भर्खरै :

२१ औँ शताब्दीका चुनौतीहरू सामना गर्न सक्ने प्राविधिक तयार गर्ने

२१ औँ शताब्दीका चुनौतीहरू सामना गर्न सक्ने प्राविधिक तयार गर्ने

भक्तपुर, ८ वैशाख । विश्वविद्यालय अनुदान आयोगको Educational Quality Assurance and Accreditation Council बाट ख्वप कलेज अफ इन्जिनियरिङको क्यूएए प्रक्रियाको लागि गठित Peer Review Team बाट २०८२ वैशाख ८,९ र १० गते हुने पूर्व परीक्षण भ्रमण कार्यक्रमको उद्घाटन समारोह सोमबार सम्पन्न भयो ।
समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भनपा र कलेज सञ्चालक समितिको तर्फबाट स्वागत गर्दै ख्वप कलेज अफ इन्जिनियरिङ स्थानीय तहबाट सञ्चालन भएको देशकै पहिलो कलेज भएको बताउनुभयो ।
उहाँले ख्वप सर्कलका कलेजहरू सबै जनताकै सम्पत्ति भएको बताउँदै सस्तो गुणस्तरीय प्राविधिक तयार गर्ने, २१ औँ शताब्दीका चुनौतीहरू सामना गर्न सक्ने प्राविधिक तयार गर्ने, बन्द हडताल नगर्ने, सार्वजनिक बिदाहरू कटौती गरी अध्ययन अध्यापन र कार्यक्रमहरू सञ्चालन गर्ने कलेजको प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयले कलेजलाई नयाँ नयाँ कार्यक्रमहरू सञ्चालनको निम्ति स्वीकृति नदिएको, आङ्गिक क्याम्पसबाहेकलाई थप कार्यक्रमको सम्बन्धन नदिने त्रिविको नीति सही नभएको धारणा राख्दै प्रमुख प्रजापतिले सम्बन्धन दिएको भए कलेजले राम्रो अध्यापन हुने बताउनुभयो ।
विश्वविद्यालय र कलेजहरू अनुसन्धान केन्द्र हुनुपर्नेमा प्रमाणपत्र वितरण गर्ने र बेरोजगारी उत्पादन केन्द्र भइरहेको चर्चा गर्दै उहाँले ख्वपले विद्यार्थी उद्यमशीलता विकासको लागि बजेट छुट्याएको र विद्यार्थीलाई नगरपालिकामा इन्टर्नको व्यवस्था गरेको जानकारी दिनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “उत्पादन गरेका विद्यार्थी विश्वस्तरीय प्रतिस्पर्धाको लागि योग्य बनाउन कलेजले तालिम चलाइरहेको छ । कलेजमा ७७ जिल्लाका विद्यार्थी र प्राध्यापकहरू रहेकाले क्यूएए प्राप्त गरेर अझ बढी सेवा गर्ने हाम्रो विश्वास छ ।”
समारोहमा विश्वविद्यालय अनुदान आयोगका पूर्व परीक्षण भ्रमणका संयोजक डा. जीवाराज पोखरेलले कलेजले परम्परा र परिवर्तनलाई सँगसँगै लग्न सकेको, कलेजको वास्तुकला हेर्दा गौरवको अनुभूति भएको, कलेज भौतिक रूपमा सुसज्जित र प्राज्ञिक रूपमा सुसङ्गठित भएको उल्लेख गर्दै विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयलाई गुणस्तरीय रूपमा सञ्चालन गर्न मद्दत गर्ने बताउनुभयो ।
हालसम्म १०२ शैक्षिक संस्थाले क्यूएए प्राप्त गरिसकेको जानकारी दिँदै उहाँले तीन दिवसीय कार्यक्रममा सबै सरोकारवालासँग छलफल गरेर तेस्रो दिनमा प्रतिवेदन तयार गर्ने बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले कलेजले कार्यक्रमअनुसार ख्वप अस्पतालसँग सम्झौता गरेर चिकित्सकको व्यवस्था गरेको, कलेजका प्राध्यापक, विद्यार्थी र कर्मचारीहरूको लागि स्वास्थ्य परीक्षणको सुविधा दिएको, कक्षा कोठाहरू स्मार्ट बोर्डको सुविधासहित आधुनिकीकरण गरेको, पुस्तकालय आधुनिकीकरण तथा आरामदायी रूपमा अध्ययन अनुसन्धानको व्यवस्था गरेको, प्रयोगशालाहरूमा उच्च प्रविधि एवं आधुनिकीकरण भएको बताउनुभयो ।
डा. राजुभाइ त्यातले कलेजले तयार गरेको स्वाध्ययन प्रतिवेदन एसएसआरको सार सङ्क्षेप प्रस्तुतीकरण गर्नुभयो ।
समारोहमा भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समिति उपाध्यक्ष रजनी जोशी, कलेज सञ्चालक समितिका सदस्यहरू योगेन्द्रमान बिजुक्छे, हरिप्रसाद बासुकला, कृष्णप्रसाद कोजु, रवीन्द्र ज्याख्वलगायत जनप्रतिनिधिहरू तथा विश्वविद्यालय अनुदान आयोगका नविना चौलागाइँ र हीरा श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।
तीन दिवसीय भ्रमणको पहिलो दिन कलेजका विद्यार्थीहरूसँग बैठक, प्राध्यापकसँग बैठक र कलेज अवलोकनको कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *