भर्खरै :

नयाँ वर्ष २०८२ को ६ वैशाखको दिन

नयाँ वर्ष २०८२ को ६ वैशाखको दिन

शनिबारको दिन थियो । ठुला दैनिकहरूमा यात्रा वर्णन, सम्झनाहरू, साहित्य, इतिहास, संस्कृति आदि विभिन्न विधाका लेख–रचनाहरूको आशाले सानो आँगनमा गएर समाचारपत्रहरू टिप्न पुगँे । समाचार पत्रहरू वर्षाको पानीमा तैरिरहेका थिए ।
पानीमा रुझ्दै समाचारपत्रहरू टिपँे – ‘नागरिक, शनिबार’, ‘नयाँ पत्रिका’ र ‘अन्नपूर्ण पोस्ट’ ! टिप्न त टिपेँ पढ्न हात हाल्नासाथ कागजको टुक्रा–टुक्रा हुने सम्भावना देखेर टेबुलमा पुराना समाचार पत्रिकाहरू ओछ्याएर नुहाएका ‘शनिबारे’ पत्रिकाहरूलाई सजाएँ ।
दिउँसो १२ बजे तल कोठामा गई हेरेँ, सुकेको थिएन, पुनः अर्का ठाउँमा पुराना अखबार ओछ्याएर भिजेको अखबारलाई एक–एक गरी सुबिस्तासाथ आराम गराएँ । राति १० बजे पुनः अखबार छुनासाथ टुक्रिने सम्भावनाले १२–१ बजेको रातसम्म टेबल माथिको बत्ती बालेर सुकाउने जतन गरँे ।
आइतबार ७ वैशाख ८ बजे राति पुनः बिस्तारै तीनओटै समाचारपत्रहरू पल्टाउँदै पढ्न सक्ने बनाएँ ।
‘नागरिक शनिबार’को अङ्कमा बायाँतिर अघिल्लो पानामै ‘ट्रम्प’ बाबुको डम्फु बजाएको एक व्यङ्ग्य चित्रमा दृष्टि गयो । चिनियाँ राष्ट्रिय झन्डा र ड्रागनको चित्र लेखिएको खाटमा हँसिला एक अनुभवी व्यक्ति आराम गरेको मेरो दृष्टिले थम्यायो । १० प्रतिशत, २० प्रतिशत, ४५ प्रतिशत र १४५ प्रतिशत विदेशी सामानमाथि भन्सार कर लगाएको डम्फु बजाएकै थियो ।
‘नयाँ पत्रिका’को मुख्य समाचारको शीर्षकमा आँखा गयो – ‘सिंहदरबारभित्रको राष्ट्रिय गौरवको आयोजना बन्यो, विकास गिज्याउने नमुना ।’ समाचारको उपशीर्षक थियो – ‘सम्झौताविपरीत पाँचौँपटक म्याद थपेको गृहकार्य ।’ तर, निर्माणले पूर्णता नपाएको दोषीबारे राजनीतिक पक्षलाई चोर औँला ठड्याइएको देखिएन ।
अर्को समाचारको शीर्षक थियो – ‘आन्दोलनको दसौँ दिनमा प्रधानमन्त्रीले भेटे शिक्षकका प्रतिनिधि’, ‘दुई घण्टाको छलफल निष्कर्षविहीन ।’
अर्को समाचार थियो – ‘मिटरब्याजी पीडितमाथि साहुको अत्याचार’, ‘ऋण चुक्ता गरे पनि जग्गा फिर्ता दिएनन्, न्याय माग्दामाग्दै श्रीमान्को हत्या, साहु थुनामुक्त भएपछि ज्यान मार्ने धम्कीले गाउँ छोड्न बाध्य ।’
भित्रका सबै सामग्री पढ्ने साहस देखाए सबै पत्रिका टुक्रा–टुक्रा हुने पक्का ! धुलो टाँसिएको हुँदा कोठामा प्रदूषणको अर्को सम्भावना ! नयाँ वर्ष वैशाख ६ को ‘अन्नपूर्ण पोस्ट’ कभर स्टोरी थियो – ‘विदेश आप्रवासनको तीव्र सुनामी ।’
दोस्रो पृष्ठमा जनताको भिड भएको तस्बिर थियो र समाचारको शीर्षक हो – ‘तीव्र र डरलाग्दो समस्या ।’ भित्री पातामा शनिबार अङ्ककै सामग्रीहरू थिए ।

xxx

हिजोका वर्षहरूमा केही अखबार पु¥याउने भाइहरूले पनि समाचारपत्रहरूलाई असार, साउन र भदौ महिनामा कहिलेकाहीँ त्यस्तै आँगनमा पानीमै फालेर जान्थे ।
एकदिन अरू काम छोडेर अखबार पु¥याउने भाइहरूलाई एक–एकलाई भेटेर भनँे, “ए भाइ, भाइ पढे–लेखेकै हौ, एक प्रकारले भाइको पेसा पनि पत्रकारकै हो । भाइहरूले ग्राहकसम्म नपु¥याउँदासम्म छापेका अखबारहरू पाठकसम्म पुग्दैनन् । भाइहरूको काम सेवाको राम्रो काम हो । तर, पानीमा फालिएका समाचारपत्रहरू पढ्नलाई हम्मेहम्मे पर्छ, दुई–चार घण्टापछि मात्र पढ्न लायक हुन्छ, फेरि पानी परेको दिन घाममा राखेर तुरुन्तै पढ्न पाइने कुरा पनि भएन ।”
‘त्यति मात्र होइन, हामीजस्तो सानो आयका शिक्षण पेसाका मानिसको निम्ति दुई÷चार रुपैयाँ पनि ठुलै महत्वको हुन्छ ।’ पढ्नै नपाइने अखबारमा पैसा खर्च गरेको खेर गएन र ?! एकछिन सोच भाइ, एक पाइला अगाडि पानी नपर्ने ठाउँमा पुरानो मेचमा राखेर जाने गरेमा पढ्न पाउने थिएँ !’ एकजना केटाले भन्यो, “यी सबै गन्थन तपाईंको समस्या हो, मेरो होइन” भन्दै साइकल चढेर गइहाल्यो । अर्को पत्रिका पु¥याउने भाइ मोटरसाइकलमा थिए र भने, “म कलेजको लेक्चरर हुँ, उनी भाइ विद्यार्थी हुन्, हामी दुवै समयमै कलेज पुग्नुपर्छ” भन्दै मोटरसाइकल हुँइकायो । तेस्रो केटो पत्रिका फुत्त फालेर गइहाल्यो ।
एकछिन सम्पादक, प्रबन्धक र वितरकको जिम्मा लिने व्यक्ति वा पसलेलाई फोन गर्ने विचार गरेँ । सायद तिनीहरूले पनि भन्नेछन्, “अचेल प्रधानमन्त्रीले भनेको मन्त्रीहरूले मान्दैनन्, मन्त्रीले भनेको कुरा सचिवले मान्दैनन्, सचिवले भनेका कुरा कर्मचारीहरूले टेर्दैनन् ।” नेताले र शिक्षकले भनेका कुरा पनि कार्यकर्ता र विद्यार्थी टेर्दैनन् । चारैतिर अराजकता छ, ‘पुँजीवादी प्रजातन्त्र र गणतन्त्र यही हो ।’ नागरिकशास्त्र पाठ्यक्रममा नराख्दाको कर्तव्यच्युत नयाँ पुस्ता भनी चित्त बुझाएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *