मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, ३ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले शिक्षकहरूको आन्दोलन उत्पादन श्रमसँग जोडिएको शिक्षा निःशुल्क र अनिवार्य बन्दोबस्तको लागि हुनुपर्नेमा जोड दिनुभयो ।
“बेलायती साम्राज्यवादले भारतका पुँजीवादी पार्टीका नेताहरूलाई आर्थिक सहयोग गराएजस्तै भारतीय शासकहरूले नेपालमा पुँजीवादी पार्टीहरूलाई आर्थिक सहयोग गराएका छन् । शिक्षकहरूले यो यथार्थ नयाँ पुस्तालाई बताएमात्र देश विदेशीको चङ्गुलमा पर्नेछैन ।” अध्यक्ष बिजुक्छेँले शिक्षकहरूको एक भेलामा बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले थप्नुभयो, “चिनियाँ साहित्यकार लुसुन कम्युनिस्ट पार्टीको सदस्य हुनु हुन्थेनन् । तर, माओ त्सेतुङले उहाँलाई एक कम्युनिस्टभन्दा माथिको भन्नुभयो ।”
“सरकारले नेपालमा शिक्षकहरूलाई खटाउँदा सो क्षेत्रको भाषा र संस्कृति बुझेकालाई खटाउनु जरूरी हुन्छ । शिक्षक सांस्कृतिक र राजनीतिक विषयमा जानकार भए विद्यार्थीलाई बुझाउन सजिलो हुनेछ ।” अध्यक्ष बिजुक्छेँले औँल्याउनुभयो ।
अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापार युद्ध उसैका लागि अहित हुने बताउनुभयो ।
“नेपाल विश्व व्यापार सङ्गठनमा सदस्य बन्यो । तर, निर्यात गर्ने वस्तु छैन । परिणाम विदेशी विद्यालय र कलेज, अस्पताल, सामान साँढेझैँ नेपाल पसे । निजी हवाई सेवा आएपछि नेपाल वायु सेवा निगम डुब्ने भयो । निजी बैङ्कहरूले नेपाल सरकारको लगानी भएको बैङ्क डुब्दै छन् । पुस्तौँ पुस्ता लागे पनि नेपाल क्रान्तिकारी शिक्षक सङ्घका सदस्यहरूले यो यथार्थबारे जनतालाई शिक्षित गर्न छाड्नु हुन्न ।” अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो ।
बहुदलीय व्यवस्था पुनः स्थापनापछि पार्टीको तर्फबाट आफू प्रतिनिधिसभा सदस्य भएपछि सांसदहरूलाई विदेशबाट सुन ल्याउन दिन नहुने, भन्सार सुविधाको गाडी किन्न लगाउन नहुने र निवृत्तिभरणको व्यवस्था गर्न नहुने विषय उठाएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले यस्तै लोभमा परेका पश्चिम नेपालका सांसदहरू पुँजीवादी पार्टीमा गएको तर, हामीले देश र जनताको निःस्वार्थरूपमा सेवा गर्न छाड्न नहुने उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले अहिले राजतन्त्रको विषय उठाउनु केटाकेटी बेलाको लुगा ठुलोमा ठीक नहुने भनेजस्तै भएको दोहो¥याउनुभयो ।
“संरा अमेरिकामा एक गोरा प्रहरीले काला जातिका जर्ज फ्लोयडलाई घाँटी थिचेर मारेपछि यसको विरोधमा संसारभरि उठेको आन्दोलनको क्रममा बेलायतका न्यायप्रेमी जनताले त्यहाँका पूर्वप्रधानमन्त्री चर्चिलको सालिक ढालेका थिए । पेरिस कम्युनलाई दबाउने नेपोलियन पनि शान्तिसँग मर्न सकेनन् । नेपाली जनतालाई आजको यो सङ्कटमा पु¥याउने शासकहरू पनि शान्तिसँग मर्न पाउने छैनन्”, अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
“जिल्ला शिक्षा कार्यालय पुनः स्थापना गर्नु सङ्घ राज्य र विकेन्द्रीकरणको सिद्धान्तविपरीत हो । यो एकात्मक राज्य अर्थात् राजतन्त्रको समर्थन गर्नु हो ।” अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले लेनिन नेतृत्वको बोल्शेभिक पार्टीमा मेलोनोभस्कीजस्ता गुप्तचर घुसेर सांसद भएको उल्लेख गर्दै नेपालका कुन कुन मन्त्री र सांसद कुन कुन देशका गुप्तचर हुने हो शिक्षकहरूले खुट्याउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य प्रेम सुवालले देशको सन्तुलित विकास गर्नुपर्नेमा जोड दिई अभिभावकहरूलाई सहरमा बसाईँ सराइ गराउने र विद्यार्थीसमेतलाई स्थानान्तरण गराई जिल्लाका ठुलठुला विद्यालय भवनमा विद्यार्थी अति कम बनाउँदै आ–आफ्ना शिक्षकसमेतलाई सहरमा सरूवा गराउने सरकारको काम देश र जनताको हितमा नभएको उल्लेख गर्नुभयो ।
सांसद सुवालले एसईई परीक्षा खारेज गरिए देशको विद्यालय शिक्षा कमजोर हुने र यसबाट विश्वविद्यालय शिक्षासमेत कमजोर हुनेतर्फ सरकारलाई सचेत गराउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका अध्यक्ष ज्ञानसागर प्रजापतिले सामुदायिक विद्यालयलाई प्रभावकारीरूपमा सञ्चालन गर्न सबै शिक्षकहरू लागिपर्नुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply