भर्खरै :

वास्तुकलाका प्रवृत्ति र सम्पदासम्बन्धी चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन – “हाम्रो प्राचीन मूर्त र अमूर्त सम्पदा, कला र संस्कृति नै हाम्रो पहिचान हो”

वास्तुकलाका प्रवृत्ति र सम्पदासम्बन्धी चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन – “हाम्रो प्राचीन मूर्त र अमूर्त सम्पदा, कला र संस्कृति नै हाम्रो पहिचान हो”

भक्तपुर, १५ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विश्व सम्पदा दिवस २०८२ को अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र विश्वविद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा ‘वास्तुकलाका प्रवृत्ति र सम्पदासम्बन्धी चौथो राष्ट्रिय सम्मेलन’ को सोमबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो ।
सम्मेलनको पूर्ण सफलताको कामना गर्दै उहाँले वास्तुकलाका विविध पक्ष र विश्व सम्पदाका विषयमा छलफल गर्ने अवसर सम्मेलनले प्रदान गर्ने विश्वास व्यक्त गर्दै एउटै भूगोलको परिवेशमा फरक–फरक युगमा मानव जातिले नयाँ नयाँ भौतिक प्रगति र अमूर्त कलाको विकासमा वास्तुकलाले महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो ।
‘हाम्रो प्राचीन मूर्त र अमूर्त सम्पदा, कला र संस्कृति नै हाम्रो पहिचान हो भन्दै उहाँले हाम्रो गौरव र जीवन्तता पनि त्यसैमा अन्तरनिहित छ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले मूर्त कला र सम्पदाले भौतिक प्रगतिको प्रदर्शन गर्ने र अमूर्त कलाले विश्वका मानव जातिको मन र मस्तिष्कको भावनालाई अभिव्यक्ति गर्ने बताउँदै थरीथरीका गीत सङ्गीत र नाचगानले समाज र स्रोताहरूको हृदयलाई सन्देश पु¥याइरहेको छ भन्नुभयो ।
मूर्त कला र सम्पदाले त्यस क्षेत्रको भौतिक प्रगति प्रदर्शन गर्दै आइरहेको र विश्व मानव जाति र सभ्यतामा आ–आफ्नो योगदानलाई उजिल्याउने अवसर पनि प्रदान गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “समाजको नाचगान, चित्रकला र पहिरन एवम् श्रृङ्गारका वस्तुहरूको मानवीय भावना, सन्तोष तथा गौरवको अभिव्यक्ति प्रकाश पार्ने अवसर मिल्छ ।”
नवदुर्गा नाच, भैरव र देवी नाचले प्राचीन मानव समाजको भित्री मनलाई स्पन्दित गराउने बताउँदै उहाँले बाजागाजाले हरेक पात्रहरूको प्रतीकात्मक र साङ्केतिक अभिव्यक्तिमार्फत मानव मनलाई आल्हादित गर्ने गर्छ भन्नुभयो ।
सम्पदाको नयाँ नयाँ प्रविधिको प्रयोग र विज्ञानको विकासले चामत्कारिक उपलब्धि हासिल गरिरहेको बताउँदै उहाँले मानव जातिको तार्किक चिन्तन र अभिव्यक्तिले विकास र प्रगतिमा सहयोग पु¥याउने धारणा राख्नुभयो ।
‘पुरानो वस्तुले नयाँ युगको सेवा गर्ने र विदेशी वस्तुले स्वदेशको सेवा गर्छ’ भनेझैँ प्राचीन सम्पदाले वर्तमान नेपालको गौरव र अर्थतन्त्रलाई सहयोग पु¥याइरहेको र देश विदेशका नयाँ प्रविधि र विज्ञानले धेरै विकास गरिसकेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूको संयुक्त आयोजनामा विगत ४ वर्षदेखि ‘वास्तुकलाका प्रवृत्ति र सम्पदासम्बन्धी राष्ट्रिय सम्मेलन’ र दुई वर्षको एकपटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको बताउँदै भक्तपुरका सम्पदाहरू वास्तुकलाको दृष्टिले संसारकै उत्कृष्ट र नमुना रहेको बताउनुभयो ।
सांस्कृतिक सम्पदाहरू सबैको साझा सम्पत्ति हो र यसको संरक्षणको जिम्मा पनि सबैको हो भन्दै उहाँले सम्पदा पुनःनिर्माणको जिम्मा ठेक्कामार्फत गरिनुहुन्न भन्ने पक्षमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकलाई भक्तपुर नपाले मार्गनिर्देशक सिद्धान्तको रूपमा लिई काम गर्दै आएको बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगका निर्देशक केदारप्रसाद आचार्यले विद्यार्थीहरूमा भएको ज्ञान र सीपलाई उजागर गरी नयाँ नयाँ तथ्य तथ्याङ्क प्राप्त गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सम्पदा संरक्षण र प्रवद्र्धनको प्रमुख दायित्व हाम्रो हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सम्पदा संरक्षण सामाजिक दायित्वअन्तर्गत पर्ने विषय भएको बताउँदै भक्तपुर सांस्कृतिक र पुरातात्विक हिसाबले अत्यन्त महत्वपूर्ण सहर भएको हुँदा यहाँको सम्पदा संरक्षणले पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याइरहेको छ भन्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले सम्मेलनको महत्वमाथि प्रकाश पार्दै सम्पदा संरक्षणको सन्दर्भमा दस्ताबेजीकरणको पक्षलाई कलेजले विशेष जोड दिँदै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा कार्यक्रम संयोजक लिबास फैँजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *