यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
पिछडिएको, हेपिएको, आर्थिक अवस्था जर्जर भएको, चिनियाँ सामन्तहरूले चिथोरिएको र साम्राज्यवादी देशहरूले लुटिएको देश चीनलाई चिनियाँ कम्युनिस्ट पार्टी र जनवादी गणतन्त्र चीनले ल्याएको अभूतपूर्व परिवर्तन र विकास नेपाल र नेपालीजस्ता गरिब र विकासशील देशको निम्ति शिक्षामूलक देखेरै ‘चिनियाँ जनकम्युन’ पुस्तक प्रकाशित भएको हो ।
पुरानो अर्धसामन्ती, अर्ध उपनिवेशिक, देशी र विदेशी शत्रुबाट प्रताडित चीन आज आत्मनिर्भर, शक्तिशाली, समृद्ध अर्थतन्त्र, विश्वको लागि बाटो देखाउने एक भरपर्दो मुलुक बनेको छ, यसले चमत्कारिक प्रगति गरेर विश्वलाई चकित पारेको छ । यो चिनियाँ कम्युनिस्ट पार्टी र जनवादी गणतन्त्र चीन सरकारको सफलता हो । मानिसको निम्ति बिनाअर्थ बिताएको सयौँ हजारौँ दिनभन्दा उपलब्धिमूलक या क्रान्तिको निम्ति तन, मन, अर्पण गरिएको दिन मूल्यवान र अर्थपूर्ण हुन्छ । चिनियाँ जनता र जनवादी गणतन्त्र चीनको त्यस्तै गौरवमय सङ्घर्ष र योगदानले चीन संसारकै लागि मार्ग निर्देश गर्ने देश बनेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले पुराना विचार, संस्कृति, रीतिरिवाज र चालचलन फ्याँकेर नयाँ विचार, नयाँ संस्कृति, नयाँ रीतिरिवाज र नयाँ चालचलनको विकास ग¥यो । जनवादी गणतन्त्र चीनले चिनियाँ कम्युनिस्ट पार्टीको मार्ग निर्देशनमा वैचारिक, प्राविधिक र सांस्कृतिक क्रान्ति ग¥यो ।
जन्मजात कोही क्रान्तिकारी बन्दैन । यसको लागि क्रान्तिकारी पार्टी चाहिन्छ, क्रान्तिकारी पार्टीले मात्रै आमूल परिवर्तनको निम्ति सङ्घर्ष गर्छ, सङ्घर्ष गर्न बाटो तयार गर्छ र आमूल परिवर्तन हुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको क्रान्तिले सामन्ती, जमिनदारी व्यवस्था उल्ट्यायो र समाजवादी व्यवस्था लागु ग¥यो । समाजवादी व्यवस्था लागु गर्ने सिलसिलामा सन् १९४९ को क्रान्तिपछि १९५२ मा पारस्परिक सहयोग दल गठन भयो । सन् १९५४ मा प्राथमिक खेती उत्पादक सहकारी संस्था, १९५६ मा खेती सहकारी संस्था खोल्यो । श्रमशक्तिको राम्रो उपयोग गर्न र खेतीलाई सामाजिकीकरण गर्ने सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशनमा खोलेका पारस्परिक सहयोग दलदेखि चिनियाँ जन कम्युनसम्म स्थापना गर्दा जनताले अनेक चुनौती र समस्या झेलेका थिए, तर विश्राम नगरी एकपछि अर्को सुधार गर्दै परिवर्तन पनि गरे ।
पारस्परिक दल खोल्नुको उद्देश्य बढीभन्दा बढी उत्पादन बढाउनु र श्रममा सामूहिकताको विकास गर्नु हो । स्थानीयबिच भइरहेको अन्तरविरोध, वर्गभेद हटाउन सङ्गठनको आवश्यक ठानी प्राथमिक खेती सहकारी संस्था स्थापना भएको हो । योग्यताअनुसार कार्य विभाजन गर्न, श्रम शक्तिको राम्रो उपयोग गरी प्रविधिको आधारमा खेती गरेर बढी उत्पादन गर्न, उत्पादित वस्तु सामूहिकरूपमा वितरण गर्न यसले सघायो । चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई समाजवादी खेती सहकारी संस्थामा बदल्न अभिप्रेरित ग¥यो, उत्पादनका साधनलाई सामूहिक स्वामित्वमा बदल्ने काम ग¥यो, हरेकलाई आफ्नो कामअनुसारको वितरण व्यवस्था मिलायो ।
चिनियाँ जन कम्युनले प्रविधिको विकास गरेर खेतीको विकास ग¥यो, पशुपालन, वन उद्योग, माछापालन, कुटीर व्यवसायमात्र होइन व्यापार व्यवसायको विकास ग¥यो, शिक्षा र संस्कृतिको विकास ग¥यो, भित्री र बाहिरी शत्रुहरूबाट जोगिन जनसेनाको विकास ग¥यो । जन कम्युनमा खाने, लाउने, बस्ने, पढ्ने स्वास्थ्योपचार गर्ने, अन्तिम संस्कार गर्ने काम भयो । कम्युनभित्रै पुस्तकालय, प्रसूतिगृह, मनोरञ्जन हल, नाटक घर, पार्क र अनेक पसल स्थापना भयो । अस्पताल, सामूहिक भान्छाघर, शिशुशाला, बालोद्यान खोलियो । ज्येष्ठ नागरिक, बालबालिका, टुहुरा, असहाय आदिलाई निःशुल्क खानपिन घरसम्मै लाने व्यवस्था भयो । जनकम्युन सामाजिक संस्था भएर पनि राज्यको एक महत्वपूर्ण प्रशासनिक अङ्ग बन्यो ।
गाउँ–गाउँमै रोजगारीको अवसर मिल्यो, कामअनुसार नगदी र जिन्सी वितरण गरियो, शान्ति सुरक्षाको बन्दोबस्त भयो, त्यहाँको जग्गा, कारखाना, खेतीपाती औजारहरू, जग्गा जोतिने वस्तु व्यक्तिगतबाट समुदायको स्वामित्वमा ल्याउने काम भयो । सारमा, समाजवादी प्रजातान्त्रिक पारिवारिक व्यवस्थाको बन्दोबस्त भयो । यी सबैको बन्दोबस्त जन कम्युन लागु गरेको पेइचिङको सहरी कम्युन, पश्छिमी झीलको कम्युनको एक फार्म र साङ्घाईको मौछ्याऊ जन कम्युनमा भयो ।
सहकारी संस्था र जन कम्युनमा बन्दोबस्त गरिएको सामूहिक काम, सामूहिक भान्छाघर, सामूहिक पसल र सामूहिक नगद र जिन्सी वितरणलाई पुँजीपति र सामन्ती चिन्तनका व्यक्तिहरूको लागि असह्य भयो । चीनमा मात्र होइन नेपालमा पनि जनमतसङ्ग्रहपछि भएको अन्य निर्वाचनमा विशेषगरी कम्युनिस्ट पार्टीले निर्वाचनलाई उपयोग गरेपछि नेपाली काङ्ग्रेसका नेताहरूले त्यसको झूटा प्रचार गरे । नेकाका सर्वोच्च नेता भनिएका गणेशमान सिंहसमेतले भक्तपुरकै गाउँ–गाउँको बस्तीमा कम्युनिस्टहरू एकै कोठामा सुत्छन् या वृद्धवृद्धा, युवायुवती, बालबालिका एउटै कोठामा सुत्छन्, चरित्रको ख्याल गर्दैनन्, बुढाबुढीलाई डोकोमा राखेर भीडबाट खसाल्छन् आदि झूटा प्रचार गरे । तर, ढाँटेको कुरा काटे पनि मिल्दैन ।
समाजवादी अवधारणाअनुसार चीनको पेइचिङमा एक सहरी कम्युन खोल्यो । सन् १९४९ को क्रान्तिपछि सुरु सुरुमा गाउँ–गाउँमा खोलेको जनकम्युन पछि सहरमा विकास भयो । जन कम्युनले पुरानो स्मारक स्थलको संरक्षण ग¥यो, जसरी भक्तपुर नपाले पाँचतले मन्दिर, भैरवनाथलगायत अन्य मन्दिरको संरक्षण ग¥यो । क्रान्तिपछि पुराना घरहरू भत्काएर नयाँघर बनाइयो, पुरानो बजारलाई नयाँ बजारमा परिणत गरियो । सडकको बिच–बिचमा हरियाली बनाउन पार्क, बगैँचा र फूलबारी बनाइन थाल्यो ।
जनताको सांस्कृतिक र राजनीतिक स्तरसँगै उत्पादनको काम र घरेलु काममा सुधार भयो, चुलो विद्युतीकरण भयो । ज्येष्ठ नागरिक, बालबालिका र असहायहरूको हेरविचार, पालनपोषण र स्वास्थ्योपचार व्यवस्थित भयो । काममा प्रतिस्पर्धा भयो । कामअनुसारको ज्याला र जिन्सी वितरण गरियो । कम्युनमा रहेका जनतामा खुसी छायो, जन कम्युन, कम्युनिस्ट पार्टी र जनवादी गणतन्त्र चीन सरकारप्रति जनताको विश्वास बढ्यो ।
पेरिसको कम्युनमा साना ठुला दर्जनौँ कारखाना खोलेस शिशुशाला र भान्छाघर खोले, कारखानामा मजदुरहरूले काम पाए । यी सबै भान्छाघर, शिशुशाला, कारखानाहरूमा आएका कुनै पनि समस्या कम्युनिस्ट पार्टीको निर्देशनमा कम्युनको मुख्य कार्यालयले गथ्र्यो ।
पच्छिमी झीलको कम्युनमा विशेषगरी चिया र फलफूलको खेती हुन्थ्यो । जनवादी क्रान्ति र कम्युनको स्थापनाले प्रविधिको विकास भयो, चिया उत्पादन बढ्यो, किसानको आम्दानी बढ्यो र जीवनस्तर वृद्धि भयो । चिया टिप्न सजिलो भयो । त्यस कम्युनमा पनि भान्छाघर, शिशुशाला, बालोद्यान, स्वास्थ्य उपचार केन्द्र, सहकारी पसल, चिया कारखाना आदिको बन्दोबस्त थियो । कम्युनको बालोद्यानमा नानीहरू देशभक्त र जनसेनाको गीत गाउँथे । गीतमा देश बचाउने देशभक्त र साम्राज्यवादविरोधी भावना उजागर गरिएको हुन्थ्यो । देश बचाउन एकढिक्का हुनुपर्ने सन्देश गीतमा पाइन्थ्यो । कम्युनमा एकातिर स्वचालित नयाँ किसिमका उत्पादनको साधनले काम गरिरहेको हुन्थ्यो भने अर्कोतिर पुरानै ढङ्गको हातैले काम गरेर उत्पादन गरिरहेको हुन्थ्यो ।
साङ्घाई चीनको एक ऐतिहासिक विशाल र सङ्घर्षको थलो हो । अफिम युद्धपछि त्यहाँ बेलायती, अमेरिकी, फान्सेली र जापानको उपनिवेश कायम भएको थियो । साम्राज्यवादी देशहरूले साङ्घाईलाई विभाजित गरेका थिए । जनताको अथक सङ्घर्षले गर्दा सन् १९४९ मे २८ मा यो साम्राज्यवाद र प्रतिक्रियावादी पञ्जाबाट मुक्त भएको थियो ।
माछ्याऊ कम्युन सन् १९५८ सेप्टेम्बर २९ मा स्थापना भएको थियो । क्रान्तिभन्दा पहिले ७० प्रतिशतभन्दा बढी जग्गा जमिनदारको हातमा थियो । जग्गाविहीन किसानले बाध्य भएर जमिनदारको जग्गा जोत्नुपथ्र्यो । लगाइएको बाली कहिले अतिवृष्टि, कहिले असिना, कहिले कीरा त कहिले त्यस्तै अन्य प्राकृतिक प्रकोपले बाली नष्ट हुन्थ्यो । किसानहरू भोकभोकै मर्थे । जीवन निर्वाह गर्न तिनै जमिनदारसँग बढी ब्याजमा रकम लिनुपथ्र्यो, कुत तिर्नुपथ्र्यो । किसानहरूको लागि मागेर खाने, रकम तिर्न नसकेर जेल जाने र आत्महत्या गर्नेबाहेक उपाय थिएन । त्यस्तो समाजलाई चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको क्रान्तिले उल्ट्याइदियो । जनतामा राजनीतिक चेतना बढ्यो र खेतीमा समाजवादीकरण गर्ने प्रेरणा मिल्यो ।
त्यस कम्युनमा खेतीको साथै पशुपालन हाँस, कुखुरापालन भयो । कम्युनभित्रै कृषिऔजार, रासायनिक मल, सिमेन्ट, इँटा पोल्ने कारखानाहरू स्थापना भए । खेत जोत्न ट्याक्टर, सामान लैजान ट्रक, लहरी विद्युतीय साधन र अपरेटरहरू बने । उत्पादन बढ्यो, कम्युनप्रति विश्वास बढ्यो । शिक्षा र संस्कृतिमा प्रगति भयो ।
कम्युनमा प्रावि, मावि र प्राविधिक विद्यालय स्थापना भए । एउटा केन्द्रीय अस्पतालको बन्दोबस्त भयो । उपचार केन्द्र र प्रसूतिगृह भए । सामूहिक भान्छाघर, शिशुशाला र बालोद्यान बनाइए । कम्युनभित्रै लेखक, कवि, कलाकारहरू जन्मे । उनीहरूले गरिबका दुःख सुखका गीत गाए ।
कम्युनमा उत्पादनको १० प्रतिशत सरकारी कर, २० प्रतिशत सार्वजनिक कल्याणकोष र १० प्रतिशत खेती उत्पादन अर्थात् बीउबिजन, मलको लागि व्यवस्था गरिएको थियो । कुल वितरणमध्ये ३० प्रतिशत निःशुल्क र ७० प्रतिशत हरेकलाई कामअनुसारको सिद्धान्तको आधारमा वितरण हुन्थ्यो । निःशुल्क वितरणमा खाना, औषधि, नर्सरी, बालोद्यान, इनाम आदि पथ्र्यो ।
हरेकलाई कोठाको बन्दोबस्त हुन्थ्यो, विरोधीहरूले प्रचार गरेजस्तो गोठ होइन । भ्रष्टाचार हुँदैनथ्यो । कम्युनमै प्रसारण केन्द्र हुन्थ्यो, प्रदर्शनस्थल हुन्थ्यो । कम्युनभित्र सबै तथ्याङ्क जानकारीको लागि राखिएको हुन्थ्यो । यसरी कम्युनको आवास व्यवस्था व्यवस्थित थियो ।
यसरी चिनियाँ समाजमा बन्दोबस्त भएको सहकारी, सहकारी शिक्षा, जनकम्युनको अवधारणा हाम्रोजस्तो गरिब, अशिक्षित र विकासशील देशको लागि अनुकरणीय छ । व्यक्तिमुखी प्रवृत्ति विकास भइरहेको पुँजीवादी समाजमा समुदाय र सामूहिक भावनाको विकास गर्न सहकारी संस्था र जनकम्युनको अवधारणा हाम्रो निम्ति मार्गनिर्देश नै हुनेछ । सामूहिक भावना विकास हुने त्यस्तो सहकारी र कम्युनमा शोषण, दमन र पक्षपात हुँदैन । यसले शोषणरहित समाज निर्माण गर्न टेवा पु¥याउँछ । एकताको दिगो र दरिलोको एक माध्यम सहकारी संस्था हो । चीनमा त मिलिजुली उत्पादन गरौँ, मिलिजुली वितरण गरौँ, मिलिजुली उपयोग गरौँ भन्ने नारा नै छ । यसरी सामूहिक भावना, सामूहिक प्रयास, सामूहिक उत्पादन र सामूहिक वितरणको बन्दोबस्त भएको सहकारी संस्थालाई राज्यले आम्दानीको स्रोत बनाउने काममात्र ग¥यो, आम्दानी उठाएर राज्यले सहकारीलाई केही राहत पु¥याएको देखिँदैन ।
नेपालमा खोलेका हरेक सहकारीमा असल बचत, असल ऋणी, असल कर्मचारी, असल पदाधिकारी र निर्देशन दिने असल नेताको खाँचो छ । त्यसो त यहाँ एक सहकारी एक उद्योग, एक सदस्य एक उद्यमशील, गाउँ–गाउँमा सहकारी घर–घरमा रोजगारी आदि नारा राज्यले बाँड्यो । तर, त्यसको कार्यान्वयनतर्फ राज्यले केही हेरेको छैन ।
२०१३ चैत २० गते चितवनमा प्रथम सहकारी संस्था खोल्यो र यसैलाई आधार मानेर सहकारी दिवस मनाइयो । २०४८ मा सहकारी ऐन र २०४९ मा सहकारी नियमावली बन्यो । २०५७ मा कृषि तथा सहकारी मन्त्रालय बन्यो । तर, ती ऐन र नियमावली सहकारी संस्थाको हितमा बनेन ।
लोभले लाभ, लाभले विलाप गरिएका ओरेन्टलजस्ता सहकारीहरू पनि समाजमा नदेखिएको होइन । ठुलो परिवार, ठुलो सदस्य सङ्ख्या, पैसा नै संस्था दिगोको मापदण्ड होइन । ब्याजको लोभमा चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने उखान व्यवहारमा नै देखिएको छ । अतः सामूहिक भावना जगाउने, देश र जनताप्रति समर्पित सहकारी संस्था जरुरी छ । समाजका सदस्यहरूलाई समुदायप्रति समर्पित बन्न घच्घच्याउने, परिचालन गर्ने, सचेत पारेर देश जोगाउने, बचाउने र समृद्ध मुलुक बनाउनेतर्फ सहकारीको पनि ध्यान जानु आवश्यक छ । राज्यले विद्यालयको सहकारी ज्ञानबारे उल्लेख भएको पाठ्यपुस्तक तयार गर्नुपर्छ, सहकारीले सहकारी पुस्तकालय खोलेर व्यवस्थित बनाउनुपर्छ ।
Leave a Reply