भर्खरै :

जुनसुकै वर्ग र समुदायका विद्यार्थी भए तापनि बिनाभेदभाव पठनपाठन गराउनुपर्ने

जुनसुकै वर्ग र समुदायका विद्यार्थी भए तापनि बिनाभेदभाव पठनपाठन गराउनुपर्ने

भक्तपुर, १५ चैत । भक्तपुर नगरपालिकाका २१ वटा आधारभूत विद्यालयहरूको शैक्षिक, भौतिक अवस्थाबारे नेपाल क्रान्तिकारी शिक्षक सङ्घ नगर समितिद्वारा तयार पारिएको अध्ययन प्रतिवेदन प्रस्तुतीकरण तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनील प्रजापतिले भक्तपुरको शैक्षिक उपलब्धि स्तर राम्रो भएको कारण देशभरिका विद्यार्थीहरू भक्तपुरमा आएर पढ्ने वातावरण बनेको चर्चा गदैै जुनसुकै वर्ग र समुदायका विद्यार्थी भए तापनि बिनाभेदभाव पठनपाठन गर्नुपर्ने बताउनुभयो ।
सीमित स्रोत साधनबाट आवश्यकताहरू परिपूर्ति गर्नुपर्ने परिस्थितिलाई स्वीकार गर्दैै भनपाले क्रमशः शैक्षिक उन्नतिको लागि कार्यक्रम बनाउँदै आएको स्मरण गर्दै प्रस्तुत अध्ययन प्रतिवेदनमाथि व्यापक छलफल चलाई आवश्यक कार्यक्रम ल्याउने बताउनुभयो ।
विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले निजी र सामुदायिक विद्यालयमा पनि सिकाइ स्तर विभिन्न तहको हुने गरेको चर्चा गर्दै विद्यालय शिक्षामा भौतिक पूर्वाधार र शिक्षकको व्यवस्थापन तथा क्रियाशीलताले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार दिए तापनि सम्पूर्ण अधिकार प्रत्यायोजन नहुँदा कार्यान्वयनमा समस्या देखापरेको चर्चा गर्दै सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने भन्दा विद्यालय शिक्षाबाट पन्छिने प्रवृत्ति देखिएको बताउनुभयो ।
नेक्राशिसङ्घका जिल्ला अध्यक्ष गणेशराम थुसाले भक्तपुरको शैक्षिक उन्नतिको लागि शिक्षक, अभिभावक, विव्यसलगायतका स्थानीय जनताको योगदान रहेको चर्चा गर्नुभयो ।
आयोजक समितिका दीपक माकद्वारा प्रस्तुत अध्ययन प्रतिवेदनको छलफलमा भाग लिंदै विव्यस अध्यक्ष तथा प्रधानाध्यापकहरूले महत्वपूर्ण सुझावहरू राख्नुभयो ।
छलफल कार्यक्रममा रीता लाखेमरु, सजनमान प्रधान, सूर्यबहादुर फोजु, प्रेमनाथ सुवाल, कृष्णप्रसाद सुवाल, कृष्णगोपाल आचार्य, लक्ष्मीनारायण दुवाल, कृष्णगोविन्द दुवाल, राजकृष्ण गोरा, सूर्यप्रसाद श्रेष्ठ, नारायणप्रसाद त्वानाबासुले विद्यालय गतिविधि र समस्याबारे जानकारी दिनुभयो ।
सो अवसरमा शिवराम बोहजु, रत्नप्रसाद फैजु र विश्वराम प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *