भर्खरै :

क्षयरोगलाई सन् २०३५ सम्म जनस्वास्थ्य समस्याबाट हटाउन सकिन्छ

क्षयरोगलाई सन् २०३५ सम्म जनस्वास्थ्य समस्याबाट हटाउन सकिन्छ

नेपालमा पनि यो वर्ष ‘हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवासको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदै छ । हरेक वर्ष २४ मार्चका दिन विश्वभरि नै विभिन्न कार्यक्रमको आयोजना गरी विश्व क्षयरोग दिवस मनाइन्छ । सन् २०५० सम्ममा क्षयरोगविहीन विश्वको परिकल्पना साकार पार्नको लागि आजबाट नै क्षयरोग निदान र क्षयरोगको सफलता दर बढाई, क्षयरोग सर्ने प्रक्रियालाई कम गर्दै गएको खण्डमा भविष्यमा क्षयरोगलाई जनस्वास्थ्यको समस्याबाट हटाउन सकिन्छ ।
क्षयरोग एक सरुवा रोग हो, जसले सङ्क्रमित व्यक्तिबाट सजिलै अरूमा सर्न सक्छ । विश्वभरि नै यो प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ, विशेषगरी नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूमा यसले गम्भीर चुनौतीहरू सिर्जना गरेको छ । त्यसैले, यदी पर्याप्त लगानीको प्रतिबद्धता र स्वास्थ्य सेवाको सुनिश्चितता कायम गरियो भने, हामी सबैको सक्रिय सहभागिता र सहकार्य सुनिश्चित भएमा क्षयरोगलाई जनस्वास्थ्य समस्याका रूपमा अन्त्य गर्न सकिन्छ ।
क्षयरोगको वर्तमान अवस्था
विश्वको अवस्था
विश्व स्वास्थ्य सङ्गठनको ग्लोवल टीबी रिपोर्ट २०२४ को प्रतिवेदनअनुसार सन् २०२३ मा ८.२ मिलियन क्षयरोगका बिरामी उपचारमा रहेका थिए (हालसम्म विश्वमा सबैभन्दा बढी क्षयरोग पत्ता लागेको वर्ष) र त्यसमध्ये ४५ प्रतिशत दक्षिण पूर्वी एसिया, २४ प्रतिशत अफ्रिका, १७ प्रतिशत प्रशान्त क्षेत्र, ८.६ प्रतिशत मध्यपूर्व, ३.२ प्रतिशत अमेरिका र २.१ प्रतिशत युरोपमा रहेका छन् । विश्वका ८ वटा देशमा मात्र क्षयरोगका दुईतिहाइ बिरामीहरू रहेका छन् जसमा २६ प्रतिशत भारत, १० प्रतिशत इन्डोनेसिया, ६.८ प्रतिशत चीन, ६.८ प्रतिशत फिलिपन्स, ६.३ प्रतिशत पाकिस्तान, ३.५ प्रतिशत बङ्गलादेश, ४.६ प्रतिशत नाइजेरीया र ३.१ प्रतिशत डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोजस्ता देशहरू पर्दछन् । सन् २०२३ मा क्षयरोगबाट १.६ मिलियन बिरामीको मृत्यु भएको थियो र विश्वभरि चार लाख पचास हजार क्षयरोगका बिरामीहरूमा औषधि प्रतिरोधी क्षयरोगको विकास भएको थियो ।
क्षयरोगको गम्भीर प्रभाव मृत्यु दरमा पनि देखिएको छ । सन् २०२३ मा मात्रै क्षयरोगका कारण १.६ मिलियन (१६ लाख) मानिसहरूले ज्यान गुमाएका थिए, जसले यो रोग अझै विश्वका लागि गम्भीर स्वास्थ्य सङ्कटको रूपमा रहेको पुष्टि गर्छ ।
त्यसैगरी, औषधि–प्रतिरोधी क्षयरोग पनि गम्भीर चिन्ताको विषय बनेको छ । सन् २०२३ मा मात्रै विश्वभर ४.५ लाख क्षयरोग सङ्क्रमितहरूमा औषधि प्रतिरोधी स्वरूप विकास भइसकेको पाइएको थियो । यसको अर्थ परम्परागत उपचार पद्धति मात्र प्रभावकारी नभएर थप प्रविधियुक्त तथा विशेष उपचार रणनीति आवश्यक पर्दछ ।
यी तथ्याङ्कहरूले क्षयरोग नियन्त्रणका लागि अझै सशक्त उपायहरू अपनाउनुपर्ने देखाउँछ । विशेषगरी, दक्षिणपूर्वी एसिया र अफ्रिकी क्षेत्रहरूमा क्षयरोग उन्मूलनका लागि प्रभावकारी नीति, पर्याप्त लगानी, नवीनतम उपचार विधिहरू र सशक्त जनचेतना कार्यक्रमहरू सञ्चालन गर्नु अत्यावश्यक छ ।

नेपालको अवस्था
नेपालमा कुल जनसङ्ख्याको ४५ प्रतिशत व्यक्ति क्षयरोगबाट सङ्क्रमित भएका र तिनीहरूमध्ये करीब ६० प्रतिशत वयष्क व्यक्तिहरू रहेको अनुमान गरिएको छ । “राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वे २०१९” को प्रतिवेदनअनुसार नेपालमा क्षयरोगीको सङ्ख्या प्रतिवर्ष ६९ हजार देखिन्छ भने प्रतिएक लाख जनसङ्ख्यामा २४५ क्षयरोगका बिरामीहरू छन् । आ.व. २०८०/८१ मा कुल ४०७७५ जना क्षयरोगका बिरामीहरू उपचारमा रहेका थिए, त्यसमध्ये ४७.९५ प्रतिशत मधेश प्रदेश र वाग्मती प्रदेशमा रहेको तथ्याङ्कले देखाउँछ । आ.व. २०७९/८० मा कुल १२३७ जना मानिसको क्षयरोगबाट मुत्यु भएको थियो र क्षयरोगको सफल उपचार दर ९२ प्रतिशत छ । विश्व स्वास्थ्य सङ्गठनको ग्लोवल टिबी रिपोर्ट २०२३ को प्रतिवेदनअनुसार सन् २०२२ मा नेपाल विश्वमा ३० औँ बहुऔषधि प्रतिरोध क्षयरोग बिरामी भएको देशमा पर्छ ।

क्षयरोगका प्रकार
१. फोक्सोमा लाग्ने क्षयरोग
२. फोक्सोबाहेक शरीरको अन्य भागमा लाग्ने क्षयरोग

क्षयरोगका मुख्य लक्षणहरू :

१. दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु
२. साँझपख हल्का ज्वरो आउनु र पसिना आउनु
३. छाति दुख्नु र सास फेर्न गा¥हो हुनु
४. रगतसहित वा रहित खकार खोक्नु
५. खाना खान मन नलाग्नु
६. तौल घट्दै जानु र थकाइ लाग्नु

सम्भावित क्षयरोगको जोखिम समूह :
१. खकारमा कीटाणु देखिएका र बहुऔषधि प्रतिरोधी क्षयरोगका बिरामीको सम्पर्कमा रहेका व्यक्तिहरू
२. कुपोषित बालबालिकाहरू
३. एचआईभी सङ्क्रमित व्यक्तिहरू
४. मधुमेहका बिरामीहरू
५. छातीको एक्सरेमा समस्या देखिएका बिरामीहरू
५. क्यान्सर लागेका बिरामीहरू
६. लामो समयसम्म औषधि खाइरहेका बिरामीहरू
७. ज्येष्ठ नागरिकहरू
यी सबै जोखिम समूहका व्यक्तिहरूमा यदि क्षयरोगका सामान्य लक्षणहरू देखापर्नासाथ तुरुन्तै क्षयरोगको आवश्यक जाँच गरी निदान गर्नुपर्छ । प्रारम्भिक चरणमै रोग पत्ता लगाई उपचार सुरु गर्न सकेमा क्षयरोग निको पार्न सजिलो हुन्छ । यो रोग अन्य व्यक्तिमा सर्ने सम्भावना पनि कम हुन्छ । यदी साधारण क्षयरोगका बिरामीहरूले समयमै उचित उपचार नपाएमा, रोग झन् गम्भीर हुँदै जान्छ र बहुऔषधि प्रतिरोधी क्षयरोगमा परिणत हुने सम्भावना बढ्दै जान्छ । एमडीआर–टीबी सामान्य औषधिले नियन्त्रण गर्न नसकिने जटिल स्वरूपको क्षयरोग हो, जसका लागि विशेष प्रकारका औषधिहरू लामो समयसम्म प्रयोग गर्नुपर्छ । यस्ता बिरामीहरूको उपचारको सफलता दर पनि कम हुने गर्छ, किनभने रोग प्रतिरोधी क्षयरोगलाई नियन्त्रण गर्न कठिन हुन्छ । साथै, उपचार प्रक्रियामा हुने जटिलता, औषधिका असरहरू, उपचारको उच्च खर्च तथा दीर्घकालीन अस्पताल बसाइँको आवश्यकताले बिरामी, परिवार र समाजमा थप असर पार्ने गर्छ । यदि समयमै उपचार नपाएमा, बहुऔषधि प्रतिरोधी क्षयरोग जटिल अवस्थामा पुग्न सक्छ, जसले मृत्यु दरलाई समेत उच्च बनाउने गरेको छ । त्यसैले, विशेषगरी जोखिम समूहका व्यक्तिहरूमा क्षयरोगका कुनै पनि लक्षण देखिएमा, तुरुन्तै जाँच गराई उपचार सुरु गर्नु अत्यन्त जरुरी हुन्छ ।
सन् २०३५ सम्म क्षयरोगलाई जनस्वास्थ्य समस्याका रूपमा हटाउनका लागि विभिन्न सम्बन्धित निकायहरूले आवश्यक लगानी सुनिश्चित गर्नुपर्ने साथै प्रभावकारी सेवाको उपलब्धता र पहुँचलाई सुनिश्चित गर्न प्रतिबद्ध हुन आवश्यक छ ।

१. सङ्घ सरकार/राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र

  • क्षयरोग अन्त्य गर्नका लागि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पर्याप्त मात्रामा आवश्यक औषधिहरू, जिन एक्सपर्ट मेसिन, जिन एक्सपर्ट परीक्षण केन्द्रहरूमा आवश्यक सामग्रीहरू, साथै कार्टिरिड्जलगायतका अन्य आवश्यक स्वास्थ्य उपकरणहरूको सुनिश्चित आपूर्ति गर्न पर्ने ।
  • यदि यी सबै आवश्यक स्रोतसाधनहरू समयमै उपलब्ध गराउन सकियो भने क्षयरोगको शीघ्र पहिचान गर्न सहज हुनेछ, जसका कारण रोगको प्रारम्भिक अवस्थामै निदान गरी शीघ्र उपचार थाल्न सकिन्छ । यसले उपचारको सफलता दरलाई वृद्धि गर्न मात्र नभई रोगको गम्भीर रूप, जस्तै बहुऔषधि प्रतिरोधी क्षयरोग फैलिन नदिन पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ  ।
  • प्रभावकारी निदान र उपचार सेवाहरूको सङ्घ सरकार÷राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रेको सुनिश्चितताले क्षयरोग सङ्क्रमित व्यक्तिहरूको स्वास्थ्य सुधार हुनुका साथै समुदायमा रोगको सङ्क्रमण दर पनि घट्नेछ, जसले क्षयरोग जनस्वास्थ्यको समस्याका रूपबाट हटाउन मद्दत गर्नेछ ।

२. प्रदेश सरकार

  • क्षयरोग अन्त्य गर्नका लागि प्रदेश सरकारले विभिन्न रणनीतिक उपायहरू अवलम्बन गर्न आवश्यक छ । यसअन्तर्गत, स्वास्थ्यकर्मीहरूको क्षमतावृद्धि गर्नका लागि नियमित रूपमा क्षयरोगसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्छ, जसले स्वास्थ्यकर्मीहरूले रोग पहिचान, निदान तथा उपचार प्रक्रियामा दक्षता अभिवृद्धि हुनेछ ।
  • उच्च जोखिम समूहमा क्षयरोग खोजपडताललाई प्रभावकारी बनाउन पार्टेबल एक्स–रे र जिन एक्सपर्ट प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्नुपर्छ । यी प्रविधिहरू प्रयोग गर्दा क्षयरोगको समयमै र सही पहिचान गर्न सकिन्छ, जसले गर्दा उपचार प्रक्रियालाई समयमै सुरु गर्न सकिनेछ ।
  • आवश्यकताअनुसार विभिन्न अस्पतालहरूमा गुणस्तरीय माइक्रोस्कोपको व्यवस्था गरी प्रयोगशालाहरूलाई थप सुदृढ बनाउनु जरुरी छ । यसले क्षयरोग परीक्षणको दर बढाउनुका साथै रोग निदान प्रक्रिया सरल हुनेछ ।
  • सरकारी तथा निजी अस्पतालहरूमा क्षयरोगका सम्भावित बिरामीहरूलाई अनिवार्य रूपमा क्षयरोग परीक्षण गराउने पहल हुनुपर्छ । यसका लागि स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै प्रभावकारी नीति निर्माण गर्नु आवश्यक छ ।
  • क्षयरोग नियन्त्रण कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्न अनुगमन तथा मूल्याङ्कन समिति गठन गरी कार्यक्रमको नियमित अनुगमन, मूल्याङ्कन तथा सुधारका लागि आवश्यक नीति तथा रणनीति तर्जुमा गर्ने ।
  • क्षयरोग कार्यक्रमलाई निरन्तर सुदृढ बनाउन प्रदेश स्तरीय समय समयमा समीक्षा बैठक आयोजना गरी कार्यान्वयनका चुनौतीहरू पहिचान गर्दै आगामी योजनाहरू निर्माण गर्ने । यस्ता कार्यहरूको प्रदेश सरकारबाट सुनिश्चितता तथा प्रतिबद्ध भयो भने क्षयरोग नियन्त्रण प्रयासलाई थप व्यवस्थित, प्रभावकारी र दिगो बनाउन मद्दत गर्नेछ ।

३. स्थानीय तह

  • स्थानीय तहले क्षयरोग नियन्त्रणका लागि क्षयरोग मुक्त अभियानमा कार्यक्रममा सक्रिय भूमिका खेल्न आवश्यक छ । यसका लागि क्षयरोग खोजपडताललाई प्रभावकारी बनाउन टोल–टोलमा पुगेर सम्भावित बिरामीहरूको पहिचान तथा आवश्यक परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ । नजिकको निदान हुने ठाउँमा खकार ढुवानीको व्यवस्थापनसमेत गर्नुपर्छ । यस कार्यलाई निरन्तर र व्यवस्थित रूपमा सञ्चालन गर्न स्थानीय सरकारले पर्याप्त बजेट विनियोजन गर्नु आवश्यक छ ।
  • क्षयरोगबाट प्रभावित बिरामीहरूलाई नियमित रूपमा औषधि सेवन गराउने तथा उपचारलाई निरन्तरता दिनका लागि आवश्यक परामर्श, पोषण सहायता, मनोवैज्ञानिक सहयोग तथा अन्य आवश्यक सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने । यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेवक, समुदायका अगुवा तथा सम्बन्धित निकायहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन प्रणाली विकास गर्ने ।
  • क्षयरोगको उच्च जोखिममा रहेका समूहहरू जस्तै कुपोषित बालबालिका, एच.आई.भी सङ्क्रमित व्यक्ति, मधुमेहका बिरामी, वृद्धवृद्धा तथा अन्य जोखिमयुक्त समूहहरूमा क्षयरोगको प्रारम्भिक अवस्था पहिचान गरी समयमै आवश्यक निदानको लागि प्रदेश तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य तथा समन्वय गर्ने ।
  • गाउँ–गाउँमा क्षयरोगसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरी स्थानीय समुदायलाई क्षयरोगको कारण, लक्षण, रोकथामका उपाय, उपचार प्रक्रिया र नियमित औषधि सेवनको महत्वबारे जानकारी गराउने । रेडियो, नाटक, पर्चा, पोस्टर तथा सामुदायिक छलफलजस्ता विभिन्न माध्यमबाट जनचेतना अभिवृद्धि गर्ने, जसले क्षयरोगसम्बन्धी भ्रम हटाउन तथा समुदायलाई सचेत बनाउन मद्दत गर्नेछ ।
  • क्षयरोगबाट प्रभावित बिरामीहरूका लागि आत्मनिर्भर जीवनयापनको अवसर सिर्जना गर्न सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने । सिलाइ–बुनाइ, कृषि, पशुपालन, लघु उद्यम तथा अन्य व्यावसायिक सीपहरू सिकाएर उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने वातावरण तयार गर्ने । यसले बिरामीहरूलाई आत्मनिर्भर बनाउनुका साथै उपचारपछि पुनः स्वस्थ जीवनशैली अवलम्बन गर्न सहयोग पु¥याउनेछ ।
  • यदि यी सबै कार्यहरूलाई स्थानीय तह सरकारले सुनिश्चित गर्दै आवश्यक नीति तथा कार्यक्रमहरू लागु गर्न प्रतिबद्धता जनायो भने क्षयरोग नियन्त्रण तथा उन्मूलनका प्रयासहरू थप व्यवस्थित, प्रभावकारी र दिगो बन्न सक्नेछन् । स्थानीय तहको सक्रिय सहभागिताले समुदायस्तरमै क्षयरोगको पहिचान, रोकथाम र उपचारलाई तीव्रगतिमा अघि बढाउन मद्दत गर्नेछ, जसले नेपाललाई क्षयरोगमुक्त राष्ट्र बनाउने लक्ष्य प्राप्त गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ ।

४. गैरसरकारी तथा निजी संस्थाहरू

  • क्षयरोग बिरामीहरूलाई आवश्यक पोषण सहायता तथा मनोवैज्ञानिक परामर्श प्रदान गर्न गैरसरकारी तथा निजी संस्थाहरूले विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
  • निजी अस्पताल तथा क्लिनिकहरूले फोक्सोको क्षयरोग परीक्षण तथा क्षयरोगको उपचार सेवाहरू निःशुल्क उपलब्ध गराउन प्रतिबद्धता गर्नुपर्ने ।
  • सीपमूलक तालिम (जस्तैः सिलाइ–बुनाइ, साना उद्यम, कृषि आदि) प्रदान गरी क्षयरोग निको भइसकेपछि बिरामीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्ने ।
    सरकारी, गैरसरकारी तथा निजी संस्थाहरूले यी क्षेत्रहरूमा सक्रिय भूमिका निर्वाह गरेमा, क्षयरोगलाई जनस्वास्थ्य समस्याका रूपमा हटाउन सकिन्छ साथै यस्ता प्रयासहरूलाई अझ प्रभावकारी र दिगो बनाउन सहज हुनेछ । सबै पक्षको सहकार्यले नेपाललाई सन् २०३५ सम्म क्षयरोगलाई जनस्वास्थ्य समस्याबाट मुक्त गराउन सकिनेछ । साथै सन् २०५० सम्म क्षयरोगमुक्त राष्ट्र बनाउने लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्नेछ ।

(जनस्वास्थ्यकर्मी यादव पोखरा विश्विविद्यालयका उपप्राध्यापक हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *