिन् ।
“यो कुरा तिम्रो हालको श्रीमान्लाई थाहा छ त ?” मेरो प्रश्नको जवाफमा उनले आफ्नो अहिलेको श्रीमान्को अनुमतिमै यस्तो काम गरेको तर सासु ससुरालाई भने जानकारी नदिएको बताइन् । उनले बिन्ती गर्दै भनिन्, “यो कुरा कसैलाई नभन्नु दाइ, नत्र मेरो अहिलेको सुखी परिवारमा बज्रपात हुन्छ । म घरको न घाटको हुन्छु । त्यसैले मेरो जीवन बर्बाद हुन नदिनुस् दाइ प्लिज ।”
मैले उनलाई यो कुरा कसैलाई नभन्ने वाचा गरेँ । उनीसँग कुरा गर्दैगर्दा केटा मान्छे बेलायतमा गैरकानुनीरूपमा बसिरहेको जानकारी पाएँ । उनले भनिन्, “म पटक–पटक नेपाल फर्किएँं, त्यो केटा अहिलेसम्म किन नेपाल फर्केन त दाइ ? ऊसँग बेलायतको भिसा पनि छैन, न त उसको पासपोर्ट नै नवीकरण गरिएको छ ।”
“बेलायती प्रहरीले अहिलेसम्म समातेन त ?” मेरो जिज्ञासा रह्यो ।
“अहिलेसम्म लुकेर काम गरिरहेको होला नि । बेलायती प्रहरीले कुन दिन समात्छ, अनि हत्कडी लगाएर अपराधीलाई झैँ नेपाल फर्काउँछ दाइ । उसलाई गिरफ्तार ग¥यो भने बेलायती सरकारले सजाय पनि सुनाउँछ, जरिवाना पनि तिराउँछ । त्यहाँको कानुन कडा छ नि दाइ ।”
केटीको कुरा सुनेर म झस्किएँ । मैले उनलाई घर जान भनेँ । यो कुरा माथि चिया खाइरहनुभएका केटाको आमाले थाहा पाइन् भने अझै तनाव थपिन सक्छ । त्यसैले, मैले यो कुरा आफ्नै मनमा सीमित राख्नु उचित ठानेँ ।
मैले कार्यालय सहयोगीलाई एक प्लेट चाउमिन ल्याएर माथि बसिरहेका दिदीलाई खुवाउन आग्रह गरेँ । दिदीसँग नम्बर मागेर उनको कान्छो छोरालाई कार्यालयमा डाकेँ । उनी यहीँ नै एउटा कलेजमा आइटी पढिरहेका छन् ।
कान्छो छोरासँग कुराकानी गर्दा अर्को नयाँ कुरा थाहा पाएँ । दिदीको जेठो छोरोलाई गाउँकै केटीसँग विवाह गराउँदा बुहारीको उमेर १६ वर्षमात्र पुगेको रहेछ र १८ वर्षको उमेरमा त नातिनी जन्मेकी रहिछन् । बुहारीले अहिलेसम्म नागरिकता नै लिएकी रहिनछन् ।
छक्क पर्दै सोधेँ, “किन यसो ? बालविवाह भएन र ?”
जवाफ आयो, “गाउँमा अहिले पनि चलिरहेको छ बाबु । छोरो विदेश गएपछि नफर्केला भनेर पहिला गाउँमा विवाह गराएका थियौँ । विवाह गरेर विदेश गएको छोरा आफ्नो श्रीमती र सन्तानको मायाले फर्कन्छ भन्ने आश हो हामीलाई ।”
कागजी नै भए पनि अघिल्लो विवाह दर्ता हुँदाहुँदै अर्को विवाह दर्ता गर्दा बहुविवाह त ठहरिने नै भयो । त्यसमाथि आफ्नो वास्तविक श्रीमतीसँग बालविवाह गरेको देखियो । आजभोलि कम्प्युटरमा सबै विवरण भरेर डिजिटल विवाह दर्ता गर्दा २० वर्षभन्दा मुनिको उमेर राख्यो भने सर्भरले लिनै मान्दैन । उमेर बढाएर विवाह दर्ता गरायो भने फेरि विवाहभन्दा अघि बच्चा जन्मेको ठहरिने भयो । अस्पतालमा बच्चा जन्मेको प्रमाणपत्रले त्यही देखाउने भयो । अर्को झमेला थपिने भयो । ती दिदीलाई यो कानुनी कुरा उनी झन् आत्तिने निश्चित थियो, त्यसैले मनमै राखेँ ।
चाउमिन खाँदै दिदीले सोधिन्, “उपाय त होला नि है बाबु । मेरो छोरोलाई स्वदेश फर्काउनु प¥यो, अनि बुहारीको नागरिकता, विवाह दर्ता र नातिनीको नागरिकता बनाइदिनुप¥यो । जसरी भए पनि यति काम बाबुबाट हुनुप¥यो । तपाईँबाट ठुलै आशा लिएकी छु बाबु ।”
“यो काम मैले गर्ने त होइन दिदी । यसका लागि त तपाईँकै गाउँपालिकामा जानुपर्छ । तैपनि, केही उपाय छ कि भनी म कानुनी सल्लाहकार र अन्य विज्ञहरूसँग सरसल्लाह भने गर्छु ।”
“यति भन्नुभयो बाबु । हजुरको जय होस् । मेरो छोरोलाई बचाउनुस् ।” दिदीले मेरो हात जोडले समाउँदै आफ्नो शिरमा राख्नुभयो । यो दृश्य कार्यपालिका सदस्य दिदीले हेरिरहनुभएको थियो । तर केही बोल्नुभएन ।
“अब तपाईँ जानुहोस्, हाम्रो तर्फबाट के गर्न सकिन्छ ? मु बुभ्mछु । चिन्ता नलिनुस् ।”
“हजुरको जय होस्,” भन्दै ती दिदी कार्यालयबाट बाहिरिनुभयो । म भने दोधारमा परेँ । कानुनले गर्न नमिल्ने काम गरेमा अपराध हुने कुरा थाहा थियो । ती दिदीलाई शान्त पार्ने नाउँमा गलत सल्लाह दिन नहुने कुरामा म प्रस्ट थिएँ । तर, उपाय के त ?
मनमनै कानुनी सल्लाहकार, प्रमुख जिल्ला अधिकारी र जिल्ला सरकारी वकिलसँग राय लिने विचार गरेँ । उहाँहरूबाट जे सुझाव प्राप्त हुन्छ, त्यही कुरा ती दिदीलाई बताउने निश्चय गरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *