भर्खरै :

लघु कथा – आहा ! कस्तो रस

लघु कथा – आहा ! कस्तो रस

“हा.. । हो…से, हैँसे । आहा ! कस्तो रस । हेर्नुस् त  । भैरव रथको बेतालसँगै बसेका दायाँ हात उठाएर रथ तान्ने अगुवाइ गरी चिच्याएका युवाको अनुहार कस्तो उमङ्ग र रसपूर्ण छ । अनि रथ तान्ने युवाहरूको बोली पनि त्यस्तै छ । ओहो ! युवाहरू सबै मिलेर रथलाई कति मच्चाएको, कति नचाएको !” बाहिरी जिल्लाबाट जात्रा हेर्न आएका एक युवकले हरेक वर्ष जात्रा हेर्न आउने त्यस्तै अर्को युवकलाई भने ।
ती हरेक वर्षजसो जात्रा हेर्न आउने युवकले मन चङ्गा भएर भने,“ओहो ! आनन्द र रमाइलोको त सीमा नै छैन । कस्तो रमाइलो ! अनि कस्तो रस । त्यही भएर बर्सेनि टाढाबाट यो जात्रा हेर्न आउने गरेको छु । जात्रा हेर्दाहेदैँ मेरो पनि मन त रथजस्तै मचिन्छ, नाचिन्छ । रथ तानौँ तानौँ जस्तो हुन्छ । तन भने यहाँ पाँचतले मन्दिरमै छ । सधैँ यहीँ मन्दिर अगाडिको फराकिलो टौमढीमा सबै युवाहरू मिलेर रथ मच्चाएको, रमाइलो गरेको भए कति जाती हुन्थ्यो है । यहाँ जस्तो रथ तान्न, गुडाउन, नचाउन सुरक्षित अनि आनन्दका साथ सबैले हेर्न मिल्ने ठाउँ अन्त कहीँ छैन । यहाँबाट रथ अन्त लानु भनेको पुर्खाले बनाएको सम्पत्ति मन्दिर, विहार, पाटी, धारा, घर आदि बिगार्ने मात्र हुन्छ । फेरि यसपालि मात्र स्थानीय जनताको साथ र सहयोगमा भक्तपुर नगरपालिकाले लक्ष्मी नरसिंहको सुन्दर मन्दिर बनाएको छ । त्यहाँका जनताले त्यसमा रथ अड्काएर बिगारिदेलान् भनेर पिर लिएका छन् । नजिकै जात्रा हेरिरहेका दिदी आमाहरू चिन्ता लिएर खासखुस कुरा गरेको मैले सुनेँ ।
साथीको गम्भीर कुरा सुनेपछि उनले पनि त्यस्तै गम्भीर भएर भने, त्यसमा रथ तान्ने युवा साथीहरूले पनि विचार पु¥याउनुपर्छ । त्यो सुन्दर मन्दिर बिगार्यो भने भक्तपुर र देशकै बेइज्जत हुन्छ । अहिले त सूचना प्रविधिको युग छ । ड्रोनहरूले यो महत्वपूर्ण रसपूर्ण जात्राको विश्वमा प्रत्यक्ष प्रसारण गरिरहेको हुन्छ । हामी सबै धैर्य र अनुशासित भएर त्यसलाई जोगाउनु पर्छ । रथलाई समयमै गन्तव्यमा पु¥याएर जात्रालाई राम्रो बनाउनुपर्छ । यसो भयो भने भक्तपुरको जात्रा, संस्कृति, सान, विश्वमै फैलेर राम्रो सन्देश जानेछ । अनि पर्यटकहरू पनि धेरै नेपाल घुम्न आउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *