भर्खरै :

सम्मुनत समाज निर्माणमा लेखक र साहित्यकारहरूको पनि योगदान

सम्मुनत समाज निर्माणमा लेखक र साहित्यकारहरूको पनि योगदान

निरङ्कुश पञ्चायती व्यवस्था अन्त्यमा किसान, मजदुर, विद्यार्थी, युवा, महिला, शिक्षक, कर्मचारी, व्यापारी, व्यवसायी, इन्जिनियर, वकिलहरूको मात्र होइन लेखक, कलाकार, सञ्चारकर्मी र साहित्यकारहरूको पनि महत्वपूर्ण योगदान छ । जनतामा राजनीतिक चेतना दिन, सांस्कृतिक स्तर उठाउन, वैचारिकरूपले सुसूचित पार्ने काममा प्रगतिशील लेख, गीत, कथा, कविताले ठुलो सहयोग गरेको हुन्छ । गीत, कथा र कविताजस्ता साहित्य र सङ्गीतले जनताको व्यथा र पीडा बोलेको हुन्छ; त्यस व्यथा र पीडाले मन छोएको हुन्छ । जनतामा छिटो प्रभाव पार्ने या मन जित्ने एक माध्यम साहित्य हो । यसकारण, जिल्ला जिल्लामा साहित्य सम्मेलन, साहित्य गोष्ठी, साहित्यिक अन्तरक्रिया, पुस्तक अध्ययन गोष्ठी भइरहेको हो । यसै सिलसिलामा आज शनिबार ललितपुरको देवननीमा चौथो नेपालभाषा साहित्य तःमुंज्या हुँदै छ । यस्तै तःमुंज्या काठमाडौँ र काभ्रेमा पनि प्रत्येक वर्ष भइरहेको छ । भक्तपुरमा त तःमुंज्या सुरू भएको चार दशकभन्दा बढी भइसकेको छ । त्यस्तै विविध भाषा साहित्य सम्मेलन मध्यपुरको विभिन्न टोलमा हुँदै आएको छ ।
देशमा राजनीतिक परिवर्तन भए पनि जनइच्छाअनुसार काम भएको पाइँदैन । राजनीतिलाई पैसा कमाउने माध्यम बनाइयो । सत्ता पाउन सिद्धान्त र विचारविपरीत भागबन्डा गरियो । राजनीतिक संस्कार भुल्दा, अवसरवादी बन्दा, शासक दलका नेताहरू दलगत र व्यक्तिगत स्वार्थमा लाग्दा देशमा बेथिति बढ्यो; भ्रष्टाचार र अनियमितता बढ्यो । सारमा राजनीतिप्रति वितृष्णा बढ्यो । यस्तो बेला परिवर्तनकामी या प्रगतिशील लेखक, कलाकार, साहित्यकारहरूको महत्वपूर्ण योगदान हुन्छ । लेखकले लेख लेखेर, साहित्यकारहरूले कथा, कविता रचना गरेर कलाकारहरूले गीत गाएर जनताका आवश्यकता र समस्याबारे सुसूचित पार्ने काम गर्नुपर्ने हुन्छ । राजनीतिक कार्यकर्ता र सञ्चारकर्मीझैँ लेखक र साहित्यकारहरू जुटिरहनुपर्छ । प्रगतिशील लेखक, कलाकार र साहित्यकारहरूले साहित्य रचेनन्, गीत गाएनन् भने प्रतिक्रियावादी साहित्य र पुँजीवादी साहित्यले ठाउँ पाउनेछ । विश्वको इतिहासमा बन्दुकको शक्तिभन्दा कलमको शक्तिको पनि बेजोड प्रभावकारी भूमिका हुन्छ । अतः हामीले माक्र्सवादी साहित्य अध्ययन गर्नुपर्छ । रूसी क्रान्तिमा म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यासले पनि सहयोग गरेको साहित्यिक इतिहास पढ्न पाइन्छ ।
प्रगतिशील लेखक, कलाकार तथा साहित्यकारहरू प्रतिक्रियावादीहरूको निम्ति आँखाको कसिङ्गर बन्छन् । कति लेखक तथा साहित्यकारहरूले देश निकालाको सजाय पाएका छन् । तर, सिद्धान्त र विचारबाट प्रेरित लेखक र साहित्यकारहरू शत्रुसामु झुक्दैनन्, आफूसँग भएको सीप, कला या अनुभव साहित्यको माध्यमबाट जनतामाझ पु¥याउँछन्; जनतालाई बिउँझाउने काम गर्छन् र शत्रुलाई खबरदारी गर्छन् । ‘मकैको खेती’ नामक पुस्तक लेखेकै कारण राणा शासनमा कृष्णलाल अधिकारीको सबै किताब जफत गरी नष्ट गरियो र उनको जेलमै मृत्यु भयो । जसरी पञ्चायती कालमा निरङ्कुश पञ्चायती शासकहरूको विरोधमा लेखक, साहित्यकारहरूले कलम चलाए त्यसरी नै भ्रष्टाचार, अनियमितता, बेथिति निम्त्याउने पुँजीवादी व्यवस्थालाई अन्त्य गर्न या कमजोर बनाउन निरन्तर कलम चलाइरहनुपर्छ । देश विदेश जहाँ रहे पनि लेखक, कलाकार, साहित्यकारहरूले जनताको पीडा र समस्याबारे साहित्य रच्नुपर्छ । राजनीतिक परिवर्तनमा राजनीतिक दलका साहित्यिक, सांस्कृतिक सङ्गठनको महत्वपूर्ण योगदान रहेको हामीले भुल्नु हुँदैन ।
देशमा व्याप्त विकृति र विसङ्गति अन्त्य गर्न बेथिति र कुशासन अन्त्य गर्न, समुन्नत, सभ्य र सुसंस्कृत समाज या आदर्शोन्मुख समाज गठन गर्न लेखक, कलाकार र साहित्यकारहरूको प्रयास निरन्तर भइरहनुपर्छ । परिवर्तन र प्रगतिशील चेत भएका नयाँ नयाँ माक्र्सवादी साहित्यकारहरू तयार गर्ने काममा समय–समयमा हुने साहित्यिक र सांस्कृतिक सम्मेलनले सहयोग पु¥याइरहेको छ । यस काममा नेपालभाषा साहित्य तःमुंज्या, विविध साहित्यिक सम्मेलनको योगदान पनि उल्लेखनीय छ । अतः प्रगतिशील साहित्यकार र कलाकारले माक्र्सवादी साहित्य लेख्नुपर्छ; माक्र्सवादी साहित्यबारे विद्यार्थी, युवामाझ अन्तरक्रिया, छलफल, गोष्ठी गरिरहनुपर्छ । नयाँ नयाँ साहित्यकारहरू तयार गर्ने काममा हाम्रो प्रयास भइरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *